गुल्मी : पछिल्लो समय रोजगारी र सुन्दर भविष्यको सपना बोकेर अधिकांश युवा परदेश पसिरहेका छन् । कतिपय उच्च शिक्षा अध्ययन गर्ने नाममा होस् त कति परिवारको पालनपोषणका लागि परदेशी जीवनलाई रोजिरहेका छन् ।
दिनानुदिन युवा विदेश लागिरहेका बेला गुल्मीका केही युवाले कृषिमार्फत स्वदेशमै समृद्धि यात्रा कोरिरहेका छन् । उनीहरूले गाउँकै बाँझो जमिनमा श्रम र सीपको प्रयोगले कृषि तथा पशुपालनको क्षेत्रमा नयाँ सम्भावनासहित समृद्धिको आयाम नै सिर्जना गरेको देखिन्छ । ती युवा हुन्– जिल्लाको इस्मा गाउँपालिका–३ का गोर्कण नेपाली, गुल्मीदरबार गाउँपालिका–६ का विशाल थापा र धुर्कोट गाउँपालिका–६ सिस्तुङका मेघनाथ अर्याल । जसले कृषि र पशुपालनमै आफ्नो भविष्य खोज्दै बाँझो बारीमा हातखुट्टाका नंग्रा खियाइरहेका छन् ।
कृषि र पशुपालन क्षेत्रमा उदाहरणीय कर्म गरिरहेका यी तीन युवा कृषकलाई भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र गुल्मीले उत्कृष्ट कृषकका रूपमा सम्मान गरेको छ । आर्थिक वर्ष २०८१÷८२ को वार्षिक स्वीकृत कार्यक्रमअन्तर्गत उनीहरूलाई सम्मान गरिएको कार्यालयले जनाएको छ ।
जिल्लाभरबाट खुलेको प्रतिस्पर्धी आवेदनमा सातवटा मात्रै आवेदन आएका थिए । कार्यविधिमा तोकेको मापदण्डअनुसार मूल्यांकन गर्दा यी तीनजना उत्कृष्ट कृषकमा पर्न सफल भएका हुन् ।
घाँस खेतीमा गोर्कण कृषि क्रान्ति
इस्मा गाउँपालिका–३ निवासी गोर्कण नेपालीले १२० रोपनीभन्दा बढी जमिनमा व्यावसायिक घाँस खेती गर्दै आएका छन् । उनले सञ्चालन गरेको ग्यालेक्सी कृषि तथा पशुपक्षी फर्ममार्फत हाल देशभरका ५३ भन्दा बढी जिल्लामा उन्नत प्रजातिका घाँसका बिरुवा बिक्री वितरण भइरहेको छ ।
यस फर्मले चालु आर्थिक वर्षमा करिब ४० लाख रुपैयाँको कारोबार गर्ने लक्ष्य राखेको फर्मका सञ्चालक नेपालीले बताए । घाँस खेतीसँगै उनले ५० वटा उन्नत जातका बाख्रापालनसमेत गरेका छन् । दीर्घकालीन सोच, अनुसन्धान र व्यावसायिकताको संयोजनमार्फत गाउँमै कृषि क्रान्तिको नेतृत्व गरेका उनलाई ‘सर्वोत्कृष्ट कृषक’का रूपमा सम्मान गरिएको हो । उनी सानै उमेरमा सफल र व्यावसायिक कृषकका रूपमा परिचित छन् । दैनिक देशभरबाट हजारौं संख्यामा रोजगारीको खोजीमा युवा परदेसिएका बेला नेपाली भने गाउँमै उद्यम गरेर पनि सफलता हात पार्न सकिन्छ भनेर कृषिमा लाग्ने समाजका एक प्रेरणा हुन् ।
अनुसन्धानमुखी अभ्यासमा लागेका थापा
गुल्मीदरबार गाउँपालिका–६ निवासी विशाल थापाले रेसुंगा एग्रो एन्ड रिसर्च फर्म सञ्चालन गर्दै आएका छन् । अहिले थापाको फर्ममा करिब डेढ सय उन्नत जातका बाख्रा छन् । उनले केही वर्षपहिले सञ्चालनमा ल्याएको रिसर्च फर्मलाई स्रोत तथा अनुसन्धान केन्द्रको रूपमा विस्तार गर्ने योजना बनाएका छन् । ‘हामी अनुसन्धानमा आधारित व्यावसायिक पशुपालनको अभ्यास गरिरहेका छौं,’ थापाले भने, ‘सरकारी सहयोगले हामीजस्ता कृषकलाई थप प्रेरणा र कर्ममा हौसला दिएको छ ।’
उनले गरेको कृषि तथा पशुपालन कर्म अहिले गाउँमै लोभलाग्दो छ । आफू जिल्लामै नयाँ र रचनात्मक कृषि तथा पशुपालनमा फर्मलाई बाख्रापालन स्रोत तथा अनुसन्धान केन्द्रको रूपमा विकास गर्ने योजना साथ अगाडि बढेको थापाको भनाइ छ ।
भैंसीपालन र अर्गानिक खाद्यान्न ब्रान्डिङमा अर्याल
धुर्कोट गाउँपालिका–६ सिस्तुङका मेघनाथ अर्याल २०७७ सालदेखि पशुपालन तथा कृषि कर्ममा छन् । उनले गाउँमै १ सय रोपनी जग्गामा कृषि तथा पशुपालन गरेका छन् । खेतमा ठूलो फर्म दर्ता गरेर ३० बढी उन्नत जातका भंैसी पाल्दै आएका छन् । जसबाट दैनिक सय लिटर दूध उत्पादन हँुदै आएको छ । उत्पादित दूध स्थानीय बजारमै खपत हुने गरेको उनको भनाइ छ । अर्यालले पछिल्लो समय ग्रामीण क्षेत्रका कृषकलाई बाँदर, बँदेललगायतका जंगली वन्यजन्तुले अन्नबालीमा क्षति पुर्याउनुका साथै कृषकलाई हैरानी बनाएको गुनासो गरे ।
उनले वन्यजन्तुको आक्रमण र क्षतिलाई रोक्न तीनै तहका सरकारले आवश्यक कानुन नै निर्माण गरेर अगाडि बढ्नुपर्ने बताए । कृषि तथा पशुपालनमा दिगो समयसम्म रहन अनुसन्धान र व्यावसायिकतामा महत्त्व दिनुपर्ने उनको भनाइ छ । उनले अहिले धुर्कोट गाउँपालिका, हेफर प्रोजेक्ट नेपालको सहयोगमा गाउँमै उद्योग स्थापना गरेका छन् ।
केही महिनादेखि अर्यालले खाद्यान्न प्रशोधन तथा प्याकेजिङ उद्योगमार्फत स्थानीय धुर्कोटे चामल बजारीकरण सुरु गरेका छन् । स्थानीय र अर्गानिक भएकाले यस चामलको तम्घास बुटवललगायतका सहरमा समेत यसको माग बढिरहेको छ । उद्योगमा केही स्थानीयलाई समेत रोजगारी दिएका अर्यालले पहाडमा उत्पादन भएका अर्गानिक खाद्यान्नलाई उद्योगमार्फत प्रशोधन गरेर सहरमा पठाउने योजना बनाएको कृषक अर्यालले बताए । ‘म परदेशको आकर्षक कमाइ छाडेर गाउँमै कृषि उद्योगमा लागें,’ अर्यालले भने, ‘स्थानीय उत्पादनलाई प्रशोधन गरेर बजारसम्म पुर्याउने हाम्रो मुख्य लक्ष्य हो ।’
उनी परदेशी लोभलाग्दो कमाइ छोडेर गाउँमै कृषि तथा पशुपालनसहित उद्योग स्थापना गर्ने जिल्लाकै एक उदाहरणीय कृषक हुन् । जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोणबहादुर खत्रीले कृषकहरूले छोटो समयमा नाफा खोज्ने प्रवृत्तिलाई त्यागेर दीर्घकालीन योजना र अनुसन्धानमा आधारित अभ्यास विकासमा लाग्नुपर्ने समय आएको बताए । ‘प्राविधिकहरूले कृषकसँग प्रत्यक्ष सम्पर्कमा रही समस्या पहिचान र समाधानमा सक्रिय हुनुपर्छ,’ उनले जोड दिए ।
कार्यक्रममा भेटेरिनरी अस्पताल तथा पशुविज्ञ केन्द्र गुल्मीका प्रमुख हुमकान्त पाण्डेले कार्यविधिअनुसार जिल्लाभरका कृषकमध्येबाट तीनजना छनोट गरी सम्मान गरिएको जानकारी दिए । उनका अनुसार प्रदेश सरकारको नीतिसँग समन्वय गर्दै गुल्मीलाई भैंसीपालनको ‘पकेट क्षेत्र’का रूपमा विकास गर्ने लक्ष्यसहित विभिन्न कार्यक्रम अघि बढाइँदै छ ।
प्रतिक्रिया दिनुहोस !