बाँदरबाट जोगिन कागुनो खेती, वर्ष दिनमै किसानमा छायो खुसी
पोखरा : पोखरा—२८ काफलघारीका किसान बाँदरबाट मकै जोगाउन आलोपालो गरेर हेरालो बस्थे । त्यति गर्दा पनि बाँदरले मकै खाई छाड्थ्यो । जे गर्दा पनि बाँदरबाट मकै जोगाउन नसकिएपछि केही किसानले त मकै लगाउनै छोडे ।
बाँदरले मकै खाएर हैरान भएकी स्थानीय अम्बिका भण्डारीको माइती गाउँ रूपाको काउरेमा कागुनो खेती हुन्थ्यो । मकैको सट्टा बाँदरले नखाने कागुनो लगाउन अम्बिकालाई आमाले सुझाइन् । अनि, अम्बिकाले माइतबाट दुई माना कागुनोको बीउ ल्याएर २०७४ मा बारीमा खेती सुरु गरिन् । बारीमा कागुनो झुल्यो । तर, बाँदरले कागुनो खाएन । पहिलो वर्ष नै दुई माना कागुनोबाट २२ पाथी कागुनो उत्पादन भयो । यसरी कागुनो राम्रो फलेपछि अम्बिका मात्र होइन, गाउँले नै खुसी भए । काफलघारी सामुदायिक विकास संस्था आमा समूहकी अध्यक्षसमेत रहेकी अम्बिकाको घरमा मिटिङ बस्यो । छलफल चल्यो । छलफलमा समूहका सबैले गाउँमा कागुनो खेती गर्ने निर्णय गरे ।
गाउँका अधिकांशले कागुनो खेती गर्ने त भए, तर सबैलाई पुग्ने बीउ भएन । अम्बिकाले उत्पादन गरेको कागुनो बीउको रूपमा प्रयोग गर्न त मिल्थ्यो नै तर धेरैले खेती गर्ने भएपछि थप बीउको जोहो कसरी गर्ने भन्ने भयो । यही छलफलमा जोडिन पुग्यो जैविक विविधता, अनुसन्धान तथा विकासका लागि स्थानीय पहल (ली–बर्ड) ।
स्थानीय बाली संरक्षण, बीउ उत्पादन र वितरण गर्दै आएको ली–बडले रैथाने कागुनोको बीउ निःशुल्क उपलब्ध गराएको भण्डारीले बताइन् । किसान हौसिए र २०७५ सालदेखि पोखराको काफलघारीका स्थानीयले मकैको विकल्पमा बाँदरले नोक्सान नपुर्याउने कागुनो खेती सुरु गरेको स्थानीय सूर्यराज भण्डारी बताउँछन् ।
गत वर्ष गाउँमा ४२ मुरी कागुनो उत्पादन भएको उनले बताए । कृषि समूहमा ३३ जना रहेकोमा २८ जनाले कागुनो खेती गरेका छन् । गाउँको कुल ९० घर धुरीमा ६० घरधुरीले कागुनो खेती गरेका छन् । केही घरका स्थानीयले अझै पनि मकै खेती लगाएका छन् । केही घरका स्थानीय भने सहर झरेका छन् । गाउँमा कागुनो खेती भिœयाएकी अम्बिाकाले ४ रोपनीमा कागुनो लगाएर गत वर्ष २२० किलो कागुनो उत्पादन गरिन् । यस वर्ष २६० किलो कागुनो उत्पादन हुने उनको अनुमान छ ।
कास्कीमा गत वर्ष चार टन कागुनो अन्नपात एग्रोले संकलन गरेर बिक्री गरेको थियो । किसानले छुट्टै पनि बिक्री गर्ने र आफन्तलाई पनि दिएका थिए । यस वर्ष कास्कीमा ६ टन कागुनो उत्पादन हुने अनुमान गरिएको छ । बाँदर र मान्छेबीचको द्वन्द्व कम गराउन, किसानको मेहनत जोगाउन बाँदरले नोक्सान नपुर्याउने कागुनो उत्पादनमा किसानलाई प्रेरित गर्न गत वर्ष ४ सय केजी बीउ कास्कीका विभिन्न गाउँमा पठाएको ली–बर्डका वरिष्ठ कार्यक्रम अधिकृत इन्द्रप्रसाद पौडेलले बताए । चैतमा लगाएको कागुनो चार महिनामा पाक्छ । उत्पादन भएपछि नगदेबालीको रूपमा सहजै बिक्री भएर नगद हात पार्ने भएपछि पछिल्लो समयमा किसान कागुनो खेतीतर्फ आकर्षित भएको पौडेलले बताए ।
ली–बर्डको सहयोगमा कागुनोको विस्तार र निजी क्षेत्रसँगको समन्वयमा बजार सुनिश्चित भएको स्थानीय किसानले बताए । किसानलाई कागुनोलगायत बालीको उत्पादनमा हौसला दिन र समस्या बुभ्mन गण्डकी प्रदेशकी कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री पदमा जि.सी श्रेष्ठले काफलघारी गाउँमा पुगेर किसानसँग अन्तरक्रिया पनि गरिन् । ली–बर्डले यो अवसर जुराएको थियो ।
रैथाने बाली
कागुनो रैथाने बाली हो । परापूर्वकालदेखि नेपालका पहाडी क्षेत्रमा कागुनोको खेती गरिँदै आएको छ । सिँचाइको सुविधा नभएका पहाडमा उत्पादन हुने भएकाले पनि गाउँका किसान कागुनो खेतीतर्फ आकर्षित भएका हुन् । बहुपोषणयुक्त खाद्यान्नका रूपमा रहेको यस अन्नमा प्रोटिन, आइरन तथा क्याल्सियमजस्ता तत्व पाइने पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनहर कडरिया बताउँछन् ।
कोदो वर्गमा पर्ने कागुनोमा फाइबर हुने भएकाले यसका परिकार खाँदा पाचन क्रिया सहज हुने बताइन्छ । मधुमेहका रोगीहरूका लागि पनि कोदो बालीअन्तर्गत पर्ने कागुनो बढी स्वस्थ्यकर मानिन्छ । कागुनोको फाइदा र महŒव उपभोक्ताहरूले बुझ्दै गएपछि यस बालीको बिक्री पनि बढ्दै गएको कडरियाले बताए । उत्पादन गरेपछि सहजै बिक्री हुने क्रम बढेपछि किसान यो बालीतर्फ आकर्षित भएका हुन् ।
कागुनो खेतीतर्फ कृषकहरूको आकर्षण बढ्दै गएपछि पोखरा महानगरपालिकाले न्यूनतम समर्थन मूल्य प्रतिकिलो १२० रुपैयाँ निर्धारण गरेको पोखरा महानगरपालिकाका कृषि महाशाखा प्रमुख कडरियाले बताए ।
कागुनोको उपयोग
कागुनोको भात, खीर, रोटी, ढिँडो, पुवा, खिचडी पनि बनाएर खाने गरिन्छ । पछिल्लो समयमा कागुनोको चाउचाउ, बिस्कुट, कुकिज तथा केकजस्तै आधुनिक परिकार बनाउने पनि गरिन्छ । नेपालमा यो बाली परापूर्वकालदेखि खेती हुँदै आएको छ । नेपालमा कागुनोको औसत उत्पादन ८ सय १५ केजी प्रतिहेक्टर छ । नेपालमा स्थानीय रूपमा खेती गरिने कागुनोका नाम कालो कागुनो, सेतो, खैरो, पहेँलो, रातो, कालो कागुनो, सानो, ठूलो कागुनो, बरियो कागुनोलगायत नामले चिनिन्छन् ।
कागुनो चार महिनामा उत्पादन हुने भएकाले यसलाई अनिकाल टार्ने अन्नको रूपमा पनि लिइन्छ । खडेरी, असिना सहन सक्ने, भिरालो र कम उर्वर जमिनमा पनि उत्पादन हुने भएकाले भोकमरीबाट बचाउन सक्ने बालीको रूपमा पनि यसलाई लिइन्छ ।
प्रतिक्रिया दिनुहोस !