रुपन्देही-३ उपनिर्वाचन : असार मसान्तभित्र उम्मेदवारको सूची पठाउन राप्रपाको निर्देशन
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीले रुपन्देही–३ मा हुने उपनिर्वाचनका लागि उम्मेदवारको सूची पठाउन रुपन्देही जिल्ला कार्यसमितिलाई निर्देशन दिएको छ । पार्टी कार्यालय धुम्वाराहीमा बिहीबार बसेको राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले रुपन्देही–३ मा हुने उपनिर्वाचनका लागि असार मसान्तभित्र उम्मेदवारको सूची पठाउन जिल्ला कार्यसमितिलाई निर्देशन दिने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । जिल्ला कार्यसमितिले उम्मेदवारको सूची पठाएपछि पुन पार्टीमा छलफल हुने उनले बताए।
त्यस्तै बैठकले उपनिर्वाचनलाई प्रभावकारी व्यवस्थापन र परिणाममूखी बनाउन पार्टीका उपाध्यक्ष ध्रुवबहादुर प्रधानको संयोजकत्वमा निर्वाचन परिचालन समिति बनाउने निर्णय गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए। त्यस्तै बैठकले असोजका मसान्तसम्म सबै स्थानीय तह र जिल्लाको अधिवेशन सम्पन्न गर्न ताकेता गर्ने निर्णय गरेको छ भने भ्रष्टाचारबिरुद्धको गतिविधिलाई अभियानकै रुपमा सञ्चालन गर्ने निर्णय गरेको प्रवक्ता श्रेष्ठले बताए।
बैठकले भिजिट भिसा प्रकरणको छानविनका लागि संसदीय समिति गठन हुनुपर्ने अडानमा कायमै रहने निर्णय गरेको छ । राप्रपाको केन्द्रीय कार्यसमितिको बैठक भाद्रको दोस्रो साता बस्ने श्रेष्ठले उल्लेख गरे।
प्रतिक्रिया दिनुहोस !