त्रिवि सुधार्ने जिम्मा प्रा.डा अर्यालको काँधमा
काठमाडौं : त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा दीपक अर्याल नियुक्त भएका छन् । प्रधानमन्त्री एवं त्रिविका कुलपति केपी शर्मा ओलीले प्रा.डा. दीपक अर्याललाई बुधबार उपकुलपतिमा नियुक्त गरेका हुन् । वरिष्ठ व्यङ्य साहित्यकार भैरव अर्यालका छोरा प्रा.डा. अर्याल जल तथा मौसम विज्ञान विभागका पूर्वविभागीय प्रमुख हुन् । उनी मौसम विज्ञानमा प्राध्यापक हुन् ।
बाबु भैरव अर्यालले हास्यव्यंग्यमार्फत राज्यसत्तामा तिखो प्रहार गरेका थिए । भैरव अर्यालले जयभुँडी, काउकुती, गलबन्दी, इति श्री, दश औतार, राष्ट्रिय आह्वानलगायत हास्यव्यंग्य निबन्धसंग्रह निकालेका थिए । भैरव अर्याल कृतिहरूको आज प्रशंसनीय छन् । छोरा प्रा.डा. दीपकले मौसम, हावापानीको विषयमा विज्ञता हासिल गरे । उपकुलपति प्रा.डा दीपक अर्यालले सन् २०१६ मा त्रिभुवन विश्वविद्यालयबाटै मौसम विज्ञानमा विद्यावारिधि गरेका हुन् । असिना र पानीमा विद्यावारिधि गरेका अर्यालले पानीमा, वायु प्रदूषणमा, जहाजबाट बादलभित्र गएर वायु प्रदूषण र जलवायु नाप्नेमा स्नातकोत्तर गरेका छन् । उपाधि हासिल गरेका छन् । सन् २००० मा नागोया विश्वविद्यालय जापानबाट वायुमण्डलीय विज्ञानमा एमएससी गरेका छन् । सन् १९९५ मा त्रिविबाट मौसम विज्ञानमा स्नातकोत्तर गरेका हुन् ।
सन् १९९३ मा त्रिविबाटै उनले मौसम विज्ञान र गणितमा स्नातक गरेका हुन् । उनी विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका प्राज्ञसमेत हुन् । त्रिभुवन विश्वविद्यालयको मौसम सुधार्ने जिम्मा उनको काँधमा आएको छ । तालबन्दी, बन्द हड्तालले थलिँदै आएको त्रिविको कसरी सुधार्छन् त्यो भविष्य नै देखाउँछन् । शिक्षामन्त्री तथा सहकुलपति रघुजी पन्त संयोजकत्वको सिफारिस समितिले उपकुलपतिमा प्रा.डा अर्यालसहित तीन जनाको नाम सिफारिस गरेको थियो । प्रा.डा अर्यालसहित प्रा.डा. खड्ग केसी र प्रा.डा.विनिल अर्यालको नाम सिफारिस भएको थियो । प्रा.डा.केसी र प्रा.डा. विनिललाई उछिन्दै प्रा.डा.दीपक उपकुलपति भएका छन् ।
प्रा.डा. दीपक अध्ययन अनुसन्धानमा राम्रो दख्खल राख्ने त्रिविकै वर्तमान र पूर्वप्राध्यापकहरू बताउँछन् । चरम मौसमी घटनाहरू र वायु प्रदूषण गतिशीलताको जटिल क्षेत्रहरूमा उनको विशेषज्ञता छ । लगभग तीन दशकसम्म उनी अनुसन्धानमा सक्रिय छन् । उनको विशेषज्ञताका क्षेत्रहरूले पहाडी क्षेत्रहरूमा संवहनको जटिल घटना, साथै वायु प्रदूषक परिवहन र रूपान्तरणको बहुआयामिक प्रक्रियाहरू समेट् छन् ।
‘कडा अनुसन्धान र अन्तरदृष्टिपूर्ण विश्लेषणहरू मार्फत जटिल मौसम विज्ञान र वातावरणीय प्रणालीहरूको बुझाइलाई निरन्तर अगाडि बढाएको छु,’ उनले भनेका छन् ।
उनले नेपाल र विदेशका विश्वविद्यालय पनि राम्रोसँग बुझेका छन् । प्रा.डा आर्याल सन् २०१६ देखि २०२४ सम्म त्रिविको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका विभागीय प्रमुख रहेका थिए । उनी दुई कार्यकाल विभागीय प्रमुख रहे । चैत १५ देखि त्रिवि उपकुलपतिविहीन थियो । तत्कालीन उपकुलपति केशरजंग बरालले कुलपति एवं प्रधानमन्त्री ओलीसँग टसल भएपछि राजीनामा दिएका थिए । त्यसपछि शिक्षाध्यक्ष प्रा.डा. केसीले निमित्त उपकुलपति जिम्मेवारी निर्वाह गर्दै आएका थिए ।
कुलपति एवं प्रधानमन्त्री ओलीले सहकुलपति एवं शिक्षामन्त्री पन्तको संयोजकत्वमा तीन सदस्यीय उपकुलपति छनोट सिफारिस समिति गठन गरेका थिए । उक्त सिफारिस समितिले १२ जनाको सस्ट लिस्ट गरेको थियो । जसबाट तीन जनाको नाम सिफारिस गरिएको थियो । त्यसैबीच प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति ओलीसमक्ष त्रिभुवन विश्वविद्यालयको नवनियुक्त उपकुलपति प्रा. डा. दीपक अर्यालले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
प्रधानमन्त्री निवास, बालुवाटारमा भएको कार्यक्रममा कुुलपति ओलीसमक्ष उपकुलपति डा अर्यालले शपथ लिए । शपथमा सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुुजी पन्तलगायत सहभागी थिए । कुलपति ओलीले उपकुलपतिमा सिफारिस समितिबाट सिफारिस भएका मध्येबाट डा.अर्याललाई नियुक्ति गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस !