वीरगन्जवासीको घरमा संस्थानको धारा निःशुल्क जडान गरिने
वीरगन्ज : विगत एक महिनादेखि खानेपानीको संकट चुलिएको वीरगन्ज महानगरपालिकामा नेपाल खानेपानी संस्थानको धारा निःशुल्क जडान हुने भएको छ।
बिहीबार वीरगन्ज महानगरपालिकाले खानेपानी संस्थानसँग खानेपानी सेवा विस्तार सम्बन्धी समझौतापत्रमा हस्ताक्षर गरेर संस्थानको पाइपलाइन विस्तार भएका महानगरका वडाहरूमा नयाँ धारा निःशुल्क जडान गरिदिने व्यवस्था मिलाएको हो।
समझदारीपत्रमा संस्थानको तर्फबाट संस्थानका महाप्रबन्धक अर्जुनबाबु ढकाल र वीरगन्ज महानगरपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत अरबिन्द लाल कर्णले हस्ताक्षर गरेका छन्।
लामो समयदेखि निरन्तर परेको खडेरी, जलवायु परिवर्तन र तापक्रम बृद्धिका कारण वीरगन्जको भूमिगत जल सतह घट्न गई चापाकलहरूको पानी सुक्दा खानेपानीको संकट चुलिएको अवस्थामा महानगरका बासिन्दालाई स्वच्छ, सुरक्षित र दिगो खानेपानीको पहुँच सुनिश्चित गर्न संस्थान र महानगरबीच उक्त सम्झौता गरिएको मेयर राजेशमान सिंहले बताए।
अब खानेपानी संस्थानको नयाँ धारा जडानमा लाग्ने शुल्क महानगरपालिकाले व्यहोर्ने मेयर सिंहले बताए। बिहीबार भएको सम्झौताले वीरगन्ज महानगरपालिका भित्रका प्रत्येक घरधुरीमा स्वच्छ, सुरक्षित र दिगो खानेपानीको पहुँच सुनिश्चित गर्ने परिकल्पना गरिएको उनले बताए।
संस्थान र महानगरबीच भएको सम्झौताको मुख्य उद्देश्यहरूमा जलवायु परिवर्तनका कारण उत्पन्न हुने खानेपानीको समस्याको दीर्घकालीन समाधान खोज्नु, नगरवासीका घरधुरीमा स्वच्छ खानेपानीको पहुँच सुनिश्चित गर्नु, खानेपानीको नयाँ धारा निःशुल्क जडान गरि अझ सरल, छिटो र पारदर्शी बनाउनु र खानेपानीको गुणस्तर तथा सेवाको पहुँचमा समग्र सुधार ल्याउने जस्ता विषय समावेश रहेका छन्।
विशेषगरी हाल खानेपानीको अभाव झेलिरहेका र गुणस्तरहीन पानी प्रयोग गर्न बाध्य रहेका महहानगरवासीलाई प्रत्यक्ष लाभ पुर्याउने तथा स्वच्छ खानेपानीको सुनिश्चितताले जनस्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने र पानीजन्य रोगहरूको जोखिम न्यूनीकरणमा मद्दत पुग्ने विश्वास गरिएको खानेपानी मन्त्री प्रदीप यादवले बताए।
समझदारी पत्रमा उल्लेख भएका सेवा सुविधाले आर्थिक रूपमा कमजोर रहेका परिवारलाई पनि खानेपानीको सुविधा उपभोग गर्न सहज हुने भन्दै यादवले संस्थानले वीरगन्ज शाखामा आवश्यक जनशक्ति थप गरेर सेवालाई थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाए।
प्रतिक्रिया दिनुहोस !