एन्टी रेबिजको अभाव छ, कुकुरबाट जोगिनू !
काठमाडौं : घरपालुवा वा छाडा कुकुर, स्याल, ब्वाँसो, बाँदरलगायत जनावर नजिकै छन् ? छन् भने टोकाइबाट जोगिनुहोस् । रेबिज रोगको उपचार हुँदैन तर समयमै रेबिजविरुद्धको खोप लगाउन सकेमा ज्यान जोगिन्छ । तर, अहिले सरकारी संस्थामा रेबिज खोपकै अभाव छ ।
रेबिज संक्रमित पशुले मानिस वा अन्य पशुलाई टोक्दा रेबिज सर्छ । यो प्राणघातक रोग हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक करोडभन्दा बढी नेपाली रेबिजको उच्च जोखिममा छन् । नेपालमा अधिकांशलाई रेबिज संक्रमित (बहुला) कुकुरको टोकाइबाट रेबिज हुने गरेको छ । संक्रमित कुकुरले कसैलाई घाँटीभन्दा माथिल्लो भागमा टोकेको छ भने एकदेखि चार हप्ताभित्र लक्षणहरू देखा पर्छ । अन्य भागमा टोकेको छ भने एक महिनादेखि एक वर्षभित्रमा लक्षण देखिने चिकित्सकहरू बताउँछन् ।
गण्डकी प्रदेश, स्वास्थ्य मन्त्रालयका सचिव डा.विश्वबन्धु बगालेले पनि एन्टी रेबिज खोपको माग बढेको जानकारी दिए । ‘खोपको माग बढेको छ तर संघबाट पठाउँछौं भनिएको छ । तर, खोप आउन ढिलाइ भइरहेको छ । माग र आपूर्ति मिलेको छैन,’ डा.बगाले भन्छन,‘प्रदेशबाटै अलिकति बजेट छुट्याएका छौं । संघबाट खोप नआएमा प्रदेशबाटै खरिद गर्ने योजना गरेका छौं ।’
सरकारी स्वास्थ्य संस्थामा निःशुल्क उपलब्ध हुँदै आएको एन्टी रेबिज खोप बर्सेनि झन्डै ४० हजारले खोप लगाउँछन् । सरकारले सन् २०३० सम्ममा रेबिजबाट हुने मृत्युदरलाई शून्यमा झार्ने लक्ष्य लिएको छ । स्वास्थ्य सेवा विभाग, ईपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार बर्सेनि रेबिजबाट १ सयभन्दा बढीको मृत्यु हुने गरेको छ । मानिस, कुकुर, स्याल, बिरालो, गाई, भैंसी, भेडा, बाख्रा, बंगुर, घोडा, ब्वाँसो, बाँदर, फ्याउरो, चमेरा आदिमा रेबिज रोग सर्छ । यस रोगका कारण विश्वमा बर्सेनि ६० हजारभन्दा बढीको ज्यान जाने गरेको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले जनाएको छ । मुख्यतः भाइरसले मस्तिष्कमा असर पुर्याउँछ ।
नारायणी अस्पताल, वीरगन्जमा एक महिनादेखि खोपको अभाव हुँदै आएको छ । ‘शुक्रबार मात्रै तीन सय भायल आएको छ । जुन १५/२० दिनलाई पुग्ला,’ नारायणी अस्पताल वीरगन्जका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा.चुमनलाल दास भन्छन,‘छाडा कुकुरको टोकाइबाट जोगिनुस भन्दै सचेत गराउनुपर्ने भएको छ ।’ भेरी अञ्चल अस्पताल नेपालगन्जका मेडिकल सुपरिटेन्डेन्ट डा.नीराजन सुवेदीका अनुसार गाडी पठाएर बुटवलबाट ५ सय भायल एन्टी रेबिज भ्याक्सिन शुक्रबार ल्याइएको छ । जुन १५ दिनलाई मात्र पुग्छ ।
सरकारले रेबिजविरुद्धको भ्याक्सिन निःशुल्क दिने गरेको छ । स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाले भारतबाट समयमै रेबिज खोप खरिद गर्न नसक्दा भ्याक्सिनको अभाव देखिएको हो । यो भायल निजी स्वास्थ्य संस्थामा ८ सय रुपैयाँसम्म पर्छ । रेबिजको शंका भएमा छालामा तीन डोज लगाउनुपर्छ ।
संक्रामक रोगको पहिलो सूचीमा पर्छ, रेबिज । एन्टी रेबिज खोप प्रभावकारी, सुरक्षित र लामो समयसम्म प्रतिरोधात्मक शक्ति दिने हुन्छ । अर्थ मन्त्रालयले स्वास्थ्य सेवा विभागलाई एन्टी रेबिज भ्याक्सिन खरिद गर्न गत आर्थिक वर्षमा झन्डै १९ करोड रुपैयाँ बजेट छुट्याएको थियो । तर, स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाले समयमा पर्याप्त खोप खरिद गर्न सकेन । ‘पहिला अलि अभाव थियो । अहिले खरिद प्रक्रियालाई छिटोछिटो अघि बढाएका छौं,’ ईपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.चन्द्रभाल झा भन्छन्,‘अहिले सातवटै प्रदेशमा थोरैथोरै परिमाणमा भए पनि पठाइरहेका छौं ।’
चिकित्सकहरूका अनुसार रेबिजयुक्त जनावरले टोकेको घाउमा १५ मिनेटसम्म साबुन पानीले सफा गर्नुपर्छ । त्यसपछि तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा गई रेबिजविरुद्धको खोप लगाउनुपर्छ । रेबिज रोग लाग्नबाट बच्न कुकुरलगायत जंगली जनावरको टोकाइबाट बच्नुपर्छ । चिकित्सकहरूका अनुसार अधिकांशलाई कुकुरको टोकाइबाट रेबिज लागिरहेकाले निम्न कुराहरू ख्याल गरौं–
- सुतिरहेको कुकुरलाई भ्वाट्टै नउठाऔं, लात्ताले नहानौं
- कुकुर तर्सिएको वा रिसाएको बेला नजिक नजाऔं
- कुकुरले खाना खाइरहेको बोला नजिस्काऔं, नर्तसाऔं
- कुकुरले पछ्याएमा नदौडौं, शान्त भई उभिऔं
- नचिनेको कुकुरको नजिक जाँदा ख्याल गरौं
प्रतिक्रिया दिनुहोस !