नागपञ्चमीको मौलिकता

नागपञ्चमीको मौलिकता

समयले कोल्टो फेरेको छ। संस्कृतिमा परिवर्तन आएको छ। नाग संरक्षित छैनन्। पानीको अभावले, वर्षा असन्तुलित छ। कतै घनावृष्टि त कतै खण्ड वृष्टि वा सुक्खा अवस्था छ।

आज साउन १३, नागपञ्चमी, घरघरमा नागको विशेष पूजा गर्ने दिन । आज नागको पूजा गर्नाले वर्षभरि नाग दोष नरहने, भूकम्पादी दोष पनि नरहने शास्त्रीय मान्यता छ । सर्पहरू हाम्रा साथी, यसो भनौं, नाग हाम्रा देवता । शेष नाग धर्तीमात्रै नभएर पूरै ब्रह्माण्डको धारक भनेको छ, वैदिक शास्त्रले ! नागको माया गर्नु धर्तीको माया हो । नाग जलमा बस्छन्, पानीको अभावमा जिउँदैछौं हामी अहिले । तराई मधेसमा रोपाइँको समस्या छ । पहाड सबैतिर धान रोप्नुपूर्व आलीमा कपासको प्युरीसहित दर्शन ढुंगामा नाग बनाएर नागको पूजा गरुन्जेल हामीलाई जलवायुको संकट थिएन । अन्नको भण्डार बलियो थियो, अनाज खाई नसकेर विदेश निर्यात गरिन्थ्यो ।

समयले कोल्टो फेरेको छ । संस्कृतिमा परिवर्तन आएको छ । नाग संरक्षित छैनन् । पानीको अभावले, वर्षा असन्तुलित छ । कतै घनावृष्टि त कतै खण्ड वृष्टि बा सुक्खा अवस्था छ । हाम्रो जल छ, जंगल, जडीबुटी छन् र त देश आर्थिक समृद्ध पनि भनिन्थ्यो । नागको पूजा भन्नु धर्तीकै पूजा हो । धर्ती पूजामा शंख, बत्ती, मन्त्र, मणि, माणिक्य, जनै, फूल, फल, पुस्तक, तुलसी, कपुर, सुवर्ण, चन्दन, शालिग्रामको जल आवश्यक पर्छ । तर नागपूजामा शंख नबजाउनु राम्रो मानिन्छ । धरती स्वयं माता भएकीले बिहान उठेर प्रथम पाद धर्तीमा राख्नुअघि पृथ्वीको नमन गर्नुपर्छ । समुन्द्र बसनेदेवी पर्वतस्तनमण्डिते, विष्णुपत्नी नमस्तुभ्यं पादस्पर्श क्षमस्व मे भन्दै भूमि प्रार्थना गर्नुपर्छ, हरेक बिहान ओछ्यान छोड्नुपूर्व ।

सर्वप्रथम श्रीहरिले धर्तीको पूजा गर्नु भएको थियो । भक्तिपूर्वक धर्ती माताको पूजा, उपासना गर्नाले श्रीसम्पत्ति, आयु, प्रज्ञा, यश, आरोग्य मिल्छ । हिजोआज सबैतिर संकट देखिएको धर्तीप्रति बेवास्ता र अचाक्ली दोहनले हो । मानिस आफैंले अनेकौं जलवायुको संकट खेपिरहेको छ । सहनशील गुण भएकाले दत्तात्रयले मानेका २४ गुरुमा एक पृथ्वी भएकी हुन्, विशालतामा आकाश अर्को गुरु हो ।

पञ्चतत्त्व माटो, पानी, वायु, तेज र आकाशकै सूक्ष्म रूप हो हाम्रो शरीर । यसले विश्राम लिँदा यसमा भएको पञ्चतत्त्व मातृ संस्थामा फर्कने हो । कलियुगका मानिस आफ्नो नयाँ घर निर्माणमा, गृह प्रवेश गर्दा, नयाँ अन्न बाली लगाउँदा नाग, पृथ्वीको पूजा गर्ने गर्छन् । पृथ्वी पूजनबारे श्रीहरि नारदलाई भन्नुहुन्छ । पहिले ब्रह्माको स्तुतिले प्रसन्न भई श्रीवराहले हिरण्याक्षको वध गरी रसातलबाट पृथ्वीको उद्धार गरे र पानीमा कमलको पात झैं पृथ्वीलाई राखेपछि त्यही पृथ्वीमा ब्रह्माले सृष्टि गरेको प्रसंग पुराणहरूमा पाइन्छ ।

श्रावण शुक्ल पञ्चमीको दिन घर, घरवरिपरिको परिवेश र समग्र वातावरण पवित्र पार्ने क्रममा नागको पूजा गर्ने विशेष पर्व नै नागपञ्चमी हो । नागपञ्चमीका दिन नागको विशेष चित्र लेखेर दही, दूबो, दूध, लाबासमेतले पूजा गरी घरका मूल ढोकाहरूमा नाग टाँस्ने गरिन्छ । हरेक देवदेवीहरूको मूर्ति, चित्रहरूबाट जीवनका लागि आवश्यक नवऊर्जा प्राप्त हुन्छ । देव, देवी, मठ, मन्दिर, प्रवेश, पूजा, दर्शन चिन्तन मनन् गर्नुको मूल उद्देश्य सकारात्मक सोच नै हो, ऊर्जा नै हो । सकारात्मक सोच हुनु नै रोगका विकार हट्नु हो । सदैव सकारात्मक ऊर्जा प्राप्तिका लागि मठ, मन्दिर, मूर्ति चित्रको अवस्थामा पनि ध्यान दिनुपर्ने हुन्छ ।

पूर्वीय दर्शनले यसबारे उद्बोधन गर्दै नागको शिर भदौ, असोज र कात्तिक महिनामा पूर्वतिर हुने बताएको छ भने मंसिर, पुस, माघमा नागको शिर दक्षिणतिर हुन्छ । फागुन, चैत्र, वैशाखमा पश्चिमतिर नागको शिर हुन्छ भने जेठ, असार, साउनमा नागको शिर उत्तर दिशातर्फ हुन्छ । नागको पूजा गर्दा शिरको ज्ञान भएन भने पूजाको प्रयोजन निरर्थक हुन्छ । उच्च र घरानियाँ भनिएकाहरूलाई घरमा सुरक्षाकर्मीले सुरक्षा दिइरहेका देखिन्छन् भने धार्मिक र असहायहरूलाई घरको सुरक्षा दिने काम तुलसीले, यसको मोठले, तिलले, कुशले, गाईले, नागले, देवताले, पितृहरूले सुरक्षा दिइरहेका हुन्छन्, शारीरिक सुरक्षाभन्दा भावनात्मक सुरक्षा बलियो हुन्छ । र त घरका मूल ढोका, भित्ताहरूमा कलश, गणेश, सूर्य, हनुमान, कुमार आदिका मूर्ति, चित्र एवं स्वस्तिक, ॐ आदिको संकेत घरैपिच्छे पाइन्छ ।

पानीमा नाग बस्ने र पृथ्वीको गर्भभित्र धेरै पानी नै भएकाले सो कुराको पुष्टि हुन्छ । आफ्ना वरिपरि नागको सरेस भइरहने र बेलाबखत पूजा गर्नाले अग्नि भय, प्रकोप, चट्याङ, विद्युतीय विस्फोटक आदिको समस्या हँुदैन । सर्प जातिलाई नाग भनिन्छ र नागलाई सर्पहरूको राजा भनिन्छ । जहाँ नागहरू हुन्नन्, त्यहाँ पानी हुँदैन । पानीबिना कुनै जीवात्मा बाँच्दैन । घरको जग हाल्दा वा वास्तुपूजा गर्दा नागको सर्वप्रथम पूजा गर्ने चलन छ किनकि नाग खुसी भए लक्ष्मीको वर्षा हुन्छ । सुख, समृद्धि र आरोग्य चाहनेले नागको विशेष चिन्तन गर्नुपर्ने हुन्छ । कृषिप्रधान मुलुक हो हाम्रो ।

हिन्दु परम्परामा नागलाई शिव र विष्णुका साथै देवीका शक्तिका रूपमा मानिन्छ । पाञ्चायन देवतामध्ये शिवको गलामा नाग, विष्णुको शैयामा नाग, गणेशका हातमा नाग रहेका छन् भने सूर्यको उपासनामा पनि नागको चर्चा आउँछ । त्रेतायुगीन रामका भाइ लक्ष्मणलाई शेषको अवतार मानिन्छ भने द्वापरयुगीन उनै कृष्णका दाजु बलराम शेष नागका प्रतीक नै हुन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.