सांगठनिक संरचनामा व्यापक फेरबदलको तयारी

काँटछाँटतिर एमाले

काँटछाँटतिर एमाले

काठमाडौं : एमालेले पार्टी कमिटी चुस्त बनाउने लक्ष्यसहित सांगठनिक संरचनामा व्यापक फेरबदलको तयारी गरेको छ । नयाँ विधान संशोधन प्रस्तावअनुसार पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको संख्या घटाउने, सचिवालय खारेज गर्ने, वरिष्ठ उपाध्यक्ष पद हटाउनेजस्ता निर्णयमा एमाले अग्रसर भएको छ ।  

उपाध्यक्ष विष्णुप्रसाद पौडेलले केन्द्रीय कमिटी बैठकमा प्रस्तुत गरेको विधान संशोधन प्रस्तावमा अध्यक्षसहित १५ पदाधिकारीको व्यवस्था गरिएको छ । हालको विधानमा १९ जना पदाधिकारी छन् । प्रस्तावअनुसार अब अध्यक्ष १, उपाध्यक्ष ३, महासचिव १, उपमहासचिव ३ र सचिव ७ हुनेछन् । यसैगरी, ३ सय ०१ सदस्यीय केन्द्रीय कमिटीलाई २ सय ५१ मा सीमित गरिनेछ ।

निवर्तमान अध्यक्ष स्वतः वरिष्ठ नेता हुने प्रावधान पनि हटाइएको छ । पार्टीले अनिर्वाचित व्यक्तिलाई कार्यकारी तहमा राख्नु लोकतान्त्रिक मूल्यविरुद्ध भएको निष्कर्ष निकालेको छ ।

सचिवालय खारेज, पोलिटब्युरो र स्थायी कमिटी सीमित
नयाँ विधान प्रस्तावमा केन्द्रीय सचिवालयको व्यवस्था खारेज गरिएको छ । पदाधिकारी नै सचिवालयका सदस्य रहने व्यवस्था अब हटाइनेछ । पार्टीको अनुभवका आधारमा धेरै संगठनात्मक तह बनाएर अन्तरपार्टी लोकतन्त्र कमजोर भएको भन्दै सचिवालयको आवश्यकता नरहेको ठहर गरिएको नेताहरूले बताए । 

अब केन्द्रीय तहमा स्थायी कमिटी र पोलिटब्युरो मात्रै रहनेछ । स्थायी कमिटीमा अध्यक्षसहित १५ जना पदाधिकारी रहनेछन्, हाल यो संख्या ४५ छ । पोलिटब्युरो सदस्य संख्या पनि घटाइनेछ । प्रस्तावअनुसार केन्द्रीय कमिटीबाट एकतिहाइ सदस्य पोलिटब्युरोमा चयन गरिनेछ ।

महासचिवको नेतृत्वमा केन्द्रीय कार्यालय सञ्चालन गरिने भए पनि पृथक् कार्यालय कमिटी गठन नगर्ने भनिएको छ । यसले सुस्पष्ट कार्यविभाजन र नतिजामूलक कार्यसम्पादनमा सहयोग पु¥याउने एमालेले ठानेको छ । ‘धेरै संठगनात्मक संरचना  हुँदा छरितो र गुणस्तरीय कार्यसम्पादन हुन सक्दैन,’ प्रस्तावित विधानमा भनिएको छ, केन्द्रीय तहमा विद्यमान केन्द्रीय कमिटी, पोलिटब्युरो, स्थायी कमिटी, केन्द्रीय सचिवालय र केन्द्रीय कार्यालयको अभ्यासबाट हामीलाई यस्तै अनुभव प्राप्त  भएको छ ।’

बहुपदीय प्रणालीमा अध्यक्ष कार्यकारी
पार्टीले अध्यक्षलाई कार्यकारी प्रमुखको हैसियतमा राखेर अन्य सबै पदाधिकारी र समिति अध्यक्षप्रति जवाफदेही रहने बहुपदीय प्रणाली कायम राखेको छ । विधानमा भनिएको छ, ‘हामीले अवलम्बन गरेको बहुपदीय प्रणाली अध्यक्ष कार्यकारी प्रमुख हुने, विचार, नीति र संगठनात्मक कामको नेतृत्व गर्ने व्यवस्था हो ।’

तर, पार्टीभित्र कतिपय भ्रमपूर्ण बुझाइहरू छन् जसले फरकफरक पदाधिकारीलाई मुख्य नेता ठान्ने प्रवृत्ति जन्माएको उल्लेख गरिएको छ । यस्तो बुझाइले द्वैध नेतृत्व र शक्ति सन्तुलनमा समस्या उत्पन्न गर्ने खतरा देखिएको छ । 

उमेर हद र कार्यकाल सीमा हटाइयो
पार्टीको संशोधित विधानमा ७० वर्षे उमेर हद र दुई कार्यकालको सीमा हटाइएको छ । यो प्रस्ताव पार्टीभित्र व्यापक बहसको विषय बनेको थियो । वरिष्ठ उपाध्यक्षको पद पनि खारेज गरिने प्रस्ताव छ । हाल यस पदमा ईश्वर पोखरेल छन् । यसलाई हटाएर पहिलो वरीयताको उपाध्यक्ष राख्ने नयाँ संरचना प्रस्ताव गरिएको हो ।

दुई प्रकारका सदस्यता र समावेशी संरचना

विधानमा अब पार्टी सदस्यता दुई प्रकारको हुनेछ : सामान्य सदस्य र संगठित सदस्य । संगठित सदस्यता ती नागरिकलाई दिइनेछ जो पार्टीको नीति, नेतृत्व र संगठन निर्माणमा प्रत्यक्ष संलग्न छन् ।

प्रदेश तथा जिल्ला कमिटीमा कम्तीमा एक महिला रहने गरी दुई उपसचिवको व्यवस्था गरिएको छ । पार्टीलाई वडादेखि टोल तहसम्म विस्तार गर्ने लक्ष्यसहित सम्पर्क समिति संरचना थप सुदृढ गरिनेछ । काठमाडौं उपत्यकामा मतदाता नामावलीमा नाम रहेको व्यक्ति कुनै सम्पर्क कमिटी वा मञ्चको पदाधिकारी बन्न नपाउने प्रावधान पनि प्रस्तावमा उल्लेख छ ।
‘समृद्ध नेपाल, सुखी नेपाली’ बाट ‘राष्ट्रिय गन्तव्य’ सम्म
नयाँ विधानको प्रस्तावनामा पनि भाषिक र भावनात्मक संशोधन गरिएको छ । अब ‘समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा’ भन्ने सन्दर्भलाई ‘राष्ट्रिय गन्तव्य’ मा रूपान्तरण गरिएको छ ।

त्यस्तै, ‘समाजवाद स्थापना गर्न प्रतिबद्ध छ’ भन्ने उद्देश्यलाई ‘नेपाली विशेषतासहितको समाजवादको स्थापना गर्न प्रतिबद्ध’ भन्ने वाक्यांशद्वारा प्रतिस्थापन गरिएको छ ।

एमालेले आफूलाई ‘जनआधारित कार्यकर्ताको पार्टी’ भनेर परिभाषित गर्ने विधानमा पनि स्पष्ट उल्लेख गरिएको छ । यसले नीति निर्माणमा सचेत र संगठित कार्यकर्ताको निर्णायक भूमिका सुनिश्चित गर्ने बताइएको छ ।

सदस्यता संख्या साढे ६ लाख नाघ्यो
एमालेको सदस्य संख्या साढे ६ लाख नाघेको छ । महासचिव शंकर पोखरेलले २८ प्रतिशत सदस्य संख्या वृद्धि भएको संगठनात्मक प्रतिवेदनमा उल्लेख गरेका छन् ।

पोलिटब्युरो सदस्य विशाल भट्टराईका अनुसार हालसम्म ६ लाख ५० हजार सदस्य पुगिसकेका छन् । विगत वर्षको तुलनामा यो उल्लेखनीय वृद्धि हो । प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले यो विवरण प्रारम्भिक भएको र आउने क्रम जारी  रहेको जानकारी दिए । हालसम्म ७ सय ५३ पालिकामध्ये ६ सय ५३ मा अधिवेशन सम्पन्न भइसकेको छ । सुदूरपश्चिम प्रदेशमा सबै पालिकाको अधिवेशन सकिएको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र मधेस प्रदेशका केही पालिकामा अधिवेशन हुन बाँकी छ ।

ओलीको भनाइ, ‘झुटको खेतीविरुद्ध एकढिक्का बनौं’

अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै पार्टीविरुद्ध झुट र अफवाह फैलाउने प्रयास भइरहेको बताएका छन् । ‘हाम्रो पार्टी वैचारिक र नीतिगत रूपमा एकढिक्का छ । विरोधीहरूले विचार र काममा प्रतिस्पर्धा गर्न नसकेर गोयबल्स शैलीमा झुट फैलाइरहेका छन्,’ अध्यक्ष ओलीले भने । उनले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँगको भेटवार्ता सम्बन्धमा पनि प्रस्ट पारे । ‘मैले विद्याजीलाई भेटेँ, राष्ट्रपति पदको गरिमा र गणतन्त्रबारे छलफल गर्यौं,’ उनले भने ।

भण्डारी राजनीतिमा सक्रिय हुने विषयमा पार्टीभित्र मतभिन्नता देखिएको छ । कोही उनलाई पार्टीमा स्वागतयोग्य भन्छन् भने कोहीले सेनाको परमाधिपति भइसकेको व्यक्ति राजनीतिमा आउनु उचित नहुने ठान्छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.