थबाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित सात जना कर्मचारी सम्पर्कविहीन
काठमाडौं : रोल्पाको थबाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित सात जना कर्मचारी सम्पर्कविहीन भएका छन्। नेपाल टेलिकमको नेटवर्कमा समस्या आएपछि आवश्यक कामका लागि रुकुम पूर्व हिँडेका उनीहरू सम्पर्कविहीन बनेका हुन्।
थबाङ गाउँपालिकाका अध्यक्ष ऋषिकेशव बुढा मगरले बुधबार विज्ञप्ति जारी गरेर उनीहरू सम्पर्कविहीन भएको जानकारी गराएका हुन्। उनका अनुसार असार २३ गते राति करिब ९ बजे उनीहरू रुकुम पूर्व हिँडेका थिए। 'असार २४ गतेका दिन कार्यालयको भुक्तानी गर्न 'ओटिपी कोड'का लागि रुकुम पूर्वमा गई कामकाज गर्न जाने भनि कार्यालयबाट निस्केको र हालः प्रमुख प्रशासकीय अधिकृतलगायत आर्थिक प्रशासन प्रमुख, सव-इन्जिनियर, प्रशासन शाखा प्रमुख, खा.पा.स.टे. र सवारी चालकहसहित ७ जना असार २४ गते बिहान ७ बजेदेखिहालसम्म कार्यालयको सम्पर्कमा नआएको विज्ञप्तिमा उल्लेख छ।
गाउँपालिकाले उनीहरूको खोजीकार्य गर्दा रुकुम पूर्वमा नभटिएको र कार्यालयको तर्फबाट सम्पर्क गर्दा सबैको मोबाइल अफ रहेकाले कार्यालयको कामकाजमा समस्या भएको उल्लेख गरेको छ।
सम्पर्कविहीन हुनेमा प्रमुख प्रशासकीय अधिकृत हेमराज घर्तीमगर, सहायक प्रशासन पाँचौं हरिश माझी, सह-लेखापाल यज्ञप्रसाद कँडेल, सव-इन्जिनियर चन्द्रप्रकाश ओली, निशा आचार्य शिव कुमार वली र प्रदीप केसी रहेका छन्।

प्रतिक्रिया दिनुहोस !