सुन्तलाका बिरुवा रोप्दै गर्दा बन्दुकको छर्रा लागेर घाइते, एकजना पक्राउ
स्याङ्जा : पुतलीबजार नगरपालिका-७ ठुलाहिडीका सुरेन्द्र रेग्मी सुन्तलाका बिरुवा रोप्दै गर्दा बन्दुकको छर्रा लागेर घाइते बनाएको आरोपमा हुमबहादुर शाही पक्राउ परेका छन्। साउन ६ गते भएको सो घटनामा घाइते उनको उपचार पाटन अस्पताल ललितपुरमा भइरहेको छ।
बारीमा सुन्तला रोप्ने खाल्डो खन्दै गर्ने क्रममा अचानक बन्दुक पड्किएपछि शरीरमा छर्रा लागेको भन्दै उनले आफ्ना आफन्त र प्रहरीलाई जानकारी गराएका थिए। घटनाको अनुसन्धानका क्रममा सोही स्थानमा बस्ने ६९ वर्षीय हुमबहादुर शाहीले चलाएको बन्दुक भनि घाइतेका आफन्तले प्रहरीमा जाहेरी दिएका थिए।
जाहेरीको आधारमा प्रहरीले साउन ८ गते राति शाहीलाई तनहुँबाट नियन्त्रणमा लिएको छ। पक्राउपछि शाहीले ठुलाडिहीबाट १ नाले भरुवा बन्दुक समेत बरामद गरिएको प्रहरीले जनाएको छ। शाहीमाथि ज्यान मार्ने उद्योग अन्तर्गत म्याद थप गरी स्याङ्जा जिल्ला अदालतबाट १० दिनको म्याद लिई थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक प्रसन्नराज चौधरीले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !