नागपञ्चमीको मौलिकता
समयले कोल्टो फेरेको छ। संस्कृतिमा परिवर्तन आएको छ। नाग संरक्षित छैनन्। पानीको अभावले, वर्षा असन्तुलित छ। कतै घनावृष्टि त कतै खण्ड वृष्टि वा सुक्खा अवस्था छ।
आज साउन १३, नागपञ्चमी, घरघरमा नागको विशेष पूजा गर्ने दिन । आज नागको पूजा गर्नाले वर्षभरि नाग दोष नरहने, भूकम्पादी दोष पनि नरहने शास्त्रीय मान्यता छ । सर्पहरू हाम्रा साथी, यसो भनौं, नाग हाम्रा देवता । शेष नाग धर्तीमात्रै नभएर पूरै ब्रह्माण्डको धारक भनेको छ, वैदिक शास्त्रले ! नागको माया गर्नु धर्तीको माया हो । नाग जलमा बस्छन्, पानीको अभावमा जिउँदैछौं हामी अहिले । तराई मधेसमा रोपाइँको समस्या छ । पहाड सबैतिर धान रोप्नुपूर्व आलीमा कपासको प्युरीसहित दर्शन ढुंगामा नाग बनाएर नागको पूजा गरुन्जेल हामीलाई जलवायुको संकट थिएन । अन्नको भण्डार बलियो थियो, अनाज खाई नसकेर विदेश निर्यात गरिन्थ्यो ।
समयले कोल्टो फेरेको छ । संस्कृतिमा परिवर्तन आएको छ । नाग संरक्षित छैनन् । पानीको अभावले, वर्षा असन्तुलित छ । कतै घनावृष्टि त कतै खण्ड वृष्टि बा सुक्खा अवस्था छ । हाम्रो जल छ, जंगल, जडीबुटी छन् र त देश आर्थिक समृद्ध पनि भनिन्थ्यो । नागको पूजा भन्नु धर्तीकै पूजा हो । धर्ती पूजामा शंख, बत्ती, मन्त्र, मणि, माणिक्य, जनै, फूल, फल, पुस्तक, तुलसी, कपुर, सुवर्ण, चन्दन, शालिग्रामको जल आवश्यक पर्छ । तर नागपूजामा शंख नबजाउनु राम्रो मानिन्छ । धरती स्वयं माता भएकीले बिहान उठेर प्रथम पाद धर्तीमा राख्नुअघि पृथ्वीको नमन गर्नुपर्छ । समुन्द्र बसनेदेवी पर्वतस्तनमण्डिते, विष्णुपत्नी नमस्तुभ्यं पादस्पर्श क्षमस्व मे भन्दै भूमि प्रार्थना गर्नुपर्छ, हरेक बिहान ओछ्यान छोड्नुपूर्व ।
सर्वप्रथम श्रीहरिले धर्तीको पूजा गर्नु भएको थियो । भक्तिपूर्वक धर्ती माताको पूजा, उपासना गर्नाले श्रीसम्पत्ति, आयु, प्रज्ञा, यश, आरोग्य मिल्छ । हिजोआज सबैतिर संकट देखिएको धर्तीप्रति बेवास्ता र अचाक्ली दोहनले हो । मानिस आफैंले अनेकौं जलवायुको संकट खेपिरहेको छ । सहनशील गुण भएकाले दत्तात्रयले मानेका २४ गुरुमा एक पृथ्वी भएकी हुन्, विशालतामा आकाश अर्को गुरु हो ।
पञ्चतत्त्व माटो, पानी, वायु, तेज र आकाशकै सूक्ष्म रूप हो हाम्रो शरीर । यसले विश्राम लिँदा यसमा भएको पञ्चतत्त्व मातृ संस्थामा फर्कने हो । कलियुगका मानिस आफ्नो नयाँ घर निर्माणमा, गृह प्रवेश गर्दा, नयाँ अन्न बाली लगाउँदा नाग, पृथ्वीको पूजा गर्ने गर्छन् । पृथ्वी पूजनबारे श्रीहरि नारदलाई भन्नुहुन्छ । पहिले ब्रह्माको स्तुतिले प्रसन्न भई श्रीवराहले हिरण्याक्षको वध गरी रसातलबाट पृथ्वीको उद्धार गरे र पानीमा कमलको पात झैं पृथ्वीलाई राखेपछि त्यही पृथ्वीमा ब्रह्माले सृष्टि गरेको प्रसंग पुराणहरूमा पाइन्छ ।
श्रावण शुक्ल पञ्चमीको दिन घर, घरवरिपरिको परिवेश र समग्र वातावरण पवित्र पार्ने क्रममा नागको पूजा गर्ने विशेष पर्व नै नागपञ्चमी हो । नागपञ्चमीका दिन नागको विशेष चित्र लेखेर दही, दूबो, दूध, लाबासमेतले पूजा गरी घरका मूल ढोकाहरूमा नाग टाँस्ने गरिन्छ । हरेक देवदेवीहरूको मूर्ति, चित्रहरूबाट जीवनका लागि आवश्यक नवऊर्जा प्राप्त हुन्छ । देव, देवी, मठ, मन्दिर, प्रवेश, पूजा, दर्शन चिन्तन मनन् गर्नुको मूल उद्देश्य सकारात्मक सोच नै हो, ऊर्जा नै हो । सकारात्मक सोच हुनु नै रोगका विकार हट्नु हो । सदैव सकारात्मक ऊर्जा प्राप्तिका लागि मठ, मन्दिर, मूर्ति चित्रको अवस्थामा पनि ध्यान दिनुपर्ने हुन्छ ।
पूर्वीय दर्शनले यसबारे उद्बोधन गर्दै नागको शिर भदौ, असोज र कात्तिक महिनामा पूर्वतिर हुने बताएको छ भने मंसिर, पुस, माघमा नागको शिर दक्षिणतिर हुन्छ । फागुन, चैत्र, वैशाखमा पश्चिमतिर नागको शिर हुन्छ भने जेठ, असार, साउनमा नागको शिर उत्तर दिशातर्फ हुन्छ । नागको पूजा गर्दा शिरको ज्ञान भएन भने पूजाको प्रयोजन निरर्थक हुन्छ । उच्च र घरानियाँ भनिएकाहरूलाई घरमा सुरक्षाकर्मीले सुरक्षा दिइरहेका देखिन्छन् भने धार्मिक र असहायहरूलाई घरको सुरक्षा दिने काम तुलसीले, यसको मोठले, तिलले, कुशले, गाईले, नागले, देवताले, पितृहरूले सुरक्षा दिइरहेका हुन्छन्, शारीरिक सुरक्षाभन्दा भावनात्मक सुरक्षा बलियो हुन्छ । र त घरका मूल ढोका, भित्ताहरूमा कलश, गणेश, सूर्य, हनुमान, कुमार आदिका मूर्ति, चित्र एवं स्वस्तिक, ॐ आदिको संकेत घरैपिच्छे पाइन्छ ।
पानीमा नाग बस्ने र पृथ्वीको गर्भभित्र धेरै पानी नै भएकाले सो कुराको पुष्टि हुन्छ । आफ्ना वरिपरि नागको सरेस भइरहने र बेलाबखत पूजा गर्नाले अग्नि भय, प्रकोप, चट्याङ, विद्युतीय विस्फोटक आदिको समस्या हँुदैन । सर्प जातिलाई नाग भनिन्छ र नागलाई सर्पहरूको राजा भनिन्छ । जहाँ नागहरू हुन्नन्, त्यहाँ पानी हुँदैन । पानीबिना कुनै जीवात्मा बाँच्दैन । घरको जग हाल्दा वा वास्तुपूजा गर्दा नागको सर्वप्रथम पूजा गर्ने चलन छ किनकि नाग खुसी भए लक्ष्मीको वर्षा हुन्छ । सुख, समृद्धि र आरोग्य चाहनेले नागको विशेष चिन्तन गर्नुपर्ने हुन्छ । कृषिप्रधान मुलुक हो हाम्रो ।
हिन्दु परम्परामा नागलाई शिव र विष्णुका साथै देवीका शक्तिका रूपमा मानिन्छ । पाञ्चायन देवतामध्ये शिवको गलामा नाग, विष्णुको शैयामा नाग, गणेशका हातमा नाग रहेका छन् भने सूर्यको उपासनामा पनि नागको चर्चा आउँछ । त्रेतायुगीन रामका भाइ लक्ष्मणलाई शेषको अवतार मानिन्छ भने द्वापरयुगीन उनै कृष्णका दाजु बलराम शेष नागका प्रतीक नै हुन् ।
प्रतिक्रिया दिनुहोस !