गोगनपानी टारीफाँटमा फ्रान्सेली खेताला
गोरखा : अजिरकोट गाउँपालिका-४ गोगनपानी, टाँरीफाँटमा बिहान ११ बजे सबैको मेलामा खेताला काम थालिसकेका थिए। कोही हिल्याउँदै, कोही साउँदै र सम्याउँदै, कोही बाउसे गर्दै, कोही बिउ उखाल्दै, बोक्दै अनि कोही रोप्नमा व्यस्त थिए।
टारीफाँटको सबै मेलामाभन्दा विष्णु गुरुङको मेलामा बेग्लै दृश्य देखिएको थियो। त्यहाँको रोपाइँमा गोरागोरा, अग्लाअग्ला खेतालाले खेत भरिएको थियो। त्यसैले गाउँलेका आँखा त्यतै थियो।
खेतमा थिए फ्रान्सेली खेताला। ग्रेनोबल विश्वविद्यालयमा एमबीबीएस दोस्रो वर्ष पढ्दै गरेका ६ जना विद्यार्थी विष्णु गुरुङको मेलामा खेताला भएर आएका थिए। दुई दिनअघि गोगनपानी आएका उनीहरू रोपाइँमा काम गर्न पाउँदा असाध्यै खुसी भएका उनलाई समन्वय गरेर लिएर आएका धनबहादुर गुरुङको भनाइ छ।
‘बिहान ११ बजे मेलामा पसेका हुन्, खाजा खाने बेलासम्म खटिए’, गुरुङले भने, ‘कसैले हिल्याए, कसैले साए। कसैले बाउसे गरे, कसैले बिउ उखालेर बोके। कसैले रोपे। सबैजना खुसी थिए। मेलाबाट निस्किनै मानिरहेका थिएनन्।’
उनीहरू गाउँपालिकाले सञ्चालन गरेको स्वास्थ्य बीमा कार्यक्रममा सहयोग गर्न त्यहाँ आएका हुन्। अजिरकोट गाउँपालिकाको ५० प्रतिशत र मनोज एशोसिएशन, मुटु फाउण्डेशनलेसञ्चालन गरेको नमस्ते प्रोजेक्टको ५० प्रतिशत लागत साझेदारीमा पालिकाभरि स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनमा छ। सोही कार्यक्रममा सहयोग गर्न उनीहरू त्यहाँ आएका उनले बताए।
प्रतिक्रिया दिनुहोस !