त्रिविको ‘मौसम’ सुधार्ने जिम्मेवारी
अपेक्षा नगरिएको ढिलाइपछि मुलुकको जेठो विश्वविद्यालयले नेतृत्व पाएको छ । चैत १५ देखि रिक्त उपकुलपतिको जिम्मेवारी प्राडा दीपक अर्यालले पाएका छन् । पाँच लाख विद्यार्थीको भविष्यसँग जोडिएको यो विश्वविद्यालय राजनीतिक हस्तक्षेपले थिलोथिलो छ । त्यसकै परिणाम पनि हो, यसअघिका उपकुलपति प्राडा केशरजंग बरालले नियुक्तिको छोटो अवधिमै दिएको राजीनामा । बन्द, हडताल र तालाबन्दीको विश्वविद्यालय बनिरहेको त्रिविका नवनियुक्त उपकुलपतिका सामु थुप्रै चुनौती छन् ।
सबैभन्दा पहिला त समयमा पठनपाठन पूरा गराउने र परीक्षा लिई नतिजा निकाल्ने प्रमुख काम कर्तव्यमै विश्वविद्यालय चुक्दै आएको छ । कतिपय परीक्षाको नतिजा वर्ष दिनसम्म पनि आउन नसकेका बग्रेल्ती उदाहरण छन् । त्यसबाहेक प्रशासनिक र व्यवस्थापकीय लथालिंगपन उत्तिकै छ । राजनीतिको ठूलो अखडा बनिरहेको विश्वविद्यालयलाई फोहोरी राजनीतिमुक्त बनाउने गुरुत्वर दायित्व प्राडा अर्यालको काँधमा छ ।
त्रिविको प्राज्ञिक, प्रशासनिक मौसम बिग्रिएको छ । छवि धुमिल छ । विश्वभरका विश्वविद्यालयहरूको वरीयतामा हजारभन्दा पछाडि परेर साख गिराएएको छ । यस्तो अवस्थामा यहाँको मौसम सुधार्ने जिम्मेवारी अर्यालको काँधमा छ । संयोग कस्तो भने विज्ञानका विद्यार्थी अर्याल आफैमा मौसमविद् हुन् । उनको दक्षता र विज्ञता प्राकृतिक मौसमसँग सम्बन्धित छ । जिम्मेवारी विश्वविद्यालयको मौसम सुधार्ने पाएका छन् । राजनीतिक हस्तक्षेप, तालाबन्दी, शैक्षिक अराजकता र प्रशासनिक बेथितिको ‘प्रदूषित मौसम’ झेलिरहेको त्रिविलाई सुधार्ने गहन जिम्मेवारी आएको छ । त्यस मामलामा उनी खरो उत्रन सकेनन् भने उनको मात्रै असफलता हुने छैन, मुलुकको ठूलो प्राज्ञिक संस्थाको विफलता र लाखौं विद्यार्थीको जीवनलाई असफलतातिर धकेल्ने छ ।
प्राडा दीपकका पिता भैरव अर्याल व्यंग्यशिल्पी थिए र आफ्नो कलममार्फत समाज र राज्यसत्ताका विकृतिमाथि जीवनपर्यन्त तिखो प्रहार गरिरहे । अब छोरा दीपकलाई त्यही विकृतिको एउटा केन्द्र मानिने त्रिविको प्रणालीभित्रै बसेर सुधार गर्ने मौका मिलेको छ । उनको तीन दशक लामो अध्ययन, अनुसन्धान र अन्तर्राष्ट्रिय अनुभवले उनलाई त्रिविका समस्याहरूको गहिराइ बुझ्न र समाधानको बाटो पहिल्याउन मद्दत गर्ने अपेक्षा गर्न सकिन्छ । त्रिविमा शैक्षिक वा प्रशासनिक मात्र होइन, प्राज्ञिक विकृति पनि छन् । दलीय भागबन्डा, विद्यार्थी संगठनका नाममा हुने अराजकता, प्राध्यापकहरूको राजनीतिक विभाजन र नियुक्ति प्रक्रियामा हुने चलखेल नै त्रिविका प्रमुख रोग हुन् । यस्तो अवस्थामा, प्राडा अर्यालको प्राज्ञिक दक्खल मात्रै सुधारका लागि पर्याप्त हुँदैन । उनले प्रशासनिक कुशलतासमेत देखाएर त्रिविलाई सुधार्नुपर्छ । त्यसका लागि उनीसँग राजनीतिक दबाबलाई झेल्न सक्ने दृढ इच्छाशक्ति चाहिन्छ । कुशल व्यवस्थापकीय क्षमता चाहिन्छ ।
विद्यार्थीमा आशा जगाउने खालका सुधारबाट उनले पहिलो कदम चाल्नुपर्छ । बन्द, हडताल र तालाबन्दी नहुने र नगर्ने वातावरण सिर्जनाका लागि सबैको विश्वास जितेर काम गर्न सक्नुपर्छ ।
प्रतिक्रिया दिनुहोस !