त्रिविको ‘मौसम’ सुधार्ने जिम्मेवारी

त्रिविको ‘मौसम’ सुधार्ने जिम्मेवारी
सुन्नुहोस्

अपेक्षा नगरिएको ढिलाइपछि मुलुकको जेठो विश्वविद्यालयले नेतृत्व पाएको छ । चैत १५ देखि रिक्त उपकुलपतिको जिम्मेवारी प्राडा दीपक अर्यालले पाएका छन् । पाँच लाख विद्यार्थीको भविष्यसँग जोडिएको यो विश्वविद्यालय राजनीतिक हस्तक्षेपले थिलोथिलो छ । त्यसकै परिणाम पनि हो, यसअघिका उपकुलपति प्राडा केशरजंग बरालले नियुक्तिको छोटो अवधिमै दिएको राजीनामा । बन्द, हडताल र तालाबन्दीको विश्वविद्यालय बनिरहेको त्रिविका नवनियुक्त उपकुलपतिका सामु थुप्रै चुनौती छन् ।

सबैभन्दा पहिला त समयमा पठनपाठन पूरा गराउने र परीक्षा लिई नतिजा निकाल्ने प्रमुख काम कर्तव्यमै विश्वविद्यालय चुक्दै आएको छ । कतिपय परीक्षाको नतिजा वर्ष दिनसम्म पनि आउन नसकेका बग्रेल्ती उदाहरण छन् । त्यसबाहेक प्रशासनिक र व्यवस्थापकीय लथालिंगपन उत्तिकै छ । राजनीतिको ठूलो अखडा बनिरहेको विश्वविद्यालयलाई फोहोरी राजनीतिमुक्त बनाउने गुरुत्वर दायित्व प्राडा अर्यालको काँधमा छ । 

त्रिविको प्राज्ञिक, प्रशासनिक मौसम बिग्रिएको छ । छवि धुमिल छ । विश्वभरका विश्वविद्यालयहरूको वरीयतामा हजारभन्दा पछाडि परेर साख गिराएएको छ । यस्तो अवस्थामा यहाँको मौसम सुधार्ने जिम्मेवारी अर्यालको काँधमा छ । संयोग कस्तो भने विज्ञानका विद्यार्थी अर्याल आफैमा मौसमविद् हुन् । उनको दक्षता र विज्ञता प्राकृतिक मौसमसँग सम्बन्धित छ । जिम्मेवारी विश्वविद्यालयको मौसम सुधार्ने पाएका छन् । राजनीतिक हस्तक्षेप, तालाबन्दी, शैक्षिक अराजकता र प्रशासनिक बेथितिको ‘प्रदूषित मौसम’ झेलिरहेको त्रिविलाई सुधार्ने गहन जिम्मेवारी आएको छ । त्यस मामलामा उनी खरो उत्रन सकेनन् भने उनको मात्रै असफलता हुने छैन, मुलुकको ठूलो प्राज्ञिक संस्थाको विफलता र लाखौं विद्यार्थीको जीवनलाई असफलतातिर धकेल्ने छ । 

प्राडा दीपकका पिता भैरव अर्याल व्यंग्यशिल्पी थिए र आफ्नो कलममार्फत समाज र राज्यसत्ताका विकृतिमाथि जीवनपर्यन्त तिखो प्रहार गरिरहे । अब छोरा दीपकलाई त्यही विकृतिको एउटा केन्द्र मानिने त्रिविको प्रणालीभित्रै बसेर सुधार गर्ने मौका मिलेको छ । उनको तीन दशक लामो अध्ययन, अनुसन्धान र अन्तर्राष्ट्रिय अनुभवले उनलाई त्रिविका समस्याहरूको गहिराइ बुझ्न र समाधानको बाटो पहिल्याउन मद्दत गर्ने अपेक्षा गर्न सकिन्छ । त्रिविमा शैक्षिक वा प्रशासनिक मात्र होइन, प्राज्ञिक विकृति पनि छन् । दलीय भागबन्डा, विद्यार्थी संगठनका नाममा हुने अराजकता, प्राध्यापकहरूको राजनीतिक विभाजन र नियुक्ति प्रक्रियामा हुने चलखेल नै त्रिविका प्रमुख रोग हुन् । यस्तो अवस्थामा, प्राडा अर्यालको प्राज्ञिक दक्खल मात्रै सुधारका लागि पर्याप्त हुँदैन । उनले प्रशासनिक कुशलतासमेत देखाएर त्रिविलाई सुधार्नुपर्छ । त्यसका लागि उनीसँग राजनीतिक दबाबलाई झेल्न सक्ने दृढ इच्छाशक्ति चाहिन्छ । कुशल व्यवस्थापकीय क्षमता चाहिन्छ ।

विद्यार्थीमा आशा जगाउने खालका सुधारबाट उनले पहिलो कदम चाल्नुपर्छ । बन्द, हडताल र तालाबन्दी नहुने र नगर्ने वातावरण सिर्जनाका लागि सबैको विश्वास जितेर काम गर्न सक्नुपर्छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.