तातोपानी नाकाबाट फर्किए केरुङमा रोकिएका नेपाली
सिन्धुपाल्चोक : उत्तरी नाका तातोपानीबाट २ सय ३ जना नेपाली बुधबार नेपाल प्रवेश गरेका छन्। असार २४ गते भोटेकोशीको सहायक ल्हेन्दे खोलामा आएको बाढीले रसुवा नाकास्थित मितेरी पुल बगाएपछि अलपत्र परेका उनीहरुलाई सिन्धुपाल्चोकको तातोपानी नाकाबाट नेपाल भित्र्याइएको हो।
उनीहरुलाई चिनियाँ सुरक्षाकर्मीसहित २० वटा गाडीमा तातोपानीसम्म ल्याइएको थियो। नेपाल सरकारको आग्रहमा उनीहरुलाई तातोपानी नाका हुँदै ल्याइएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी किरण थापाले जानकारी दिए।
तिब्बतको न्यालम प्रशासनले उनीहरुलाई सिन्धुपाल्चोकका प्रजिअ थापासहितको स्थानीय प्रशासनलाई जिम्मा दिएको छ।
‘हामीले उताबाट आउने नेपालीहरुको जिम्मा लिएका छौं,’ प्रजिअ थापाले भने ।
भोटेकोशीमा आएको बाढीका कारण दिन राति रसुवाको मितेरी पुलस्थित तिब्बततर्फ रहेका ७२ जना कन्टेनर चालकलगायत नेपालीलाई चीनले उद्धार गरेर केरुङ लगेको थियो।
प्रतिक्रिया दिनुहोस !