विराटनगरमा मोबाइल बैंकिङ र ई–सेवा अपडेटका नाममा अनलाइन ठगी बढ्यो

विराटनगरमा मोबाइल बैंकिङ र ई–सेवा अपडेटका नाममा अनलाइन ठगी बढ्यो

विराटनगर : एक अपरिचित नम्बरबाट आएको फोनमा आवाज निकै विश्वासिलो थियो। ‘नमस्कार, राष्ट्रिय वाणिज्य बैंकबाट बोल्दैछु, तपाईंको मोबाइल बैंकिङ खाता रिन्यू गर्नुपर्छ। तपाईंको मोबाइलमा आएको सन्देशमा रहेको कोड मलाई भन्नुस्’ यति मात्र सुनेका विराटनगर महानगरपालिका–६ का पोखरेल थरका एक व्यक्तिले तुरुन्तै कोड सुनाए। केही मिनेटमै उनको खाताबाट दुई लाख ५० हजार रुपैयाँ गायब भयो।

यस्तै घटना अहिले विराटनगरमा दिनहुँजसो दोहोरिरहेको छ। कोशी प्रदेशको राजधानीमा अनलाइन ठगीको यस्तो लहर चलेको छ, जहाँ बैंकको नाम, ई–सेवाजस्ता डिजिटल वालेटको अपडेट र जागिरको अवसरका नाममा सर्वसाधारण ठगिन थालेका छन्। मोबाइलमा सन्देश र फोन आउँछ, अनि कोड मागिन्छ। पीडितले त्यो कोड दिएको केही मिनेटमै उनको खाता शून्य हुन्छ। पीडित प्रहरी कहाँ पुग्छन्। उजुरी दर्ता गर्छन्। तर, ठगी गर्ने शैली यति जटिल छ कि अनुसन्धानले कुनै निष्कर्ष नै दिन सकिरहेको छैन। 

ठगीमा संलग्नहरु भेटिँदैनन्। यता सर्वसाधारण भने आफ्नो खाताको पैसा गायब भएपछि मर्कामा परिरहेका छन्। आर्थिक कारोबारका लागि अहिले अनलाइन प्रणालीको प्रयोग व्यापक बनेको छ। तर, बैंक तथा डिजिटल वालेट सेवा प्रयोगकर्तामाझ देखिएको असावधानीले ठगीका घटना पनि ह्वात्तै बढेका छन्। बैंक तथा डिजिटल वालेट सेवा प्रयोगको विषयलाई सामान्य लिँदा, नबुझ्दा, सावधानी अपनाउन नसक्दा र सहजै विश्वासमा पर्दा सर्वसाधारण ठगहरुको पासोमा परिरहेका छन्। 

कोशी प्रदेशको राजधानी विराटनगरमा ठगहरुले सहजै विश्वासमा पारेर सर्वसाधारणको खातामा भएको रकम फुत्काउने घटना जटिल समस्याको रूपमा देखा परेको छ। मोबाइल बैंकिङ, ई–सेवा वा अन्य डिजिटल वालेट प्रणालीमा अभ्यस्त भएका विराटनगरका धेरै व्यक्तिहरूले पछिल्लो केही महिनामा अकस्मात् लाखौं रुपैयाँ गुमाएका छन्। प्रहरीका अनुसार पछिल्लो १ महिनाको अवधिमा मात्रै ३८ जनाले ३७ लाख ३६ हजार रुपैयाँभन्दा बढी रकम अनलाइन ठगीमा गुमाएका छन्। 

असार २० गते विराटनगर–८ का चौधरी थरका व्यक्तिलाई ई–सेवाको केवाईसी अपडेट गर्नु छ भनेर फोन आयो। उनलाई मोबाइलमा आएको ओटीपी मागियो। विश्वास गरेर कोड दिए। उनको खाताबाट ४६ हजार रुपैयाँ एकैछिनमा गायब भयो। केही दिनअघि मात्र त्यही वडाका बस्नेत थरका व्यक्तिलाई ‘एकाउन्ट भेरिफिकेसन’को नाममा ओटीपी मागियो। उनले उक्त ओटीपी उपलब्ध गराउनसाथ वालेटबाट ३७ हजार ८ सय रुपैयाँ गायब भयो। 

माथि उल्लेख गरिएका घटनाले ठगहरूको शैली परिष्कृत हुँदै गएको छ। नयाँ शैली अपनाएर सर्वसाधारणको खातामा सुरक्षित रहेको रकम फुत्काउन उनीहरूले प्राविधिक प्रणाली, मनोवैज्ञानिक विश्वास र सामाजिक व्यवहार तीनवटै पक्ष राम्ररी बुझेको प्रहरीको भनाइ छ। 

प्रहरीका अनुसार अनलाइन ठगीका अधिकांश घटनामा ठगले सीमापारि भारतबाट फोन गर्छन्। नेपालमा बस्ने सहयोगीहरूलाई प्रयोग गरी खाता खोल्न लगाउने गर्छन्। त्यसका लागि सामान्य नागरिकलाई थोरै रकमको लोभ देखाएर प्रयोग गर्ने गरेको पाइएको छ। ठगीबाट आएको पैसा सिधै मुख्य ठगको खातामा जान्दैन। प्रयोग गरिएका व्यक्तिहरुको खाता प्रयोग गरी घुमाएर पैसा लैजाने गरेको मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले बताइन्। 

उनका अनुसार ठगहरुले अर्को चिन्ताजनक शैली पनि अपनाउने गरेका छन्। पैसा भएको खाता मात्रै ह्याक गर्ने गरेको उनको भनाइ छ। प्रहरी स्रोतका अनुसार धेरै घटनामा ठगहरूले कसको खातामा कति पैसा छ भन्ने थाहा पाएपछि मात्रै ह्याक गरेको पाइन्छ। ठगले अपनाएको शैली हेर्दा बैंकभित्रबाटै सूचना चुहिएको हुनसक्ने आशंका प्रहरीको छ। 

‘खातामा पैसा कति छ भन्ने कुरा सामान्य मानिसलाई थाहा हुँदैन,’ प्रहरी स्रोतले भन्यो, ‘त्यो जानकारी बैंक भित्रैबाटै चुहिएको हुनुपर्छ भन्ने शंका छ।’ यद्यपि, डीएसपी चुँडालको भनाइ भने फरक छ। ‘गिरोहले रेकी गरेर पनि यस्तो जानकारी पाउने सम्भावना हुन्छ,’ उनले भनिन्, ‘तर, विगतका केही घटनामा बैंकका कर्मचारी जोडिएको पाइएको थियो।’

डीएसपी चुँडालका अनुसार यस्ता ठगी नेपालमा मात्र सीमित छैनन्। यो एउटा अन्तर्राष्ट्रिय साइबर अपराधको हिस्सा बनेको छ। ‘अहिले धेरैजसो ठगी सीमावर्ती बजारहरूबाट सञ्चालित छन्,’ उनी भन्छिन्, ‘खाता खोल्ने, पैसा ट्रान्सफर गर्ने र अन्ततः विदेशको  गन्तव्यमा पठाउने।’ ठगीमा अपनाएको नयाँ चक्रको अनुसन्धानमा प्रहरीलाई भने सकस परिरहेको छ। 

जिल्ला प्रहरी कार्यालय मोरङमा १ वर्षको अवधिमा अनलाइन ठगीका ३ सय ३ सय ३९ वटा उजुरी दर्ता भएका छन्। ती उजुरीमा उल्लेख भएअनुसार हालसम्म ७ करोड ५८ लाख रुपैयाँभन्दा बढी रकम ठगी भइसकेको देखिन्छ। प्रहरीका अनुसार ठगहरूले बैंक खाताको पासवर्ड, ओटीपी, ई–सेवाको भेरिफिकेसन कोड माग्ने गर्छन्। कतिपयले जागिरको इन्टरभ्यू फाराम भरेको भन्दै पनि ठगी गरेका छन्। ‘उनीहरूले यति विश्वसनीय ढंगले बोल्ने गर्छन् कि सामान्य मानिस सजिलै विश्वासमा पर्छ,’ डीएसपी चुँडाल भन्छिन्। 

उता प्रहरीले अनलाइन ठगी रोक्न अनुसन्धान र कारबाहीका साथै जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न थालेको छ। जनचेतनामूलक कार्यक्रमलाई अभियानकै रूपमा अघि बढाइएको मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियाले बताए। सामाजिक सञ्जाल, एफएम रेडियो र सार्वजनिक सभा–भेलामार्फत सर्वसाधारणमा सावधानी अपनाउन आग्रह गर्न थालिएको उनको भनाइ छ। 

‘व्यक्तिले आफ्नो खाताको विवरण, पासवर्ड, ओटीपी कुनै पनि हालतमा अरुलाई दिन हुँदैन। डिजिटल वालेट वा बैंकले कहिल्यै पनि फोन गरेर कोड माग्दैन। यस्तो फोन आयो भने तुरुन्त सतर्क रहनुपर्छ,’ एसपी चिमरियाले भने। उनका अनुसार जागिर, उपहार वा लगानीको झुटो प्रस्तावमा फस्नु अघि त्यस्तो प्रस्ताव दिने व्यक्तिको वैधानिकता पत्ता लगाउनुपर्छ। ‘सधैं आधिकारिक एप र वेबसाइट प्रयोग गर्नुपर्छ। अनलाइन कारोबारमा जथाभाबी क्लिक गर्न हुँदैन,’ चिमरियाले भने। 

उनको भनाइमा अहिले अनलाइन ठगी नियन्त्रण गर्न कानुनी र प्राविधिक संयन्त्र बलियो बनाउन आवश्यक छ। तर, त्यसको भन्दा पहिला नागरिक स्वयं सचेत हुनुपर्ने उनको भनाइ छ। ‘डिजिटल प्रयोग बढेको आजको युगमा नागरिकको सावधानी नै सुरक्षाको पहिलो र अन्तिम उपाय हो,’ एसपी चिमरिया भन्छन्। 

उनका अनुसार ठगीको पछिल्लो नयाँ शैली हेर्दा ठगीमा संलग्न गिरोह प्रविधिमा दक्ष, बोलीमा चतुर र मनोविज्ञान पोख्त रहेको थाहा हुन्छ। ‘ठगी हुँदा प्रहरीले अनुसन्धान गर्ने र त्यसमा संलग्नलाई कारबाहीको दायरामा ल्याउने कुरा त छँदैछ,’ चिमरियाले भने, ‘तर, आमनागरिकको सतर्कता नै आजको प्रमुख सुरक्षा अस्त्र हो।’ सर्वसाधारणले सावधानी अपनाउँदा मात्रै यस्तो ठगीबाट जोगिन सकिने उनले बताए। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.