अर्घाखाँचीमा बाँदरबाट बाली जोगाउन २० जना 'हेरालु' नियुक्त
अर्घाखाँची : अर्घाखाँचीमा बन्यजन्तुबाट बालीनाली जोगाउन २० जना कर्मचारी नियुक्ति गरिएको छ। बाँदर प्रभावित क्षेत्रलाई लक्षित गरी जिल्लामा पहिलो पटक २० स्थानका लागि हेरालु नियुक्त गरिएको डिभिजन वन कार्यालय अर्घाखाँचीका प्रमुख मोहन श्रेष्ठले बताएका छन् ।
डिभिजन वन कार्यालयले २० जना हेरालुलाई विशेष अभिमुखिकरण समेत गरेको छ । डिभिजन वन कार्यालयले कार्तिक ५ गते सम्मका लागि मकैबाली लक्षित गरी सञ्चार तथा पारिश्रमिक खर्च व्यहोर्ने गरी नियुक्ति भएका व्यक्तिलाई प्रभावित क्षेत्रमा खटाएको डिभिजन वन कार्यालयका सूचना अधिकारी केशव खड्काले बताए।
बाँदर र बँदेलबाट बढी प्रभावित क्षेत्र सन्धिखर्क नगरपालिकाको किमडाडा,पटुवाथुम, पाणिनी गाउँपालिकाको पाली,अडगुरी, छत्रदेव गाउँपालिकाको चिदीका, बल्कोट, केरुङगा, अर्घातोष र मालारानी गाउँपालिकाको खनलगायतका स्थानमा हेरालु खटाइएका हुन्।
६ वटा स्थानीय तहका १० वटा क्षेत्रमा दुई/दुई जनाको दरले हेरालु राखिएको डिभिजनल वन अधिकृत श्रेष्ठले बताए। हेरालुले मासिक १० हजार रुपैयाँ पारिश्रमिकसहित सञ्चार खर्च पाउने छन्। शितगंगा नगरपालिकामा वन व्यवस्थापनमा खटिएको १० वटा सामुदायिक वनले मासिक दुई लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।
साउनदेखि कात्तिक ५ गतेसम्म मकै,सिमी,बोडी,फर्सी,कांक्रालगायतका अन्न र तरकारी बालीमा बाँदर र बँदेलले बढी क्षति पुर्याउने भएकाले यसवर्ष परीक्षणको रूपमा हेरालु राखिएको हो। हेरालुहरूले आफूले दिनभरी गरेको कामको विवरण हरेक दिन डिभिजन वन कार्यालयमा पठाउन पनि निर्देशन गरिएको सूचना अधिकारी खड्काले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !