देशले छलाङ मार्ने दैलेखको ग्यास खानी

देशले छलाङ मार्ने दैलेखको ग्यास खानी
फाइल तस्बिर।

यातायातका साधनदेखि भान्छाको ऊर्जा र इन्धनका लागि नेपालले आफ्नै उत्पादन प्रयोग गर्न पाए देशले आर्थिक रूपमा छलाङ मार्न धेरै समय नलाग्न सक्छ।

यो साता नेपालीहरूले निकै खुसीको समाचार सुन्न पाए— ५० वर्षलाई पुग्ने ग्यासको भण्डार नेपालमै भेटियो। हो, चिनियाँ अनुसन्धान टोलीले दैलेख जिल्लाको जलजले क्षेत्रमा १ अर्ब १२ करोड घनमिटर मिथेन ग्यासको भण्डार भेटिएको खबरले नागरिकहरूमा नयाँ आशा जगाएको छ। नेपालमा केही छैन र केही हुँदैन भन्ने नैराश्यको भाष्यको बादले समाजलाई ढाकेको छ। त्यही बादल चिर्ने गरी दैलेखबाट सुखद समाचार आएको हो।

केपी शर्मा ओली २०७२ सालमा प्रधानमन्त्री भएका बखत चीनसँग गरिएको सम्झौतापछि अनुसन्धानको बाटो जो खोलिएको थियो। नेपालका कतिपय काममा ढिलासुस्ती गरेका चिनियाँले ग्यास अनुसन्धान चाहिँ द्रुततर गतिमा गरे। त्यसैले त २०८० वैशाखबाट चीनको सरकारी निकाय चाइना जिओलोजिकल सर्भेले सुरु गरेको अनुसन्धानको प्रारम्भिक नतिजा यति छिटै आइपुग्यो। यही वर्ष विस्तृत र पूरा प्रतिवेदन आउने अपेक्षा पनि छ। 
४० वर्षअघि नै नेपालमा के कस्ता खानीहरू छन् पेट्रोलियम पदार्थ भनेर अध्ययन सुरु गरिएको थियो। त्यति बेला नै पनि नेपालमा त्यसको सम्भावना

देखिएको थियो। सरकारले पेट्रोलियम अन्वेषण परियोजना पनि नबनाएको होइन। तर यतिका वर्ष खास उपलब्धिमूलक नतिजा आएका थिएनन्। मोरङमा पेट्रोलियम पदार्थको अन्वेषण पनि ४० वर्षअघि नै गरिएकोमा निराशा हात लागेको थियो। तर यसपालि भने आशा नै प्रकट भएको छ। दैलेखबाट आएका विवरणहरू यतिधेरै उत्साहपूर्ण छन् कि नेपाली अर्थतन्त्र आत्मनिर्भर बनाउन अब दैलेखको ग्यास खानीको ठूलो योगदान गर्न सक्छ। विज्ञहरूले अन्तिम प्रतिवेदन आएको वर्ष दिनभित्रै दैलेखको ग्यासको व्यावसायिक उत्पादन थाल्न सकिने बताउँछन्, झन् सुखद आश्चर्य सञ्चार भइरहेको छ। अनुसन्धानकै लागि पनि चीन आफैंले खर्च गरेको छ, ३ अर्ब रुपैयाँ।

व्यावसायिक उत्पादन भनेजस्तो सजिलो पक्कै होइन। र, लगानी नेपालको आफ्नै बुताले भ्याउला नभ्याउला ? त्यसमा नेपालले विदेशी लगानी भित्र्याउन हिच्किचाउनु पर्दैन। विदेशीसँगको साझेदारीमा नेपालले ग्यास उत्पादन थाल्न सक्छ। अहिले नेपालले गर्ने आयातमध्ये १८ प्रतिशत पेट्रोलियम पदार्थकै हिस्सा हुन्छ। २०८०÷८१ मा २ खर्ब ६८ अर्बको पेट्रोलियम पदार्थ आयात भएको थियो। खाना पकाउने ग्यासमात्रै ५५–६० अर्बको भित्रन्छ। दैलेखमा भेटिएको मिथेन ग्यास खाना पकाउन मिल्ने वा सवारी साधनहरूमा प्रयोग गर्न मिल्ने कुन खालेको हो, सोही अनुसार प्रयोग गर्न सकिन्छ। रकेट पनि दैलेखमा भेटिएकै शैलीको ग्यासबाट उड्छ भन्छन् विज्ञहरू।

भनेपछि त्यस्तो प्रज्ज्वलन र शक्तिशाली ऊर्जाको प्रयोग नेपालले गर्न ढिला गर्नु हुँदैन। दैलेखका चारवटा कुवामा भेटिएको नेपाललाई ५० वर्षलाई पुग्ने ग्यासबाहेक पनि नेपालमा अरू थुप्रै खानी छन् भनिन्छ। यस्ता प्राकृतिक खानीहरूको सदुपयोग गर्न सके भारत र चीन लगायत देशमा पनि निर्यात गर्न नसकिने होइन। खानी त अरू पनि थुप्रै होलान्। अहिलेलाई पत्ता लागेकै र सम्भावना देखिएको ग्यासको व्यावसायिक उत्पादनमा केन्द्रित हुनुपर्छ। जसले रासायनिक मलसमेतको उत्पादनमा योगदान गर्न सक्छ। यातायातका साधनदेखि भान्छाको ऊर्जा र इन्धनका लागि नेपालले आफ्नै उत्पादन प्रयोग गर्न पाए देशले आर्थिक रूपमा छलाङ मार्न धेरै समय नलाग्न सक्छ। 
 

यो पनि पढ्नुहोस


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.