स्ववियु चुनावको मतपेटिका प्रहरीमा

स्ववियु चुनावको मतपेटिका प्रहरीमा
सुन्नुहोस्

सिन्धुपाल्चोक : सिन्धुपाल्चोकको चौतारा बहुमुखी क्याम्पसमा गएको चैत ५ गते भएको स्ववियु निर्वाचनको मत अझै गणना हुन सकेको छैन। 

मतदान प्रक्रियामा गैरविद्यार्थीले मतदान गर्न खोजेको भन्दै विवाद भएपछि क्याम्पस प्रशासनले चैत्र ५ गते साँझ मतपेटिका शिलबन्दी गरी जिल्ला प्रहरी कार्यालयमा बुझाएको थियो। ‘मतपेटिका सुरक्षित राखेका छौं’, जिल्ला प्रहरी कार्यालय स्रोतले भन्यो, ‘मतपेटिका के गर्ने भनेर क्याम्पसले केही भनेको छैन।’

मतदान भएको १ सय ११ दिन बित्दासमेत क्याम्पस प्रशासनले ठोस निर्णय लिन नसक्दा विद्यार्थीको मत अनिर्णयको बन्दी बन्न पुगेको विद्यार्थीले बताएका छन्। चौतारा क्याम्पसका पूर्व स्ववियु सभापति एवम् क्रान्तिकारी विद्यार्थीका नेता मिलन लामा क्याम्पस सञ्चालक समितिको गैरजिम्मेवारीका कारण चौतारा क्याम्पसको मत गणनामा समस्या भएको बताउँछन्। ‘विद्यार्थीले आफ्नो प्रतिनिधि छनौटका लागि मत दिएको १ सय ११ दिन भइसक्यो, मतपेटिका प्रहरी कार्यालयमा छ, क्याम्पस प्रशासनले कुनै चासो गर्दैन’, लामाले भने। आफूहरू नयाँ मतदान गर्न, रोकिएको अवस्थाबाट बाँकी मतदान गर्न वा अहिले भएको मतपेटिकाको मत गणना गर्नसमेत तयार भए पनि क्याम्पस प्रशासनले कुनै चासो नदिएको लामाको भनाई छ।

निर्वाचन प्रक्रिया स्थगित भएपछि त्यसको केही समय पछि सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी किरण थापाले सबै पक्षलाई राखेर छलफल गराउन खोजेका थिए। तर थापालाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले धम्कीपूर्ण चेतावनी दिएपछि प्रमुख जिल्ला अधिकारी थापाले छलफललाई अगाडि नबढाएको विद्यार्थीको भनाइ छ।

निर्वाचन प्रक्रियाको बेला तनाव सिर्जना गर्न मुख्य रूपमा क्याम्पस प्रशासन, निर्वाचन समिति जिम्मेवार भएको क्रान्तिकारीबाट स्ववियु सभापतिका उम्मेदवार भएका अमृत श्रेष्ठ बताउँछन्। ‘अहिलेसम्म न त क्याम्पस प्रशासनको बैठक बस्न सकेको छ, न त निर्वाचन समितिले स्ववियु निर्वाचन प्रक्रियाबारे केही जानकारी गराएको छ’, उनले भने, ‘राजनीतिक स्वार्थको आधारमा २ सय ६९ विद्यार्थीको मतलाई थुनेर राख्नु विद्यार्थीको अधिकारलाई कुठाराघात गर्नु हो।’ अब पनि मतको बारे क्याम्पस प्रशासनले विद्यार्थीलाई स्पष्ट जानकारी नदिए विद्यार्थी चुप लागेर नबस्ने उनले सुनाए।

चौतारा क्याम्पस प्रमुख नगेन्द्रप्रसाद दंगाल भने यो आफ्नो भन्दा पनि राजनीतिक सवाल भएकाले राजनीतिक दलहरूबीच छलफल गरेपछि मात्रै आफूहरूले निकासा दिन सक्ने पक्षमा रहेको बताए। ‘क्याम्पस सञ्चालक समितिको बैठक पछि मात्रै के गर्ने भन्ने निर्णय होला’, दंगालले भने। तर क्याम्पस सञ्चालन समितिको बैठक चैत्र ५ यता बस्न सकेको छैन।

सत्ता गठबन्धनका कांग्रेस र एमालेका विद्यार्थी संगठनको प्यानल र माओवादी निकट अनेरास्ववियु क्रान्तिकारी र समाजवादी विद्यार्थीको गठबन्धन चुनावी प्रतिस्पर्धामा उत्रिएको थियो। शान्तिपूर्वक निर्वाचन हुँदै गर्दा क्रान्तिकारीले नक्कली विद्यार्थीलाई लगेर मतदानमा सहभागी गराउन खोजेको भन्दै सत्ता गठबन्धनका कार्यकर्ता तथा विद्यार्थीले विवाद उत्पन्न गरेका थिए।

सत्ता गठबन्धनका विद्यार्थी संगठनबाट सभापतिका प्रत्यासी सुशील लोप्चन, सचिवका उम्मेदवार चीनलाल तामाङ र समानुपातिकबाट सदस्यको उम्मेदवार एवम् पत्रकार महासंघ सिन्धुपाल्चोकको कार्यसमिति सदस्य प्रमिला विकले मतपेटिकामा लात्तीले हानेपछि अवस्था तनावग्रस्त भएको थियो। 

जसका कारण तत्काल मतदान प्रक्रिया स्थगित भयो भने नक्कली मतदाता र मतपेटिकामा लात्तीले हान्ने विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। राजनीतिक दलका नेताहरूबीच सहमति भएपछि नक्कली मतदाता र मतपेटिकामा लात्ती प्रहार गर्ने उम्मेदवारहरूलाई सोही दिन अबेर प्रहरीले छाडेको थियो।

सत्ता गठबन्धनबाट सभापतिका उम्मेदवार भएका एमाले निकट अनेरास्ववियुका सुशील लोप्चन लगायत प्यानलले नै हार्ने देखेपछि पूर्वसासंद एवम् एमाले केन्द्रीय सदस्य सुवास कर्माचार्यले विद्यार्थी नेताहरूलाई मतपेटिकामा लात्ती हानेर फालिदिन निर्देशन दिएको विद्यार्थीकै आरोप छ। ‘सत्ता गठबन्धनकै पूर्व सांसद, नेता एवम् जनप्रतिनिधिहरूले चुनावलाई भाँड्ने काम गरेको हामीले प्रत्यक्ष देखेका छौं’, क्याम्पसका विद्यार्थी सुवास गौतम भन्छन्, ‘७३ प्रतिशत विद्यार्थीले मतदान गरिसकेको स्ववियु निर्वाचन १ सय ११ दिन बितिसक्दा पनि अनिर्णित हुनु गम्भीर विषय हो।’ उनले तत्काल क्याम्पस प्रशासनले निर्वाचनका बाँकी प्रक्रिया सुरु नगरे गैर जिम्मेवार क्याम्पस प्रशासन, निरीह सञ्चालक समिति र दलको पछि लाग्ने निर्वाचन समिति विरुद्ध कडा प्रतिवादमा उत्रने चेतावनी दिए।

विद्यार्थी संगठनहरुबीच निर्वाचन भए पनि चौतारा क्याम्पसको स्ववियु निर्वाचन भने प्रमुख तीन राजनीतिक दल नेपाली कांग्रेस, नेकपा एमाले र माओवादीबीच प्रतिष्ठाको लडाई नै भएकाले पनि तत्कालै सहमति हुने सम्भावना देखिएको छैन। 

चौतारा क्याम्पसमा माओवादी आफ्नो विरासत जोगाउन चाहन्छ भने एमाले र कांग्रेस माओवादीको विरासत भत्काउन खोजिरहेका छन्। त्यही भएर सिन्धुपाल्चोकको स्ववियु निर्वाचनमा कांग्रेस र एमालेका विद्यार्थी संगठनबीच गठबन्धन भएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.