कारागार चलान गर्न लगिएका प्रतिवादी मोरङ अदालत परिसरबाटै फरार

कारागार चलान गर्न लगिएका प्रतिवादी मोरङ अदालत परिसरबाटै फरार

विराटनगर : चेक अदालत मुद्दामा दोषी ठहर भएका एक जना प्रतिवादी जिल्ला अदालत मोरङ परिसरबाटै फरार भएका छन् । कारागार चलान गर्न लगिएका प्रतिवादी विराटनगर महानगरपालिका–१३ का ४० वर्षीय विजय शंकर झा अदालत परिसरबाटै सोमबार दिउँसो ३ बजेतिर फरार भएको मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले जानकारी दिइन् । उनका अनुसार झालाई सुनसरीको दुहबीबाट आइतबार पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय मोरङ ल्याइएको थियो । 

चेक अनादर मुद्दामा मोरङ अदालतबाट दोषी ठहर भएका उनी सजाय भुक्तान नगरिकन फरार बनिरहेका प्रतिवादी हुन् । नागेश्वरप्रसाद साहले ७ लाख ५० हजार बिगो र त्यसको ब्याज दाबी गरेर झाविरुद्ध अदालतमा फिरादपत्र दर्ता गराएका थिए । 

जिल्ला अदालत मोरङका सूचना अधिकारी हेमबहादुर बुढाथोकीका अनुसार अदालतले २०८० साल माघ २३ गते झाबाट बिगोबापतको रकम र ब्याज साहलाई भराउनुपर्ने फैसला गरेको थियो । फैसला बमोजिम झाले रकम नतिरेपछि उनलाई कैद राखिदिनुपर्ने माग गर्दै साह पुनः अदालत पुगे । फैसला अनुसार आफूले रकम नपाएका कारण झालाई कैदमा राखिदिनुपर्ने माग गर्दै साहले निवेदन दिए । 

साहकै माग बमोजिम झालाई २ वर्ष कैदमा राख्न अदालतबाट आदेश भएको सूचना अधिकारी बुढाथोकीले बताए । तर, झा कैद भुक्तान नगरिकन भागिरहेका थिए । विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले दुहबीबाट पक्राउ गरेर कारागार चलानका लागि सोमबार अदालतमा पेस गर्न लगेको थियो । 

प्रहरीले फरार प्रतिवादीलाई पक्राउ गरेर अदालतमा बुझाउने गरेको छ । प्रहरीले बुझाएपछि अदालतले सजाय भुक्तान गर्न कारागार चलान गर्नुपर्ने हुन्थ्यो । तर, पिसाब गर्न शौचालय जान्छु भनेर प्रहरीलाई छल्दै झा फरार भएको जानकारी डीएसपी चुँडालले दिइन् ।

झालाई अदालतमा पेस गर्नका लागि प्रहरी हवल्दार विकास सिंहको टोलीले बुझेर लगेको थियो । तर, ‘शौचालय जान्छु’ भन्दै फरार भएपछि अदालतले कारागार चलान गर्न सकेन । डीएसपी चुँडालले फरार भएका झाको खोजी तीव्र पारिएको बताइन् । उनले भनिन्, ‘घटनामा लापरबाही देखिएकाले प्रहरीमाथि छानबिन सुरु गरिएको छ । प्रहरीले निगरानीमा राख्न नसक्दा कारागार चलान गर्नुपर्ने प्रतिवादी अदालत परिसरबाटै फरार भएको पाइयो ।’ 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.