परिपूर्ण लोकतन्त्र : सर्वहिताय, सर्वसुखाय

परिपूर्ण लोकतन्त्र : सर्वहिताय, सर्वसुखाय

व्यवहारमा नआए पनि बोलिरहनुपर्ने अवस्था बनिसकेको छ– सामाजिक न्याय, समावेशिता, समान अवसर र समान व्यवहार।

‘समृद्ध नेपाल, सुखी नेपाली–मेरो सपनाको प्रस्तावना’ शीर्षकमा गएको वैशाखमा एउटा लेख लेखेको थिएँ। त्यो लेख आफ्नै जीवन अनुभव र खोजका आधारमा लेखेको थिएँ किनकि म आफैंसँग बारम्बार एउटै प्रश्न सोधिरहेथें, ‘मानव जातिको सबैभन्दा गहिरो चाहना के हो ?’ त्यस लेखमा उत्तर राखें– सुख।

हरेक महिना पाठकसमक्ष आफ्ना विचार र अनुभव साट्ने चाहना भए पनि जेठ महिनाको व्यस्तताले त्यो सम्भव भएन। अब असारमा फेरि कलम उठाउँदैछु। आजको यो लेख, अघिल्लो लेख जहाँ पुगेर टुंगिएको थियो, त्यहीँबाट फेरि सुरु हुन्छ। नेपाल र नेपालीका लागि ‘समृद्धि’ र ‘सुख’ भनेको के हो ? यसको प्राप्ति कसरी हुन्छ ? मानिसका हरेक कर्म अन्ततः सुखप्राप्तिको अटल चाहनाबाट निर्देशित हुन्छन्। सुख नै उसको अन्तिम अभिलाषा हो, चेतनाको लक्ष्य हो। यही यात्रालाई मैले ‘समृद्ध नेपाल, सुखी नेपाली’ भनेर नाम दिएको छु। र यस यात्रामा पुग्न अनिवार्य एउटा खुड्किलो छ, जसलाई म ‘परिपूर्ण लोकतन्त्र’ अर्थात् ‘कम्प्रिहेन्सिभ डेमोक्रेसी’ भन्छु।

यो केवल कुनै राजनीतिक संरचनाको प्रस्ताव होइन, यो एक सामाजिक दर्शन हो। जसको उद्देश्य समाजका हरेक तह, वर्ग र व्यक्तिको जीवनमा सम्भावना र न्यायको सुनिश्चित गर्नु हो। यो र आगामी लेखमा मैले सोचेको ‘कम्प्रिहेन्सिभ डेमोक्रेसी’को अवधारणालाई राख्नेछु। तर त्यो राख्नुअघि अहिलेको समयको सन्दर्भ प्रस्ट गर्न चाहन्छु।

हरेक कालखण्डले आफ्नै स्वरूपका चुनौतीहरू ल्याउँछ। चुनौती नयाँ भयो भने त्यसको उत्तर पनि समयअनुसार नयाँ हुनैपर्छ। १८औं शताब्दीको अन्त्य र १९औं शताब्दीको सुरुवाततिर आइपरेका आरोप र प्रहारहरूसँग हामी जुध्यौं र त्यो संघर्षले हाम्रो अस्तित्व जोगायो। त्यो अध्याय सकिएको छ। ती आरोप र प्रहारहरू अब इतिहासको पानामा सीमित छन्। त्यसबाट जोगिने प्रयास अब आवश्यक छैन, त्यो चरण हामीले पार गरिसकेका छौं। अहिलेको समयले नयाँ सवाल उठाएको छ, जसको जवाफ पुराना नीति, कार्यक्रम वा सिद्धान्तको जस्ताको तस्तै दोहो¥याइले दिन सकिँदैन। किनकि अबको आवश्यकता आन्दोलन बचाउने होइन, नयाँ आन्दोलन सिर्जना गर्ने हो। जोगाउने होइन, अघि बढाउने हो।

अहिलेको समय प्रतिस्पर्धाको हो, केवल वादमा अडिनु पर्याप्त छैन। अब परिणाम दिन सक्ने व्यवस्था निर्माण गर्नु अपरिहार्य छ। अहिलेको आवश्यकता उत्कृष्ट काम गरेर, उपलब्धि हासिल गरेर प्रतिस्पर्धात्मक क्षमता कायम र विकास गर्नु हो। राम्रो काम गर्ने, नतिजा दिने, समाजमा उठिरहेका नयाँ प्रश्नहरूको उत्तर खोज्ने, नीति निर्माण गर्ने र जनताको जीवनमा सार्थक परिवर्तन ल्याउने जिम्मेवारी अहिले हाम्रो आन्दोलनको काँधमा छ।
यसका लागि हामीसँग एक समग्र सोच हुनुपर्छ, जुन केवल आन्दोलन जोगाउने नभई नयाँ आन्दोलन निर्माण गर्ने, रूपान्तरणको बाटो खोल्ने खालको हुनुपर्छ। यो सोच अघिल्लो उपलब्धिमाथि उभिएर तर त्यसमा मात्र सीमित नभई, नयाँ सन्दर्भ, ऊर्जा, दृष्टिकोण र कार्यदिशासहित अगाडि बढ्छ। इतिहासको सम्मान गर्छ तर भविष्य निर्माणको जिम्मेवारी पनि लिन्छ। अहिले हामीलाई त्यही खालको विचार चाहिएको छ, जसले आजको समाजसँग प्रत्यक्ष संवाद गर्न सकोस्।

यस खालको सोचलाई ‘परिपूर्ण लोकतन्त्र’ अर्थात् ‘कम्प्रिहेन्सिभ डेमोक्रेसी’ भनेको छु। ‘परिपूर्ण लोकतन्त्र’ भन्नाले त्यस्तो लोकतान्त्रिक प्रणालीलाई जनाउँछ, जहाँ राजनीतिक स्वतन्त्रतासँगै आर्थिक समृद्धि र समानता, सामाजिक न्याय, सांस्कृतिक पहिचानको सम्मान र प्रविधिमा पहुँच सुनिश्चित हुन्छ। यस्तो व्यवस्थामा नागरिकले आत्मसम्मानका साथ, सुरक्षासहित र सम्भावनाले भरिएको जीवन बाँच्न सक्छन्।

धेरैजसोले मलाई सोध्नुहुन्छ, ‘परिपूर्ण लोकतन्त्र’ वास्तवमा के हो ? के यो राजनीतिक दर्शन हो ? नीतिगत खाका हो ? शासन प्रणाली हो ? कि विकासको मोडल ? मैले भन्ने गरेको छु, यो केवल एउटा होइन, यी सबैको सम्मिलित उत्तर हो।

विकास कहिल्यै पूर्ण हुँदैन। त्यसैले ‘परिपूर्ण लोकतन्त्र’ भनेको केवल आवधिक योजना होइन। यो एउटा डेस्टिनेसन हो। एउटा गोल हो, जुन हामी पुग्न चाहन्छौं। जस्तो अहिले हामी ‘मिसन ८४’ भन्दैछौं, यो हाम्रो कार्यनीतिक र आवधिक लक्ष्य हो।

हामी अहिले समाज रूपान्तरणको कुरा गरिरहेका छौं। सामाजिक सुप्रबन्ध, सुशासन, समृद्धि र सम्पूर्ण मानवको समग्र विकास हाम्रो बहसको मूल विषय बनेका छन्। यी लक्ष्य साकार पार्न हामीसँग एउटा यस्तो दर्शन आवश्यक छ, जसले हाम्रो यात्रालाई दिशा दिन सक्छ। सृष्टिको उत्पत्ति, विकास, गति, स्थायित्व, परिवर्तन र अन्त्य– यी विषयहरू केवल विज्ञानले होइन, दर्शनले पनि बुझाउँछ।

प्रकृतिका यस्ता गहिरा प्रक्रियाहरूलाई बुझ्न दृष्टिकोण चाहिन्छ, सोच्ने तरिका चाहिन्छ, एउटा आधार चाहिन्छ। त्यो आधार हो– द्वन्द्वात्मक भौतिकवाद। समाज कसरी उत्पन्न भयो ? यसको संरचना कसरी विकसित हुँदै गयो ? शक्ति र स्रोतको बाँडफाँट किन र कसरी भयो ? संघर्षको जड के हो ? परिवर्तन किन र कहिले सम्भव हुन्छ ? अनि अब हामी कहाँ जानुपर्ने हो ? यी सबै प्रश्नको उत्तरको खोज द्वन्द्वात्मक र ऐतिहासिक भौतिकवादले गर्छ। यो त्यस्तो दर्शन होइन, जसले केवल अनुमान गर्छ। यसले परीक्षण गर्छ, प्रमाण खोज्छ। यो वैज्ञानिक छ, सत्यमा आधारित छ। प्रयोगले यसको पुष्टि गर्छ, व्यवहारले यसलाई प्रमाणित गर्छ र परिणामले यसको औचित्य साबित गर्छ। जब समाजलाई बुझ्ने समग्र दृष्टिकोण यसमा मिसिन्छ तब यो ‘द्वन्द्वात्मक र ऐतिहासिक भौतिकवाद’ बन्छ। यही दर्शनले सम्पूर्ण मानव जातिको सर्वांगीण विकासको सपना देख्न सिकाउँछ। केहीको मात्र होइन, सबैको अर्थात् सबै वर्गको, सबै क्षेत्रको, सबै पुस्ताको। यही हो हाम्रो वैचारिक आधार। यही हो हाम्रो दृष्टिकोणको मूल जरा हो।

प्राचीन संस्कृत साहित्यमा, ‘बहुजनहिताय, बहुजनसुखाय’ भन्ने अवधारणा भेटिन्छ। धेरैको हित होस्, धेरैको सुख होस् भन्ने भावनाबाट सुरु भएको त्यो विचार उच्चतम मानवीय मूल्यको अभिव्यक्ति हो। तर मेरो बुझाइमा अब हामीलाई त्यतिले मात्र पुग्दैन। केवल बहुजनको होइन, अब सर्वजनको कुरा गर्र्नुपर्छ। केवल धेरैको होइन, सबैको हित हुनुपर्छ। हाम्रो सोच, हाम्रो सिद्धान्त त्यस्तो हुनुपर्छ, जसको मूल आत्मा होस्– ‘सर्वहिताय, सर्वसुखाय’। बुद्धले भने झैं– भवतु सब्ब मंगलम्। सारांशमा, सबैको हित होस्, सबैको कल्याण होस्, सबैलाई सम्मानपूर्वक, सुखपूर्वक बाँच्न सक्ने वातावरण मिलोस्। सबैलाई समृद्धि र सुख हासिल होस्।

आजको अवस्थामा न्यायको कुरा गर्नु अब कुनै विकल्प होइन, अनिवार्यता बनेको छ। समानताको आवाज उठाउनु अब इच्छाको विषय होइन, एक मूल सर्त हो। चाहे कोही अनुसरण गरोस् या नगरोस्, पाखण्डसहित नै किन नहोस्, अब सबैले बोल्नैपर्छ। बोल्दैछन्। यहाँसम्म कि मानवअधिकार उल्लंघन गर्नेहरू पनि आज मानवअधिकारको वकालत गर्न बाध्य भएका छन्। व्यवहारमा नआए पनि बोलिरहनुपर्ने अवस्था बनिसकेको छ– सामाजिक न्याय, समावेशिता, समान अवसर र समान व्यवहार।

यो अवस्थाले के संकेत गर्छ भने, समाज फेरिएको छ, चेतना बढेको छ। अनि जब चेतना बढ्छ, जब सामाजिक दबाब तीव्र हुन्छ, तब त्यो परिवर्तनलाई समेट्ने एउटा विचार चाहिन्छ। त्यही आवश्यकताबाट जन्मिएको हो– ‘परिपूर्ण लोकतन्त्र’। सुशासन भन्ने शब्द आज हामी सजिलै उच्चारण गर्छौं, तर यसको चेतना छ हजार वर्ष अघिको समाजमा थिएन। पाँच हजार वर्षअघि पनि यस्तो धारणा विकसित भइसकेको थिएन। शासन त थियो, तर ‘शासन कस्तो होस्’ भन्ने सोच थिएन। सुसासनको अपेक्षा थिएन। करिब चार हजार वर्ष अघिमात्र मानिसले शासनलाई बुझ्न थालेको पाइन्छ। त्यतिबेलाको बुझाइ फरक थियो– शासन किन आवश्यक छ भन्ने प्रश्नको उत्तर पनि फरक थियो।

त्यसबेला राज्यको परिभाषा सीमित थियो– एकजना शासक, उसका आदेश र प्रजा त्यसका अनुयायी। राज्य छ भने राजा हुनुपर्ने भन्ने विश्वास थियो। कतिपय अवस्थामा राजा जनताबाटै चयन हुने गरेका उदाहरण पनि भेटिन्छन्, तर सत्ता पाएपछि त्यो राजा नै नियम बनाउने, अरूलाई खेलाउने, आफ्नो अनुकूलको व्यवस्था थोपर्ने काम गथ्र्यो।

राजा सोच्थ्यो, अरूले काम गर्नुपथ्र्यो। सोच्ने अधिकार शासकसँग, काम गर्ने दायित्व जनतासँग। त्यो समयको आम मानिसको जीवन प्रायः आवश्यकता र जीविकोपार्जनमा सीमित थियो। सोच, सपना र चेतना, पेट र परिवारका वरिपरि घुम्थ्यो– के खाने ? कसरी कमाउने ? परिवार कसरी पाल्ने ? एक जोडी, दुई/चार सन्तान, वृद्ध आमाबुबा र सधैं दोहोरिने जिम्मेवारीहरूकोे चक्रमै जीवन बित्थ्यो।

आजको समय फरक छ। अहिले ‘परिवार पाल्ने’ भन्ने प्राथमिक जिम्मेवारीबाट ‘आफू पालिने’ भन्ने प्राथमिक स्वार्थले मानिसलाई प्रभावित गर्न थालेको छ। परिवारभन्दा पहिला आफू, समाजभन्दा पहिला स्वार्थ, जिम्मेवारीभन्दा पहिला अवसर। त्यो प्रवृत्ति अहिलेको चेतनामा बलियो हुँदै गएको छ। परिवार भन्ने अवधारणामा प्रमुख कुरा के हो भने त्यहाँ व्यक्तिगत स्वार्थभन्दा माथि उठेर, समष्टिगत स्वार्थ प्रमुख हुन्छ। निजी चाहनाभन्दा पनि परिवारको समृद्धि, परिवारको स्थायित्व र परिवारको सुख प्राथमिक हुन्छ। विशेषगरी संयुक्त परिवारमा यो कुरा झनै स्पष्ट हुन्छ।

संयुक्त परिवार भन्नाले केवल एउटै छानामुनि धेरै पुस्ता बस्नु मात्र होइन, यो एक सोच हो, जीवन जिउने शैली हो। जहाँ जिम्मेवारी बाँडिन्छ, सम्बन्धको मूल्य बुझिन्छ र आपसी सम्मानले घर चल्छ। यहाँ जेठो सदस्यलाई केवल आम्दानी नगरेको आधारमा बेवास्ता गरिँदैन, बरु सम्झना गरिन्छ– आज जुन वृद्ध छन्, हिजो उनकै काँधमा यो घर टिकेको थियो। र भोलि हामी आफैं पनि त्यही चरणमा पुग्नेछौं।

यदि यस्तो सोच हराउँछ भने, हरेक मानिस वृद्ध हुँदै जाँदा त्यो मोडमा पुग्छ, जहाँ उसले आफैंले खाने पानीसमेत निकाल्न सक्दैन। जीवन त्यस्तो अवस्थामा पुग्छ, जहाँ अरूको साथ र माया नभए बाँच्न गाह्रो हुन्छ। यस्तो परिस्थितिमा यदि उसलाई हेर्ने, सुन्ने, सुम्सुम्याउने कोही छैन भने त्यो केवल पारिवारिक असफलता होइन, त्यो गहिरो मानवीय पतन हो।

त्यसैले परिवारको जिम्मेवारी सबैले साझा रूपमा बहन गर्नुपर्छ। यही साझा उत्तरदायित्वले परिवार बलियो बनाउँछ। त्यही बलियो सम्बन्धबाट मान्छे साँचो अर्थमा खुसी महसुस गर्न सक्छ। तर विडम्बना के छ भने, समाजमा यस्ता कैयौं मानिस छन्, जो मञ्चमा उभिएर मानवता, करुणा, आत्मीयता र परोपकारको भाषण गर्छन्। तर, घरभित्र आफ्नै श्रीमतीलाई अपमान गर्छन्, छोराछोरीलाई निराश बनाउँछन्, र आमाबुबालाई त रुनसमेत नसक्ने अवस्थामा पु¥याउँछन्। रुँदा–रुँदा आँखाबाट आँसु सुकिसकेका ती आमाबुबाको मौन चिच्याहट उनीहरूले सुन्न सक्दैनन् किनभने उनीहरू आफैं भित्रबाट ‘मौन’ भइसकेका हुन्छन्।

मानिसलाई खुसीका लागि पैसामात्र होइन, आत्मीयता चाहिन्छ, साथ चाहिन्छ, समझदारी चाहिन्छ। यी सबै कुरा सबैभन्दा पहिले परिवारभित्र पाइन्छन्। जहाँ विश्वास छ, सद्भाव छ र एकअर्काको भावना बुझ्ने क्षमता छ, त्यहीँ साँचो खुसी पलाउँछ। तर यदि सम्बन्धमै चिसोपना छ, भावना शून्य छ अनि स्नेह हराएको छ भने, त्यहाँ सुख टिक्न सक्दैन।

यस्तो अवस्था केवल व्यक्तिको मात्र असफलता होइन, त्यो सिंगो सामाजिक संरचनाको कमजोरी हो। त्यसैले अहिलेको सवाल केवल आर्थिक सुरक्षा वा अवसरको कुरा होइन। यो सम्मानको, सुरक्षा भावनाको, सामाजिक न्याय र पारिवारिक करुणाको सवाल हो।
यही सम्पूर्ण सन्दर्भलाई समेटेर, केवल व्यक्तिको होइन, सिंगो समाजको सहभागितासहित अगाडि बढ्न सक्ने दृष्टिकोण आवश्यक छ। यस्तो दृष्टिकोणले मात्र हामीलाई मानव भएर बाँच्न सिकाउँछ, जहाँ अरूको पीडामा चुप लाग्ने होइन, काँध थाप्न सकिने चेतना हुन्छ। र, यही बाटोबाट मात्र हामी एक मानवको रूपमा साँचो अर्थमा समृद्ध र सुखी बन्न सक्छौं। यसैलाई मैले ‘परिपूर्ण लोकतन्त्र’ भनेको हुँ। 

परिपूर्ण लोकतन्त्र भन्नुको अर्थ केवल आफ्ना अधिकारको कुरा गर्नु होइन। अरूको अधिकारको पनि उत्तिकै विचार गर्नु हो। अनि त्यो कर्तव्यको कुरा हो, जिम्मेवारीको बोधको कुरा हो। आफू बसेको परिवारप्रति जिम्मेवारी, आफू बस्ने समाजप्रति कर्तव्य, आफू हुर्केको समुदायप्रति उत्तरदायित्व– यी सबैको मिलनबिन्दु हो ‘परिपूर्ण लोकतन्त्र’। यो एउटा यस्तो सामाजिक सिद्धान्त हो, जसले केवल शासनको स्वरूप मात्र होइन, सामाजिक व्यवस्थाको गहिरो रूपान्तरणको बाटो देखाउँछ। यो सामाजिक सुप्रबन्धको यस्तो बाटो वा आधार हो, जसले सम्पूर्ण समाजको समग्र क्षेत्रमा समुचित विकासलाई सम्भव बनाउँछ। समावेशी चेतना, समतामूलक व्यवहार, र न्यायपूर्ण संरचनामा आधारित यो सोचले सम्पूर्ण वर्ग, क्षेत्र र समुदायको हितलाई आत्मसात् गर्छ।

त्यसैले, परिपूर्ण लोकतन्त्र एउटा त्यस्तो दर्शन हो, जुन यथार्थमा आधारित छ, सत्यसँग प्रतिबद्ध छ र विज्ञानसम्मत प्रमाणमा अडिएको छ। यो अग्रगामी छ, विकासमुखी सोचमा आधारित छ। यो दर्शन समता चाहन्छ, मानवीय संवेदनालाई प्राथमिकता दिन्छ, सामूहिक भावाना र करुणाको माटोमा उम्रिएको चेतनाले सिँचित छ। विज्ञान र प्रविधिको प्रयोग गर्दा पनि यो बाटोलाई त्याग्नुपर्दैन, नकार्नु पनि पर्दैन। समानताको भावना, न्यायको पक्षधरता र कर्तव्यप्रति समर्पण– यी मूल्यहरूलाई कहिल्यै छाड्नुपर्ने हुँदैन। साँचो आधुनिकता त यिनै आधारहरूमा टिकेको हुन्छ। तर विडम्बना, अहिलेको समाजमा एउटा सानो समूह यस्तो पनि देखिन्छ जो अधिकारको नाममा गाली गर्छ, अराजकता फैलाउँछ र असभ्य भाषा प्रयोग गर्छ। उनीहरू स्वतन्त्रजस्ता देखिन्छन् तर तिनको चेतना नियन्त्रणमा छ। विचार अर्काको हो, बोलाइ बाहिरबाट निर्देशित हुन्छ। ती स्वतन्त्र देखिए पनि वास्तवमा उनीहरू निर्देशनमा हिँडिरहेका पात्र हुन्। तिनको भावना, तिनको सोच र तिनका निर्णयमा आफ्नै चेतनाभन्दा बढी कसै अर्काको छायाँले शासन गर्छ। यस्तो अवस्था स्वतन्त्रता होइन, विकृति हो। यो अधिकारको प्रयोग होइन, अशिष्टताको प्रदर्शन हो। यस्तो प्रवृत्तिको असर केवल सामाजिक व्यवहारमा मात्र देखिँदैन, त्यो त तिनको पारिवारिक जीवनमा समेत छरपस्ट हुन्छ। त्यस्ता व्यक्ति प्रायः तनावग्रस्त हुन्छन्, संवादविहीन बन्छन्। रिस, आक्रोश, असन्तोष तिनको दिनचर्या बनिसकेको हुन्छ। किनभने उनीहरू लगातार त्यही अभ्यास गर्दै आएका हुन्छन्, घृणा, संकुचित सोच, र विकृत व्यवहारको।

जसरी आँखामा फुलो पर्दा संसार देख्न सकिँदैन, त्यस्तै विकृति चढेको चेतनाले उज्यालो देख्दैन, केवल अन्धकार देख्छ। आँखामा समस्या भए पनि उसले संसार बिग्रिएको ठान्छ। दोष आफ्नै दृष्टिमा हो भन्ने उसले बुझ्दैन। र त्यो अन्धकार कहाँबाट आएको हो, ऊ आफैले बनाएको हो वा कसैले लगाम लगाएर बनाएको हो, ऊ मुक्तिका लागि प्रयाससमेत गर्न सक्दैन।

त्यसैले उसले जीवनका सकारात्मक पक्ष देख्न सक्दैन। देशमा केही राम्रो भइरहेको छ भने पनि ऊ बेचैन रहन्छ, समाजमा केही सुधार देखिँदै छ भने पनि ऊ असन्तुष्ट रहन्छ। प्रसिद्ध सायर गालीबले भनेझैं ‘जीवनमा एउटै गल्ती बारम्बार दोहो¥याएँ– ‘धुलो लागेको थियो अनुहारमा तर म ऐना पुछिरहें। दोष आफ्नैभित्र थियो तर म बाहिरी संसारमै दोष खोजिरहें।’

त्यसैले परिपूर्ण लोकतन्त्रले यस्तो नागरिक चाहँदैन, जसको सोचमा अरूको लगाम होस्। यसले उच्छृंखल स्वतन्त्रता होइन, जिम्मेवार स्वतन्त्रता खोज्छ। यसले स्वतन्त्र सोच चाहन्छ, विवेकयुक्त विचार चाहन्छ, र सन्तुलित व्यवहारको अपेक्षा राख्छ। किनभने यही हो– व्यक्तिबाट परिवार, परिवारबाट समाज र समाजबाट राष्ट्रमा सन्तुलन ल्याउने बाटो। यही हो साँचो लोकतन्त्रको परिपूर्ण रूप।

हामीले यस्तो प्रणाली निर्माण गर्नुपर्छ, जसले केवल कानुनको पालना गराउने शासन प्रणाली मात्रै होइन, मानिसको मनोविज्ञानलाई पनि सम्बोधन गर्छ। यो सोचले नागरिकको मानसिक अवस्था स्वस्थ राख्न, व्यवहार सुधार्न र सभ्य जीवनशैली विकास गर्न मद्दत गर्छ। यसले शारीरिक स्वास्थ्य, सामाजिक सद्भाव, र राष्ट्रिय संस्कारलाई एउटै धागोमा गाँस्छ। किनभने कुनै पनि राष्ट्रको समृद्धिको जग नागरिकको समग्र विकासमा टिकेको हुन्छ। यो कुरा केवल हाम्रो देशको सन्दर्भमा मात्र होइन, विश्वकै सन्दर्भमा पनि लागू हुन्छ। त्यसैले ‘परिपूर्ण लोकतन्त्र’ विश्वलाई हेर्ने एक दृष्टिकोण पनि हो। त्यसैले मलाई सोधिएको प्रश्न– के यो फिलोसोपी हो ? सिद्धान्त हो ? शासन मोडल हो ? कार्यनीति हो ? यसको उत्तर हो, यो ती सबै हो।

मलाई सोधिने अर्को प्रश्न हो, ‘परिपूर्ण लोकतन्त्र’ अन्तिम लक्ष्य हो कि सधैं विकसित भइरहने एक प्रक्रिया हो ? मेरो जवाफ सधैं एउटै हुन्छ– विकास कहिल्यै पूर्ण हुँदैन। त्यसैले ‘परिपूर्ण लोकतन्त्र’ भनेको केवल आवधिक योजना होइन। यो एउटा डेस्टिनेसन हो। एउटा गोल हो, जुन हामी पुग्न चाहन्छौं। जस्तो अहिले हामी ‘मिसन ८४’ भन्दैछौं, यो हाम्रो कार्यनीतिक र आवधिक लक्ष्य हो। तर २०८४ साल पुग्नासाथ त्यो चालु वर्ष बन्छ। त्यसपछि ८५ साल आउनेछ। फेरि नयाँ लक्ष्य बन्नेछ।

यति बुझ्न जरुरी छ– कुनै पनि वर्ष लक्ष्य हुन्छ तर त्यो वर्ष आयो भनेर उद्देश्य पूरा भयो भन्ने होइन। उद्देश्यको प्रकृति नै यस्तो हुन्छ जुन हासिल हुँदै जाँदा नयाँ आयाम खुल्दै जान्छन्। जस्तो पहिले कम्प्युटर आएको बेलामा त्यो पनि ‘कम्प्लिट’ थियो। तर त्यसपछि त्यसमा नयाँ चिप्स थपिए, नयाँ सफ्टवेयर आए, नयाँ प्रयोगहरू सम्भव भए। यसको अर्थ सुरुमा त्यो कम्प्युटर अपूरो थियो भन्ने होइन। त्यो बेला त्यो स्तरमा पूर्ण थियो।

एउटा डेस्टिनेसन तय भयो भनेर त्यहाँ पुगेपछि ‘त्यो डेस्टिनेसन सकियो, अब त्यसको उपादेयता समाप्त’ भयो भन्ने हुँदैन। डेस्टिनेसन मृत्यु होइन, निरन्तरता हो। सर्वे भवन्तु सुखिनः...!


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.