भेरी नदीमा टिपर खस्दा बेपत्ता भएका तीन जना अझै फेला परेनन्
जाजरकोट : मंगलबार राति भेरी नदीमा टिपर खस्दा बेपत्ता भएका तिन जना अझै फेला पर्न सकेका छैनन्।
जाजरकोटको नलगाड नगरपालिकाको दल्लीबाट आठबीसकोट नगरपालिका १४ छेपारेतर्फ आउँदै गरेको रा१क १५०१ नम्बरको टिपर रुकुमपश्चिमको आठबीसकोट–१४ पिपलचौरस्थित भेरी नदीमा खसेको इलाका प्रहरी कार्यालय रिम्नाका प्रहरी नायब निरीक्षक शिउकुमार चौधरीले जानकारी दिए।
प्रहरीका अनुसार टिपरमा चालकसहित तीन जना सवार रहेका थिए।
बेपत्ता हुनेमा टिप्पर चालक दाङका ३५ वर्षीय मनिराम चौधरी, रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–३ का धनबिर बिक र रुकुम पूर्वको सिस्ने गाउँपालिका ८ का हरि बिक रहेको प्रहरीले जनाएको छ।
जाजरकोटका प्रहरी नायव उपरीक्षक डिएसपी वसन्त कुमार शर्माले रुकुमपश्चिम र जाजरकोट प्रहरीले बेपत्ताको खोजी गरिरहेको जानकारी दिए। घटनास्थलभन्दा ५ सय मिटर तल जाजरकोट साइडमा टिपर फेला परेको र नदीबाट निकाल्ने प्रयास भइरहेको उनले बताए । भेरी नदीमा पानीको मात्रा अत्यधिक भएकाले बेपत्ताको खोजी गर्न कठिनाइ भइरहेको प्रहरीको भनाइ छ।
प्रतिक्रिया दिनुहोस !