सामुदायिकमा नमुना

हाइहाइ शान्ति नमुना मावि

हाइहाइ शान्ति नमुना मावि

बुटवल : रूपन्देहीको शान्ति नमुना माविले यसपालीको एसईई नतिजामा आफूलाई नमुनाकै रूपमा प्रस्तुत गरेको छ । एसईई परीक्षामा देशभरमै सबैभन्दा धेरै विद्यार्थी चार जीपीए ल्याएर उत्तीर्ण गराएको छ ।

सामुदायिक विद्यालय पनि पठनपाठनमा अब्बल छन् भन्ने शान्ति माविले प्रमाणित गरेको छ । धेरै विद्यार्थी चार जीपीए ल्याएर उत्तीर्ण गराएको भन्दै देशभर शान्तिको चर्चा चुलिएको छ । यो विद्यालय विद्यार्थी संख्याका आधारमा समेत देशभरमै दोस्रो स्थानमा छ । विद्यालयमा ६ हजार ३ सय विद्यार्थी अध्ययनरत छन् । ६ सय ९ जना विद्यार्थी एसईर्ई परीक्षामा सहभागी भएकामा १८ जनाले ‘चार जीपीए’ ल्याएर उत्तीर्ण भएका छन् । यो नतिजा विद्यालय स्थापना भएदेखिकै पहिलो हो । 

‘ट्युनिङ’ मिल्यो, नतिजा आयो

राम्रो नतिजा आउनुको पछाडि विभिन्न कारण हुन्छन् । शिक्षक, विद्यार्थी, अभिभावक, विद्यालय प्रशासन, व्यवस्थापन समिति र स्थानीय सरकारलाई नतिजा हात पार्नुको श्रेय दिन सकिन्छ । उनीहरूको आपसमा मिलेको ट्युनिङ नै उत्कृष्ट नतिजाको कडी हो । ‘विद्यार्थीलाई चार जीपीए ल्याउनैपर्छ भनेर कहिल्यै दबाब दिएनौं’, प्रधानाध्यापक कुलप्रसाद लामिछानेले भने, ‘विद्यालयले राम्रोसँग पढ्ने वातावरण मिलायो । सबै विद्यार्थीको मनोभावना बुझेर हामीले काम गर्‍यौं । सानो–ठूलो, धनी–गरिब भनेर कहिल्यै विभेद गरेनौं । विद्यालयभित्र छिर्दा विद्यार्थीमा बेग्लै उमंगको आभास दिलायौं र उत्कृष्ट नतिजा हासिल गर्न सफल भयौं ।’ ३.६ देखि ३.९९ जीपीए ल्याउने मात्र ५४ जना विद्यार्थी छन् । 

विद्यालयभित्रै बसिरहौं, खेलिरहौं लाग्ने खालको बालबालिकामैत्री वातावरण पनि शान्ति माविको अर्को सुन्दर पक्ष हो । त्यसैकारण बर्सेनि विद्यार्थीको आकर्षण बढ्दो छ । यही विद्यालयमा पढेका थुप्रै विद्यार्थी विभिन्न ओहोदामा पुगिसकेका छन् । डाक्टर, इन्जिनियर र सरकारी निजामतीजस्ता क्षेत्रमा यहींकै उत्पादन विभिन्न जिल्लामा भेटिन्छन् । 

विद्यालयको कुशल प्रशासन र नेतृत्व नै हरेक सफलताको ‘जग’का रूपमा अडिएर बसेको छ । २०७३ भदौ २ गतेदेखि हालसम्म निरन्तर प्रधानाध्यापकको रूपमा लामिछाने कार्यरत छन् । ‘जिम्मेवारीका हिसाबले विद्यालय प्रशासनको नेतृत्व मैले गरेको छु’, लामिछाने भन्छन्, ‘तर, विद्यालयको सफलतामा सबै शिक्षक, कर्मचारीहरूको योगदान छ । हामी जे गर्छौं, सामूहिक निर्णयबाट मात्रै गर्छौं ।’

लामिछानेलाई जतिबेला पनि विद्यालय कसरी राम्रो बनाउने भन्नेमै हुटहुटी हुने गर्छ । देशभरका २९ जिल्लाबाट विद्यार्थी पढ्नका लागि शान्तिमा आएका छन् । २ हजार ५ सय बढी विद्यार्थी रूपन्देहीभन्दा बाहिरी जिल्लाका छन् । हाल विद्यालयमा शिक्षक, कर्मचारी गरी २ सय २९ जना कार्यरत छन् । हजारौं विद्यार्थीका कारण बिहानको प्रार्थना विशाल सभाजस्तै देखिन्छ । 

हौसला बन्यो सम्मान
विद्यालयले गुणस्तरीय नतिजा ल्याउनका लागि अनेक उपाय लगाउँछ । थुप्रै सिृर्जनात्मक कार्यक्रम हुन्छन् । त्यसमध्येको एउटा विशेष कार्यक्रम हो, सम्मान । विद्यार्थी, अभिभावक र शिक्षक सम्मान कार्यक्रमलाई विद्यालयले हरेक वर्ष सञ्चालन गर्दै आइरहेको छ ।

एसईर्ईमा चार जीपीए ल्याउनेलाई गोल्ड मेडलिस्ट, ३.६ माथि जीपीए ल्याउनेलाई सिल्भर र उत्तीर्ण हुने सबै विद्यार्थीलाई सम्मान गर्ने कार्यक्रम गरिएको छ । यसबाहेक अन्य परीक्षामा पनि उत्कृष्ट नतिजा ल्याउनेलाई विशाल कार्यक्रम गरी सम्मान गर्ने गरिएको छ । झन्डै ४० भन्दा बढी अभिभावक र ५० भन्दा बढी शिक्षकहरूलाई वार्षिक रूपमा सम्मान गर्ने गरिएको छ । सम्मान कार्यक्रमले अरू शिक्षक, विद्यार्थी र अभिभावकहरूलाई हौसला थप्ने गरेको छ । विद्यालयले आफूहरूले गरेको असल अभ्यासहरूलाई छिमेकी विद्यालयहरूमा पुगेर पनि अनुभव आदानप्रदान गर्ने गरेको छ । 

विद्यार्थीको चासो विद्यालयमै मात्र सीमित छैन
विद्यालय समयभित्र पढायो, जिम्मेवारी पूरा भयो भन्ने भावना अधिकांश शिक्षक, कर्मचारीहरूमा भेटिन्छ । तर, शान्तिले त्यसो गर्र्दैन । घर पुगेपछि पनि आफ्ना विद्यार्थीप्रति विद्यालय उत्तिकै संवेदनशील छ । उनीहरूका अभिभावकहरूसँग टेलिफोनमा कुरा हुन्छ । घरमै पुगेर पनि पढाइका बारेमा चासो दिने गरिएको छ । अभिभावकले आफ्ना सन्तानलाई घरमा पढ्ने वातावरण कत्तिको मिलाएका छन् भन्ने बारेमा पनि विद्यालयले पटक–पटक चासो दिने गरेको छ । विषय शिक्षकहरूले अभिभावकलाई सोधखोज गर्छन् । 

‘छोराले फोर जीपीए ल्याउनुका पछाडि हाम्रो मात्र योगदान छैन्’, तिलोत्तमा नगरपालिका–१५ पत्थरडाँडाकी ३४ वर्षीया सुनिता पंगेनीले भनिन्, ‘धेरै हात विद्यालयकै छ । छोरालाई विद्यालय पढ्न पठाएपछि हामी ढुक्क हुन्छौं । विद्यालय हाम्रो घरजस्तै छ ।’ उनले कक्षा ७ देखि छोरालाई शान्तिमै पढाएको र कक्षा ११, १२ पनि यही विद्यालयमै पढाउने सोच बनाएको बताइन् । ‘छोरा सानैदेखि पढाइमा तगडा थिए’, उनले भनिन्, ‘त्यसैमाथि विद्यालयको वातावरणले छोरालाई राम्रो अंक ल्याउन साथ मिल्यो ।’ विद्यालयबाट घरमा आइसकेपछि पनि शिक्षकहरूले फोन गरेर छोराले कत्तिको पढिरहेका छन् भनेर चासो दिने गरेको पंगेनीले सुनाइन् । छोरालाई पोषणयुक्त खाना र स्वास्थ्यको बारेमा विशेष ध्यान दिनसमेत शिक्षकहरूले टेलिफोनमा भनिरहने गरेको उनले बताइन् । 

अतिरिक्त कक्षा, प्रत्येक हप्ता परीक्षा, भोलिपल्टै नतिजा
नतिजाउन्मुख पढाइका लागि विद्यालयले अनेक उपाय अपनाउने गरेको छ । त्यसमध्येको महत्वपूर्ण क्रियाकलाप हो, अतिरिक्त कक्षा सञ्चालन । त्यसको प्रत्येक हप्ता परीक्षा लिने गरिएको छ । नतिजा परीक्षा सकिएको भोलिपल्टै सुनाउने गरिन्छ । ‘कसले कति मेहनत गर्नुपर्छ भन्ने कुरा उतिबेलै विद्यार्थीलाई भन्ने गथ्र्याैं’, प्रधानाध्यापक लामिछाने भन्छन्, ‘नतिजामा म कत्ति कमजोर छु वा बोलियो छु भन्ने कुरा विद्यार्थीलाई तात्तातै जानकारी हुन्थ्यो । र, आफूलाई सच्चाउने मौका मिल्थ्यो ।’null

राम्रो लेख्ने विद्यार्थीको उत्तरपुस्तिका अन्य विद्यार्थीलाई देखाउने गरिएको समेत लामिछानेले बताए । जसले गर्दा कमजोर विद्यार्थीको आत्मबल बलियो हुने गरेको थियो । वर्षभरि पढ्ने तर परीक्षामा राम्रो नतिजा ल्याउन नसक्ने अवस्थालाई मध्यनजर गरेर साताव्यापी रूपमा परीक्षा लिने प्रचलन सुरु गरिएको उनले सुनाए । विद्यार्थीलाई प्रत्येक दिन उत्प्रेरणा कक्षा सञ्चालन गर्ने गरिन्छ । परीक्षामा हुने प्राविधिक कुराहरूलाई समेत शिक्षकहरूले बुझिने गरी जानकारी दिने गर्छन् । महिना दिनसम्म हुने बर्खे बिदा बढीमा एक हप्ता हुन्छ । विद्यार्थी घरमा भन्दा विद्यालयमै आएर रमाइरमाई पढ्न खोज्छन् । 

१८ मध्ये १६ को भविष्यको पढाइ पनि शान्तिमै
धेरैलाई लाग्न सक्छ एसईर्ईमा उत्कृष्ट नतिजा ल्याउनेहरू माथिल्ला कक्षा पढ्न अवश्य काठमाडौं पुग्छन् । तर, शान्तिमा चार जीपीए ल्याएका १८ जना विद्यार्थीमध्ये १६ जनाको भविष्यको पढाइ पनि शान्तिमै हुने भएको छ । विज्ञान विषय पढ्ने गरी उनीहरू कक्षा ११ मा भर्ना भएका छन् । अन्य दुईजना आफन्तको साथ चाहिने भएकाले काठमाडौं पुगेका छन् । कक्षा १२ सम्म हुने सबै विषयहरू शान्तिमा हुन्छ ।

मेकानिकल (टीएसएलसी) विषयमा पढाइ हुने नेपालकै एकमात्र विद्यालय हो । ०५८ सालमा एनेक्स कार्यक्रमअन्तर्गत प्राविधिकतर्फ उक्त विषयको पढाइ हुँदै आएको छ । लुम्बिनी प्रदेशमै तीन वर्षे होटल म्यानेजमेन्ट विषयमा यहाँ मात्र पढाइ हुन्छ । रेस्टुरेन्ट, ल्याब, गेस्ट रुम र जनशक्ति व्यवस्थापनसहितको पढाइ हुने भएकाले यसप्रति विद्यार्थीको आकर्षण छ । 

समाहित शिक्षा पनि सञ्चालनमा ल्याइएको छ । अपांगता भएका बालबालिकालाई विशेष व्यवस्था मिलाएर पढाउने गरिएको छ । २०४५ सालदेखि दृष्टिविहीन स्रोतकक्षा छ । जहाँ ४४ जना बालबालिकाले अहिले पनि अध्ययन गरिरहेका छन् ।      श्रवणशक्ति गुमाएका, दृष्टिविहीन भएका ११ जनाले ०७७ सालदेखि अध्ययन गरिरहेका छन् । यहाँ तीन वर्षदेखि अटिजम भएका बालबालिकाले पढिरहेका छन् । २३ जना त्यस्ता विद्यार्थी हाल अध्ययनरत रहेको प्रधानाध्यापक न्यौपानेले बताए । 

शान्तिमै भर्ना भएँ, लक्ष्य डाक्टर बन्ने 
झिमरुक गाउँपालिका–२ बाँदीकोट प्यूठानकी सर्वदा विश्वकर्माले पनि शान्ति नमुना माविबाटै चार जीपीए ल्याएर उत्तीर्ण गरिन् । कक्षा ७ सम्म गाउँकै बलभद्र माविमा पढेकी उनी ८, ९ र १० कक्षा पढ्न बुटवल झरेकी हुन् । अब, कक्षा ११ मा पनि शान्ति माविमै पढ्ने उनले निधो गरेकी छन् । ‘साइन्स पढेर डाक्टर बन्ने सपना छ’, विश्वकर्माले भनिन्, ‘मैले राम्रो अंक ल्याउनुमा मेरो मात्र योगदान छैन । विद्यालयको पनि धेरै लगाव छ । सरहरूले घरमा आइसकेपछि पनि गणितको हिसाब मिल्यो कि मिलेन भनेर सोध्नुहुन्थ्यो । बुबाआमाले पनि बुटवलमा बसेरै मलाई पढ्न सघाउनुभयो ।’ 

बुवा बावुराम विश्वकर्माले छोरीको सफलतामा आफू धेरै खुसी भएको अनुभूति सुनाए । ‘कक्षा १२ सम्म यही विद्यालयमा पढाउने सोचले भर्ना गरिसके’, उनले भने, ‘सबैभन्दा ठूलो सन्तुष्टि सन्तानको प्रगतिमा हुँदो रहेछ । छोरीको डाक्टर बन्ने सपना जसरी पनि पूरा गर्नुछ । विद्यालयको साथले अवश्य यो सफलता पूरा हुनेछ ।’ 

चार जीपीए लिएर उत्तीर्ण गरेकी सोही विद्यालयकी सरिता यादवले पनि आफू डाक्टरै बन्ने सपना बुनेकी छन् । उनको सपनामा बलियो खम्बा बनेर उभिएका छन्, बुवाआमा र विद्यालय परिवार । यादव पनि शान्तिमै भर्ना भइन् । रूपन्देहीको दुर्गम क्षेत्र कोटिहमाई गाउँपालिका–४ मा जन्मिएकी उनी अहिले तिलोत्तमा नगरपालिकामा बस्छिन् । यादवको भविष्यमा हाडजोर्नी वा रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर बन्ने सपना छ । 

जीवनोपयोगी सीप छ
शान्तिमा अक्षरको खेती मात्र हुँदैन, कृषि विषयमार्फत जीवनोपयोगी सीप पनि दिने गरिएको छ । विद्यार्थीले च्याउ उमार्छन् । अचार साँध्छन् । गड्यौला खेती छ । मुला, रायोको साग खेती हुन्छ । विद्यार्थीले नै सिन्की बनाउँछन् । मौसमअनुसार बनाइएको लप्सी, अमला, आँपको अचार त विद्यालयबाटै खोसाखोस हुन्छ । 

कुरा यत्तिमै सीमित छैन, विद्यार्थीले नौमती, पञ्चेबाजा, मादल बजाउँछन् । भजन टोली छ । कक्षा ६ देखि १० सम्मका १२ जनाको समूह भजनका लागि तयारी अवस्थामा हुन्छन् । गाउँघर र मन्दिरहरूमा हुने पूजापाठ, विवाह, व्रतजस्ता कार्यक्रममा उनीहरूको माग हुने गर्छ । खाना पकाउने, प्लम्बिङ र वाइरिङ गर्ने काममा पनि विद्यार्थीलाई जोड्ने गरिएको छ । विद्यालयका शिक्षक एवं सांस्कृतिक संयोजक रञ्जित भण्डारीका अनुसार विद्यार्थीले दुई घण्टा बाजा बजाउन गएपछि १३ हजार रुपैयाँ शुल्क लिने गर्छन् । त्यसमध्ये तीन हजार विद्यालयको कोषमा जम्मा गर्छन् । जुन कोषबाट बाजा मर्मत गर्न खर्च हुन्छ । पढ्दै कमाउँदै कार्यक्रमअन्तर्गत विद्यार्थीले उब्जाएको तरकारी विद्यालयमै खपत हुन्छ । 

प्रधानाध्यापक न्यौपानेका अनुसार विद्यार्थीलाई संस्कारयुक्त सिकाइ पनि सिकाउने गरिन्छ । कति बजे सुत्ने, उठ्ने, के खाने, के नखाने, कसलाई कसरी बोलाउने ?      छोराछोरी बराबरीजस्ता संस्कारसमेत सिकाउने गरिएको छ । ‘प्रत्येक पिरेडमा विद्यार्थीलाई सुरुमै सन्चो बिसन्चो सोध्छौं, नमस्कार गर्छौ’, न्यौपाने भन्छन्, ‘विद्यार्थीहरूलाई नैतिक शिक्षा दिनुपर्छ । किताबी शिक्षाले मात्र उनीहरू पूर्ण हुँदैनन् ।’ विद्यालय हाताभित्र १६ वटा बाल क्लब गठन गरिएको छ । उनीहरूमार्फत अतिरिक्त क्रियाकलाप निरन्तर हुने गर्छन् । 

शान्तिले तिलोत्तमाको गरिमा बढायो
एसईर्ईको नतिजापछि शान्ति नमुना माविले समग्र तिलोत्तमा नगरपालिकाको गरिमा बढाएको नगरप्रमुख रामकृष्ण खाणले प्रतिक्रिया दिए । एसईर्ईमा चार जीपीए ल्याउने विद्यार्थीलाई सम्मान गर्दै नगरप्रमुख खाणले भने, ‘नतिजापछि हाम्रो पालिकाको शान देशभरि बढेको छ । सबैको नजरमा परेका छौं । उत्कृष्ट नतिजा ल्याउन सहयोग गर्नुहुने सबैप्रति नगरपालिका परिवार सम्मान व्यक्त गर्दछ ।’ शान्तिका १८ जनासहित २२ जना विद्यार्थीले नगरपालिकाभरि चार जीपीए लिएर उत्तीर्ण भएका छन् । विद्यार्थीलाई नगद १०÷१० हजार र प्रमाणपत्रसहित नगरपालिकाले उनीहरूका अभिभावक र विद्यालयलाई सम्मान गरेको छ । 

तिलोत्तमा नगरपालिकालाई देशकै शैक्षिक हबको रूपमा विकास गर्ने र बाहिरी जिल्लाका विद्यालयहरूलाई सिकाइको उत्कृष्ट गन्तव्य बनाउने गरी पालिका लागिरहेको खाँणले सुनाए । ‘तपाईंहरू मेहनत गर्नुस्, स्थानीय सरकारले के सहयोग गर्नुपर्छ हामी सधंै साथमा छौं’, खाँणले भने, ‘आगामी आर्थिक वर्ष शैक्षिक वर्षको रूपमा काम गर्ने गरी वार्षिक नीति, कार्यक्रम र बजेट ल्याएका छौं ।’

नगरपालिकाकै गौरवको रूपमा शान्ति नमुना माविलाई पालिकाले अघि सारेको प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले जानकारी दिए । ‘संघ, प्रदेश र स्थानीय तहको गरी वार्षिक ५ करोड रुपैयाँ विद्यालयलाई सहयोग गर्छांै’, अर्यालले भने, ‘विद्यालयको पूर्वाधार निर्माण, विद्यार्थी बोक्ने बस सञ्चालन र क्षमता विकासका क्षेत्रमा पालिकाले सहयोग गर्दै आएको छ ।’ पालिकाले शान्ति नमुनालाई गौरवको विद्यालयको रूपमा अगाडि सारेको समेत अर्यालले सुनाए । एसईर्ईको नतिजा उत्कृष्ट आउनुमा एक वर्षको मेहनतले मात्र नभएको अर्यालको भनाइ छ । ‘वर्षौंदेखिको मेहनतले आजको नतिजा हात परेको हो’, अर्यालले भने, ‘निरन्तरको मेहनतले यो सफलता मिलेको हो ।’ नगर शिक्षा समितिमा समेत शान्ति नमुनाका प्रधानाध्यापकलाई सदस्यको रूपमा नियुक्त गरिएको उनले बताए । पालिकाले गरेको लगानीअनुसार शान्तिले प्रतिफल दिएको उनको भनाइ छ । 

गाउँमै पढेका भण्डारीको चार जीपीए
सत्यवती माध्यमिक विद्यालय सत्यवती गाउँपालिका–५ रघेवा गुल्मीका अर्जुन भण्डारीले पनि एसईर्ईमा चार जीपीए ल्याएर उत्तीर्ण भए । सहरमा मात्र होइन, मेहनत र लगनशील भए गाउँबाटै पनि अब्बल नतिजा हात पार्न सकिन्छ भन्ने बलियो उदाहरण हुन्, उनी । पढ्दा पढ्दै बाल्यकालमा भण्डारीले गरेका संघर्ष त्यति सहज छैन । 

गाईभैंसीलाई घाँसको जोहो गरेर उनी विद्यालय जान्थे । विद्यालयबाट फर्केर फेरि घाँस काट्ने पिरलो हुन्थ्यो । घरमा हुने दैनिक कामकाज त छँदैछ । कक्षा ९ मा पढ्दा पढ्दै बुवाको श्वासप्रश्वास (दम) का कारण ६८ वर्षको उमेरमा मृत्यु भयो । एसईर्ईको बेला घरको धेरै चपेटामा परेर परीक्षा दिएका उनले गाउँपालिकाभरि उत्कृष्ट नतिजा ल्याएर उत्तीर्ण भए । दुर्गम गाउँमै बसेर पनि चार जीपीए ल्याएपछि उनको चर्चा अहिले सबैतिर छ । उक्त विद्यालयबाट ७२ जनाले परीक्षा दिएका थिए ।  उनीसहित अर्का विद्यार्थी सृजित भण्डारीले पनि चार जीपीए ल्याएका छिन् ।

उनी उच्च शिक्षा पढ्न बुटवल झरेका छन् । बुटवलस्थित कालिका मानवज्ञान माध्यमिक विद्यालयमा पुरा छात्रावृत्तिमा नाम निकालेर उनी भर्ना भएका छन् । ‘दम रोगका कारण सानै उमेरमा बुवा गुमाउनुपर्‍यो’, भण्डारी भन्छन्, ‘डाक्टर बनेर बुवाको सेवा गर्ने अवसर गुमाए । तर, भविष्यमा बुवाजस्ता वृद्धवृद्धाहरूलाई सेवा गर्नेगरी पढेर डाक्टर बन्ने सपना बोकेको छुँ ।’ 

चार भाइमध्ये उनी कान्छो हुन् । बुवा मोतीलाल भण्डारीको निधनपछि उनी अहिले आमा छमकली भण्डारीसँगै बस्छन् । २०३९ सालमा स्थापना भएको यस विद्यालयमा सर्वोत्कृष्ट अंक ल्याएर पहिलोपटक आफू उत्तीर्ण भएको भण्डारीले सुनाए । घरमा हुँदा पढाइमा बाहेक अनावश्यक बाहिरी क्षेत्रमा आफूले समय बर्बाद नगरेको भण्डारीले बताए । ‘काम गरेपछिको खाली समय म पढाइमा नै विताउथे’, भण्डारीले भने, ‘मेहनत गरेपछि नतिजा ल्याउन सकिँदो रहेछ भन्ने लागेको छ । अब पनि मेहनत गरेरै पढ्छु ।’ उनले गणित, विज्ञान जस्ता विषयमा आफूले ढुक्क भएर अंक ल्याउन सकिने आँटले पढेको अनुभव सुनाए । 

छोराको मनोविज्ञान  बुझेर काम गथ्र्यौं
छोराले गर्न खोजेको भावना बुझेर मात्र पढ्ने वातावरण मिलाउने गरेको तिलोत्तमा नगरपालिका–५ कफी कम्पनीका हरि न्यौपानेले अनुभूति सुनाए । ‘छोरा सन्देशले शान्ति नमुनाबाट चार जीपीए ल्याएर पास भएका छन्’, उनले भने, ‘यो नतिजा आउनुमा हाम्रो मात्र योगदान छैन । विद्यालयको अझ बढी लगाव र साथ छ ।’ उनले छोरा सानैदेखि हरेक विषयमा जिज्ञासु र विषयको गहिराइमा पुग्न खोज्ने खालको भएको समेत बताए । 
‘बच्चाले गर्न खोजेको के हो ? भन्ने कुराको मनोविज्ञान बुझेर वातावरण मिलाउन सकियो भने सफलता हासिल गर्न सकिँदो रहेछ’, न्यौपाने भन्छन्, ‘शान्ति माविले बोर्डिङले दिनेभन्दा पनि राम्रो सेवासुविधा दिएको छ । हामी सन्तुष्ट छौं ।’ 

शान्ति नमुना माविले सिंगो तिलोत्तमाको गरिमा बढाएको छ । नतिजापछि हाम्रो पालिकाको शान देशभरि बढेको छ । तिलोत्तमा नगरपालिकालाई देशकै शैक्षिक हबका रूपमा विकास गर्ने र बाहिरी जिल्लाका विद्यालयहरूलाई सिकाइको उत्कृष्ट गन्तव्य बनाउने गरी पालिका लागिरहेको छ । आगामी आर्थिक वर्ष शैक्षिक वर्षको रूपमा काम गर्ने गरी वार्षिक नीति, कार्यक्रम र बजेट ल्याएका छौं ।
रामकृष्ण खाँण- नगरप्रमुख, तिलोत्तमा नगरपालिका रूपन्देही 

शिक्षक, विद्यार्थी, अभिभावक, विद्यालय प्रशासन, व्यवस्थापन समिति र स्थानीय सरकार नतिजा हात पार्नुका श्रेय हुन् । उनीहरूको आपसमा मिलेको ट्युनिङ नै उत्कृष्ट नतिजाको कडी हो । हामीले विद्यार्थीलाई चार जीपीए ल्याउनैपर्छ भनेर कहिल्यै दबाब दिएनौं । विद्यालयले राम्रोसँग पढ्ने वातावरण मिलायो । सबै विद्यार्थीको मनोभावना बुझेर हामीले काम गर्‍यौं । 
कुलप्रसाद लामिछाने - प्रधानाध्यापक, शान्ति नमुना मावि, तिलोत्तमा रूपन्देही 

साइन्स पढेर डाक्टर बन्ने सपना छ । मैले राम्रो अंक ल्याउनुमा मेरो मात्र योगदान छैन । विद्यालयको पनि धेरै लगाव र माया छ । बुवाआमाले पनि बुटवलमा बसेरै मलाई पढ्न सघाउनुभयो । 
सर्वदा विश्वकर्मा, झिमरुक–२ प्यूठान, शान्ति नमुना मावी 

गाईभैंसीलाई घाँसको जोहो गरेर स्कुल पढ्न जान्थें । विद्यालयबाट फर्केर फेरि घाँस काट्नेकै पिरलो हुन्थ्यो । ९ कक्षामा पढ्दा पढ्दै बुवाको श्वासप्रश्वास (दम) का कारण ६८ वर्षको उमेरमा मृत्यु भयो । घरमा हुँदा पढाइमा बाहेक अनावश्यक बाहिरी क्षेत्रमा समय बर्बाद गरिनँ । काम गरेपछिको पूरै समय म पढाइमा नै बिताउथेँ । मेहनत गरेपछि नतिजा ल्याउन सकिँदो रहेछ भन्ने लागेको छ । अब पनि मेहनत गरेरै पढ्छु । डाक्टर बन्ने सपना छ । 
अर्जुन भण्डारी, सत्यवती मावि (४ जीपीए) -सत्यवती गाउँपालिका–५ रघेवा गुल्मी

छोरा सन्देश चार जीपीए ल्याएर उत्तीर्ण भएकोमा निकै खुसी छौं । नतिजा हात पार्नुमा विद्यालयको बढी लगाव र साथ छ ।  बच्चाले गर्न खोजेको के हो ? भन्ने कुराको मनोविज्ञान बुझेर वातावरण मिलाउन सकियो भने सफलता हासिल गर्न सकिँदो रहेछ भन्ने लागेको छ । शान्तिले एउटा बोर्डिङले दिने भन्दा पनि राम्रो सेवासुविधा दिएको छ । 
हरि न्यौपाने - अभिभावक, तिलोत्तमा रूपन्देही


रूपन्देहीको तिलोत्तमा नगरपालिकामा रहेको शान्ति नमुना मावि ।   ि केशरराज क्षेत्री
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.