विराटनगर महानगरपालिकाले ल्यायो ४ अर्ब ४० लाखको बजेट
विराटनगर : विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ४ अर्ब ४० लाख बराबरको बजेट सार्वजनिक गरेको छ । महानगर उपप्रमुख शिल्पा निराला कार्कीले १६ औं नगरसभामा बजेट प्रस्तुत गरेकी हुन् ।
बजेटमार्फत् प्रशासनिक खर्चका लागि ६४ करोड ७५ लाख बजेट विनियोजन गरिएको छ । ऋणको सावाँ ब्याज भुक्तानीका लागि ५ करोड बिनियोजन गरेको महानगरले चालु आर्थिक वर्षको बाँकी भुक्तानीका लागि ८ करोड, भौतिक पूर्वाधारको समपूरक योजनाका लागि ६ करोड २० लाख र वहुवर्षीय तथा दायित्व सरेर आएका आयोजनाको भुक्तानीका लागि ७० करोड खर्च हुने अनुमान गरेको छ ।
सडक पूर्वाधार तथा बस्ती विकासका लागि १० करोड २७ लाख १२ हजार,नगरस्तरीय योजनाका लागि ६४ करोड ६१ लाख १ हजारसहित पूर्वाधार विकासतर्फ महानगरले १ अर्ब ६८ करोड ८३ लाख १३ हजार विनियोजन गरेको छ । वडा कार्यालयतर्फ वडास्तरीय योजना तथा कार्यक्रम सञ्चालनका लागि ४३ करोड ५६ लाख, सामाजिक विकासतर्फ शैक्षिक विकास कार्यकमका लागि ७५ करोड ५१ लाख ३० हजार, स्वास्थ्य कार्यक्रमका लागि १५ करोड ३५ लाख र महिला लक्षित कार्यक्रमका लागि ९१ लाख बजेट विनियोजन गरिएको छ ।
संघसंस्था अनुदानका लागि ५ करोड ५ लाख छुट्याएको महानगरले सामाजिक विकासतर्फ जम्मा १ अर्ब ८९ लाख ३० हजार बजेट विनियोजन गरेको छ । कृषि क्षेत्रका लागि १ करोड ५ लाख, पशुपक्षी तथा भेटनरी कार्यक्रमका लागि ८५ लाख २५ हजार, सहकारीका लागि २४ लाख, उद्यमशीलता विकासका लागि ४७ लाख, उपभोक्ता हित संरक्षणका लागि १० लाख, पर्यटन प्रवर्धनका लागि २५ लाख गरी आर्थिक विकासतर्फ महानगरले २ करोड ९६ लाख २५ हजार विनियोजन गरेको छ ।
विपद व्यवस्थापनतर्फ १ करोड २० लाख, वन वातावरण तथा जैविक विविधतातर्फ ३० लाख र सरसफाइ कार्यक्रमतर्फ १ करोड ६० लाख गरी वन वातावरण तथा विपद व्यवस्थापनतर्फ ३ करोड १० लाख विनियोजन गरिएको छ । महानगरले सुशासन तथा संस्थागत विकासतर्फ ३ करोड ३० लाख रुपैयाँ विनियोजन गरेको छ ।
अनुमानित खर्च व्योहार्ने स्रोतको रुपमा महानगरपालिकाले संघीय सरकार वित्तीय समानीकरण अनुदानतर्फ ३४ करोड ३४ लाख, प्रदेश सरकार वित्तीय समानीकरण अनुदानतर्फ ३ करोड ६२ लाख ३० हजार, राजस्व बाँडफाँटबाट प्राप्त हुने राजस्वमध्ये मूल्य अभिवृद्धि करतर्फ १५ करोड ३९ लाख, अन्तःशुल्कतर्फ ५ करोड १३ लाख, मनोरञ्जन तथा विज्ञापन कर १ करोड र सवारी साधन करतर्फ ३ करोड ८ लाख र घरजग्गा रजिष्ट्रेसन तर्फ ९४ करोड ६० लाख ३ हजार आम्दानी हुने अनुमान छ ।
आन्तरिक राजस्वतर्फ १ अर्ब ४० करोड, संघीय सरकार सशर्त र समपूरक अनुदान ८३ करोड ३४ लाख, प्रदेश सरकार सशर्त अनुदान ४ करोड २३ लाख ६७ हजार, सडक बोर्ड नेपालबाट १ करोड ५० लाख र नगद मौज्दात १४ करोड गरी अनुमानित खर्चको स्रोत ब्यहोर्ने अनुमान छ । महानगरले चालु आर्थिक वष २०८१–०८२ का लागि ३ अर्ब ५० करोड ३० लाख ८६ हजारको अनुमानित बजेट प्रस्तुत गरेको थियो । जसमध्ये २०८२ जेठ मसान्तसम्ममा २ अर्ब २६ करोड ३५ लाख २३ हजार २ सय ७ रुपैयाँ अर्थात ६५ प्रतिशत आम्दानी भएको छ ।
प्रतिक्रिया दिनुहोस !