बागमतीका कांग्रेस सांसद तानातान

पद जोगाउन मन्त्री बाँड्दै लामा, हस्ताक्षरमा अडिग राख्न बानियाँको कसरत

पद जोगाउन मन्त्री बाँड्दै लामा, हस्ताक्षरमा अडिग राख्न बानियाँको कसरत
मुख्यमन्त्री बहादुरसिं लामा (बायाँ) र नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्र बानियाँ ।
सुन्नुहोस्

हाल बानियाँका पक्षमा २१ र लामाका पक्षमा १६ प्रदेशसभा सदस्य देखिएका छन् । लामाविरुद्ध पार्टी सभापति शेरबहादुर देउवा, नेता प्रकाशमान सिंह र महामन्त्री गगन थापापक्षीय सांसदहरूले हस्ताक्षरसहित अविश्वास प्रस्ताव दर्ता गरेका छन् ।

हेटौंडा : बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिं लामा पद जोगाउन पार्टीका प्रदेश सदस्यलाई ‘मन्त्रीको अफर’ गरिरहेका छन् । कांग्रेस बागमती प्रदेश संसदीय दलको नेताबाट हटाउन अविश्वास प्रस्ताव दर्ता भएपछि लामा पद जोगाउन सबैखाले प्रयासमा जुटेका हुन् । 

आफूविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराउने सांसदहरूलाई मन्त्री बनाउन उनी प्रयासरत छन् । मुख्यमन्त्री लामालाई दलको नेताबाट हटाउने अभियानको नेतृत्व गरिरहेका कांग्रेस बागमती प्रदेशका सभापति तथा प्रदेशसभा सांसद इन्द्र बानियाँ अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने सांसदहरूलाई आफ्ना पक्षमा ‘जोगाउन’ लागिपरेका छन् । 

उनले अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका केही सांसदलाई दुई दिनसम्म हेटौंडाको एक होटलमा राखेर हस्ताक्षरमा अडिन थप परिपक्क बनाएका थिए । अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने केही सांसदलाई आफ्नो पक्षमा ल्याइसकेको मुख्यमन्त्री लामाको दाबी छ । ‘केही दिनमै मन्त्रीहरू नियुक्त हुन्छन्, म त्यही प्रयासमा छु’, उनले भने, ‘मेरै नेतृत्वमा सरकार अघि बढ्छ, नेताहरूसँग पनि यही ढंगले छलफल भएको छ ।’ गत शुक्रबार कांग्रेसका २१ सांसदले दल नेता लामाविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका थिए । तीमध्ये चारजना मन्त्रीले पदबाट राजीनामा दिए । रिक्त पदमा आफूहरुविरुद्ध हस्ताक्षर गर्नेमध्येकै सांसदलाई नियुक्त गरेर आफ्नो पक्षमा बहुमत कायम राख्न मुख्यमन्त्री लामा प्रयासरत छन् । 

संसदीय दलका नेताविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएपछि १५ दिनभित्र दल नेताले यसबारे छलफल गर्नुपर्ने र सहमति नभए निर्वाचनमा जानुपर्ने कांग्रेस संसदीय दलको विधानमा छ । त्यसका लागि कांग्रेसले प्रतिनिधिसभा सदस्य राजेन्द्र  केसीलाई बागमती प्रदेशको संसदीय दलमा देखिएको विवाद मिलाउने जिम्मेवारी दिएको छ । विवाद मिलाउने जिम्मेवारी पाएका    श्रेष्ठले सोमबार दिउँसो १ बजेका लागि दुवै पक्षबीच छलफल राखिएको बताए । ‘छलफलमा सहमति नभए प्रक्रियामा जान्छ, त्यो भनेको निर्वाचन हो’, उनले भने । 

कांग्रेस बागमती प्रदेश संसदीय दलका उपनेता रामकृष्ण चित्रकारले सहमतिको प्रयास भइरहेको बताए । ‘सबै सम्भावनाको ढोका खुला छ, तर हाम्रो जोड सहमति होस् भन्नेमा छ’, उनले भने । संसदीय दलको विधानअनुसार पहिलो चरणमा अविश्वास प्रस्तावमा भएको हस्ताक्षर सनाखतको काम हुने चित्रकारले बताए ।

‘हस्ताक्षर आफैंले गरेको हो/होइन ?  २५ प्रतिशत बढीले हस्ताक्षर गरेको पुष्टि भएमा संसदीय दलको बैठकमा छलफल हुन्छ, त्यहाँ सांसदहरूले आफ्नो हस्ताक्षर फिर्ता पनि लिन सक्छन्’, उनले भने । छलफलपछि सहमति नभए अविश्वास प्रस्तावमा मतदान हुन्छ । मतदानमा कम्तीमा १९ जना प्रदेशसभा सदस्यले अविश्वास प्रस्तावको पक्षमा मतदान गरेमा दल नेताबाट लामा पदमुक्त हुनेछन् । 

बागमती प्रदेशसभामा कांग्रेसका ३७ जना सांसद छन् । नेताको पद रिक्त भएपछि नयाँ नेता चयनको निर्वाचन प्रक्रिया अघि बढ्नेछ । मुख्यमन्त्री लामाले सबै प्रक्रिया सामना गर्न चाहेमा यो प्रक्रिया मुख्यमन्त्री परिवर्तन वा उनी यथावत् रहने विषय टुंगो लाग्न कम्तीमा तीन साता लाग्नेछ । उनीविरुद्ध पार्टी सभापति शेरबहादुर देउवा, नेता प्रकाशमान सिंह र महामन्त्री गगन थापापक्षीय सांसदहरूले हस्ताक्षरसहित अविश्वास प्रस्ताव दर्ता गरेका छन् । तर, बागमतीमा दल नेता र मुख्यमन्त्री परिवर्तन गर्दा यसको असर अन्य प्रदेश र पार्टी केन्द्रमा पनि पर्ने डरले नेताहरूले सबै कोणबाट छलफल गरिरहेका छन् । 

हाल बानियाँका पक्षमा २१ र लामाका पक्षमा १६ प्रदेशसभा सदस्य देखिएका छन् । कांग्रेस बागमती प्रदेश दल नेताका लागि यसअघि भएको मतदानमा लामाका पक्षमा २१ र बानियाँका पक्षमा १६ प्रदेशसभा सदस्यले मतदान गरेका थिए ।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.