स्थानीयवासीले चन्दा संकलन गरेर बनाए प्रहरी चौकीको भवन
सिरहा : लहान नगरपालिका–१३ पक्कीटोलमा स्थानीयवासिन्दाले चन्दा संकलन गरेर निर्माण गरेको कार्यालय भवन प्रहरीलाई हस्तान्तरण गरेका छन् । बुधबार मधेस प्रदेशका प्रमुख डीआईजी उमाप्रसाद चर्तुवेदीलाई निर्माण समितिका अध्यक्ष अश्विन कुमार राउतले कार्यालय भवनको साँचो बुझाएका हुन्।
स्थानीयहरुले चन्दा संकलन गरेर जग्गा खरिद गरी अस्थायी प्रहरी चौकीको भवन निर्माण गरेर हस्तान्तरण गर्न पाउँदा खुसी लागेको अध्यक्ष राउतले बताए ।
लहान नगरपालिका मेयर महेश चौधरीले शान्ति सुरक्षा कायम गर्न स्थानीयले चन्दा संकलन गरेर भवन निर्माण गरेर नमुना कार्य गरेको बताए। लहान नगरपालिकाले पनि भवन निर्माण गर्नका लागि दुई लाख सहयोग गरेको उनले जानकारी दिए।
मधेश प्रदेशका प्रहरी प्रमुख डीआईजी चतुर्वेदीले आफू इलाका प्रहरी कार्यालय लहानको प्रहरी नायब उपरीक्षक र जिल्ला प्रहरी प्रमुख भएर आउँदा सामाजिक अपराध र शान्ति सुरक्षा कायम गर्न पहल गरेको स्मरण गरे।
कार्यक्रममा चन्दादाताहरूलाई सम्मान गरिएको हो।
प्रतिक्रिया दिनुहोस !