लागुपदार्थ सेवन गरी सवारी चलाउने दुईजना चालक प्रहरी नियन्त्रणमा
स्याङ्जा : लागुपदार्थ सेवन गरेर यातायातका साधन चलाउँदै गरेको अवस्थामा स्याङ्जामा दुईजना चालक पक्राउ परेका छन्। पुतलीबजार नगरपालिका -१ प्रगतिनगर र वडा ४ नागडाँडामा गरिएको चेकिङको क्रममा उनीहरू दुई पक्राउ परेको प्रहरी नायब उपरीक्षक प्रशन्नराज चौधरीले जानकारी दिए।
पक्राउ पर्नेमा अर्जुनचौपारी गाउँपालिकाका २३ वर्षीय बोलेरो जीप चालक गोविन्दबहादुर सुनार र आँधीखोला गाउँपालिकाका २६ वर्षीय ट्याक्टर चालक विशाल दर्जी हुन्।
सडक दुर्घटना न्यूनीकरण एवं यात्रालाई थप सुरक्षित, मर्यादित र भरपर्दो बनाउने उद्देश्यले अभियान सञ्चालन गर्दै आएको प्रहरीले राजमार्गमै चेकजाँचका क्रममा उनीहरूलाई पक्राउ गरेको प्रहरी प्रवक्ता समेत रहेका चौधरीले जानकारी दिए।
दुबैजनालाई अदालतबाट ७ दिनको म्याद थप भएको छ। प्रहरी नियन्त्रणमा रहेका उनीहरूमाथि आवश्यक कानुनी कारबाही अगाडि बढाएको प्रहरीको भनाइ छ।
प्रतिक्रिया दिनुहोस !