बाँदरबाट जोगिन कागुनो खेती, वर्ष दिनमै किसानमा छायो खुसी

बाँदरबाट जोगिन कागुनो खेती, वर्ष दिनमै किसानमा छायो खुसी

पोखरा : पोखरा—२८ काफलघारीका किसान बाँदरबाट मकै जोगाउन आलोपालो गरेर हेरालो बस्थे । त्यति गर्दा पनि बाँदरले मकै खाई छाड्थ्यो । जे गर्दा पनि बाँदरबाट मकै जोगाउन नसकिएपछि केही किसानले त मकै लगाउनै छोडे ।

बाँदरले मकै खाएर हैरान भएकी स्थानीय अम्बिका भण्डारीको माइती गाउँ रूपाको काउरेमा कागुनो खेती हुन्थ्यो । मकैको सट्टा बाँदरले नखाने कागुनो लगाउन अम्बिकालाई आमाले सुझाइन् । अनि, अम्बिकाले माइतबाट दुई माना कागुनोको बीउ ल्याएर २०७४ मा बारीमा खेती सुरु गरिन् । बारीमा कागुनो झुल्यो । तर, बाँदरले कागुनो खाएन । पहिलो वर्ष नै दुई माना कागुनोबाट २२ पाथी कागुनो उत्पादन भयो । यसरी कागुनो राम्रो फलेपछि अम्बिका मात्र होइन, गाउँले नै खुसी भए । काफलघारी सामुदायिक विकास संस्था आमा समूहकी अध्यक्षसमेत रहेकी अम्बिकाको घरमा मिटिङ बस्यो । छलफल चल्यो । छलफलमा समूहका सबैले गाउँमा कागुनो खेती गर्ने निर्णय गरे । 

गाउँका अधिकांशले कागुनो खेती गर्ने त भए, तर सबैलाई पुग्ने बीउ भएन । अम्बिकाले उत्पादन गरेको कागुनो बीउको रूपमा प्रयोग गर्न त मिल्थ्यो नै तर धेरैले खेती गर्ने भएपछि थप बीउको जोहो कसरी गर्ने भन्ने भयो । यही छलफलमा जोडिन पुग्यो जैविक विविधता, अनुसन्धान तथा विकासका लागि स्थानीय पहल (ली–बर्ड) । 

स्थानीय बाली संरक्षण, बीउ उत्पादन र वितरण गर्दै आएको ली–बडले रैथाने कागुनोको बीउ निःशुल्क उपलब्ध गराएको भण्डारीले बताइन् । किसान हौसिए र २०७५ सालदेखि पोखराको काफलघारीका स्थानीयले मकैको विकल्पमा बाँदरले नोक्सान नपुर्‍याउने कागुनो खेती सुरु गरेको स्थानीय सूर्यराज भण्डारी बताउँछन् । 

गत वर्ष गाउँमा ४२ मुरी कागुनो उत्पादन भएको उनले बताए । कृषि समूहमा ३३ जना रहेकोमा २८ जनाले कागुनो खेती गरेका छन् । गाउँको कुल ९० घर धुरीमा ६० घरधुरीले कागुनो खेती गरेका छन् । केही घरका स्थानीयले अझै पनि मकै खेती लगाएका छन् । केही घरका स्थानीय भने सहर झरेका छन् । गाउँमा कागुनो खेती भिœयाएकी अम्बिाकाले ४ रोपनीमा कागुनो लगाएर गत वर्ष २२० किलो कागुनो उत्पादन गरिन् । यस वर्ष २६० किलो कागुनो उत्पादन हुने उनको अनुमान छ । 

कास्कीमा गत वर्ष चार टन कागुनो अन्नपात एग्रोले संकलन गरेर बिक्री गरेको थियो । किसानले छुट्टै पनि बिक्री गर्ने र आफन्तलाई पनि दिएका थिए । यस वर्ष कास्कीमा ६ टन कागुनो उत्पादन हुने अनुमान गरिएको छ । बाँदर र मान्छेबीचको द्वन्द्व कम गराउन, किसानको मेहनत जोगाउन बाँदरले नोक्सान नपुर्‍याउने कागुनो उत्पादनमा किसानलाई प्रेरित गर्न गत वर्ष ४ सय केजी बीउ कास्कीका विभिन्न गाउँमा पठाएको ली–बर्डका वरिष्ठ कार्यक्रम अधिकृत इन्द्रप्रसाद पौडेलले बताए । चैतमा लगाएको कागुनो चार महिनामा पाक्छ । उत्पादन भएपछि नगदेबालीको रूपमा सहजै बिक्री भएर नगद हात पार्ने भएपछि पछिल्लो समयमा किसान कागुनो खेतीतर्फ आकर्षित भएको पौडेलले बताए । 

ली–बर्डको सहयोगमा कागुनोको विस्तार र निजी क्षेत्रसँगको समन्वयमा बजार सुनिश्चित भएको स्थानीय किसानले बताए । किसानलाई कागुनोलगायत बालीको उत्पादनमा हौसला दिन र समस्या बुभ्mन गण्डकी प्रदेशकी कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री पदमा जि.सी श्रेष्ठले काफलघारी गाउँमा पुगेर किसानसँग अन्तरक्रिया पनि गरिन् । ली–बर्डले यो अवसर जुराएको थियो । 

रैथाने बाली 

कागुनो रैथाने बाली हो । परापूर्वकालदेखि नेपालका पहाडी क्षेत्रमा कागुनोको खेती गरिँदै आएको छ । सिँचाइको सुविधा नभएका पहाडमा उत्पादन हुने भएकाले पनि गाउँका किसान कागुनो खेतीतर्फ आकर्षित भएका हुन् । बहुपोषणयुक्त खाद्यान्नका रूपमा रहेको यस अन्नमा प्रोटिन, आइरन तथा क्याल्सियमजस्ता तत्व पाइने पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनहर कडरिया बताउँछन् । 

कोदो वर्गमा पर्ने कागुनोमा फाइबर हुने भएकाले यसका परिकार खाँदा पाचन क्रिया सहज हुने बताइन्छ । मधुमेहका रोगीहरूका लागि पनि कोदो बालीअन्तर्गत पर्ने कागुनो बढी स्वस्थ्यकर मानिन्छ । कागुनोको फाइदा र महŒव उपभोक्ताहरूले बुझ्दै गएपछि यस बालीको बिक्री पनि बढ्दै गएको कडरियाले बताए । उत्पादन गरेपछि सहजै बिक्री हुने क्रम बढेपछि किसान यो बालीतर्फ आकर्षित भएका हुन् । 
कागुनो खेतीतर्फ कृषकहरूको आकर्षण बढ्दै गएपछि पोखरा महानगरपालिकाले न्यूनतम समर्थन मूल्य प्रतिकिलो १२० रुपैयाँ निर्धारण गरेको पोखरा महानगरपालिकाका कृषि महाशाखा प्रमुख कडरियाले बताए । 

कागुनोको उपयोग
कागुनोको भात, खीर, रोटी, ढिँडो, पुवा, खिचडी पनि बनाएर खाने गरिन्छ । पछिल्लो समयमा कागुनोको चाउचाउ, बिस्कुट, कुकिज तथा केकजस्तै आधुनिक परिकार बनाउने पनि गरिन्छ । नेपालमा यो बाली परापूर्वकालदेखि खेती हुँदै आएको छ । नेपालमा कागुनोको औसत उत्पादन ८ सय १५ केजी प्रतिहेक्टर छ । नेपालमा स्थानीय रूपमा खेती गरिने कागुनोका नाम कालो कागुनो, सेतो, खैरो, पहेँलो, रातो, कालो कागुनो, सानो, ठूलो कागुनो, बरियो कागुनोलगायत नामले चिनिन्छन् ।

कागुनो चार महिनामा उत्पादन हुने भएकाले यसलाई अनिकाल टार्ने अन्नको रूपमा पनि लिइन्छ । खडेरी, असिना सहन सक्ने, भिरालो र कम उर्वर जमिनमा पनि उत्पादन हुने भएकाले भोकमरीबाट बचाउन सक्ने बालीको रूपमा पनि यसलाई लिइन्छ । 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.