तानसेनमा नेवारी पर्व घण्टाकर्ण गाँठेमंगलको चहलपहल सुरु
तानसेन : आज श्रावण कृष्णपक्षको चर्तृदशी तिथि। पाल्पामा नेवारी समुदायले घण्टाकर्ण गाँठेमंगल पर्व मनाएका छन्। श्रावण कृष्णपक्षको चर्तृदशी तिथिदेखि पाल्पाका नेवारी समुदायले एक महिने जात्रा तथा महोत्सव मनाउने गर्दछन्। श्रावण कृष्ण पक्षको चुर्तुदशीको दिन परम्परा अनुसार घण्टाकर्ण गाँठेमंगल मनाएपछि नेवारी समुदायमा चाडपर्व सुरु हुने गर्दछ।
नेवारी परम्परा संस्कृति अनुसार पहिले काठमाडौं उपत्यकामा खेतीपातीको समयमा मानिसको जनशक्ति कम हुँदा भूत प्रेतलाई काममा लगाउने र काम सकिएपछि पूजाआजा गरेर बिदा गर्ने चाल चलन थियो। नेवार जातीहरू काठमाडौं उपत्यकाबाट जहाँ बसाइसराइ गरेर जान्छन्, सोही स्थानमा परम्परागत कला संस्कृति पनि सँगै लैजाने चलन अनुसार पाल्पामा घण्टाकर्ण गाँठेमंगल मनाउन थालिएको देउराली सांस्कृतिक अध्ययन प्रतिष्ठान पाल्पाका अध्यक्ष मदन देउराली श्रेष्ठले बताए।
नेवारी परम्परा अनुसार घण्टाकर्णलाई दान दक्षिणा गरेमा वर्षभरिका अफ्ठेरा ग्रहहरू नलाग्ने जनविश्वास रहेको पाइन्छ। घण्टाकर्णको विगतमा जस्तो रौनक चहलपहल नभएपनि परम्परा कला संस्कृति जोगाउन चोकचोकमा घण्टाकर्ण बनाएर युवा पुस्तामा जानकारी गराउँदै आएको नारायण युवा क्लबका अध्यक्ष प्रविन राज शाक्यले बताए।
नेवारी समुदायले राक्षस मारेको खुखियालीमा घण्टाकक्ष गाँठेमंगल मनाउने परम्परा रहेको बताइन्छ।
प्रतिक्रिया दिनुहोस !