घरनजिकै भेटियो बालिकाको शव, हत्या भएको आशंका
विराटनगर : मोरङमा अभिभावकसँगै सुतिरहेकी बालिकाको शव घरनजिक फेला परेको छ। प्रहरीले बलात्कारपछि हत्या गरिएको हुन सक्ने आशंका गरेको छ।
प्रहरीका अनुसार धनपालथान गाउँपालिका–६ बबियाका अक्षय सरदारकी छोरी ५ वर्षीया आत्तिका सरदारको हत्या भएको हो। अभिभावकसँगै सुतिरहेकी नाबालिका शनिबार बिहानका राति ३ बजेतिर बेपत्ता भएको जानकारी प्रहरीले प्राप्त गरेको थियो। घरमा सुतिरहेकी बालिका हराएको जानकारी अभिभावक र आफन्तले बिहान ५ बजेतिर प्रहरी चौकी कर्सियामा गराएका हुन्।
मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले घरबाट करिब सय मिटर पर रहेको दुर्गा आधारभूत विद्यालयको बाहिर बाटोको छेउमा बालिकाको शव फेला परेको जानकारी दिइन्।
घटनाको जानकारी पाउनसाथ इलाका प्रहरी कार्यालय रंगेली र जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले घटनास्थल पुगेर थप अनुसन्धान गरिरहेको छ। प्रहरीको प्रारम्भिक अनुसन्धानले बलात्कारपछि बालिकाको हत्या भएको देखाएको छ। यद्यपि, पुष्टि हुन बाँकी छ।
कानुनी प्रक्रिया पूरा गरी घटनास्थलबाट शवलाई पोस्टमार्टमका लागि विराटनगरको कोशी अस्पताल पठाइएको प्रहरीले जनाएको छ। अनुहार, घाँटीलगायत शरीरका विभिन्न भाग चोट रहेको अवस्थामा नाबालिकाको शव फेला परेको डीएसपी चुँडालले बताइन्। ‘घटनाको प्रकृति हेर्दा बलात्कारपछि हत्या गरेजस्तो देखिन्छ। अनुहार, घाँटीलगायत शरीरका विभिन्न भागमा चोटपटक छ। घटनाको थप अनुसन्धान भइरहेको छ,’ प्रहरी स्रोतले भन्यो।
प्रतिक्रिया दिनुहोस !