बोलबम धार्मिक यात्रामा निस्किए वालिङका युवा
स्याङ्जा : स्याङजाका ७८ जना युवा बोलबम यात्रामा निस्किएका छन्। बोलबम समितिको आयोजनामा बोलबम यात्रीले आजदेखि यात्रा सुरु गरेका हुन्।
उनीहरूको यो २२ औं श्रृंखला हो। २०६० सालदेखि सुरु गरिएको यात्रा आजसम्म बर्सेनि निरन्तर जारी छ। सुविधायुक्त २/३ बसमा खाद्यान्न सहित आफूलाई आवश्यक पर्ने र अन्यलाई सहयोगका निम्ति सहयोगी सामग्री लिएर उनीहरू निस्कन्छन्। धार्मिक यात्रासँगै उनीहरूले दान र सहयोग पनि गर्दै आएका छन्।
यस वर्षको यात्रा दोलखा भीमेश्वर, कालिन्चोकसहित २३ जिल्लाका प्रमुख धार्मिक स्थलको दर्शन गर्ने लक्ष्य सहित प्रारम्भ भएको सहभागी गोपीकृष्ण रेग्मीले जानकारी दिए। युवाहरूको सक्रियतामा धार्मिक एवं सहयोग भ्रमण हुँदै आएको छ। सहभागीहरूले मानव सेवा आश्रमलाई सहयोग गर्दै यात्रामा हिँड्ने गरेका हुन्छन्।
एकहप्ते यात्राको पहिलो दिन लमजुङको राइनासकोट, दोस्रो दिन काठमाडौं, भक्तपुर हुँदै दोलखा कालिन्चोक र जिरी, त्यसपछि सिन्धुली, रामेछाप, मकवानपुर लगायत जिल्लाका प्रमुख धार्मिक स्थलहरूको अध्ययन, अवलोकन, भ्रमण र दर्शन गर्दै फर्कने कार्यक्रम तय भएको पनि अध्यक्ष तिवारीले जानकारी गराए।
प्रतिक्रिया दिनुहोस !