साधारणतामा पनि सुख छ हजुर.... !
होहल्ला मात्र हो भने उहाँहरू अनाहकमा आलोचित हुनुभयो। दबाब नै दिन मन भए पदीय हैसियत अनुसार प्रधानमन्त्री या सभामुखसामु ‘प्राइभेसी’ राखेरै अनुरोध गर्न सकिन्थ्यो। योग्य हुँदाहुँदै पनि आसन्न लाञ्छना उहाँहरूको बाटो कुरेर बस्ने भयो। दुःख त केमा छ भने त्यसरी पाएको नियुत्तिाmले उहाँहरूलाई साधारण बन्ने सुविधाबाट वञ्चित पार्ने भयो।
नेपालको निजामती सेवा वंशपरम्पराबाट निर्मित खानदानी चरित्रको छैन । यो मुलुककै लागि सन्तोष लाग्दो कुरा हो । निजामती सेवामा प्रायः साधारण परिवारका युवाको प्रवेश हुने गरेको छ । उनीहरू सबै आफ्नो प्रतिभाले आउँछन् र प्रतिभाकै कारण ब्युरोक्रेसीका सोपानहरू चढ्दै जान्छन् । परन्तुः पदोन्नत हुँदै जाँदा जब–जब जीवनको ‘भीआईपीकरण’ हुँदै जान्छ, तब–तब उनीहरूको स्वाभिमान अभिमानमा परिणत हुन थाल्दो रहेछ । सोपान चढ्दै गएपछि यदाकदा प्रतिभा पनि चाकरीमा प्रयोग हुन थाल्दो रहेछ ।
पदीय उच्चतासँगै उनीहरूको संगत र भेटघाट कर्मचारीभन्दा नेतासँग बढी हुन थाल्छ । पदीय राप, शक्तिको ताप र आकांक्षाको चापले दिमाग गर्माउन थाल्दोरहेछ । वृत्तियात्राको सिलसिला बदलिँदै जाँदा हृदयको स्पन्दन पनि पाउने कुराको हिसाबमा व्यस्त हुँदो रहेछ । एउटा साधारण परिवारको दैलेख, स्याङ्जा, खोटाङ, इलाम, पाल्पा, जुम्ला, गुल्मी, दोलखा, धनुषा या झापा आदिबाट आएका कुनै–कुनै निजामती प्राणीको दृष्टिकोण बदलिन थाल्दो रहेछ । पदले व्यक्तिलाई शक्ति र सुविधा दिन्छ । शक्ति र सुविधाले गरिमा दिन्छ । क्रमशः त्यही गरिमा महिमामा परिणत हुन्छ । र, त्यही महिमाले व्यक्तिलाई अभिमानी बनाउँदो रहेछ ।
अभिमानले स्थायित्व खोज्न थाल्छ । स्थायित्वको खोजीले शक्तिको रापिलो घाम ताप्न उक्साउँछ । यहाँ मलाई महाभारतमा दुर्योधनले कृष्णसँगको संवादमा व्यक्त गरेको एउटा भनाइ याद आइरहेको छ । दुर्योधन भन्छन्, ‘जानामि धर्मं न च मे प्रवृत्तिः जानाम्यधर्मं न च मे निवृत्तिः केनापि देवेन हृदि स्थितेन यथा नियुक्तोऽस्मि तथा करोमि ।’ अर्थात् – म उचित के हो भन्ने कुरा जान्दछु, किन्तु त्यसमा प्रवृत्त हुन असमर्थ छु । म अनुचित के हो भन्ने कुरा पनि जान्दछु, किन्तु त्यसबाट निवृत्त हुन असमर्थ छु । मेरो हृदयको कुनै कुनामा त्यस्तो देवको निवास छ, जसले मलाई जे गर्न प्रेरित गर्दछ, म त्यही गर्दछु ।
मेरो यस लेखको अर्थ कदापि यो होइन, कि पूर्व कर्मचारीले संवैधानिक या सरकारी पदमा नियुक्ति लिनु नै हुँदैन । पूर्व निजामती कर्मचारीहरू तुलनात्मक रूपमा योग्य र अनुभवी हुन्छन् । यो लेखको अभिप्रायः के हो भने साह्रै नै हुर्मत लुटाएर असाधारण हुन खोज्नुभन्दा प्रतिष्ठा कायमै राखेर पद प्राप्त हुनुमा कल्याण छ । हामी सबै निजामतीहरू अडिलो भएर आआफ्नो स्वाभिमानमा बस्ने हो भने राज्यलाई आवश्यक परेका बखत आफै खोज्न आइहाल्छ । हामीलाई ‘म छुट्छु कि’ भन्ने भयले गाँजेको छ । हाम्रो यही भय नै कतिपय राजनीतिकर्मीका लागि निकै रसिलो फल हुन पुगिदिन्छ । हामीमध्ये कसै कसैलाई तीन दशक या सोभन्दा ज्यादा समय सार्वजनिक सेवाको उच्च पदमा रही निवृत्तभरण प्राप्त गरिसकेपछि पनि साधारण जीवनमा फर्कन डर लाग्छ । यही अनर्गल प्रतिस्पर्धाकै कारण यहाँ योग्य मानिस पनि आलोचित छन् । मैले चिनेका र हार्दिक सम्मान गर्ने पूर्व निजामतीहरू अहिले पनि संवैधानिक निकायमा कार्यरत छन् । उनीहरूले अपेक्षितरूपमा राम्रै काम गरिरहेका छन् । तथापि आजको विषम परिस्थितिमा सबैजना आलोचित छन् ।
अहिले निजामती सेवाका उच्च पदस्थ सबैलाई एउटै डालोमा हालेर बदनाम गर्ने काम भएको छ । त्यस्तामध्ये कोही नाम काढेरै लाञ्छित भएका छन् भने कोही अनाम छन् । यो प्रकरणमा मैले चिनेका प्रतिभाशाली र जुझारु निजामती कर्मचारीहरूको नाम उछालिएको देख्दा दुःख लागेको छ । दुर्भाग्यवश परिस्थिति यस्तो हुँदै गएको छ, कि उहाँहरूले कदाचित कतै नियुक्ति पाउनुभयो भने आलोचित नै हुनुहुनेछ । उहाँहरूले राम्रै काम गरे पनि नराम्रै देखिने छ । महँगा गाडी चढ्नु, बेला बखत विदेश यात्रा गर्नु र सुकिलो मयलपोस लगाउनु नै मात्र सुख होइन । सुख र सन्तुष्टिको आयाम वृहत् छ ।
साधारण हुँदा पाइने असाधारण सन्तोष अद्भुत हुन्छ । त्यस्तो प्रवृत्तिका जो जो हुनुहुन्छ, उहाँहरूले यी कुरा बुझ्न नसक्नाले यो अनर्थ हुन गएको होइन । उहाँहरूलाई त हृदयको पल्लो कुनामा रहेको देवले विवश पारेको मात्र हो । त्यो विवशता बुझ्न उहाँहरूले राप, ताप र आकांक्षाको जालोलाई च्यात्न सक्नुपर्छ । त्यो जालो च्यात्ने एउटा प्रभावी उपाय ‘कुलिङ अफ पिरियड’ पनि हो ।
मेधावी युवाले प्राप्त गरेको निजामती पद उनीहरूको परि श्रमको परिणाम हो । गाउँका ती निमुखाहरूको आफ्नो भन्ने कोही थिएन । थियो त आफ्नै प्रतिभा र धैर्य मात्र । गन्तव्यमा पुग्ने एउटै मार्ग परि श्रम र त्यसको वैकल्पिक मार्ग पनि परि श्रम । मानिसको जात अचम्मको हुँदो रहेछ । संवैधानिक अंगमा नियुक्ति पाएपश्चात् उहाँहरूले गाडीको कालो सिसाभित्रबाट आफ्नो पुरानो सहकर्मी मित्रलाई बाटोमा पैदल हिँडेको देखेर आफूलाई महान ठान्नुहोला । परन्तु बाटोमा पैदल हिँड्ने सुमार्गीको मन उहाँको भन्दा सफा र सुखी हुन्छ । त्यो सुमार्गी उहाँभन्दा दुई घडी बढी निदाउँछ । उसको मनमा उद्वेलन र द्वन्द्व हुँदैन । कुनै प्रतिस्पर्धा छैन । कसैलाई उछिन्नु छैन । कसैलाई जित्नु छैन । फगत आफूलाई जिते पर्याप्त हुँदो रहेछ ।
कुलिङ अफ पिरियडको फन्डाले धेरैलाई ‘बुलिङ’ गर्यो । यहाँ राजनीति पनि साह्रै कच्चा भयो । के गर्दैछु भन्ने पनि हेक्का छैन । दुनियाँसामु खुलेआम निर्वस्त्र भए जस्तो काम भइरहेको देख्दा उदेक लाग्छ । संसद् जस्तो सर्वोच्च संस्था कसले चलाइरहेको छ चाल पाउनै गाह्रो । जिम्मेवार ओहोदाका मानिसको केटाकेटीपना देख्दा विस्मय लाग्छ । गलत कामको जिम्मेवारी लिने कोही छैन । हल्लाखल्लामै समय बितिरहेको छ । कतै कुनै रचनात्मकता र स्थायित्व छैन । परिस्थिति कस्तो हुँदै गएको छ भने समाज पनि यिनै बेथितिलाई स्वीकार गर्न र सहन तयार देखिन थालेको आभास हुन्छ ।
कसैलाई लाग्दोहो, कराउनेहरू कराउँदै गर्छन । बिरालो कराउँदै गर्छ, फुकेको पाडाले दुध चुस्दै गर्छ भन्ने सोच होला । कहिलेकाहीँ त लाग्छ, नेपालको निजामती सेवामा प्रतिष्ठा प्राप्ति नभई ज्यान पाल्ने उद्देश्यले प्रवेश गरेको हुँदा सोचाइको स्तर बढ्न नसकेको पो हो कि । समयक्रममा साधारण तरिकाले ज्यान पाल्ने उद्देश्य असाधारण जीवन बिताउने इरादामा परिणत भएको पो हो कि । पद र पढाइले प्रशस्त जानकारी र अनुभव दिए तापनि अविद्या र अज्ञानको फन्दाले बलात् कस्तै लैजाँदो रहेछ । यो लेख पढ्दा कसैलाई लाग्ला, आफूले नपाउने÷नपाएको हुँदा लेखेको होला । हो, मैले नपाएकै हो । मेरो हैसियत नपुगेकै हो । जसले पाउनुभयो, मभन्दा योग्य भएरै पाउनुभयो । यहाँनिर एउटा उदाहरण दिन मन लाग्यो । नेपाली काङ्ग्रेसका नेता मीन विश्वकर्माले संयुक्त सरकारमा नेपाली कांग्र्रेसबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरूको कथित असफलताबारे रोचक उदाहरण दिनुभएको छ । मन्त्रीको अकर्मण्यताबारे पार्टी नेतृत्व मौन छ । पार्टीका सांसदहरू मौन छन् । विरोधको स्वर केवल ती व्यक्तिहरूबाट उठेको देखिन्छ, जो मन्त्री हुने प्रबल सम्भावना राख्दछन् ।
मेरो सरोकार त के मात्र हो भने जो जसले पाउनुभयो साह्रै हुर्मत खोसिएर मात्र पाउनुभयो । भविष्यमा पनि हुर्मत खोस्ने यो क्रम जारी रहनेछ र दुर्भाग्यवश उहाँहरू स्वयं जानेर या अनजानमा यो प्रकरणको मोहरा बन्नुभयो । आरोप सत्य हो कि होहल्ला हो, थाहा छैन । होहल्ला मात्र हो भने उहाँहरू अनाहकमा आलोचित हुनुभयो । दबाब नै दिन मन भए पदीय हैसियत अनुसार प्रधानमन्त्री या सभामुखसामु ‘प्राइभेसी’ राखेरै अनुरोध गर्न सकिन्थ्यो । योग्य हुँदाहुँदै पनि आसन्न लाञ्छना उहाँहरूको बाटो कुरेर बस्ने भयो । दुःख त केमा छ भने त्यसरी पाएको नियुक्तिले उहाँहरूलाई साधारण बन्ने सुविधाबाट वञ्चित पार्ने भयो । समाजबाट टाढा पुर्याउने भयो ।
प्रतिक्रिया दिनुहोस !