रसुवागढी नाका ठप्प : फसेका कन्टेनर चीनतर्फ फिर्ता, वैकल्पिक मार्गबाट ल्याउन पहल
काठमाडौं : चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी बन्द भएको छ। मंगलबार भोटेकोशीमा आएको बाढीले मितेरी पुल बगाएपछि नाका बन्द भएको हो। मितेरी पुल बगेसँगै नाकामा सवारी साधन तथा मानिसको आवतजावत बन्द भएको छ।
नाकामा रहेको अर्को अस्थायी पुल पनि बाढीले बगाएका कारण सीमामा मानिसको आवतजावत रोकिएको हो। बाढीले पुलको संरचनामा पूर्ण क्षति गरेको छ। बाढीका कारण सीमापारी चिनियाँ भूभागमा २५ वटा कन्टेरनर फसेका छन्। केरुङमा रहेका व्यवसायी पुरुषोत्तम पौडेलका अनुसार केरुङबाट सिल भएर आएका कन्टेरमध्ये १० वटा डुबानमा परेका छन्। १५ वटा कन्टेनर भने त्यही क्षेत्रमा फसेका छन्।
चिनियाँ टोलीले चीनतर्फ रहेका ३० वटा सामग्री बोकेका कन्टेनर पाङसिङमा पुर्याएको छ। ‘हिजो सिल भएर आएर नाका नजिकै रोकिएका कन्टेनर चिनियाँ पक्षले पाङसिङ ल्याएको छ। फसेका कन्टेरनरबाहेक अन्यलाई पाङसिङ पुर्याइएको छ,’ उनले भने।
उनका अनुसार सामग्री लोड गरेर सिल भइसकेका कन्टेनरहरू तातोपानी नाका हुँदै नेपाल भित्र्याउने तयारी छ। ‘चीनका स्थानीय अधिकारीले रसुवागढी नाकाको अवलोकन गरेका छन्। केही दिनमै वैकल्पिक रूपमा बेलिब्रिज हालेर नाका सञ्चालन गर्ने अवस्था आए फर्काइएका कन्टेनर पुनः रसुवागढी नाका हुँदै नेपाल जान्छन्। त्यो सम्भावना नभए पार्टीवालाले तातोपानी नाका भएर सामग्री नेपाल पुर्याउँछन्,’ अन्नपूर्णसँग उनले ने।
चीनतर्फ फसेका ८५ जनाको उद्धार
बाढीका कारण चीनतर्फ रोकिएका नेपाली, तिब्बतीयन र चिनियाँ नागरिकलाई केरुङ पुर्याइएको छ। त्यहाँ फसेका उनीहरूलाई चिनियाँ बसमार्फत केरुङ पुर्याइएको हो। व्यवासायी पौडेलका अनुसार ८५ जनाको उद्धार गरिएक हो।
उद्धार गरेर केरुङ पुर्याइएका उनीहरूलाई चिनियाँ सुरक्षाकर्मीको निगरानीमा राखिएको छ। ‘उद्धार गरिएकाहरूले केरुङमा विभिन्न व्यवसाय गर्दै आएका थिए। नेपाल आउने क्रममा उनीहरू नाकामा अलपत्र परेका थिए। पछि चिनियाँ सुरक्षाकर्मीले उद्धार गरेर केरुङमा पुर्याएको हो’, उनले भने।
नेपालतर्फ ६४ वटा गाडी बाढीले लग्यो
बाढीले रसुवा भन्सारको यार्डमा रहेका ६४ वटा गाडी बगाएको छ। रसुवा भन्सारका अनुसार २३ वटा मालवाहक कन्टेनर, ६ वटा मालवाहक ट्रक र ३५ वटा विद्युतीय गाडी बगाएको हो। बाढीमा परेर तीन जना चालक पनि बेपत्ता भएका छन्।
बाढीमा १९ बेपत्ता, ९ जनाको शव फेला
मंगलबार राति ८ बजेको तथ्यांकअनुसार बाढीमा १९ जना बेपत्ता भएका छन्। रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीका अनुसार बाढीमा परेर १९ जना बेपत्ता भएका हुन्। बाढीमा परेकामध्ये ९ जनाको शव फेला परेको छ। मृतकको पहिचान भने हुन सकेको छैन। अधिकारीका अनुसार धादिङमा ५, नुवाकोटमा २, रसुवामा १ र चितवनमा १ जनाको शव फेला परेको हो।
५७ जनाको उद्धार
बाढी फसेका ५७ जनाको उद्धार गरिएको छ। जसमा ३९ जनाको विवरण खुलेको छ भने १८ जनाको खुल्न बाँकी छ। जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार ५५ जना रसुवामा र २ जनाको नुवाकोटमा उद्धार गरिएको हो। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले बाढीमा फसेका नागरिकको उद्धार गरेको हो।
ठूलो भौतिक क्षति
बाढीले नेपाल-चीन जोड्ने मितेरी पुल बगाएपछि दुई देशबीचको सडक सम्पर्क विच्छेद भएको छ। पासाङल्हामु सडक खण्डअन्तर्गत धुन्चे-स्याफ्रु तथा स्याफ्रु-रसुवागढी खण्डको सडक चर्किएर सवारी आवतजावत ठप्प बनेको छ।
त्रिशूली नदीमा आएको बाढीले नुवाकोटको किस्पाङ गाउँपालिका-५ पहिरेबेसीस्थित त्रिशूली थ्री बि हब स्टेसन कम्पनीको समुन्द्रटार लाने सबस्टेशनको टावर सबै, भाल्चे लाने सब स्टेशनको ३ वटा टावर, आरआरएमको वाल, २२० र १२५ केभिको सम्पूर्ण वाल, थ्री बि हब स्टेसन कम्पनीको स्टोर बगाएको छ। त्यस्तै १११ मेगावट क्षमताको रसुवागढी जलविद्युत आयोजनाको संरचनामा पनि ठूलो क्षति पुर्याएको छ।
प्रतिक्रिया दिनुहोस !