पौवेखोलामाथि पुल निर्माण
स्याङ्जा : पुतलीबजार नगरपालिका-५ स्थित पौवैखोलामा निर्मित मोटरेबल पुलको शनिबार उद्घाटन गरिएको छ। बाडखोला-पौवेगौडे-टक्सार-दुलेगौडा सडकअन्तर्गत पर्ने पुलको उद्घाटन गरिएको हो।
गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीले उद्घाटन स्याङ्जा-पोखरा आवतजावतको वैकल्पिक रूपमा रहेको बाडखोला-दुलेगौडा अर्थात पोखरासम्मको सडक निर्माणलाई प्राथमिकतामा राखेको बताए।
पुल बनसँगै अब दैनिक आवतजावत, कृषि उत्पादनगरी व्यवसायमा लागि जीविकोपार्जनमा समेत ध्यान दिन मन्त्री केसीले सुझाव दिए।
दुई करोड ३१ लाख ८० हजार लागत अनुमान गरिएको थियो। पुल निर्माणका लागि राङखोला सिद्धबाबा निर्माण सेवा भ्याट तथा पिएस रकम सहित १ करोड ८६ लाख ९२ हजारमा सम्झौता गरेको थियो।
पुलको १५ दशमलव ६ मिटर लम्बाइ अर्थात १ वाई १५ स्पान छ। पुलको चौडाइ ८ दशमलव ४ र गाडी गुड्ने चौडाइ ६ मिटरको छ। मानिस हिँड्नका लागि पुलका दुवैतर्फ १ दशमलव २ मिटर फुटपाथ बनाइएको छ। निर्माण कम्पनीले तोकिएको समय भन्दा एक महिना अगावै सम्पन्न गरेको छ। सम्झौता मितिले १५ महिनामा निर्माण सम्पन्न भएको हो।
२०७१ सालमा आएको बाढीले पुल बगाएपछि बाडखोला -पोखरा-दुलेगौडा ओहोरदोहोर गर्ने सहित स्थानीयबासीको जीवनयापन निकै कठिनाई भोग्दै आएका थिए।
सिद्धार्थ राजमार्ग अन्तर्गतको स्याङ्जा-पोखरा सडकमार्ग भन्दा बाडखोला-पोखरासम्म पुग्नका लागि ६ किलोमिटर र बाडखोला-दुलेगौडा पुग्नका लागि १५ किलोमिटर बाटोको दूरी कम पर्ने उनीहरूको भनाइ छ।
प्रतिक्रिया दिनुहोस !