कृष्णपुर नगरपालिका : जसले स्वास्थ्यचौकी पनि चौबिसै घण्टा चलाउँछ
धनगढी : सरकारले हरेक स्थानीय तहमा बनाउने भनिएका १५ शय्याका अधिकांश अस्पताल पनि चौबिसै घण्टा सेवा दिन सकिरहेका छैनन्। तर जग्गा अभावका कारण १५ शय्याको अस्पताल बनाउन नसके पनि कञ्चनपुरको कृष्णपुर नगरपालिकाले भने स्वास्थ्य चौकीलाई नै चौबिसै घण्टा सेवा दिने बनाएको छ।
कृष्णपुर नगरपालिकाले एकजना मेडिकल अफिसर राखेर स्वास्थ्य चौकीबाट चौबिसै घण्टा सेवा दिन थालेको हो। ‘स्थानीय अस्पतालका लागि बजेट आउने गरे पनि जग्गाको टुंगो नलागेका कारण बनाउन सकिएको छैन। तर स्वास्थ्य चौकीलाई नै अत्याधुनिक बनाएर चौबिसै घण्टा सञ्चालन गर्ने बनाएका छौं’ मेयर हेमराज ओझाले भने।
उनले कृष्णपुर नगरपालिकामा बढीजसो राजमार्ग क्षेत्र पर्ने भएकाले दुर्घटना हुने, तुरुन्तै प्राथमिक उपचार गरेर ठूलो अस्पताल पठाउनुपर्ने घटना बढ्न थालेपछि चौबिसै घण्टा सेवा दिन सुरु गरेको बताए। ‘३४ किलोमिटर राष्ट्रिय राजमार्ग पर्छ, घटना दुर्घटना भइरहन्छन्, त्यसैले मेडिकल अफिसर सहितको चौबिस घण्टे सेवा दिएका छौं’ उनले भने।
स्वास्थ्यको क्षेत्रमा कृष्णपुरले ‘नागरिकसँग मेयर’ कार्यक्रम सञ्चालन गरेर पनि चर्चा बटुलेको छ। फागुनबाट नगरपालिकाले ८ वटा स्वास्थ्यकर्मी नियुक्त गरेर, तीनका ४ टोली बनाएर घर घरमा चेकजाँच कार्यक्रम गरेको छ। स्वास्थ्यकर्मीहरूले नगर क्षेत्र भित्रका सबै घरधुरीमा पुगेर त्यहाँ रहेका दीर्घ रोगी, खोपको अवस्था, गर्भवती महिलाको चेकजाँच, सुगर, प्रेसर, पिसाबमा प्रोटिन जाने समस्याको चेकजाँच गरेका थिए। १९ हजार ६४९ महिला र १२ हजार ९०६ पुरुष गरी कुल ३२ हजार ५५५ जनाको उपचार गरेको नगरपालिकाले जनाएको छ।
‘गाउँमा नसर्ने तर दीर्घ रोगीहरू अस्पताल आउन मान्दैनन्। उनीहरूले नियमित औषधि सेवन गरे नगरेको कुरा गरिन्छ। उनीहरूलाई अस्पताल आउन जान एम्बुलेन्स निःशुल्क छ भन्ने पनि थाहा छैन, त्यसका लागि प्रचार प्रसार पनि हुन्छ। हामीले हरेक नागरिकलाई एम्बुलेन्स सेवा निःशुल्क गरेका छौं’ मेयर हेमराज ओझाले भने।
अस्पताल सम्म जान नसक्ने ज्येष्ठ नागरिक र बालबालिकाका लागि नागरिक सँग मेयर कार्यक्रम प्रभावकारी देखिएको छ। घरदैलोमै आएर स्वास्थ्य चेकजाँच हुन थालेपछि स्थानीयले पनि नगरपालिकाको यस कार्यक्रमको सराहना गरेका छन्। ‘मलाई श्वासप्रश्वासको बिराम छ। पहिला निमोनिया भएको हो। अहिले आयुर्वेदिक औषधि खान्थे। पालिकाका स्वास्थ्यकर्मीहरूले दिएको अर्को निःशुल्क औषधिले निको भएको छ’ कृष्णपुर नगरपालिका ५ का मान बहादुर लुहारले बताए।
महिलाहरूमा रोग लुकाउने र अस्पताल जान नमान्ने समस्या पुरुषको तुलनामा बढी हुन्छ। त्यसैमा जेठ नागरिक भई सकेका महिलाहरू त घरमै रोग पालेर बसिरहेका हुन्छन्। नागरिकसँग मेयर कार्यक्रमले पुरै उपचार गाउँमा नगरे पनि, दीर्घ रोग र गम्भीर बिरामीहरूलाई आफ्नै एम्बुलेन्स पठाएर पनि स्वास्थ्य चौकी ल्याउने गरेपछि जेठ नागरिक भएका महिलाहरू पनि खुशी भएका छन्।
‘हामीहरूलाई एम्बुलेन्स सेवा निःशुल्क हो भन्ने थाहा थिएन। घरमा आएका स्वास्थ्यकर्मीहरूले बताएपछि अहिले अस्पताल जान र आउन एम्बुलेन्स बोलाउने गरेका छौं। औषधि निःशुल्क छ, घरमा पनि ल्याई दिन्छन्, बढी भयो भने अस्पताल पनि जाने गरेको छु’ स्थानीय हिरा देवी लुहारले भनिन।
कृष्णपुर नगरपालिकासँग ४ वटा एम्बुलेन्स छन्। जग्गाको टुंगो नलागेका कारण नगरपालिकाले १५ शय्याको अस्पताल भने बनाउन सकेको छैन। तर स्वास्थ्य चौकीलाई नै नगरपालिकाले अस्पतालको भन्दा पनि बढी सेवा सुविधा दिने गरी २४ सै घण्टा सञ्चालनमा ल्याएको छ। सुदूरपश्चिममा मेडिकल अफिसर सहित २४ सै घण्टा स्वास्थ्य चौकी चलाउने उ मात्र पहिलो नगरपालिका हो।
स्वास्थ्य चौकीमा निःशुल्क रूपमा आयुर्वेदिक औषधि पनि पाइन्छ भने रेबिजको सुई पनि निःशुल्क लगाइन्छ। सर्पदंशका बिरामी बढ्न थालेपछि नगरपालिकाले २ शय्याको आईसीयु सहितको सर्पदंश उपचार केन्द्र पनि निर्माण गरिरहेको छ। अबको २ महिनाभित्र सर्पदंश उपचार केन्द्र सञ्चालनको तयारी रहेको छ’ मेयर ओझाले भने।
प्रतिक्रिया दिनुहोस !