साफ यु-२० : बंगलादेशमा कहाँ चुक्यो नेपाली टोली

साफ यु-२० : बंगलादेशमा कहाँ चुक्यो नेपाली टोली

काठमाडौं : नेपाली महिला यु-२० फुटबल टिमले लिग चरणको अन्तिम खेलमा बंगलादेशसँग ४-० को हार अझै सेलाइसकेको छैन। पहिलो खेलमा ३-२ गोलको पराजय व्यहोरेको निर्णायक खेलमा किन १ गोल पनि फर्काउन सकेन? पछिल्लो समय नेपाली महिला फुटबल चर्चामा रहँदा उमेर समूह पनि अछुतो रहन सकेन।

सिनियर टिमका प्रशिक्षक प्याट्रिक डे वाइल्ड १ वर्षको सम्झौताको दौरान १ महिनापश्चात् नै विवादमा तानिँदै राजीनामा बुझाए। यो चर्चा सेलाउन नपाउँदै नेपाली यु-२० महिला फुटबल टिम साफ खेल्न बंगलादेश प्रस्थान गर्‍यो। डबल राउन्ड रोबिनमा खेलिएको यस खेलमा नेपालले बाँकी २ टिम भुटान र श्रीलंकामाथि फराकिलो जित निकाल्दा घरेलु टिम बंगलादेशसँग दुव खेलमा पराजित भयो। बंगलादेशसँगको पहिलो खेलमा ३-२ को हार विवादास्पद रह्यो। रेफ्रिीको निर्णय र तोकिएको समयभन्दा खेल ४ मिनेटभन्दा बढी समय चल्यो। बराबरीमा सकिने आकलन गरिएको खेलमा नेपाल पराजित बन्न पुग्यो। यो खेलमा नेपालले पहिलो हाफमा २ गोल खाएर दोस्रो हाफमा २ गोल फर्काएको पनि थियो।

अन्तिम खेल निर्णायक थियो। अन्तिम खेलमा घरेलु टिमलाई बराबरीमात्रै पनि काफी थियो भने नेपाललाई जित नै चाहिएको अवस्था थियो। नेपाली टिमका प्रमुख प्रशिक्षक यमप्रसाद गुरुङले नेपाली टिमलाई आक्रामक शैलीमा उतार्ने निर्णय गरे।

अन्तिममा जे भयो...
नेपाली युवा महिला फुटबल टोली सिनियर टिम एसियन कप छनोट हुन नसकेको पीडामा मलम लगाउने दाउमा थिए। खेलको दिन मैदानमा पुग्दासमेत सबै खेलाडीमा जित्ने र नेपाली फुटबलमा लागेको घाउ मेटाउने हुटहुटी थियो। त्यो हुटहुटी खेलअघि देखियो तर मैदानमा देखिएन। 

रणनीतिको हिसाबमा भन्नुपर्दा सायद नेपाली प्रशिक्षक गुरुङले केही लचकता देखाएको भए, स्वर्ण पदकमा नेपालले हात लम्काउँथ्यो। नेपालका लागि मिडफिल्डमा सुशीला केसी, कुसुम खतिवडाजस्ता पिल्लर खेलाडीलाई पहिलो रोजाइमा खेलाइएन। नेपालकी कप्तान बिर्सना चौधरी बंगलादेशसँगको पहिलो खेलपश्चात् बिरामी पर्दा उनीमा कमजोरी प्रष्ट देखियो। उनले दिएका प्रायः पास मिस भएका थिए। मिडफिल्डमा कुसुम खतिवडासँग उमेर समूह खेलेको अनुभव थियो। प्रेसरको खेलमा अनुभवी खेलाडी मैदानमा उतार्दा नेपाली टिम बलियो हुन सक्थ्यो। बिर्सना आफैंले पनि पहिलो पटक कप्तानी लिँदा आफूलाई केही असहज भएको अन्नपूर्ण पोष्टसँगको कुराकानीमा भनेकी थिइन्। 

‘मलाई पहिलो पटक कप्तानी पाएको भएर होला अलिकति प्रेसर भएको जस्तो अनुभव भएको छ,’ उनले भनिन्। उनले अगाडिका ३ खेलमा पनि पूर्ण समय खेलेकी थिइनन्। नेपाली महिला टिमको डिफेन्स, अन्तिम खेलमा चुकेको हो। गोलकिपर सुजाता तामाङ बारम्बार अगाडि बढेर बल सेभ गर्ने अवस्था आउँदा नेपालले ४ वटै गोल उस्तै तरिकाले खायो।

अघिल्लो ३ खेलमा नेपालकी डिफेन्डर सिम्रन राईसँगको मैदानमा परेको झगडाका कारण प्रतिबन्धमा परेकी सागोरिका मैदानमा फर्केकी थिइन्। नेपालका कुनै पनि डिफेन्डरले उनको गतिलाई बुझ्न सकेनन्। उनले हानेको पहिलो गोल पनि ३ जना डिफेन्डर र किपरलाई छकाएर गरेकी थिइन्। पहिलो हाफ १-० मा सकिएको थियो। नेपालका प्रशिक्षक यम गुरुङलाई रणनीति परिवर्तन गरेर गोल फर्काउने नीति बनाउनुपर्‍यो। पहिलो हाफमा नै बंगलादेशले नेपालको मिडफिल्डर डिफेन्सलाई हम्मे-हम्मे बनाएको थियो।

यो प्रतियोगिता अवधिमा सरिता कुमारी नाथको डिफेन्स तारिफ योग्य थियो। उनले राम्रो लङ बल पास गर्न सक्थिन्। यसले बंगलादेशलाई केही प्रेसर दिन सक्थ्यो। उनलाई अन्तिम खेलमा प्रशिक्षक गुरुङले मैदान नै छिराएनन्। पहिलो हाफ सकिएर खेलाडी ड्रेसिङरूममा जाँदा सरिता नाथले मैदान छिर्ने तयारी गरिरहेकी थिइन्। तर, उनलाई मैदानमा पठाइएन। नेपालका लागि सेन्टर डिफेन्स खेलिरहेकी माया मास्के फिट थिइनन्। प्रशिक्षकले ‘गर या मर’ को अवस्थाको खेलमा भएको विकल्प प्रयोग गर्न नसक्नु उनी पहिलो हाफमा नै असहज देखिएकी थिइन्। तर, प्रशिक्षक गुरुङले उनलाई परिवर्तन गरेनन्। ३ खेल प्रतिबन्धमा परेर मैदानमा छिरेकी सिम्रन राई पनि हतोत्साहित देखिइन्। अन्तिम खेलमा मिडफिल्डबाट अगाडि फर्वाड लाइनका खेलाडीले बल पाउनै मुस्किल भएको थियो। नेपालका २ फर्वाडको फिनिसिङ निकै राम्रो थियो। मीना देउवा र पूर्णिमा राई, यी दुई खेलाडीमा प्रश्न थिएन।

बंगलादेशले एकोहोरो प्रेसर दिइरह्यो। पहिलो हाफमा भन्दा दोस्रो हाफमा नेपालका खेलाडी थाकीसकेका थिए। यो भन्दै गर्दा, बंगलादेशकी स्ट्राइकर सागोरिकाको गतिको प्रशंसा गर्न छोड्नु हुँदैन। उनले जुन किसिमको खेल देखाइन्, त्यसको अपेक्षा सायद नेपाली खेलाडी र प्रशिक्षकले गरेका थिएनन्। पहिलो हाफमा सागोरिकाको गतिले नेपाली डिफेन्डरलाई गाह्रो बनाएको खण्डमा टिममा भएका केही राम्रा डिफेन्डर उर्तान नेपाली प्रशिक्षक गुरुङ चुकेका हुन्। 

उनले नेपाल फर्किएपछि नेपाली खेलाडी थाकेको भन्दै स्पष्टीकरण दिए। त्यो केही हदसम्म साँचो हो तर, फर्वाड लाइनबाहेक नेपाली टिममा डिफेन्स र मिडफिल्डमा परिवर्तन गर्नसक्ने विकल्प प्रशस्त बेन्चमा थिए। उचित खेलाडी उचित समयमा प्रयोग नगर्नु नेपालका प्रशिक्षक गुरुङको कमजोरी रह्यो। 

महिला फुटबललाई बंगलादेशी समर्थन  
हरेक देशमा घरेलु दर्शकले आफ्नो टिमलाई समर्थन गर्नु जायज कुरा हो। बंगलादेशमा अझ विशेषतः महिला फुटबलले एकपछि अर्को सफलता हात पादै जाँदा समर्थक बढ्दै गएका छन्। विशेषतः मुस्लिम धर्मावलम्बीको बाहुल्यता भएको देशमा महिला फुटबलको समर्थक बढ्नु, महिला फुटबल विकासको राम्रो संकेत हो। नेपाल र बंगलादेशबीचको पहिलो खेलमा ३ हजारमाथि दर्शक थिए।

बसुन्धरा किंग्स एरिनामा भएको पहिलो खेलमा दर्शकले माइकिङ गरेर बंगलादेशको समर्थनसँगै नेपाली टोलीलाई निरुत्साहित बनाउने काम गरे। बारम्बार म्याच कमिस्नर र बंगलादेशको पुलिसले त्यो एक हुल अराजक जमातलाई रोक्ने कोसिस गरे पनि उनीहरू रोकिएनन्। पहिलो खेलमा नेपाल पहिलो हाफमा २-० ले पछि परेको थियो। यो अवस्थामा नेपालका लागि ५६औं मिनेटमा मीना देउवालाई बंगलादेशकी डिफेन्डरले डीबक्सभित्र लडाउँदा नेपालले पेनाल्टी पायो। नेपालले पेनाल्टी हान्ने बेला पोष्टको पछाडिबाट समर्थकले मोबाइलको फ्ल्यास लाइटमार्फत खेलाडीको ध्यान विकेन्द्रित गर्न खोजे। यस विषयमा नेपालका प्रशिक्षकले बारम्बार प्रश्न पनि उठाइरहे। जसको फलस्वरुप नेपालका सहायक प्रशिक्षक किरण कुमार कार्कीले पहेँलो कार्ड पनि खाए। 

नेपालले दोस्रो गोल ८५औं मिनेटमा फर्कायो। नेपालका लागि मीना देउवाले गोल फर्काइन्। बंगलादेश र नेपालको पहिलो खेलमा निकै झमेला भयो। ७ मिनेटको इन्जुरी समय ११ मिनेटभन्दा माथि लम्बिँदा ११ मिनेट कटिसकेपछि नेपालले तेस्रो गोल खाँदै हार व्यहोर्‍यो। त्यसपछि मैदानबाट बाहिरिने क्रममा नेपालका खेलाडी रुँदै बाहिरिए। बंगलादेशका समर्थकले नेपाली प्लेअर टनेल माथिबाट अफिसियल, पत्रकारदेखि सम्पूर्णलाई अपशब्द प्रयोग गरे। यो व्यवहार नेपाली टिमले बंगलादेश फुटबल फेडेरेसन (आयोजक)लाई भन्यो। 

बंगलादेशका समर्थकले महिला फुटबलमा देखाएको माया निकै आकर्षक थियो। लिगको अन्तिम खेलमा बंगलादेश र नेपालको खेल थियो। रंगशालामा ५ हजार ३७४ दर्शक संख्या थियो। त्यस दिन भने समर्थकबाट कुनै पनि अभद्र व्यवहार भएन। विशुद्ध फुटबल समर्थन, कताकता बसुन्धरा किंग्स एरिनाले नेपालको दशरथ रंगशालाको भान दिलायो। ५ हजार ३५० दर्शक बंगलादेशको समर्थनमा थिए भने २० देखि २५ जना नेपाली समर्थक पनि थिए। खेल सकियो। घरेलु टिम बंगलादेशले दबदबा देखाउँदै उपाधि जित्यो। निराश देखिएका नेपाली खेलाडीलाई थोरै मात्रामा आएका नेपाली समर्थकले ताली बजाउँदै हौसला प्रदान गरे। त्यसमा केही बंगलादेशका समर्थकले पनि नेपालका लागि ताली बजाए। सायद खे पश्चात देखाएको बंगलादेशी समर्थकले नेपाली टिमलाई दिएको ‘ट्रिब्युन’ थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.