कुर्स्क क्षेत्रमा रूसी नौसेनाका उपप्रमुखको मृत्यु
मस्को : युक्रेनसँगको युद्धमा जारी भिडन्तका क्रममा रूसी नौसेनाका उपकमाण्डर मेजर जनरल मिखाइल एभगेनिभिच गुडकोभको मृत्यु भएको छ। रूसी रक्षा मन्त्रालयलाई उद्धृत गर्दै सरकारी समाचार संस्था आरआइए नोभोस्तीले बुधबार यो जानकारी दिएको हो।
४२ वर्षीय गुडकोभ सन् २००० देखि रूसी सेनामा कार्यरत थिए। उनलाई सन् २०२३ मा राष्ट्रपति भ्लादिमिर पुटिनले ‘हिरो अफ द रसियन फेडेरेसन’ उपाधिले सम्मानित गरेका थिए।
रक्षा मन्त्रालयका अनुसार जुलाई २ मा कुर्स्क क्षेत्रको सीमा क्षेत्रमा युद्ध अभियानका क्रममा गुडकोभको मृत्यु भएको हो। उनी सन् २०२२ फेब्रुअरीमा युक्रेनमाथि सुरु गरिएको आक्रमणयता युद्धमा ज्यान गुमाएका उच्चपदस्थ रूसी अधिकारीहरूमध्ये एक हुन्।
रूसको सुदूर पूर्व प्रिमोरी क्षेत्रका गभर्नर ओलेग कोझेम्याकोले गुडकोभलाई 'कर्तव्यमा समर्पित बलियो अफिसर' भन्दै श्रद्धाञ्जली अर्पण गरेका छन्। उनका अनुसार गुडकोभ पूर्वमा रहेको प्यासिफिक फ्लीटअन्तर्गतको १५५औं गार्ड्स नेभल इन्फेन्ट्री ब्रिगेडका कमान्डर समेत रहेका थिए। 'उहाँ नौसेनाको उपकमाण्डर भए पनि व्यक्तिगत रूपमा पनि अभियानमा सक्रिय रहनुहुन्थ्यो,' गभर्नर कोझेम्याकोले बताए।
युक्रेनी सेनाले सन् २०२२ मा रुसले सुरु गरेको आक्रमणको जवाफस्वरुप कुर्स्कको केही भागमा नियन्त्रण कायम गरेको थियो। यद्यपि, रुसले गत अप्रिलमा उक्त क्षेत्र पुनः आफ्नो नियन्त्रणमा ल्याएको दाबी गर्दै आएको छ। तर, सीमावर्ती क्षेत्रमा भीषण भिडन्त जारी छ।
प्रतिक्रिया दिनुहोस !