सर्पदंशबाट बर्सेनि १००० को जान्छ ज्यान, महिला धेरै
परासी : तराईमा अत्यधिक गर्मी छ । जमिन तातिएपछि चिसोको खोजीमा जमिनबाहिर सर्प निस्कने गरेका छन् । त्यसैकारण जताततै सर्पको बिगबिगी छ । सर्पले टोकेका बिरामीहरू अस्पताल भर्ना हुने क्रम पनि बढ्दो छ । समयमै उपचार पाए सर्पले टोकेका बिरामी निको हुन्छन् । तर केही भने उपचार नपाउँदा अकालमा ज्यान गुमाइरहेका छन् ।
सर्पले टोकेका बिरामी दिनहुँ उपचारका लागि सरकारी अस्पतालमा पुग्ने गरेका छन् । किनकि, सर्पले टोकेका बिरामीको उपचार सरकारी अस्पतालमा मात्रै हुन्छ । सर्पले डसेर उपचार गराउनेमा पुरुषभन्दा महिलाको संख्या बढी छ । नवलपरासीमात्र होइन, सिंगै लुम्बिनी प्रदेशको तथ्यांकले सर्पले टोकिनेमा महिलाको संख्या बढी छ । नवलपरासीमा पृथ्वीचन्द्र जिल्ला अस्पताल परासी, चिसापानी अस्पताल बर्दघाट र नेपाली सेनाको त्रिवेणीस्थित सर्पदंश उपचार केन्द्रमा सर्पले डसेका बिरामीहरूको उपचार हुने गरेको छ ।
उपचार गर्ने तीनवटै संस्थाका अनुसार, आर्थिक वर्ष ०८१/०८२ मा ५ सय ४५ जना सर्पले डसेर उपचारका लागि पुगेका थिए । जसमा २ सय २५ जना पुरुष र ३ सय २० जना महिला छन् । तीमध्ये त्रिवेणीस्थित उपचार केन्द्रबाट ५ जना, चिसापानी अस्पतालबाट ५ जना र पृथ्वीचन्द्र जिल्ला अस्पतालबाट १३ जना प्रादेशिक अस्पताल बुटवलमा रिफर गरिएका थिए । त्यस्तै आर्थिक वर्ष ०८०/०८१ मा तीन वटा स्वास्थ्य संस्थामा उपचार गर्न आएका ७ सय १९ जना सर्पदंशका बिरामीमध्ये ४ सय ८ महिला थिए । तीमध्ये त्रिवेणीस्थित उपचार केन्द्र र चिसापानी अस्पतालबाट ४/४ जनालाई रिफर गरिएको थियो । पृथ्वीचन्द्र अस्पतालले भने उक्त वर्षको विवरण उपलब्ध गराउन सकेन । लुम्बिनी प्रदेशको तथ्यांकले पनि पुरुषभन्दा महिलालाई सर्पले बढी डसेको पाइएको छ । सबैभन्दा बढी गोमन र दोस्रोमा करेत जातका सर्पबाट डसिएका बिरामी भेटिएको प्रादेशिक अस्पताल बुटवलका सूचना अधिकारी डा. ज्ञानहरि मरासिनीले जानकारी दिए ।
सर्पबाट किन बढी महिला टोकिन्छन् ?
महिलाहरू घरधन्दा र खेतबारीको काममा खटिने गरेका कारण सर्पदंशमा पर्ने गरेको स्वास्थ्य संस्थाहरूले जनाएका छन् । ‘बिहानदेखि साँझसम्म घाँस दाउराका लागि जंगल जाने र गोठदेखि भान्सासम्मको काम गर्ने महिला नै हुन्छन,’ सर्पदंश उपचार केन्द्र त्रिवेणीका सहायक सेनानी रमेशप्रसाद जोशीले भने, ‘ती स्थान भनेका सर्पको बासस्थानको खोजीमा पर्छन् । त्यसैकारण सर्पदंशमा महिला बढी जोखिममा पर्ने गरेका हुन ।’
विषालुभन्दा अविषालु सर्पले टोकेर उपचारमा आउनेको संख्या बढी रहेको र त्यसमा पनि महिलाको संख्या अधिक रहेको चिसापानी अस्पताल बर्दघाटका जनस्वास्थ्य अधिकृत रमेशचन्द्र न्यौपानेले बताए । उपचारमा आउनेमध्ये सबैभन्दा बढी गोमन र त्यसपछि करेतले डसेका बिरामी रहेको न्यौपानेले जानकारी दिए । जिल्लामा सर्पदंशको उपचार गर्दै आएका स्वास्थ्य संस्थाहरूमा आईसीयू र भेन्टिलेटर नभएकाले गम्भीर प्रकृतिका बिरामीहरूलाई प्रादेशिक अस्पतालमा रिफर गर्नु परेको स्वास्थ्य संस्थाहरूले जनाएका छन् ।
विषालुभन्दा अविषालु सर्पले डसेका बिरामी धेरै
लुम्बिनी प्रदेशका तराईका तीन जिल्ला (नवलपरासी, रूपन्देही र कपिलवस्तु) मा सर्पको बिगबिगी हुने गरेको छ । गर्मी बढेसँगै यी जिल्लामा सर्पदंशका बिरामी पनि बढेका छन् । ०८१ साउनदेखि ०८२ असार १२ गतेसम्म लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा ७ सय २३ जना सर्पदंशका बिरामी उपचारका लागि पुगेका थिए । जसमा ९७ जनालाई विषालु सर्पले डसेको थियो । अन्य ६ सय २६ अविषालु सर्पले डसेर उपचारका लागि आएको अस्पतालका सूचना अधिकारी डा. ज्ञानहरि मरासिनीले जानकारी दिए । बिरामी सबै उपचारपछि निको भएका थिए ।
आर्थिक वर्ष ०८०/०८१ मा प्रादेशिक अस्पतालमा ७ सय ४१ जना सर्पदंशका बिरामी उपचारका लागि पुगेका थिए । जसमा ८५ जनालाई विषालु सर्पले डसेको थियो । अरू सबै अविषालु सर्पले डसेका बिरामी थिए । गम्भीर अवस्थामा पुगेका १ जना पुरुषको उपचारका क्रममा मृत्यु भएको थियो । २ जना महिला मृत्यु भइसकेपछि उपचारका लागि अस्पताल पु
र्याइएका थिए । गोमन र करेतले डसेर आउने बिरामीको संख्या धेरै रहेको डा. मरासिनीले बताए । पहिले–पहिले गोमन, करेतसहित अन्य विषालु सर्प तराई क्षेत्रमा बढी पाइने गर्थे । तर, पछिल्लो समय सबै प्रकारका सर्पहरू सबै ठाउँमा पाइन थालेकोले जोखिम बढेको डा. मरासिनीको भनाइ छ ।
अस्पतालमा आउने धेरैजसो सर्पदंशका बिरामी विषालुभन्दा पनि अविषालु सर्पले डसेर आउने गरेको प्रादेशिक अस्पताल बुटवलले जनाएको छ । ‘सर्पले डसेकामध्ये ५/७ प्रतिशतमात्र विषालुले डसेर आएका हुन्छन् । उनीहरूलाई २४ देखि ४८ घण्टाको निगरानीमा राखेर औषधि चलाउने गरिएको छ,’ पृथ्वीचन्द्र अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मोहम्मद नुरुल होदाले भने । विषालु सर्पले टोकेर आउने बिरामीको अवस्थाअनुसार भेन्टिलेटरसहित आईसीयू भएका अस्पतालमा रिफर गर्ने गरिएको उनले बताए । सर्पले डसेपछि चलाइने ‘एन्टिभेनम’ औषधिको पहिलो मात्रा चलाएर सुविधा सम्पन्न ठाउँमा पठाउने गरिएको डा. होदाले बताए । सर्पले डसेपछि हुने उपचार सरकारी अस्पतालमा मात्र उपलब्ध रहेकोले भीम अस्पताल भैरहवा र प्रादेशिक अस्पताल पठाउने गरिएको उनले जानकारी दिए ।
सरकारी अस्पतालमा मात्रै उपचार
सर्पले डसेर मृत्यु हुनेको यकिन तथ्यांक सरकारी निकायसँग पनि छैन । सर्पले डसेपछि बाटोमै मृत्यु भएर अस्पताल पुर्याएका व्यक्तिहरूको तथ्यांक सरकारी निकायले पनि राख्दैनन् । त्यसैकारण सर्पदंशबाट कति जनाको मृत्यु भयो भन्ने सरकारी तथ्यांक आउन नसकेको हो । सर्पदंशको उपचार सरकारी अस्पतालमा मात्र उपलब्ध छ । सर्पले टोकेपछि प्रयोग गरिने ‘एन्टिभेनम’ औषधि सरकारी अस्पतालमा मात्र उपलब्ध हुन्छ ।
‘सर्पले टोकेर आउनेमध्ये केही मृत अवस्थामा (ब्राउथ डेथ) भइसकेका हुन्छन्,’ प्रादेशिक अस्पताल बुटवलका सूचना अधिकारी डा. मरासिनीले भने, ‘त्यस्ता मृतकको तथ्यांक राख्ने गरिएको छैन । त्यसैले सर्पदंशबाट समग्रमा कतिको मृत्यु भयो भन्नेबारे यकिन विवरण नभएको हो ।’ पछिल्लो समय मृत अवस्थामा पुर्याइएकाहरूको पनि केही अस्पतालले ‘ब्राउथ डेथ’ को विवरण राख्न सुरु गरेका छन् । तर, केही छुटफुट हुँदा वास्तविक तथ्यांक आउन नसकेको पृथ्वीचन्द्र अस्पताल परासीका मेडिकल सुपरिटेन्डेन्ट डा. मोहम्मद नुरुल होदाले बताए । 
सर्पले किन टोक्छ ?
सबै सर्प विषालु हुँदैनन् र सबैले मानिसलाई टोक्दैनन् पनि । मानिसलाई देखे सकेसम्म सर्प भाग्छन् । जिस्काए वा चलाए भने मात्र टोक्छन् । घाँसदाउरा गर्दा वा बाटो हिँड्दा सर्पलाई छुन वा कुचल्न पुग्यो भने मात्रै सर्पले डराएर मानिसलाई टोक्छ । करेत सर्प घरभित्र आउने गर्दछ । त्यो बेला निदाएको मानिसले निद्रामा नै हात खुट्टा चलाउँदा सर्पलाई लाग्यो भने टोक्न सक्छ ।
गोमन सर्प रिसाहा प्रवृत्तिको हुन्छ । थोरै मात्र चोट पुग्दा पनि यसले झम्टेर टोक्छ । गोमनबाट विशेष होसियार रहनु पर्दछ । सर्पलाई मार्नु हुँदैन । तिनले अप्रत्यक्ष रूपमा वातावरणमा फाइदा नै पुर्याएका हुन्छन् । मानिस, बस्तुभाउ, बालीनालीलाई बिगार्ने, कीरा फट्यांग्रा एवं मुसा खाएर मानव समुदायलाई गुन लगाएका हुन्छन् ।
विषालु सर्प र अविषालु सर्प
विश्वमा करिब ३५ सय प्रजातिका सर्पहरू पाइन्छन् । जसमध्ये ६ सय प्रजातिका मात्र विषालु हुन्छन् । नेपालमा करिब ८० प्रजातिका सर्पहरू पाइन्छन् । जसमध्ये २१ प्रजातिका सर्पहरूमात्रै विषालु छन् । गोमन, करेत, राजगोमन, बाघेसाँप (रेसेल्स भाइपर) लगायत मुगा सर्प र लालकण्ठे सर्प प्रमुख विषालु सर्प हुन् । अंजिगर धामिन, बगाले, दोमुखे आदि सर्पहरू विष नभएका सर्पहरू हुन् । नेपालका २६ वटा जिल्ला सर्पदंशबाट प्रभावित छन् । प्रत्येक वर्ष एक हजार जनाले सर्पको टोकाइबाट ज्यान गुमाउने गरेका छन् ।
सर्पको विषबाट अन्य रोगको पनि उपचार
सर्पको विषबाट प्रतिविष बनाएर उपचार गर्ने गरिन्छ । यस्तै, रगतमा ढिक्का हुने, कुष्ठरोग, बाथरोग आदि सञ्चो बनाउने औषधि बनाउन पनि सर्पको विष प्रयोग हुन्छ ।
उच्च रक्तचाप र अन्य मुटु रोगलाई निको पार्ने औषधि बनाउन पनि सर्पको विष प्रयोग गरिन्छ । न्युरोटोक्सिन विषलाई अत्यधिक मानसिक तनाव कम गर्न प्रयोग गरिन्छ । दाँतको उपचारमा चिरफार गर्दा हुने अत्यधिक रक्तस्रावलाई रोक्न रसेल्स भाइपरको विष नै प्रयोग गरिन्छ । सर्पको बोसोबाट तेल बनाई जिउ दुखेको, सुन्निएको, मर्किएको, पुरानो वा नयाँ घाउ आदिमा प्रयोग गरिन्छ र उक्त समस्याबाट मुक्ति मिल्दछ ।
आर्युवेदमा सर्प विषलाई दम, छारे रोग, अनिद्रा आदि रोग निको पार्न प्रयोग गरिन्छ । वैज्ञानिकहरू सर्पकै विष प्रयोग गरी क्यान्सर रोगलाई पनि निको पार्न सकिने भनी अनुसन्धान गरिरहेका छन् ।
सर्पले डसे के गर्ने ?
डा. ज्ञानहरि मरासिनी,लुम्बिनी प्रादेशिक अस्पताल, बुटवल
सर्पले टोकेका बिरामीको लक्षणबाट मात्र कुन जातिको सर्पले डसेको हो भन्ने प्रजाति पत्ता लगाउन गाह्रो हुन्छ । किनभने विषका प्रभाव मिल्न सक्छन् । यदि सम्भव छ भने सर्पको रंग, आकार वा टाउकोको बनावट नोट गर्नुपर्छ । तर, सर्प समात्ने प्रयास गर्नुहुँदैन । डसाको स्थान, विषको मात्रा, बिरामीको स्वास्थ्य र उपचारको समयले लक्षणको गम्भीरता निर्धारण गर्छ ।
सर्पले डसेमा डसेको अंगलाई स्थिर राख्नुपर्दछ । त्यसलाई मुटुभन्दा तल राख्नुपर्दछ र हिँड्डुल गर्नु हुँदैन । सवारीसाधन बिरामी स्वयंले चलाउनु हुँदैन । डसेको हात वा खुट्टालाई चलाउनुहुँदैन । धेरै कसेर बाँध्नुहुँदैन । यसले फाइदाभन्दा बेफाइदा बढी गर्छ ।
सर्पले टोकेको घाउलाई पहिले सफा गर्नुपर्छ । सानो कपडा वा ब्यान्डेजले छोपिदिने र गाउँघरमा सजिलै उपलब्ध हुने कपडा (जस्तैः साडी, तन्ना, सिरकको खोल, पातलो सल, पटुका आदि) वा तन्कने गुण भएको क्रेप ब्यान्डेजले टोकेको ठाउँभन्दा माथि हल्का बाँध्नुपर्छ । अनुहार, छातीमा डसेमा क्रेप ब्यान्डेज लगाउन मिल्दैन । ती अंगमा लोकल कम्प्रेसन प्याडको प्रयोग उपयोगी हुन्छ । सर्पले डस्नेबित्तिकै अत्तालिएर केहीले धारिलो हतियारले चिर्ने, काट्ने, डढाउने, औंला नै काट्ने गर्छन् । त्यस्तो कदापि गर्नुहुँदैन । यसले धेरै रगत बग्ने, संक्रमण हुने, रगतका नशा, स्नायु, मांसपेशीमा चोट पुग्ने र घाउ निको हुन समय लाग्छ । तर, फाइदा भने केही हुँदैन ।
अन्धविश्वासमा होइन, उपचारमा लाग्नुपर्छ
डा. छविलाल थापामगर
मेडिकल डाइरेक्टर एवं सर्पविज्ञ, कालीगण्डकी अस्पताल, कावासोती (पूर्वी नवलपरासी)
सर्पले डसेपछि अझै पनि गाउँघरमा धामीझाँक्री, तन्त्रमन्त्र तथा झारफुक वा गरुड ढुंगाको प्रयोग गर्ने जस्ता अन्धविश्वास रहेका पाइन्छन् । भुलेर पनि यसो गर्नुहुँदैन ।
सर्पले डसेपछि त्यसको औषधि भनेकै विष निष्क्रिय पार्ने औषधि प्रतिविष रक्तसार वा एन्टिस्नेक भेनम सेरममात्र हो । सर्पले टोकेका बिरामीको उपचार जहाँतहीँ हुँदैन । सर्पले टोकेपछि बिरामीलाई सान्त्वना दिँदै तत्काल अस्पताल पुर्याउनुपर्छ । तराईको दैनिक जीवनमा सर्पबाट पूर्ण रूपमा बच्न गाह्रो छ । ठूलो जुत्ता लगाएर खेतमा जाने, पञ्जा लगाएर घाँस दाउरा गर्ने, जहिले पनि पूरा कपडा लगाएर बस्नुपर्छ । तर, यी कुरा अव्यावहारिक हुन् । सधैं त्यो सम्भव पनि हुँदैन । सर्पहरू दिउँसोभन्दा राति बढी हिँड्छन् । त्यसैले राति हिँड्नु परे उज्यालो टर्च आदि बोकेर र खुट्टामा जुत्ता लगाएर हिँड्नुपर्छ ।
सर्पहरू बस्न सक्ने सम्भावित ठाउँहरू जस्तै : दाउराको चांग, पराल, ढुंगा तथा इँटा थुपारेको ठाउँमा चलाउनु परेमा पहिले लामो लठ्ठीले चलाउनुपर्छ । घर वरिपरि झ्याङ, भार जंगल र दुलोहरू भए सफा गर्नुपर्छ । घर वरिपरि खानेकुरा त्यसै फाल्ने गर्नाले मुसा, भ्यागुता खान सर्पहरू घरभित्र पस्छन् । सर्पबाट जोगाउन केटाकेटी माथि विशेष निगरानी राख्नुपर्छ ।
- सबैभन्दा बढी गोमन र त्यसपछि करेतले डसेका बिरामी भेटिने गरेको ।
- महिलाहरू घरधन्दा र खेतबारीको काममा खटिने गरेका कारण सर्पदंशमा पर्ने गरेको ।
- विषालुभन्दा अविषालु सर्पले टोकेर उपचारमा आउनेको संख्या बढी ।
दुर्गाको ‘हाइहाइ’, १५ सय सर्पको उद्धार
गर्मी बढ्यो कि दुर्गा लामिछाने चौबिसै घण्टा चनाखो भएर बस्छन् । कुन ठाउँबाट कसले कतिखेर फोन गरेर बोलाउने हो ? त्यसैअनुसार दौडिनुपर्छ । सर्प समात्न र सर्पको उद्धारमा दुर्गा व्यस्त हुन्छन् ।
सुरुमा त दुर्गालाई सर्प समात्ने काममा नलाग्न पारिवारिक दबाब थियो । ज्यान नै जोखिममा पर्ने काममा नलाग्न दबाब दिन्थे । ‘सर्प समात्ने र उद्धार गर्नु सामाजिकमात्र नभई, अरूको ज्यान बचाएर पुण्य कमाउनु पनि हो’ भन्दै उनी निरन्तर उद्धारमा खटिए । दुर्गाले यो काम नछाडेपछि परिवारका सदस्यले उनलाई दबाब दिनै छोडे । अब त जेठा छोराले समेत दुर्गालाई काममा सघाउन थालेका छन् ।
नवलपरासी बर्दघाट नगरपालिका–४ बर्दघाट बजारका ४० वर्षीय दुर्गा झन्डै पाँच वर्षदेखि सर्प उद्धारमा खटिँदै आएका छन् । घरभित्र र वरपर सर्प देख्नेबित्तिकै स्थानीयले लामिछानेलाई खोज्छन् । लामिछानेको मोबाइलमा आउने फोन अधिकांश सर्प समात्नका हुन्छन् । बोलाउनेबित्तिकै उनी सम्बन्धित ठाउँमा सर्प समात्न पुग्छन् । दुर्गासँग बुधबार अन्नपूर्ण पोस्ट्ले सर्प उद्धारसम्बन्धी कुरा गरिरहँदा बर्दघाट नगरपालिका–१० अलावलका ढुण्डिराज भण्डारीको फोन आयो– ‘दुर्गा भाइ कहाँ हुनुहुन्छ ? मेरो घरको बाथरुममा सर्प बसेको छ आइदिनु पर्यो ।’ दुर्गाले फोनबाटै सुझाव दिँदै भने– ‘सर्पको फोटो खिचेर पठाउनुहोस्, कुन सर्प हो हेरेर आउँला ।’ दुई, चार मिनेटपछि दुर्गाको मोबाइलमा धामिन सर्प भन्ने खबर आयो । उनले धामिन विषालु हुँदैन विस्तारै लौराले चलाउनुस् भागिहाल्छ भने । नभागे आफू आउने बताए ।
दुर्गाले थप सुझाव दिँदै भने– ‘भगाउनका लागि मट्टीतेल, पेट्टोलजस्ता पदार्थ सर्पको शरीरमाथि नहाल्नु होला, मार्न पनि नमार्नु होला, आफैं जान्छ ।’ सर्पहरू प्रायः मुसा भएको स्थानमा बढी देखिने गर्छन् । बारी, थुप्रो भएको स्थान, बिस्तरा, भान्सा, बाथरुममा सर्प भेटिने गरेको लामिछानेले बताए । ‘सर्पले मानिसलाई त्यत्तिकै डस्दैन । कसैले चलाएमा, जिस्क्याएमा मात्र सर्पले टोक्छ । सर्प वातावरणको पनि संरक्षक भएकाले यसलाई जोगाउन आवश्यक छ,’ लामिछानेले भने । 
सर्प समात्नका लागि बोलावट गर्नेहरूलाई दुर्गाले पहिला सर्पको फोटो खिचेर पठाउन आग्रह गर्छन् । त्यसो गर्दा विषालु र अविषालु चिनिने र अविषालु भएमा त्यसैगरी धपाउन सुझाव दिन्छन् । विषालु भएमा तत्कालै उनी सम्बन्धित घर पुगेर सर्पको उद्धार गर्ने गरेका छन् । उद्धार गर्दै हिँड्ने क्रममा लामिछानेले सर्पबारे विस्तृत जानकारी पाइसकेका छन । स्कुल पढ्ने बेला (१२/१३ वर्ष) को उमेरदेखि नै उनले पानी सर्प समात्ने गरेका थिए । त्यसै बेलादेखि डर भागेको उनले बताए । थप प्रेरणा उनले भारतका चर्चित सर्प उद्धारकर्मी एवं विज्ञ ‘मुरली हौसला’बाट पाएको बताए । युट्युबमार्फत उनले मुरली हौसलाबाट प्रेरणा पाएका हुन् । अहिले लामिछाने र मुरलीबीच नियमितजस्तो सर्पसम्बन्धी विषयमा कुराकानी भइरहन्छ ।
लामिछानेले सर्पको उद्धारमात्रै होइन कयौंलाई सर्पको टोकाइबाट हुने सम्भावित दुर्घटनाबाट पनि जोगाएका छन् । आफूले चिन्न नसके तत्कालै सम्पर्कमा रहेका विज्ञ र सिनियरलाई फोटो पठाएर जानकारी लिन्छन् । उनको सम्पर्कमा भारतका चर्चित सर्प उद्धारकर्मी तथा सर्पविज्ञ मुरली हौसला, दाङका अनुसन्धानकर्ता तथा सर्प उद्धारकर्मी वसन्त सुवेदी, बाराका विशाल न्यौपाने, बाराकै सर्प उद्धारकर्मी दीपक नेपाल र नवलपरासी बर्दघाटकै वाइलड लाइफ फोटोग्राफर राज अधिकारी छन् । आफूलाई जानकारी नभएको विषयबारे उनले ह्वाटसएप र फोनबाट जानकारी लिएर सर्प उद्धारमा खटिनुका साथै सोहीअनुरूप सुझाव दिन्छन् । काम गर्दै जाँदा उनी सबै सर्पको नाम र टोकाइको अवस्था बारेमा पोख्त भइसकेका छन् ।
बर्दघाट क्षेत्रमा मात्र होइन, जिल्लाभरि नै सर्प समात्न लामिछानेको खोजी हुन थालेको छ । लामिछाने अहिले सर्प उद्धारकर्मीका रूपमा मात्र चिनिएका छैनन् उनको कामको सबैतिर प्रशंसा हुन थालेको छ । ‘बाटोमा देख्दा दुर्गा भाइ राम्रो काम गर्नुभएको छ भन्दा खुसी लाग्छ । सबैले धन्यवाद दिन्छन् । यसैमा खुसी छु ।’ लामिछानेले भने । गर्मी समयमा दैनिक ८ वटासम्म सर्प समातेर उद्धार गरेका छन् । उद्धार गरिएका अधिकांश विषालु छन् । जोखिमपूर्ण काममा खटिने सर्प उद्धारकर्मीको सरकारले बिमा गराइदिए अझ हौसला पुग्ने उनले बताए । देशभर झन्डै १ सय ५० को हाराहारीमा उद्धारकर्मी रहेको उनले जानकारी दिए । ‘धेरै पनि छैनौं । सरकारले बिमा गराइदिए हौसला हुन्थ्यो,’ उनले भने । विषालु सर्पले टोकेपछि आईसीयूमा बसेर ठूलै उपचार गराउनु परे झन्डै २/३ लाखसम्म खर्च हुने हुँदा त्यसका लागि सरकारले सुविधा उपलब्ध गराउन माग गरे ।
लामिछानेले उद्धार गर्ने सर्पको प्रजातिको नामसहित विवरण राख्ने गरेका छन् । पाँच वर्षको अवधिमा लामिछानेले झन्डै १५ सय सर्पको उद्धार गरेको बताए । उद्धारका लागि आवश्यक स्रोतसाधनमा कमी, उद्धारकर्मीलाई आवश्यक तालिमको व्यवस्था नहुँदा समस्या हुने गरेको लामिछानेको भनाइ छ । उद्धारकर्मीहरूको शारीरिक तथा सामाजिक सुरक्षा हुन सकेमा सर्पदंशको जोखिम न्यूनीकरण गर्न खटिने सर्प उद्धारकर्मीलाई थप प्रोत्साहन मिल्ने लामिछानेको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस !