वीरेन्द्रनगर : वीरेन्द्रनगर–१ आँपखोली किनारमा छ, बाबुराम नेपालीको घर । खहरेखोलाले बर्सेनि कटान बढाउँदै लगेकाले हरेक वर्ष बर्खाका बेला बाबुरामको परिवार चिन्तित हुन्थ्यो । खोलाले घरै बगाउने हो कि भन्ने चिन्तामा परिवार हुन्थ्यो । तर, तटबन्ध पछि बाबुरामको परिवार ढुक्कले सुत्न पाएको छ । मनसुन भित्रिएपछि आँपखोलीको त्रासबाट मुक्ति पाउनेमा करिब एक सय घरधुरी छन् ।
०७१ साउन २९ मा आएको भीषण बाढीले आँपखोली किनारका ९ घरमा क्षति पुर्याएको थियो । त्यस बेलादेखि यो बस्तीका परिवार बर्खामा सधैं तनावमा हुन्थे । स्थानीय सीता खड्काले तटबन्धनका कारण खोला कटानको जोखिम हटेको बताइन् ।
‘बर्खाका बेला घरमा बाढी पस्ने हो की भन्ने त्रास हुन्थ्यो, तटबन्धन गरिएपछि ढुक्कले राति सुत्न पाइएको छ, उनले भनिन्, ‘कटानको त्रासबाट मुक्ति पाउँदा हामीले शान्तिको सास फेर्न पाएका छौं ।’ वीरेन्द्रनगर नगरपालिकाले दातृ संस्थाको सहयोगमा बायो इन्जिनियरिङ विधिबाट बाढी नियन्त्रणका लागि आँपखोली तटबन्धन निर्माण गरेको हो । तटबन्धनबाट ३ सय ८४ घरधुरी लाभान्वित भएका छन् । वीरेन्द्रनगर–१ आपँखोलीस्थित लालीगुराँस टोल विकास संस्थाका नरजित नेपालीले आँपखोली र बांगेसिमल खोलामा अझैं तटबन्धको योजना आवश्यक रहेको बताए ।
वीरेन्द्रनगर नगरपालिकाले आँपखोलीका साथै बाढी नियन्त्रणका लागि इत्रामखोला तटबन्धन, पर्सेनी खोला निकासमा तटबन्धन, गाग्रेताल ताउले दहमा पानीको मुहान संरक्षण कार्य सम्पन्न गरेको छ । पर्सेनी खोलामा पनि बायोइन्जिनियरिङ विधिबाट तटबन्धन गरिएको हो । नगरपालिकाका वातावरण तथा विपद् शाखा प्रमुख यामलाल गिरीले नगर क्षेत्रभित्रका जोखिमयुक्त अधिकांश खोला नालाकिनारमा तटबन्धन गरिएको जानकारी दिए । इत्रामखोला तटबन्धनबाट करिब १ सय ५० घरधुरी लाभान्वित भएका छन् । स्थानीय शान्ति नेपालीले तटबन्धन र पक्की पुल बन्दा विकासको अनुभूति भएको बताइन् ।
‘तटबन्धनले कटान रोकेको छ, खोला बढेर बाढी बस्तीभित्र पस्नबाट रोकिएको छ,’ उनले भनिन् । वीरेन्द्रनगरको मध्यभाग हुँदै बगिरहेको सो खोलाको आसपासका बस्तीमध्ये अधिकांश विपन्न दलित समुदायका छन् । बाढी र डुबानको उच्च जोखिममा रहेको वीरेन्द्रनगर ९ तल्लो पर्सेनीमा तटबन्धन निर्माणसँगै विपद्को सूचना दिने साइरन पनि जडान गरिएको छ । ‘रिमोटबाट चल्ने साइरनले बाढीको पूर्वसूचना दिई स्थानीयलाई सुरक्षित रहन मद्दत पुग्नेछ’, शाखा प्रमुख गिरीले भने, ‘स्थानीयलाई लाइफ ज्याकेट वितरण, विपद् पूर्वसूचना प्रणाली व्यवस्थापन र प्रतिकार्य योजनाबारे प्रयोगात्मक तालिमहरू प्रदान गरिएको छ ।’
उनका अनुसार वीरेन्द्रनगरमा खोला नदी कटान, बाढी डुबान, आगलागी र पहिरोजस्ता विपद्को जोखिममा छ । विपद् जोखिमका दृष्टिले वीरेन्द्रनगरका वडा नं २ र ९ बाढी र डुबान, वडा नं १४, १५, १६ पहिरो, वडा नं ३ भूकम्प, वडा नं १६ चट्याङबाट बर्सेनि प्रभावित हुँदै आएका छन् ।
नगरपालिकाले मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना लागू गरेको छ । आपत्कालीन कार्य सञ्चालन केन्द्रमार्फत नगरपालिकाले विपद् व्यवस्थापनका पूर्वतयारी थाल्नुका साथै विपद्सम्बन्धी नीतिगत संरचनाहरूलाई क्रियाशील गराएको छ । यसअघि नै विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, स्थानीय विपद् जोखिम न्यूनीकरण रणनीतिक कार्ययोजना, विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना बनाइसकेको छ ।
आपत्कालीन कार्य सञ्चालन केन्द्रले आफ्नो सञ्चार संयन्त्रका माध्यमबाट नगरस्तरीय विपद् व्यवस्थापन समिति, वडास्तरीय व्यवस्थापन समिति, टोल विकास संस्थाहरू, विपद् उद्धार कार्यदल, गैरसरकारी संस्थाहरूलाई तयारी अवस्थामा राखेको हो । केन्द्रमा मनसुन पूर्वतयारी तथा प्रतिकार्यका लागि रबरबोट २, दमकल २, डोजर २, लाइफ ज्याकेट ८० थान, रबरट्युब २० थान, एम्बुलेन्स १, स्टुङइसर ५, फायर बल १० थान, फायर सेफ्टी इक्युपमेन्ट ४ थान तयारी अवस्थामा राखिएको छ ।
नगरपालिकाले स्वयंसेवक ब्युरो गठन तथा परिचालन निर्देशिकाअन्तर्गत तालिम प्राप्त अग्नि नियन्त्रक १४ जना, दु्रत लेखाजोखा ४१, खोज तथा उद्धारकर्ता २४, वासटोली १७ जनालाई परिचालन गर्नेछ ।
प्रतिक्रिया दिनुहोस !