अध्यागमनमा यात्रु सूचना एकीकृत प्रणाली, झुटा विवरण पहिचान हुने

अध्यागमनमा यात्रु सूचना एकीकृत प्रणाली, झुटा विवरण पहिचान हुने
फाइल तस्बिर
सुन्नुहोस्

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले भिसा, श्रम स्वीकृति र अध्यागमन प्रक्रियासँग सम्बन्धित गुनासाहरू समाधान गर्ने उद्देश्यले नयाँ सूचना प्रणाली लागू गरेको छ। अबदेखि कुनै पनि नेपाली नागरिकले विदेश जानुअघि सम्बन्धित मन्त्रालय वा निकायबाट अनुमति लिनैपर्नेछ। यो अनुमति नभएसम्म अध्यागमन कार्यालयले बाहिरिन दिने छैन।

साउन १ गतेदेखि लागू गरिएको नयाँ प्रविधिमार्फत श्रम, अध्ययन, तालिम, भ्रमण वा कुनै पनि प्रयोजनमा विदेश जान चाहने यात्रुहरूको विवरण अनिवार्य रूपमा अध्यागमनको सूचना प्रणालीमा दर्ता हुनुपर्नेछ। यसले श्रम मन्त्रालयबाट दिइने स्वीकृति र अन्य मन्त्रालयबाट दिइने अनुमति पत्र (जस्तै, अध्ययनको एनओसी वा तालिमका लागि दिइने अनुमति) एउटै ढाँचामा अध्यागमन प्रणालीमा एकीकृतरूपमा देखिनेछ। यसरी स्वीकृति प्राप्त भइसकेका व्यक्तिलाई मात्र अध्यागमन स्वीकृति दिइने व्यवस्था गरिएको छ।

प्रमुख अध्यागमन अधिकृत विष्णुप्रसाद कोइरालाद्वारा जारी विज्ञप्तिका अनुसार अब नक्कली श्रम स्वीकृति, नक्कली अनुमतिपत्र, वा झूठा कागजात देखाएर विदेश जान खोज्ने कार्य रोकिनेछ। कतिपय नेपाली नागरिक भिसाको बाहनामा विदेश गएर अवैधानिक रूपमा काम गर्ने, अध्ययनको नाममा फरार हुने वा मानव तस्करीको सिकार बन्ने घटनाहरू दोहोरिरहेका थिए। ती सबै समस्यालाई रोक्न कार्यालयले सूचना प्रणाली कडा बनाएको हो। यस प्रणालीले यात्रुको नाम, उनको यात्रा प्रयोजन, पठाउने संस्था, अनुमति कागजात, स्वीकृति दिने निकायलगायत सम्पूर्ण विवरण अध्यागमनको प्रणालीमा एकैपटक देखिने व्यवस्था मिलाएको छ। प्रणालीमा विवरण नभएको खण्डमा अध्यागमनबाट सीधा रोकिनेछ।

यात्रुहरू मात्र होइन, अब विदेश पठाउने संस्थाहरू– ट्राभल एजेन्सी, भ्रमण व्यवस्थापन संस्था, श्रम एजेन्ट, शिक्षा परामर्शदाता, तालिम केन्द्र, स्वास्थ्य परीक्षण संस्था, धर्म र संस्कृतिसम्बन्धी भ्रमण गराउने समूह, संघसंस्था आदिले व्यावसायिक विवरण अनिवार्य रूपमा दर्ता गर्नुपर्नेछ। यस्ता संस्थाले यदि विवरण दर्ता गरेका छैनन् भने उनीहरूका माध्यमबाट जान खोज्ने यात्रुलाई अध्यागमन कार्यालयले स्वीकृति नदिने जनाएको छ।

अध्यागमन कार्यालयले यसअघि देखिएको प्रविधिसम्बन्धी समस्या पनि समाधान गरेको जनाएको छ। पहिले सर्भर अन्यन्त्रै हुँदा कहिलेकाहीँ प्रणाली बन्द हुने, कागजात देखिन नसक्ने वा ब्ल्याकलिस्टमा परेका व्यक्तिहरू प्रणालीको कमजोरीको फाइदा उठाएर जान पाउने अवस्था थियो। अबदेखि अध्यागमन सूचना प्रणाली स्थानीय डेटा केन्द्रबाट नै सञ्चालनमा आएको छ, जसले प्रणाली सधैं सक्रिय रहने र व्यवधान नआउने कार्यालयले प्रस्ट्याएको छ।

यस प्रणालीले अध्यागमन प्रक्रियालाई छरितो, पारदर्शी र सुरक्षित बनाउने अपेक्षा गरिएको छ। कार्यालयले यात्रुहरू, अभिभावकहरू र विदेश पठाउने सबै निकायलाई स्पष्ट जानकारी लिएर मात्र प्रक्रिया अघि बढाउन र नियम पालना गर्न आग्रह गरेको छ। बिना स्पष्ट स्वीकृति जान खोज्दा विमानस्थलमै रोक लाग्ने भएकाले यात्रु र परिवारलाई अनावश्यक तनावबाट बच्न सजग हुन सूचित गरिएको छ। कोइरालाका अनुसार अब अध्यागमन सेवामा ठगी, कमजोरी र अव्यवस्था हट्नेछ, जनगुनासो न्यून हुनेछन् र विदेश जान चाहने नेपालीको सुरक्षा अझ सुनिश्चित हुनेछ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.