तिब्बतमा भारी वर्षा हुने, उच्च जोखिममा सिन्धुपाल्चोक
जल तथा मौसम विज्ञान विभागका अनुसार सिन्धुपाल्चोक विपद्का दृष्टिकोणले उच्च जोखिममा छ। अझ यस वर्ष अत्याधिक वर्षाका कारण यहाँका बासिन्दा जोखिममा पर्न सक्ने पूर्वजानकारी चिन सरकारले गराएको छ।
सिन्धुपाल्चोक : २०७१ सालको जुरे पहिरो, सम्झिदै सिन्धुपाल्चोकवासीको आङ जिरिङ हुन्छ। उक्त पहिरोले १ सय ४५ जनाको ज्यान लियो। १ सय ५३ घर पूर्णरूपमा क्षति भए। जुरे पहिरोको पीडा बिर्सन नपाउँदै ०७२ वैशाख १२, १३ र २९ गते विनाशकारी भूकम्प गयो। सिन्धुपाल्चोकमा मात्रै ३ हजार ५ सय ७१ जनाको ज्यान गयो।
०७३ असार २१ गते भोटेकोशीमा बाढी, जाँदा लिपिङ बजारका ३० घर बगायो। यी त केही मुख्य घटना मात्र हुन्। मनसुनजन्य विपद्बाट सिन्धुपाल्चोकमा बर्सेनि ठूलो धनजनको क्षति भइरहेको छ। जिल्ला विपद् व्यवस्थापन समितिले यहाँका १७ हजार बासिन्दा जोखिममा रहेको अनुमान गरेको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार सिन्धुपाल्चोक विपद्का दृष्टिकोणले उच्च जोखिममा छ। अझ यस वर्ष अत्याधिक वर्षाका कारण यहाँका बासिन्दा जोखिममा पर्न सक्ने पूर्वजानकारी चिन सरकारले गराएको छ। असार ४ गते चिनियाँ अधिकारीहरूले पत्रमार्फत तिब्बत क्षेत्रमा अत्यधिक वर्षा हुन सक्ने भन्दै भोटेकोशी नदी क्षेत्रमा सुरक्षित रहन सतर्क गराएको छ। चिनियाँ प्रहरीले जानकारी गराएपछि जिल्ला प्रशासन कार्यालयले समेत सूचना जारी गर्दै भोटेकोशी गाउँपालिका, बाह्रबिसे नगरपालिका, त्रिपुरासुन्दरी गाउँपालिका, सुनकोशी गाउँपालिका, बलेफी गाउँपालिका र चौतारा साँगाचोकगढी नगरपालिकाका नदी किनारका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिसकेको छ।
‘सम्भावित विपद्को जोखिमलाई ध्यानमा राख्दै स्थानीय तह, सुरक्षा निकाय तथा सरोकारवालाहरूसँग समन्वय गरेर नदीकिनार तथा जोखिमयुक्त स्थानमा रहेका नागरिकलाई सचेत गराउन निर्देशन दिइसकेका छौं,’ जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी किरण थापाले भने, ‘यो वर्ष विपद्बाट हुन सक्ने धनजनको क्षतिलाई न्यूनीकरण गर्न प्रयत्नशील छौं।’ थापाले चिनियाँ अधिकारीहरूले दिएको सूचना आदानप्रदान सीमा क्षेत्रमा नियमित हुने र तिब्बतको मौसमले नेपालका नदीहरूमा प्रभाव पार्न सक्ने बताए।
‘तिब्बतको वर्षाले नदीहरूमा बहाव बढाउन सक्छ, तर स्थानीय वर्षाले तत्काल ठूलो क्षति नगर्ने भए पनि सतर्कता अपनाउनु आवश्यक छ’, सिन्धुपाल्चोकको विपद्लाई नजिकबाट नियालिरहेका मौसमविद् डा. धर्मराज उप्रेती भन्छन्, ‘चीनले तिब्बतको मौसमसम्बन्धी सूचना समयमै साझा गर्दा तल्लो तटीय क्षेत्रमा बाढीको क्षति कम गर्न सकिन्छ।’ सिन्धुपाल्चोकको भोटेकोशी नदीमा हालै प्राप्त चिनियाँ सूचनाले यो कुरा पुष्टि गरेको उनको भनाइ छ।
‘जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख बालकृष्ण श्रेष्ठ विपद् उद्धार तथा प्रतिकार्यका लागि स्थानीय स्रोतसाधनको अधिकतम प्रयोग गर्नुपर्ने बताउँछन्। ‘विपद्मा पूर्वतयारी, सूचना र सतकर्ता ज्यादै महत्वपूर्ण हुन्छ’, उनले भने, ‘जसका लागि स्थानीय स्रोतसाधनको उपयोग गर्दै सचेतना तथा जनचेतनामूलक कार्यक्रमहरू गर्न जरुरी छ।’
हजारौं नागरिक उच्च जोखिममा
जिल्ला विपद् व्यवस्थापन समितिले यस वर्ष २ सय २२ बस्तीका १७ हजार ८२ नागरिक प्रभावित हुने आकलन गरेको छ। चौतारा साँगाचोकगढी नगरपालिकाका २१ बस्तीका ७ सय ७०, बाह्रबिसे नगरपालिकाका ६३ बस्तीका ८ हजार ५ सय, मेलम्ची नगरपालिकाका ७ बस्तीका ५ सय नागरिक मनसुनजन्य विपद्मा प्रभावित हुने आकलन समितिको छ।
त्यस्तै, भोटेकोशी गाउँपालिकाका ५३ बस्तीका ८ सय ५, त्रिपुरासुन्दरी गाउँपालिकाका ७ बस्तीका १ सय ७१, लिसंखुपाखर गाउँपालिकाका १० बस्तीका ३ सय, सुनकोशी गाउँपालिकाका ११ बस्तीका ३ सय ६, बलेफी गाउँपालिकाका ८ बस्तीका ८ सय, जुगल गाउँपालिकाका ७ बस्तीका २ हजार, पाँचपोखरी थाङ्पाल गाउँपालिकाका १३ बस्तीका १ हजार २ सय ६० जना प्रभावित हुने अनुमान छ। यस्तै, इन्द्रावती गाउँपालिकाका ५ बस्तीका १ सय ७० र हेलम्बु गाउँपालिकाका १७ बस्तीका १ हजार ५ सय नागरिक प्रभावित हुने विपद् व्यवस्थापन समितिले आँकलन गरेको छ।
४४ नदीनाला थुनिन सक्ने
जिल्ला विपद् व्यवस्थापन समितिले यस वर्ष मनसुनबाट जिल्लाका ४४ नदीनाला थुनिन सक्ने अनुमान गरेको छ। चौतारा साँगाचोकगढी, मेलम्ची र बाह्रबिसे नगरपालिका भएर बग्ने १६ वटा नदीनाला र ९ वटा गाउँपालिकाका २८ वटा नदीनालाहरू थुनिन सक्ने आकलन समितिको छ।
अविरल वर्षाबाट बाढीपहिरोका कारण थुनिन सक्ने यी नदीनालाबाट हुने जोखिमलाई न्यूनीकरण गर्न डोजर, स्काभेटर, ट्रिपरलगायतका सामग्रीहरू तयारी अवस्थामा राखिएको विपद् व्यवस्थापन समितिले जनाएको छ। प्रशासन, सुरक्षाकर्मी र स्थानीय सरकारसँग जिल्ला समन्वय गरेर क्षति कम गर्ने र विपद्को समयमा उद्धारका लागि चाहिने उद्धार सामग्रीहरू तयारी अवस्थामा राखिएको समितिले जनाएको हो।
कस्तो छ पूर्वतयारी ?
जोखिममा रहेका बस्तीहरूको भौगर्भिक अध्ययन, पहिरो तथा बाढीबाट विस्थापितको पुनस्र्थापना र आगामी दिनमा जोखिम न्यूनीकरणका लागि गर्नुपर्ने समन्वय भइरहेको जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी थापा बताउँछन्। ‘बर्खायाम सुरु भएपछि हुने विपद्को जोखिम न्यूनीकरणका लागि जिल्ला विपद् व्यवस्थापन समितिबाट विभिन्न निर्णय गरेर उच्च सतर्कता अपनाएका छौं’, थापाले भने, ‘पहाडी जिल्ला भएकाले पहिरो जाने र खोलाहरूमा बाढीबाट हुने क्षति कमी गर्नका लागि विपद् प्रतिकार्य योजनाअनुसार विशेष योजनाका साथ तयारी अवस्थामा छौं।’
थापाका अनुसार विपद् र हुन सक्ने क्षतिलाई मध्यनजर गर्दै जोखिम न्यूनीकरण, उद्धार तथा राहतका लागि ३ करोड ३ लाख २ हजार ६ सय १५ रुपैयाँ विपद् कोषमा तयारी अवस्थामा राखिएको छ। समितिले मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना कार्यान्वयन गर्न सरकारी निकाय, स्थानीय सरकार, संघसंस्थासँग समन्वय गरी बारुणयन्त्र १ वटा, जेसीभी डोजर २० वटा, स्काभेटर १७ वटा, यातायातका साधन ५ सय वटा, खाद्यसामग्री, भाँडावर्तन ५ सय थान तयारी अवस्थामा राखेको छ।
विपद्मा स्वास्थ्य समस्यालाई निराकरण गर्न स्वास्थ्य सामग्री र जनशक्ति तयारी अवस्थामा राखिएको समितिले जनाएको छ। ७ सय ५० जना डाक्टर÷नर्स, १ सय २९ वटा आपतकालीन औषधि पर्याप्त भएको स्वास्थ्य संस्था, ७ सय ६५ जना महिला स्वास्थ्य स्वयंसेविकालाई तयारी अवस्थामा राखिएको छ। आपत्कालीन उद्धारका लागि ३ सय स्वयंसेवक, ८ सय १३ जना नेपाली सेना, ४ सय ५० जना नेपाल प्रहरी, ३ सय ८ जना शसस्त्र प्रहरीलाई तयारी अवस्थामा राखिएको विपद् व्यवस्थापन समितिले जनाएको छ।
‘विपद्को बेला आपत्कालीन उद्धारका लागि २ हजार तुरुन्त खटिन सक्ने जनशक्तिलाई तयारी अवस्थामा राखेका छौं’, प्रजिअ थापाले भने, ‘नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल रेडक्रस सोसाइटी र विज्ञहरू सम्मिलत ‘जिल्ला मनसुन प्रतिकार्य कमान्ड पोस्ट’ निर्माण गरेका छौं। यो पोस्टले मनसुनजन्य विपद्को बेला समग्र प्रतिकार्यको नेतृत्व गर्छ।’ विपद्को समयमा खोज तथा उद्धार, खाद्यसामग्री सहजता, आपत्कालीन आ श्रय, आपत्कालीन स्वास्थ्य पोषण, आपत्कालीन शिक्षा र आपत्कालीन संरक्षणको लागि समिति तयारी अवस्थामा रहेको उनले बताए।
मनसुनजन्य विपद्को अवस्थामा यथाशीघ्र प्रयोग गर्न मिल्ने गरी जिल्लाका २६ स्थानमा हेलिप्याड तयार पारिएको छ भने ९९ खुला स्थानलाई प्रयोग गर्न समिने अवस्थामा राखिएको छ। जसमा १ लाख ५० हजार जनसंख्यालाई आपत्कालीन स्थानान्तरण गराउन सकिने जनाइएछ। जिल्ला प्रशासन कार्यालयले विपद् उद्धारको लागि २५ किसिमका विपद् सामग्रीहरू तयारी अवस्थामा राखेको सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपाली बताउँछन्। त्यस्तै, रेडक्रसले ३० प्रकारका विपद् उद्धारका लागि आवश्यक सामग्रीहरू मौज्दात राखेको मन्त्री कमलचरण कक्षपतीले बताए। सिन्धुपाल्चोक उद्योग वाणिज्य संघले विपद्को समयमा प्रयोग गर्न सकिने गरी पाँच लाख किलो चामल तयारी अवस्थामा राखिएको संघका उपाध्यक्ष उजारसिंह तामाङले बताए। चामलसँगै दाल, तेल, नुन पनि तत्काल प्रयोग गर्न सकिने अवस्थामा राखिएको उनको भनाइ छ।
के गर्दै छन् स्थानीय सरकार ?
मनसुन सुरु भएसँगै स्थानीय सरकारले विपत्तिको सामना गर्न रणनीतिक योजना बनाएका छन्। विपद्को ठूलो सामना गर्दै आएको मेलम्ची नगरपालिकाले प्राकृतिक विपत्तिको सामना गर्न तयारीलाई तीव्र बनाएको छ। बाढीपहिरोबाट बच्न पूर्वसूचना प्रणालीको व्यवस्थापनसँगै प्राकृतिक विपत्ति आइपरे तत्काल आवश्यक पर्ने सामग्री खरिद गर्न विपद् बजेटसमेत व्यवस्थापन गरेको मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले बताए। भैपरी आउने प्राकृति विपत्तिबाट सुरक्षित बनाउन आवश्यक स्रोतसाधनलाई तयारी अवस्थामा राखेको हेलम्बु गाउँपालिकाले जनाएको छ।
‘हामीले विपद् न्यूनीकरण गर्न स्थानीय स्तरमा आपत्कालीन केन्द्र सञ्चालन गरेका छौं,’ गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले भने, ‘खोलाको किनार सुरक्षित बनाउन ढुंगाको पर्खाल लगाउने काम गरेका छौं भने बाढीको बहावलाई नियन्त्रित गरेर बस्ती जोगाउने योजना अनुरूप ग्याल्थुम, ढुंग्रेबजार, तिम्बु, हल्दे र चिउरीखर्कजस्ता क्षेत्रमा पहिरो रोक्न जाली गारो लगाएर ढुंगा थुपार्ने कार्य पनि जारी राखेका छौं।’ विगतका वर्षमा अनेकन विपद् झेल्दै आएको बाह्रबिसे नगरपालिकाले विपद् पूर्वआवश्यक तयारी थालेको छ। बाह्रबिसे नगरपालिकाका विपद् शाखाका प्रमुख दुर्गाप्रसाद भण्डारीका अनुसार नगरभर ६३ बस्ती उच्च जोखिममा रहेको पहिचान गरिएको छ। ‘ती जोखिमयुक्त बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरणको प्रक्रिया थालिँदैछ, भने ८१ विपद् खोज उद्धारकर्ता तयार पारिएको छ,’ उनले भने।
भोटेकोशी गाउँपालिकाभित्र खोकुन्डोल, डाक्लाङ, चाकु र नयाँपुल आसपास सडक जीर्ण छ। पहिरोको उत्तिकै जोखिम छ। पहिरो भासिँदा होस् वा पहिरो जाँदा नाकामा क्रियाशील व्यापारी र हाइड्रोपावर कम्पनीको मेसिन प्रयोग गरेर सडक पन्छाउनुपर्ने बाध्यता छ। सडक बनाउँदा बनाउँदै सबै पक्ष निराश बनेका छन्। ‘सडक डिभिजनका कर्मचारी तातोपानी क्षेत्रमा छन्। तर, उनीहरू मेसिन लिएर बेलुका आउँछन्, एक दुई घण्टा काम गर्छन्। रातभरिको वर्षाले फेरि बगाउँछ’, स्थानीय छ्युमी शेर्पा भन्छिन्।
चौतारा नगरपालिकाले विपद्जन्य घटनाका प्रतिकार्यका पूर्वतयारीका कामहरू गरिरहेको छ। दमकलसहित ३० प्रकारका विपद् उद्धारका लागि आवश्यक सामग्रीहरू मौज्दात राखेको विपद् व्यवस्थापन समिति फोकल पर्सन चिरञ्जीवी कट्टेलले बताए।
बलेफी गाउँपालिकाका विपद् व्यवस्थापन समिति फोकल पर्सन सुकुलाल तामाङले विपद् न्यूनीकरणका लागि प्रतिकार्यका पूर्वतयारीका कामहरू भइरहेको बताए। मनसुन सुरुवातसँगै भोटेकोशी, मेलम्ची, इन्द्रावती, सुनकोशी र ब्रह्मायणी नदीकिनारका बस्ती उच्च जोखिममा छन्। भूकम्पपछिका वर्षमा यहाँका थुप्रै पहाड कमजोर बनेकाले हरेक सामान्य वर्षाले पनि ठूलो क्षति ल्याउने सम्भावना उच्च रहेको मेलम्ची क्षेत्रको वातावरणीय र भौगर्भिक अध्ययनमा काम गरिरहेका वातावरणविद् डा. रविनराज निरौला बताउँछन्।
स्थानीय सरकार, सुरक्षाकर्मी र सरोकारवाला सबै निकायको समन्वयमा विपद्को जोखिम न्यूनीकरण र तत्काल उद्धारका लागि तयारी भइरहे पनि स्थायी समाधानका लागि दीर्घकालीन योजना बनाउन सकेको देखिँदैन। कोदारी राजमार्ग, बलेफी–कात्तिके, मेलम्ची–हेलम्बुलगायतका सडकमा पहिरोको जोखिम बढ्दो छ। बाह्रबिसे नगरपालिकाभित्र बसेरी, जम्बु, खागदल र जुरेमा पहिरोको जोखिम रहेको बाह्रबिसे नगरका प्रमुख बालकृष्ण बस्नेत बताउँछन्।
त्रासमा स्थानीय, विस्थापितको बिजोग
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका– २ लिपिङकी सुनिता श्रेष्ठलाई पानी पर्न थालेपछि डर लाग्छ। निदाउन सक्दिनन्। असार ३ गते राति परेको सामान्य वर्षाका कारण आएको पहिरोले श्रेष्ठको एकतले जस्ताले बनेको घर पूर्ण रूपमा भत्कियो। छिमेकीको शरणमा बसिरहेकी उनलाई पानी पर्नेबित्तिकै फेरि पहिरो जाने हो कि भन्ने त्रास हुन्छ। ‘पानी पर्नेबित्तिकै मुटु काम्न थाल्छ’, उनी भन्छिन्, ‘भर्खर त बर्खा लाग्न सुरु भएको छ, के–के पो हुने हो !’ 
उनीजस्तै सिन्धुपाल्चोकका अधिकांश नागरिकहरू पानी पर्नेबित्तिकै त्रासमा हुने गर्छन्। मेलम्ची बाढीले विध्वंस गरेको लामो समय पुग्दा पनि सरकार गम्भीर नबन्दा बाढी प्रभावित हेलम्बु, मेलम्ची र पाँचपोखरी थाङ्पाल गाउँपालिका तटीय क्षेत्रमा खास काम भएका छैनन्। हेलम्बुका पहिचान गरिएका २ सय २७ बाढीपीडित परिवार स्थानीय सरकारको र दातृ संस्थाले उपलब्ध गराएको अस्थायी आवासमा बसिरहेका छन्।
मेलम्ची नगरपालिकामा १ सय ८० बाढीपीडित अरूको घरमा महँगो भाडा तिरेर बस्न बाध्य बनेका छन्। ‘विपद्ले खेद्ने निश्चित छ, सरकारले बेवास्ता गरेको देखेर दिक्क लाग्छ,’ मेलम्चीका दाबा ह्योल्मोले भने। बाढीमा सर्वस्व गुमाएर एकै रातमा सुकुम्बासी बनेका हेलम्बु, मेलम्ची र पाँचपोखरी थाङ्पालका विस्थापित परिवार स्थानीय तहबाट पनि ठोस पहल नभएको भन्दै निराश छन्। प्रभावित क्षेत्रमा पुगेर राहत प्याकेजसहित पुनर्बासको योजना सुनाएर गएका प्रधानमन्त्रीदेखि सांसद, नेताहरू पुनः यहाँ नफर्केको स्थानीयको गुनासो छ। आश्वासनबाहेक पीडितले अझै पनि संघीय र प्रदेश सरकारको उपस्थिति र सहयोगको प्रत्यक्ष अनुभूति गर्न नपाएको उनीहरूको भनाइ छ।
विपद् जोखिम र पूर्वतयारीबारे ध्यानाकर्षण
सिन्धुपाल्चोक क्षेत्र नं १ बाट निर्वाचित सांसद माधव सापकोटाले जिल्लामा सम्भावित मनसुनजन्य विपद् जोखिम र यसको पूर्वतयारीबारे राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई लिखित ध्यानाकर्षण गराएका छन्।
सिंहदरबारस्थित प्राधिकरणको केन्द्रीय कार्यालयमा सांसद सापकोटाले कार्यकारी प्रमुख दिनेशप्रसाद भट्टलाई औपचारिक ध्यानाकर्षण पत्र हस्तान्तरण गरेका हुन्। पत्रमा सिन्धुपाल्चोक जिल्लाको समग्र विपद् जोखिम, तयारी अवस्था र आपत्कालीन आवश्यकतासम्बन्धी १४ बुँदे सुझाव तथा मागहरू समेटिएका छन्।
जिल्लामा विपद् न्यूनीकरण तथा व्यवस्थापनका लागि समर्पित इकाइ स्थापना, स्थानीय विपद् व्यवस्थापन समितिहरूलाई आवश्यक त्रिपाल, टेन्ट, प्लास्टिक, जालीजस्ता राहत सामग्रीको आपूर्ति, चीनको सीमासँग जोडिएको भोटेकोशी नदीमा अर्ली वार्निङ प्रणाली सञ्चालन, नियमित सुरक्षा समन्वय तथा नेपाल विद्युत् प्राधिकरण र नेपाल टेलिकमसँग सहकार्य गरी सञ्चार तथा ऊर्जा सेवा अवरुद्ध नहुने व्यवस्थाका विषयहरू मागपत्रमा समावेश छन्।
पत्रमा खोज तथा उद्धार कार्यमा सुरक्षाकर्मीहरूलाई आवश्यक उपकरण र स्रोतसाधन उपलब्ध गराउन, बन्देउस्थित सशस्त्र प्रहरी बल इकाइलाई
सुदृढ गर्ने, अरनिको लोकमार्गसहित अन्य जोखिमयुक्त सडकहरू सञ्चालनका लागि आवश्यक उपकरणहरू तयारी अवस्थामा राख्ने विषय छन्। यस्तै सम्भावित विस्थापित परिवारहरूलाई सुरक्षित स्थानमा सार्ने, उनीहरूका लागि आवश्यक आवास तथा खाद्यान्न व्यवस्था गर्ने र बालबालिका, गर्भवती महिला, अपांगता भएका व्यक्ति जस्ता संवेदनशील समूहका लागि विशेष व्यवस्थाको माग पनि गरिएको छ।
भेटमा कार्यकारी प्रमुख भट्टले पत्रमा उठाइएका विषयवस्तुलाई गम्भीरतापूर्वक लिँदै आवश्यक समन्वय र सहकार्यका लागि प्राधिकरणले प्रतिबद्धता जनाएको सांसद सापकोटाले जानकारी दिए।
तिब्बतमा हुने वर्षाले नदीहरूको बहाव बढाउन सक्छ। तर स्थानीय वर्षाले तत्काल ठूलो क्षति नगर्ने भए पनि सतर्कता अपनाउनु आवश्यक छ। चीनले तिब्बतको मौसमसम्बन्धी सूचना समयमै साझा गर्दा तल्लोतटीय क्षेत्रमा बाढीको क्षति कम गर्न सकिन्छ। सिन्धुपाल्चोकको भोटेकोशी नदीमा हालै प्राप्त चिनियाँ सूचनाले यो कुरा पुष्टि गरेको छ। यो सँगै बाढीको चेतावनीले स्थानीय समुदायलाई त्रासमा राखेको छ। यस्ता घटनाहरूले नेपालको भौगोलिक र सामाजिक–आर्थिक कमजोरीलाई उजागर गर्छ।’
–डा. धर्मराज उप्रेती, मौसमविद्यो वर्ष विपद्बाट हुन सक्ने धनजनको क्षतिलाई न्यूनीकरण गर्न प्रयत्नशील छौं। मनसुनजन्य विपद्लाई ध्यानमा राख्दै जोखिम रहेका बस्तीहरूको भौगर्भिक अध्ययन, पहिरो तथा बाढीबाट विस्थापितको पुनस्र्थापना र आगामी दिनमा जोखिम न्यूनीकरणका लागि गर्नुपर्ने समन्वय भइरहेको छ। पहिरो जाने र खोलाहरूमा बाढीबाट हुने क्षति कमी गर्नका लागि विपद् प्रतिकार्य योजनाअनुसार ‘क्विक रेस्पोन्स टिम’ बनाएर तयारी अवस्थामा राखिएको छ।
– किरण थापा, संयोजक एवं प्रमुख जिल्ला अधिकारी, जिल्ला विपद् व्यवस्थापन समिति
२०७१ सालदेखि प्राकृतिक विपद्का मुख्य घटना :
२०७१ साउन १७
जुरे पहिरोमा १ सय ४५ जनाको मृत्यु भयो। घर, विद्युत् गृह, विद्यालय, रिसोर्ट, निजी व्यापारिक फर्मसमेत १ सय ५३ घर पूर्णरूपमा क्षति भए।
२०७२ वैशाख १२, १३ र २९
विनाशकारी भूकम्प, ३ हजार ५ सय ७१ जनाको मृत्यु भयो। भूकम्पले १ हजार ५ सय ६५ जना घाइते, ८ जना बेपत्ता, ७८ हजार ५ सय ३७ घर पूर्णरूपमा ध्वस्त भए।
२०७३ असार २१
भोटेकोशी नदीमा बाढी, लिपिङ बजारका ३० घर बगायो। तातोपानी नयाँ बस्तीका ३० घरमा क्षति पुग्यो। अरनिको राजमार्ग बन्द भयो।
२०७४ साउन ८
पहिरोले लार्चा पुल बगाउँदा भोटेकोशी र तातोपानीको सम्पर्कविच्छेद भयो। अरनिको राजमार्ग पनि अवरुद्ध भयो।
२०७५ भदौ २
साँधी खोलामा आएको पहिरोले पक्की पुल बगायो। पहिरोले २२ घरमा लेदो माटो पस्यो, १२ घर जोखिममा परे।
२०७७ असार २४
बाह्रबिसे नगरपालिका वडा नं. ५ को जम्बु बजार पहिरोले पुरिँदा २ जनाको मृत्यु भयो भने १७ जना वेपत्ता भए। २५ घर बस्न नमिल्ने गरी क्षतिग्रस्त भए। बाह्रबिसेकै खागदलमा बाढीपहिरोले बस्ती पुरिँदा २२ घर क्षतिग्रस्त भए। भोटेकोशी गाउँपालिकाको बुल्कुटे पहिरोले एक जनाको मृत्यु भयो भने तीन जना बेपत्ता भए। लार्चामा पहिरोले १३ घर क्षतिग्रस्त भएपछि गाउँ नै विस्थापित भयो। लार्चाका विस्थापितलाई तातोपानीस्थित ड्राइपोर्टमा राखियो। अरनिको राजमार्गका खागदल र बुल्कुटेका दुईवटा पक्की पुल पनि क्षतिग्रस्त भए।
२०७७ साउन १८
मेलम्ची नगरपालिकाको मेलम्ची बजार नजिकैको पहिरोमा परी ९ जना मजदुरको मृत्यु भयो। सोही रात बरुवामा घर पुरिएर २ जनाको मृत्यु भयो।
०७७ असार ३१
भोटेकोशी गाउँपालिकाको फुल्पिङ गाउँमा खसेको पहिरोले एकै परिवारका ५ जनाको मृत्यु भयो, ३ घर पूर्ण रूपमा क्षतिग्रस्त भए।
२०७७ साउन २२
अविरल वर्षाका कारण चौतारा साँगाचोकगढी नगरपालिका २ सेराफाँटमा ४ घर पुरिए। बलेफी–कात्तिके सडक अवरुद्ध भयो। सयौं रोपनी धानखेत बगायो।
२०७७ साउन ३०
जुगल गाउँपालिकाको वडा नं २, गोल्चेस्थित लिदीमा गएको भीषण पहिरोमा ३७ घर पुरिए। पहिरोले पुरिएर बेपत्ता भएका ३९ जनालाई मृत घोषणा गरियो।
२०७८ साल असार १
सिन्धुपाल्चोकको मेलम्ची,
इन्द्रावती, ब्रह्मायणी र भोटेकोशीमा भीषण बाढी गयो। मेलम्ची खोलाले तिम्बु, चनौटे र मेलम्ची बजारमा ठूलो क्षति पुग्यो। मेलम्ची बाढीमा ५ जनाले ज्यान गुमाए। २० जना बेपत्ता भए। ७ सय २० घर क्षतिग्रस्त भए भने ३ सय ९३ व्यवसाय, ११ ट्राउट माछा फार्म, ११ वटा मोटर चल्ने पुल, १० वटा झोलुंगेपुल र ४ किमि पक्की सडक ध्वस्त भए।
२०८१ असोज ११ र १२
भारी वर्षासँगै आएको बाढीपहिरो र त्यसयता चैत्रसम्ममा विभिन्न विपद्मा परी सिन्धुपाल्चोकका १० जनाले ज्यान गुमाए। २० घाइते भए भने २ जना बेपत्ता हुन पुगे। २ सय २९ घरमा क्षति पुग्यो भने ३९ वटा विद्यालय, सरकारी कार्यालय र उद्योगले क्षति बेहोर्यो।
प्रतिक्रिया दिनुहोस !