ओलीभन्दा प्रचण्ड महँगा ! खर्चले भन्छ

ओलीभन्दा प्रचण्ड महँगा ! खर्चले भन्छ
सुन्नुहोस्

काठमाडौं : जनताले तिरेको कर शीर्ष प्रशासनिक प्रयोजनमा कति खर्च हुन्छ ? चासो सबैलाई लाग्छ नै । बहालवाला र निवर्तमान दुई प्रधानमन्त्रीका सचिवालयले वर्षको कति खर्च गरे ? को मितव्ययी र को महँगा परे ? जवाफ तथ्यांकमा छ । 

प्रधानमन्त्री कार्यालयले सार्वजनिक गरेको दुई आर्थिक वर्षको सचिवालय खर्च विवरणले देखाउँछ– खर्चमा वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली मितव्ययी, निगरानीमा चनाखो देखिए भने अघिल्ला प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ इन्धनदेखि मसला–चियासम्ममा खर्चिला पाइए । 

ओली नेतृत्वको यो एक वर्ष प्रचण्डको गएको एक वर्षमा भन्दा २ करोड ६ लाख ६४ हजार ३ सय ५३ रुपैयाँ ८० पैसा कम खर्च भएको देखिन्छ । प्रचण्डले ६ करोड २१ लाख ३५ हजार १ सय २९ रुपैयाँ ३० पैसा र ओलीले ४ करोड १४ लाख ७० हजार ८ सय ७३ रुपैयाँ ५० पैसा सचिवालयमा खर्च गरे । 

प्रचण्डले तेल बढी उडाए, ओलीले पोसाकमा रुचि देखाए
दाहालका पालामा इन्धन खर्चमात्र ७३ लाख ८१ हजार पुगेको थियो । ओलीका पालामा त्यो १४ लाख ९८ हजारमा खुम्चिएको छ । अन्तर–झन्डै ५९ लाख रुपैयाँ छ ! यो कुल इन्धन खर्चमा ७९.७० प्रतिशतको कटौती हो । त्यसबेला वैशाखदेखि असारबीच प्रचण्डको सचिवालयले इन्धनमा २१ लाख ९२ हजार खर्च गर्‍यो, ओलीले त्यत्ति नै अवधिमा जम्मा २ लाख २४ हजार खर्चिए । १९ लाख ६८ हजार रुपैयाँको फरक पाइयो । 

कपडाचाहिँ ओलीको महँगो 
पोसाक शीर्षकमा भने ओलीले प्रचण्डभन्दा ५० हजार बढी खर्च गरे । दाहालको पालामा यो खर्च ४ लाख ८८ हजार थियो भने ओलीका पालामा ५ लाख ३९ हजार पुगेको छ । प्रचण्डका पालामा वैशाखदेखि असारसम्म पोसाकमा एक रुपैयाँ पनि खर्च भएको थिएन । ओलीका पालामा सोही अवधिमा २७ हजार ५ सय ४८ खर्च भएको छ । 

निगरानी र अनुगमनमा ओली अग्रसर
ओलीको कार्यकालमा अनुगमन–मूल्यांकनमा ५२.७३ प्रतिशतले खर्च बढेको छ । दाहालका पालामा यो शीर्षकमा २१ लाख ९४ हजार रुपैयाँ खर्च भएको थियो भने ओलीका पालामा ३३ लाख ५२ हजार पुगेको छ ।

विविध खर्च, चिया–खाजा घट्यो
‘विविध खर्च’ भन्नेबित्तिकै चिया–खाजा, स्टेसनरीदेखि सानो मर्मतसम्मका कुरा सम्झनुपर्छ । यहाँ पनि ओलीको कार्यकाल मितव्ययी देखिन्छ । दाहालका पालामा यो शीर्षकमा १ करोड ६९ लाख खर्च भएको थियो भने ओलीका पालामा १ करोड २४ लाख । अन्तर– ४५ लाख १२ हजार । यो २६.६८ प्रतिशतले घटेको हो ।

मसलन्दमा ७१ प्रतिशत कटौती
दाहालको पालामा ५१ लाख रुपैयाँ मसलन्द र कार्यालय सामग्रीमा खर्च भएको थियो भने ओलीले त्यो १४ लाख ३६ हजारमै सीमित गरे । अन्तर– ३६ लाख ६३ हजार । यो ७१.८४ प्रतिशतको भारी कटौती हो । वैशाखदेखि असारबीच प्रचण्डले मसलन्दमा २४ लाख खर्च गरे, ओलीले मात्र ३ लाख ६४ हजार ।

पारिश्रमिक बचत
ओलीको सचिवालयले पारिश्रमिकमा पनि प्रचण्डको तुलनामा ७५ लाख ६६ हजार रुपैयाँ कम खर्च गर्‍यो । प्रचण्डका पालामा २ करोड ४० लाख खर्च भएको पारिश्रमिक शीर्षक ओलीका पालामा १ करोड ६४ लाखमा सीमित रह्यो । 

सवारी मर्मत घट्यो
सवारीसाधन मर्मतमा दाहालका पालामा ५९ लाख ५० हजार खर्च भएको मर्मतमा ओलीका पालामा ५७ लाख २२ हजार खर्च गरिएको छ । 

ओलीले कम फोन गरे, प्रचण्डले बढी 
सञ्चार महसुलमा प्रचण्डका पालामा ७९ हजार खर्च गरिएको थियो भने ओलीका पालामा ६० हजार मात्रै ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.