राइजिङ स्टार एफसी झापा सुपर कप इजरायलको पहिलो विजेता
तेलअविव, इजरायल : नेपालीभाषी खेलप्रेमीहरूबीच एकता, स्वास्थ्य र भाइचाराको सन्देश फैलाउने उद्देश्यका साथ आयोजना गरिएको झापा सुपर कप इजरायल-२०२५ फुटबल प्रतियोगिता भव्यरूपमा सम्पन्न भएको छ।
दुई दिनसम्म चलेको प्रतिस्पर्धात्मक खेलपछि राइजिङ स्टार एफसीले उपाधि हात पार्दै पहिलो संस्करणको विजेता बन्न सफल भएको हो।
जुलाई १८ र १९ मा इजरायलको तेलअविवस्थित फुटवल मैदानमा सम्पन्न प्रतियोगितामा कूल ८ नेपालीभाषी फुटबल क्लबहरूले सहभागिता जनाएका थिए। प्रतियोगिता ९ साइड नकआउट प्रारूपमा सञ्चालन गरिएको थियो।
फाइनल खेलमा राइजिङ स्टार एफसी ले उत्कृष्ट प्रदर्शन गर्दै लायन तेलअविव एफसीलाई निर्धारित समयमा १-१ गोलको बराबरी पछि ३-० को टाइबेकरमा पराजित गर्दै उपाधि उचालेको हो। प्रतियोगिताको फेयर प्ले टिमको उपाधि भने सेभेन स्टार हाइफा क्लबले प्राप्त गरेको छ।
विजेता टिमले नगद १०,५०० शेकेल, ट्रफी र मेडल प्राप्त गरेको छ भने उपविजेताले ५,५०० शेकेल, ट्रफी र मेडल प्राप्त गरेका थिए।
प्रतियोगितामा उत्कृष्ट खेलाडीहरू उत्कृष्ट गोलकिपर: भूपेन क्षेत्री(राइजिङ स्टार एफसी), उत्कृष्ट डिफेन्डर: रोजन शेर्पा (राईजिङ स्टार एफसी), टप स्कोरर: राजिव राई (लायन तेलअविभ) राइजिङ स्टार (उदीयमान खेलाडी): सविन पन्त (राईजिङ स्टार एफसी), एमभीपी, सर्वोत्कृष्ट खेलाडी: जोशन खड्का (राइजिङ स्टार एफसी) भएका थिए।
त्यस्तै गरी प्रतियोगितामा खेलेका ७ वटा खेलका म्यान अफ द म्याच खेलाडीहरूलाई समेत ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो, जसमा हरेक खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरू चयन गरिएका थिए।
प्रतियोगितामा झापा एफसी इजरायल, राइजिङ स्टार एफसी, लायन तेलअविव एफसी, सेभेन स्टार हाईफा, युनाइटेड दार्जिलिङ, कायापलट एफसी, मनिपुर गोर्खा एफसी र केवाइसी एफसी सहभागी रहेका थिए। झापा एफसी इजरायलको आयोजनामा भएको प्रतियोगिताको टाइटल स्पोन्सर झापाली समाज इजरायल रहेको थियो।
झापा सुपर कप इजरायल-२०२५ ले इजरायलमा रहेका नेपाली समुदायबीच एकता, खेल भावना र सामाजिक समर्पणको उदाहरण प्रस्तुत गरेको छ। यो प्रतियोगिता भविष्यमा अझ विस्तार हुँदै नेपाली समुदायको गौरवको प्रतीक बन्ने विश्वास आयोजकहरूले व्यक्त गरेका छन्।



प्रतिक्रिया दिनुहोस !