मालारानीले प्राङ्गारिक मल कारखाना स्थापना गर्ने, कृषि उत्पादनमा ढुवानी अनुदान
अर्घाखाँची : अर्घाखाँचीको मालारानी गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि ६२ करोड ९२ लाख ५१ हजार को बजेट सार्वजनिक गरेको छ। ‘कृषि, पर्यटन र सहकारीः समृद्ध मालारानी’ भन्ने मूल नारामा आधारित रहेर गाउँपालिका उपाध्यक्ष दीपा पोखरेलले बजेट प्रस्तुत गरे ।
जसअन्तर्गत चालुतर्फ ४५ करोड ७१ लाख २९ हजार र पुँजीगत १७ करोड २१ लाख २२ हजार विनियोजन गरिएको छ। गाउँपालिकाको बजेट कृषि, पशुपालन, सामाजिक सुरक्षा, पूर्वाधार, स्वास्थ्य, शिक्षा र सूचना प्रविधि लगायतका कार्यक्रमहरु समेटिएको छ। प्राङ्गारिक मल कारखाना स्थापना गर्ने ,किसानका उत्पादन बजारसम्म पुर्याउन ढुवानीमा अनुदानका ,मालारानी ८ मा मसला उद्योग स्थापना गर्ने अध्यक्ष दलबहादुर भट्टराईले बताए ।
शिक्षा क्षेत्रमा स्थानीय पाठ्यक्रम ‘हाम्रो मालारानी’ विकास, छात्रवृत्ति, विज्ञान प्रविधि शिक्षा र शिक्षक तालिमलाई प्राथमिकता दिइएको छ। पूर्वाधार निर्माणमा ६ करोड ३० लाख, सामाजिक विकासमा ७ करोड ३७ लाख ५१ हजार, स्वास्थ्य सेवामा दिर्घरोगी निःशुल्क औषधिको लागि २० लाख रकम विनियोजन भएको छ भने नवजात सेवा र ल्याब विस्तारका कार्यक्रम समावेश गरिएको प्रमुख प्रशासकीय अधिकृत गोविन्द भट्टराईले जानकारी दिए ।
गाइड तालिम, पर्यटकीय नक्सा प्रकाशन र भगवती मन्दिरको पूर्वाधार निर्माणका योजनाहरू बजेटमा समेटिएका छन्। समावेशी कार्यक्रम र स्थानीय विकास वडास्तरीय विकासका लागि १ करोड ५७ लाख ५० हजार,संस्थागत विकास तथा सुशासनतर्फ ८ करोड ५२ लाख ५० हजार, वन, वातावरण तथा विपद् व्यवस्थापनमा ५८ लाख विनियोजन गरिएको योजना अधिकृत नेत्र खनालले बताए।
महिला,दलित,अपांगता भएका व्यक्ति,वृद्ध,बालबालिका र सुकुमबासी लक्षित कार्यक्रम समावेश गरिएको छ।
प्रतिक्रिया दिनुहोस !