सुन्दरहरैँचाका उत्कृष्ट १२ ढुकुर जोडीलाई सम्मान

सुन्दरहरैँचाका उत्कृष्ट १२ ढुकुर जोडीलाई सम्मान
सुन्नुहोस्

विराटनगर : मोरङको सुन्दरहरैँचा नगरपालिकाले ‘ढुकुर जोडी’ घोषणा गर्दै नगरका १२ वटै वडाबाट एक–एक उत्कृष्ट दम्पतीलाई सार्वजनिक रूपमा आइतबार सम्मान गरेको छ।

पति–पत्नीबीचको आपसी समझदारी, संयम र पारिवारिक मर्यादालाई मूल्यांकन गर्दै नगरपालिकाले पहिलोपटक यस्तो कार्यक्रम गरेको हो। नगरपालिकाले सार्वजनिक सूचना प्रकाशित गरी ‘ढुकुर जोडी’को खोज गरेको थियो। ४८ दम्पतीले आवेदन दिएका थिए। तीमध्ये नगरपालिकाको मापदण्डअनुसार १२ वडाबाट एक–एक दम्पती छनोट गरी प्रत्येक जोडीलाई नगद १० हजारसहित सार्वजनिक रूपमा सम्मान गरिएको हो।

नगर प्रमुख केदारप्रसाद गुरागाईं, उपप्रमुख अकली चौधरी र प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपानेले आइतबार आयोजित कार्यक्रममा संयुक्त रूपमा सबै दम्पतीलाई सम्मान गरेका हुन्। सम्मानित हुने दम्पतीमा सुन्दरहरैँचा–१ बाट केशवप्रसाद काफ्ले र कञ्चन दाहाल, २ बाट सचिदानन्द साह र संगीताकुमारी गुप्ता, ३ बाट ध्रुव निरौला र अनु दाहाल, ४ बाट डिल्लीप्रसाद सिग्देल र अप्सरा सिग्देल एवं ५ बाट वीरेन्द्रकुमार कट्टेल र सीतादेवी कट्टेल दम्पती छन्।

त्यस्तै, सुन्दरहरैँचा–६ बाट बालकृष्ण घिमिरे र सकुन्तला गौतम घिमिरे, ७ बाट बलिराम चौधरी र फुलोदेवी चौधरी, ८ बाट खगेन्द्र न्यौपाने र सम्झना न्यौपाने, ९ बाट योगराज कार्की र हिमकुमारी कार्की, १० बाट बौद्वबहादुर दाहाल र कल्याणी खड्का दाहाल, ११ बाट वेदकुमार खवास र केसवती खवास तथा १२ बाट अम्बरबहादुर मगर र ताराकुमारी मगर दम्पतीलाई सम्मान गरएको छ।

न्यायिक समितिका उजुरी प्रशासक निरज न्यौपानेका अनुसार पति–पत्नीबीचको विवादजन्य उजुरी बढ्दै गएपछि सामाजिक सद्भाव र अनुकरणीय उदाहरण स्थापनाका लागि नगरपालिकाले ‘उत्कृष्ट ढुकुर जोडी’ कार्यक्रमलाई नीति तथा कार्यक्रममै समेटेको थियो।

प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपानेले कार्यक्रममार्फत समाजमा सकारात्मक सन्देश फैलाउने लक्ष्य राखिएको बताए। उनका अनुसार संयुक्त परिवारमा बस्ने, वैवाहिक जीवनमा कहिल्यै झगडा नभएका, सामाजिक रूपमा सक्रिय रहेर छरछिमेकी तथा समुदायसँग राम्रो सम्बन्ध कायम राख्नेलाई प्राथमिकताका आधारमा उत्कृष्ट दम्पतीको रूपमा छानिएको हो।

नगर प्रमुख केदारप्रसाद गुरागाईंले समाजमा सधैं गुनासो र विवाद सुन्न पाइने परिवेशमा राम्रो काम गर्नेलाई प्रोत्साहन गर्न यस्तो सम्मान कार्यक्रम आवश्यक भएको बताए। ‘समाज मर्यादित हुन व्यक्ति मर्यादित हुनुपर्छ,’ उनले भने, ‘यो सम्मानबाट समाजले पनि सिक्न पाओस् भन्ने चाहना हो।’

नगर उपप्रमुख एवं न्यायिक समिति संयोजक अकली चौधरीले सम्मानित प्रत्येक जोडीको तस्बिर वडा कार्यालयमा १ वर्षसम्म प्रदर्शन गरिने जानकारी दिइन्। साथै, उनीहरूको स्वास्थ्य बिमा पनि नगरपालिकाले निःशुल्क गरिदिने उनको भनाइ छ।

नगरपालिकाले यस कार्यक्रमलाई आगामी वर्षहरूमा पनि निरन्तरता दिने बताएको छ। विवाह, परिवार र सामाजिक सहिष्णुताको सकारात्मक अनुकरणीय अभ्यासलाई प्रवर्द्धन गर्न यस्ता कार्यक्रमलाई सामाजिक परिवर्तन तर्फको प्रयासका रूपमा लिइएको नगरपालिकाको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.