बलात्कारपछि नाबालिका भतिजीको हत्या गर्ने काकालाई आजीवन कैद
विराटनगर : मोरङको धनपालथान गाउँपालिका–५ मा बलात्कारपछि नाबालिकाको हत्या गर्ने काकालाई जिल्ला अदालत मोरङले आजीवन कैद सजाय हुने फैसला सुनाएको छ। न्यायाधीश बाबुराम सुवेदीको इजलासले सोमबार उक्त फैसला गरेको हो। धनपालथान–५ का २२ वर्षीय अनिष सरदारले बलात्कारपछि भतिजी ७ वर्षीया आत्तिका सरदारको हत्या गरेका थिए। घटना लुकाउनलाई हत्या गरेर फालेको अवस्थामा गत असार १४ गते बिहान आत्तिकाको शव फेला परेको थियो।
घरबाट करिब सय मिटर पर रहेको दुर्गा आधारभूत विद्यालयको बाटो छेउमा शव भेटिएपछि प्रहरीले अनुसन्धान अघि बढाउँदा आफ्नै काकाले बलात्कार गरेर हत्या गरेको पत्ता लागेको हो। उनीविरुद्ध प्रहरीले जबरजस्ती करणी गरी क्रूर यातना दिएर ज्यान मारेको कसुरमा अदालतबाट म्याद थप गरेर अनुसन्धान अघि बढाएको थियो। प्रहरीले अनुसन्धान सकेर बुझाएको मिसिल (अनुसन्धान प्रतिवेदन)का अभियोगपत्र तयार पार्दै सरकारी वकिल कार्यालयले आइतबार जिल्ला अदालत मोरङमा अनिषविरुद्ध मुद्दा दर्ता गरेको थियो।
अदालतका स्रेस्तेदार मणिराम पोखरेलका अनुसार अनिषले अदालतमा बयानका क्रममा कसुर स्वीकार गरेका थिए। मुद्दामा सोमबार थुनछेक बहस भएको थियो। थुनछेक बहसकै दिन न्यायाधीश सुवेदीको इजलासले अनिषलाई आजीवन कैद सजाय हुने फैसला सुनाएको हो।
अदालतको फैसला अनुसार अब अनिषले जीवित रहेसम्म अर्थात्, बाँचुन्जेल कारागारमा बस्नुपर्ने स्रेस्तेदार पोखरेलले बताए। ‘अनिषले बयानका क्रममा सबै कसुर स्वीकार गरेका छन्। कसुर स्वीकार गरेकाले मुलुकी अपराध संहिताको दफा ४१ बमोजिम कसुरदार जीवित रहेसम्म कैद हुने गरी थुनछेक बहसकै दिन मुद्दाको फैसला भएको हो,’ उनले भने। उनका अनुसार इजलासमा कसुर स्वीकार गरी बयान गरेको हुँदा थप प्रमाण बुझिरहन नपर्ने भएकाले कसुरदार जीवित रहेसम्म कैद सजाय हुने फैसला भएको हो। अदालतले अनिषलाई ७ लाख रूपैयाँ जरिबानाको फैसलासमेत भएको छ।
अदालतको फैसला अनुसार जरिबानाबापतको रकम पीडित राहत कोषमा जम्मा गर्नुपर्ने हुन्छ। साथै, अदालतबाट पीडित (मृतक)का परिवारलाई क्षतिपूर्तिबापत पीडकबाट १ लाख रूपैयाँ मृतकको नजिकका नातेदारलाई भराउने फैसलासमेत भएको स्रेस्तेदार पोखरेलले बताए।
‘पीडितको मृत्यु भइसकेकाले क्षतिपूर्ति दिन नपर्ने भए पनि पीडितको परिवारको अवस्थालाई विचार गर्दै परिवारलाई परेको चोटसम्मलाई मध्यनजर गरी पीडित परिवार, अर्थात् मृतकका नजिकका नातेदारलाई पीडकबाट १ लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला भएको छ,’ उनले भने। मदिरा सेवन गरेका अनिषले आफूसँगै सुतेकी नाबालिका भतिजीलाई घर बाहिर निकालेर बलात्कार गरेपछि हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ। हत्यापछि घटना खुल्ने डरले हत्या गरेर शव नजिकै रहेको विद्यालय छेउमा फालिदिएको अनुसन्धानबाट पत्ता लागेको थियो।
प्रतिक्रिया दिनुहोस !