मधेसमा खाँचो छ, सतही सिँचाइ व्यवस्थापनको

मधेसमा खाँचो छ, सतही सिँचाइ व्यवस्थापनको
सुन्नुहोस्

जनकपुरधाम : मधेस प्रदेशमा बर्खायाममा पनि खडेरी लागेको छ । धानबाली लगाउने मौसममा आकाश हेर्दै दिन बिताइरहेका मधेसका किसानहरूका लागि सिँचाइको दीर्घकालीन व्यवस्थापन हुन नसक्नु सबैभन्दा ठूलो समस्याको रूपमा देखा परेको छ ।

मधेस प्रदेशमा कुल खेतीयोग्य जमिनमध्ये ४९ प्रतिशत जग्गामा मात्रै सिँचाइ सुविधा उपलब्ध छ । उपलब्ध सिँचाइका स्रोतहरूको पनि उचित व्यवस्थापन, मर्मत सम्भार र निगरानी हुन नसक्दा एकातर्फ कृषकहरू खडेरीको मारमा छन् भने अर्कोतर्फ सरकारी सहुलियतको अभावले मधेसको अन्नभण्डार रित्तिने जोखिम बढाएको छ । 

प्रदेश सरकारले मधेसलाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको छ भने संघीय सरकारले समेत संकटग्रस्त घोषणा गरिसकेको छ । तर, यस संकटको निवारणका लागि भने कुनै ठोस पहल भने हुन सकेको छैन । 

कृषि तथा पशुपन्छी विकास मन्त्रालय, सिंहदरबारद्वारा साउन ७ गते बुझाइएको मधेस प्रदेश सुक्खा क्षेत्र अध्ययन प्रतिवेदनअनुसार, प्रदेशमा पञ्चायतकालदेखि सरकारी र निजी स्तरबाट जडान गरिएका करिब एक हजारभन्दा बढी डिप ट्युबवेलहरूमध्ये ५० प्रतिशत प्रयोगविहीन रहेको अध्ययनहरूले देखाउँछ । त्यसैगरी कमला सिँचाइ आयोजना हालको समृद्ध तराई मधेस सिँचाइ विशेष कार्यक्रममार्फत सप्तरी, सिरहा र महोत्तरीमा जडान गरिएका २ सय ३६ डिप ट्युबवेलमध्ये ९८ वटा मात्रै सञ्चालनमा छन् । १ सय ३८ डिप बोरिङहरू पूर्ण रूपमा सञ्चालनमा ल्याउन सकिएको छैन् । आव २०८१/८२ मा निर्माण गरिएको ६८ वटा नयाँ डिप ट्युबवेलहरूको पम्प हाउस, विद्युतीकरण तथा पम्प जडानलगायतका बाँकी संरचनाहरू निर्माण नै हुन बाँकी रहेको हुँदा ती प्रयोगविहीन भएका छन् । 

चारवटा जिल्लाका करिब १३ डिप ट्युबवेल सञ्चालनका लागि जडान भएको ट्रान्सफर्मर तथा प्यानल बोर्डका तार नै चोरी भएकाले लामो समयदेखि ती डिप ट्युबवेलहरू सञ्चालन हुन सकेका छैनन् । केही डिप बोरिङ (करिब ८ वटा) मा पाइपभित्र ढुंगा, इँटाजस्ता वस्तुहरू खसाली सहज सञ्चालनका लागि अवरोध रहेको हुँदा प्रयोगविहीन छन् । कतिपय बोरिङहरू उपभोक्ता कृषकहरू निष्क्रिय भई समितिका सदस्यहरूको बेमेलका कारण सञ्चालनमा आउन सकेका छैनन् । 

त्यसैगरी साबिकको जनकपुर कृषि विकास योजना हाल कृषि यान्त्रीकरण प्रवद्र्धन केन्द्र, नक्टाझिजमार्फत सिरहा, धनुषा, महोत्तरी र सर्लाहीमा गरी २ सय ४२ डिपट्युबवेल निर्माण गरिएको थियो । जसमध्ये ८५ वटामात्रै सञ्चालनमा रहेका छन् । १ सय ५७ वटा डिप ट्युबवेल सञ्चालनमै छैनन् । विसं २०४० देखि २०५० का बीचमा जडान भएका धेरै पुराना बोरिङहरूको फिल्टरको ल्याप्स भई सञ्चालन हुन नसक्ने अवस्थामा पुगेको छ । भने कतिपय पुराना डिप ट्युबवेल डिजल इन्जिनबाट सञ्चालन हुने प्रविधि रहेको हुँदा हाल सञ्चालनमा छैन । मधेसका जिल्लाहरूमा सतह सिँचाइको अभाव रहेको हुँदा तत्काल सिँचाइ उपलब्ध गराउन ग्रामीण क्षेत्रमा यथेष्ट संख्यामा नयाँ स्यालो ट्युबवेलहरूको जडान गर्नुपर्ने आवश्यकता रहेको अध्ययनले देखाएको छ । 

प्रदेशमा कुल खेतीयोग्य जग्गा ५ लाख ४२ हजार ५ सय ८० हेक्टर क्षेत्रफल रहे पनि मात्र ५ लाख २ हजार २ सय २४ हेक्टर क्षेत्रफलमा खेती हुने गर्छ । जसमध्ये कुल ३ लाख ६२ हजार ३ सय ४४ हेक्टर जग्गामा बर्खे धान र २० हजार ८ सय ३९ हेक्टर जग्गामा चैते धानको खेती हुने गर्छ ।

प्रदेशमा सिँचाइको मूख्य स्रोत नदी, तलाउ, बाँध, नहर, स्यालो ट्युबवेल र डिप बोरिङ रहेका छन् । तर, यी सबैमध्ये सिँचाइको मुख्य स्रोत भूमिगत सिँचाइ (स्यालो तथा डिप ट्युबवेल) नै रहेको मधेस प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले हालै सुक्खाग्रस्त क्षेत्रको स्थलगत निरीक्षण प्रतिवेदनमा उल्लेख गरेको छ । 

मुख्य नदी र त्यसका नहरहरूबाट सिञ्चित हुने जिल्लाहरूमध्ये सप्तरी कोशी चन्द्रनहरबाट, रौतहट जिल्ला बागमती तथा झाँज नहर, सर्लाही जिल्ला बागमती तथा मनुषमारा सिँचाइ, बारा र पर्सा गण्डक नहरको पानीबाट सिञ्चित हुँदै आएको छ । त्यसैगरी सिरहा र धनुषाको केही पालिकाहरू मात्रै कमला नहरबाट सिञ्चित हुने र बाँकी अधिकांश पालिकाहरू भूमिगत सिँचाइबाटै सिञ्चित हुने गरेको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.