‘सौर्यको विमान दुर्घटना प्राविधिक त्रुटिले’
काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गत वर्षको साउनमा भएको सौर्यको जहाज दुर्घटनामा ‘प्राविधिक त्रुटि’ भेटिएको अनुसन्धान आयोगले जनाएको छ । २०८१ साउन ९ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको केही मिनेटमै सौर्यको जहाज दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो । उक्त जहाज प्राविधिक कारणले दुर्घना भएको आयोगको निष्कर्ष छ । दुर्घटनाको मूल कारण पाइलट/कम्पनीको तयारीमा कमजोरी (प्राविधिक त्रुटि)सँगै नियामक निकाय, विमानस्थल व्यवस्थापन र उद्धार सेवाको समन्वय अभाव देखिएको आयोगको निष्कर्ष छ ।
गत वर्ष साउन ९ मा (जुलाई २४, २०२४) सौर्य एयरलाइन्सको सीआरजे २०० एलआर विमान नाइनएन–एएमई पोखरा जाँदै गर्दा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै दुर्घटनामा परेको थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको निर्देशनमा गठित वायुयान दुर्घटना अनुसन्धान आयोगले गत सोमबार १४ मा बुझाएको ६२ पृष्ठ लामो प्रतिवेदनले दुर्घटनाको मूल कारण र यससँग सम्बन्धित लापरबाहीलाई उजागर गरेको छ ।
प्रतिवेदनअनुसार घटनाको मुख्य कारण भनेको यसको स्पिडकार्ट (भी–कार्ड) को एड्जसमेन्ट (अनुकूलन)मा भएको खराबीलाई मानिएको छ । जसले गर्दा जहाज अघि बढ्ने पिच हाई भयो तर सोही गतिमा जहाजको रोटेसन स्पिड (टर्निङ स्पिड) कम भयो । यसले गर्दा जहाज अनियन्त्रित भएर दायाँतिर कोल्टे परेर खसेको आयोगको निष्कर्ष छ । जहाजको १८ हजार ५०० किलोग्राम भारको आधारमा तयार गरिएको स्पिडकार्डमा त्रुटिपूर्ण भी–स्पिडहरू उल्लेख गरिएको सौर्य एयरलाइन्सले प्रयोग गरेको उक्त स्पिडकार्ड कहिल्यै अनुमोदनमा नगईकनै प्रयोग भएको प्रतिवेदनले भनेको छ । कम्पनीले टेकअफको क्रममा उच्च पिच दर देखिने धेरैजसो अघिल्ला घटनाहरूलाई कम्पनीले विश्लेषण नगरी बेवास्ता गरेको उल्लेख छ ।
प्रतिवेदनले मुख्य कारण घट्ना हुने अन्य कारण पनि उल्लेख गरेको छ । सौर्य एयरलाइन्सको उक्त जहाज ३४ दिनसम्म ग्राउन्डेड थियो । जहाजको प्राविधिक आवश्यकताबमोजिम जहाजको मर्मतसम्भार (मेन्टेनेन्स) र चेक अपटुडेट नहुँदा भिकार्डले स्पिडको सन्तुलन गर्न सकेन र जहाज दुर्घटना भएको उल्लेख छ । यस्तै, त्यसको भार वितरण (लोड डिस्ट्रिबुसन) पनि उचित नभएको भनिएको छ । एयरलाइन्सको यो व्यावसायिकभन्दा पनि फेरि उडान (मर्मतका लागि सम्बन्धित स्थानसम्म उडाउने) थियो, जसले गर्दा जहाजमा परिचारिका थिएनन् । जति जना यात्रु बसे उनीहरू आ–आफ्नो तरिकाले बसे र जति कार्गो राखेको थियो, त्यो नबाँधेर यत्तिकै राख्दा जहाज एकातिर कोल्टिँदा लोड पनि सबै त्यतैतिर ढल्कियो र जहाजको भार सन्तुलन हुन नसकी जहाज दुर्घटना भएको भनिएको छ । यात्रुबिनाको उडानको परिभाषा अस्पष्ट भएको र तयारीदेखि कार्यान्वयनसम्म धेरै प्रावधानहरूको उल्लंघन भएको पाइएको प्रतिवेदनले भनेको छ ।
विमान ३४ दिनदेखि ग्राउन्ड गरिएको थियो, त्यसको मर्मतपश्चात् पोखरा सी–चेकका लागि पठाइँदै थियो । टेकअफको तयारीमा अनावश्यक हतारो, अपूर्ण चेकलिस्ट र उपकरण सञ्चालनमा त्रुटि प्रतिवेदनले औंल्याइएको छ । दुर्घटनापछि उद्धारमा समेत ढिलाइ भएको भनिएको छ । दुर्घटनास्थल विमानस्थलको पूर्वपट्टि अप्ठ्यारो भौगोलिक स्थानमा परेकाले रेस्क्यू फायर टिमले समयमै प्रभावकारी कार्य गर्न सकेन । उद्धारको क्रममा मृतकहरूको झोला र समानहरू सौर्य एयरलाइन्सको कार्यालयसम्म पुर्याइएको पाइयो, जुन सुरक्षा दृष्टिकोणले गम्भीर त्रुटि भनिएको छ ।
यस्तै, अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ)मापदण्डअनुसार रनवे स्ट्रिपको चौडाइ २ सय ८० मिटर हुनुपर्नेमा दुर्घटनास्थलमा १ सय ५० मिटर भएको र दुर्घटनास्थल नजिकको आपत्कालीन प्रवेशद्वार निर्माण सामग्रीले अवरुद्ध थियो । एयरपोर्ट रेस्क्यू एन्ड फायर फाइटिङ सेवाले आवश्यक तालिम, योजना तथा संसाधन उपयोग गर्न नसकेको उल्लेख छ ।
सिफारिस र सुधारात्मक उपाय
अनुसन्धान आयोगले तुरुन्त लागू गर्नुपर्ने ३ सिफारिससहित कुल ४१ बुँदामा सुरक्षा सिफारिसहरू प्रस्तुत गरेको छ ।
– सौर्य एयरलाइन्सले आफ्नो स्पिडकार्ड प्रणाली, फेरि फ्लाइट तयारी प्रक्रिया, र सामान बोक्ने प्रबन्धमा सुधार गर्नुपर्ने ।
– नेपाल नागरिक उड्डयन प्राधिकरणले अनुमोदन प्रणाली कडाइका साथ कार्यान्वयन गर्नुपर्ने ।
– त्रिभुवन विमानस्थलमा रनवे स्ट्रिप सुधार, उद्धार योजना पुनरावलोकन र दष्लिम कउयत हरू हटाउने काम यथाशीघ्र गरिनुपर्ने ।
– विमान निर्माता कम्पनीले पनि सम्बन्धित प्रयोगकर्तालाई स्पिडकार्ड र फ्लाइट डाटाका सीमाहरूबारे थप मार्गदर्शन दिनुपर्ने ।
५ आन्तरिक गन्तव्यमा उडान भर्दै आएको सौर्य एयरलाइन्सको विमान गत वर्षदेखि नै ग्राउन्डेड भएको छ । एयरलाइन्सँग २ वटा जहाज भएकोमा एउटा जहाज नियमित चेकजाँचका लागि पोखरा लैजाने तयारी थियो । जहाजको नियमित उडान तालिकालाई रोकेर फेरि उडानको अनुमति लिएको थियो । फेरि उडानमा चालकदल र केही प्राविधिक जाने चलन छ । विमान परिचारिका पनि यो उडानमा नलगिने विज्ञ बताउँछन् । नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणसँग फेरि उडानको अनुमति लिदै जहाजलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थल लैजान अनुमति लिएको थियो । एयरलायन्सको कलसाइन नाइनएन–एएमई बोम्बारडियर जहाज सी चेकका लागि पोखरा लगिँदै थियो ।
१७ जना प्राविधिज्ञ र २ चालकदलसहित पोखरा जाने जानकारी प्राधिकरणलाई दिइएको थियो । जहाज उडानका लागि योग्य थियो । ११ बजेर ११ मिनेटमा रनवे ०२ कोटेश्वरबाट उडेको जहाजले सतह छोडेर करिब ४ सय फिट माथि गएपछि सन्तुलन बिग्रिएर रनवेको पूर्वतिर भुइँमा बजारिन पुग्यो । पहिला बायाँतिर र फेरि दायाँतिर मोडिदा जहाज धावनमार्गको पूर्वतिरको घाँसे मैदानमा बजारिएर र जोतिएर दुर्घटना भयो । जहाजको क्यापटेन मनीषरत्न शाक्यबाहेक अन्य १८ जनाको मृत्यु भएको थियो ।
प्रतिक्रिया दिनुहोस !