अनमीले ६ घण्टा कृत्रिम श्वास दिएर बचाइन् शिशुको ज्यान

अनमीले ६ घण्टा कृत्रिम श्वास दिएर बचाइन् शिशुको ज्यान
सुन्नुहोस्

अस्पताल लैजान असम्भव भएपछि अनमी पुजारासँग एकमात्रै विकल्प थियो, कृत्रिम श्वास दिने। अनि, उनले आफ्नो सेवा अनुभवबाट शिशुलाई मुखबाट श्वास दिन थालिन्।

बैतडी : बैतडीको सिगास गाउँपालिका—४ की २० वर्षीया लक्ष्मी धामीलाई गत बिहीबार सुत्केरी बेथाले च्यापेपछि स्थानीयले आधारभूत स्वास्थ्य सेवा केन्द्र कान्धारमा पुर्‍याए। स्वास्थ्यका सबै सूचकहरू सामान्य हँुदाहँुदै प्रसवको असैह्य पीडा सहेर राति ९ बजे शिशुलाई जन्म दिइन्। 

तर, शिशुको अवस्था सामान्य देखिएन। सामान्य अवस्थामा जस्तै शिशु रुने, हात खुट्टाहरू चलाउनेलगायतका लक्षण देखिएन। श्वास निकै सुस्त चलेको अवस्था थियो। सुत्केरी गराएकी सोही स्वास्थ्य संस्थाकी अनमी जानकी पुजाराले गाउँपालिकाको स्वास्थ्य शाखामा शिशुको अवस्थाबारे जानकारी गराइन्। शिशुको अवस्था निकै नाजुक रहेकाले तत्काल अस्पताल लैजानुपर्ने थियो। अस्पताल लैजान माथिल्लो निकायमा पहल गरिदिन उनले अनुरोध गरिन्। 

रातिको समय भएकाले हेलिकप्टरबाट उद्धार गर्न सक्ने अवस्था नभएको भन्ने जानकारी अनमी जानकीले पाएपछि झनै आपत् आइलाग्यो। शिशुलाई अस्पताल लैजान ग्रामीण सडकसम्म पुर्‍याउन नै करिब ४ घण्टा लाग्ने गर्छ। त्यो पनि सम्भव भएन। प्रसव पीडामा रहेकी लक्ष्मीको आँखामा आँसु भरिएको थियो। अस्पताल लैजान असम्भव प्रायः भइसकेपछि अनमी पुजारासँग एकमात्रै विकल्प थियो, कृत्रिम श्वास दिने। स्थल मार्ग र हवाई मार्गको कुनै विकल्प नरहेको अवस्थामा अनमी पुजाराले आफ्नो सेवा अनुभवबाट शिशुलाई मुखबाट श्वास दिन थालिन्। 

राति ९ बजेदेखि कृत्रिम श्वास दिन थालेकी पुजाराले लगातार ६ घण्टापछि बिहान ३ बजेको समयमा बल्ल शिशुले सानो स्वर निकालेर रुन थाले। तब पुजाराको ओठमा हाँसो देखियो। शिशुलाई जन्म दिएकी लक्ष्मीको मुहारमा पनि आँसुसँगै मलिन मुस्कान देखियो। ‘स्वास्थ्य सेवामा मेरो ६ वर्षको अनुभव छ। मैले आजसम्म वयस्क तथा वृद्धवृद्धालाई मात्रै कृत्रिम श्वास दिएकी छु। नवजात शिशुलाई दिएको यो पहिलोपटक हो’, अनमी पुजाराले भनिन्। 

अहिले शिशुको अवस्था सामान्य रहेको अनमी पुजाराले बताइन्। सुत्केरी भएपश्चात् गरिने नियमित जाँच पनि उनले गरिरहेकी छन्। भौगोलिक विकटताका कारणले ग्रामीण क्षेत्रमा यस्ता स्वास्थ्य समस्या धेरैले भोग्नुपर्ने अवस्था छ। सडकको सहज पहुँच नपुगेको सिगासमा सार्वजनिक सेवा प्रवाहमा पनि ढिलाइ हुने गरेको छ।  सिगास गाउँपालिकामा कर्मचारीको पदपूर्तिमा संघीय र प्रदेश सरकारले चासो नदिँदा करारका कर्मचारीहरूले सेवा धानेका छन्। गाउँपालिकाका स्वास्थ्य शाखा प्रम’ख घनश्याम सिंह बोहराले आवश्यक दरबन्दीका कर्मचारी नहुँदा करारका कर्मचारीबाट सेवा प्रवाह भइरहेको बताए। 

‘भौगोलिक विकटता एक समस्या छँदैछ, तर मुख्य समस्या यहाँ कर्मचारीको छ। प्रदेश र संघबाट कर्मचारी नदिँदा करारमा भर्ना गरेर राख्न’ परेको छ’, शाखा प्रमुख घनश्याम सिंह बोहराले भने। गाउँपालिका ६ वटा स्वास्थ्यचौकी र पाँच वटा आधारभूत स्वास्थ्य सेवा केन्द्र छन्। त्यसमा अधिकांश करारका कर्मचारी छन्। गाउँपालिकामा रहेका सबै वर्थिङ सेन्टरमा करारकै कर्मचारीहरू रहेका गाउँपालिकाले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.