बलात्कारपछि बालिकाको हत्या आशंका, काकामाथि अनुसन्धान हुँदै

बलात्कारपछि बालिकाको हत्या आशंका, काकामाथि अनुसन्धान हुँदै

विराटनगर : मोरङको धनपालथानमा हत्या भएको अवस्थामा नाबालिकाको शव फेला परेको छ। बलात्कारपछि बालिकाको हत्या भएको हुनसक्ने प्रहरीको आशंका छ। 
प्रहरीका अनुसार धनपालथान गाउँपालिका–५ बबियाका अक्षय सरदारकी छोरी ७ वर्षीया आत्तिका सरदारको हत्या भएको हो। 

सन्तानलाई हजुरआमाको जिम्मा लगाएर आमाबुवा काम विशेषले बाहिर गएका थिए। अक्षय सालोसँग भारतको मनिहारी घाटतर्फ लागे। जुठो पखाल्नका लागि उनी सालोसँग मनिहारी घाट जाँदा श्रीमती माइतीघर गइन्। २ छोरी र १ छोरालाई हजुआमाको घरमा राखेर उनीहरु हिँडेका थिए। 

बाबुआमाले हजुरआमाको जिम्मा लगाएकामध्ये हत्या भएको अवस्थामा ७ वर्षीया आत्तिकाको शव शनिबार बिहान फेला परेको हो। दिदी र भाइसँगै आत्तिका आफ्ना काका अनिष सरदारसँग सुतेकी थिइन्। काकासँग सुतिरहेका ३ जना बालबालिकामध्ये नाबालिका आत्तिका बेपत्ता भइन्। हत्या भएको अवस्थामा शव भेटिएको मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले बताइन्। 

बलात्कारपछि नाबालिकाको हत्या भएको हुनसक्ने अनुमान प्रहरीले गरे पनि पुष्टि हुन बाँकी छ। पोस्टमार्टम रिपोर्ट प्राप्त भएपछि घटनाको वास्तविकता पत्ता लाग्ने डीएसपी चुँडालले बताइन्। प्रहरीले मृतक बालिकाका काका अनिषलाई नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान गरिरहेको छ। यद्यपि, अनिषले घटना स्वीकार गरेका छैनन्। घरनजिकको दुर्गा आधारभूत विद्यालय छेउको बाटोमा शनिबार बिहान ५ बजेतिर आत्तिकाको शव फेला परेको चुँडालको भनाइ छ। 

बिहान करिब ३ बजे हजुरआमाले बालिका बेपत्ता भएको थाहा पाइन्। बच्चा चोरी भएको आशंकामा गाउँभर हल्ला फैलियो। सबै मिलेर खोजी गर्न थाले। त्यस क्रममा घरदेखि करिब सय मिटर पर दुर्गा आधारभूत विद्यालय छेउको बाटोमा शव भेटियो। प्रहरीले शवको अवस्था र घटनास्थलको प्रकृति हेर्दा बलात्कारपछि हत्या गरिएको आशंका गरेको हो। 

शव अनुहार, घाँटीलगायत शरीरका विभिन्न भागमा चोट लागेको अवस्थामा थियो। अनुसन्धानमा संलग्न प्रहरी स्रोतका अनुसार अनिषले मदिरा सेवन गरेको स्वीकारेका छन्।  तर, बलात्कार वा हत्या गरेको भने इन्कार गरेका छन्। ‘घटना भएका बखत त्यहाँ अरु कसैको गतिविधि देखिँदैन। घटनास्थल र शवको अवस्थाले काकामाथि नै शंका गर्ने आधार बलियो बनेको छ। बलात्कारपछि घटनाको खुलासा हुने डरले हत्या गरेजस्तो देखिन्छ,’ प्रहरी स्रोतले भन्यो। 

प्रहरी स्रोतका अनुसार बलात्कारपछि घटना बाहिर आउने डरले नाबालिकाको हत्या गरेर शव विद्यालय छेउको बाटोमा फालेजस्तो देखिन्छ। शव फालेपछि आफैंले सोधीखोजी गर्दै भतिजी हराइन भनेर भनेजस्तो गरेको प्रहरीको भनाइ छ। 

विराटनगरस्थित कोशी अस्पतालमा पोस्टमार्टम गरेपछि आफन्तले शव जिम्मा लिएका छन्। अस्पतालका फरेन्सिक विज्ञ डा. दीक्षान्त पोखरेलको टोलीले पोस्टमार्टम गरेको हो। यद्यपि, चिकित्सक पनि कुनै निष्कर्षमा पुग्न सकेका छैनन्। थप परीक्षणका लागि नमुना संकलन गरेर पठाइएको छ। 

घटनाको अनुसन्धानका लागि मोरङका प्रहरी प्रमुख एसपी नारायण चिमरिया आफैं घटनास्थल पुगेका थिए। उनका अनुसार घटनाको गम्भीरतापूर्वक अनुसन्धान भइरहेको छ। ‘बलात्कार पुष्टि भइसकेको छैन। हत्या चैं भएकै हो। अनुसन्धान र मेडिकल रिपोर्टपछि मात्र थप निष्कर्षमा पुग्न सकिन्छ,’ एसपी चिमरियाले भने।

बालिकाकी आफन्त अमृता कुमारी चौधरीका अनुसार प्राय बुवाआमा काममा जाँदा हजुरआमासँगै नातिनातिना बस्थे। शुक्रबार पनि हजुरआमालाई सन्तान जिम्मा लगाएर हिँडेका थिए। शनिबार बिहान शव भेटिएको खबर आएपछि गाउँ नै स्तब्ध भएको चौधरीले बताइन्। 

भारतमा रहेका बुवा र माइतीमा रहेकी आमालाई घर बोलाइएको उनको भनाइ छ। छिमेकी राज सरदारले घटनास्थलको दृश्य भयानक र दर्दनाक देखिएको बताए। ‘कोबाट भयो भन्नेमा हामी निश्चित छैनौं। निष्पक्ष अनुसन्धान होस्। हत्यारामाथि कारबाही हुनुपर्छ,’ उनले भने। सरदारका अनुसार घटनापछि गाउँमा त्रास फैलिएको छ। बालिका सुरक्षाको सवालमा परिवार मात्र होइन, समाज नै जिम्मेवार हुनुपर्ने माग स्थानीयको छ। अनुसन्धानलाई तीव्र बनाउँदै सबै पक्षको सहभागिता र प्रमाणका आधारमा निष्कर्षमा पुगिने प्रहरीले उल्लेख गरेको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.