मन्त्री हेरफेरको गृहकार्य सुरु

मन्त्री हेरफेरको गृहकार्य सुरु
तस्बिर : प्रधानमन्त्री सचिवालय


काठमाडौं : सत्तारूढ दल नेपाली कांग्रेस र नेकपा एमालेले मन्त्री  हेरफेरको गृहकार्य सुरु गरेका छन्  । सत्तारूढ दुई दल कांग्रेस र एमालेका शीर्ष नेताहरूबीचमा मन्त्री हेरफेरको विषयमा छलफल भएको छ ।

बिहीबार प्रधानमन्त्री एवं एमाले अध्यक्ष   केपी  शर्मा ओली तथा कांग्रेस सभापति शेरबहादुर देउवासहित  उपस्थितिमा  दुई दलका  शीर्ष नेताहरूले सरकार हेरफेरको विषयमा छलफल गरेका हुन् । 

शीर्ष नेताको बैठकमा एमाले उपाध्यक्ष तथा  उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल,  कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, गृहमन्त्री रमेश लेखक, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल र महान्यायाधिवक्ता रमेश बडाल सहभागी थिए ।

त्यसपछि राजनीतिक संयन्त्रको बैठक बसेको छ । केपी शर्मा ओली नेतृत्वको  सरकार बनेको एक वर्ष पूरा भएको छ । प्रधानमन्त्री  ओली मन्त्री हेरफेर गरेर  दोस्रो वर्ष नयाँ मन्त्रिमण्डलका  साथ अघि  बढ्ने योजनामा थिए तर  त्यो बेला सत्ता साझेदार कांग्रेस त्यसमा इन्छुक देखिएन । जसले  मन्त्रिपरिषद् पुनर्गठनमा  बिलम्ब भएको हो ।  

२०८१ असार ३१ मा  ओली नेतृत्वको सरकार बन्दा नै मन्त्रीहरूलाई एक वर्षको कार्यकालको समय अवधि भनिएको थियो । प्रधानमन्त्री ओली कार्यक्षमता कमजोर रहेका र विवादमा परेका मन्त्रीलाई हेरफेर गर्न चाहन्छन् । 

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रिपरिषद् पुनर्गठनको सम्भावना रहेको समेत बताए ।  मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा मन्त्री गुरुङले सत्तारूढ दलहरूबीच सहमति जुटेमा पुनर्गठन हुन सक्ने बताए ।  मन्त्री गुरुङले भने, ‘सामान्यतया २–३ महिनामा मन्त्रिपरिषद् पुनर्गठन हुने देश हाम्रोमा १३ महिनादेखि भएको छैन । अब होला भनेर सर्वत्र चासो राखिएको छ, यो अस्वाभाविक पनि होइन ।’

एमाले उपमहासचिवसमेत गरेका  गुरुङले कांग्रेस एमाले सम्मिलित राजनीतिक संयन्त्रमा सहमति जुटेमा मन्त्रिपरिषद् पुनर्गठन हुने स्पष्ट पारे । कांग्रेसका  सूचना तथा सञ्चार प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले संघमा  मन्त्रीको हेरफेर गर्न  प्रधानमन्त्रीको चाहाना  रहेको बताए । उनले मन्त्री  हेरफेरको विषयमा सभापति शेरबहादुर देउवा र पदाधिकारी छलफल गरेर निर्णय लिने  उनले जानकारी दिए । उनले भने, ‘प्रधानमन्त्रीले मन्त्री फेर्न चाहानुभएको छ, हाम्रो पार्टीमा  सभापति र पदाधिकारी बसेर यो विषयमा निर्णय गर्छौं ।’ कांग्रेस प्रचार विभाग प्रमुख विश्वकर्मा पनि राजनीतिक संयन्त्रमा सहमति  भएमा हेरफेर हुन सक्ने बताउँछन् ।

अर्थमन्त्री  पौडेल, परराष्ट्रमन्त्री आरजु राणा देउवा, गृहमन्त्री लेखक  र सञ्चारमन्त्री गुरुङबाहेक सबैजसो हेरफेर हुने सम्भावना छ । हालै मन्त्री  बनाइएका  शिक्षा, विज्ञान  तथा  प्रविधिमन्त्री रघुजी  पन्त र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री  भगवती न्यौपाने कायम रहन सक्छन् ।  

योबीच जनता  समाजवादी पार्टी नेपालले उपेन्द्र यादवलाई सरकारमा ल्याउनसमेत  केही समयअघि प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच  पटक–पटक वार्ता भएको थियो तर यादवसँग कुरा नमिलेपछि जसपा  नेपालले सरकारलाई दिएको समर्थन पनि  फिर्ता लिएको छ ।  विवादको भूमरीमा रहेका नागरिक उन्मुक्तिले सरकारलाई दिएको समर्थन फिर्ता गरेको छ । उसको पार्टीबाट मन्त्री  भएका  अरुणकुमार चौधरी भने  मन्त्रिपरिषद्मा नै छन् । उनी  २०८२  वैशाख  २ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री बनेका हुन्  ।   

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले मन्त्री परिवर्तन गर्ने निर्णय नै गरिसकेको छ ।  लोसपाबाट हाल शरदसिंह भण्डारी    श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री छन् । ओलीको एक वर्षको कार्यकालमा केही  मन्त्री पनि परिवर्तन भए । तत्कालीन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले राजीनामा दिइन् र उनको ठाउँमा शिक्षामन्त्री  बने रघुजी  पन्त । 

सरकारको निर्णयका  विरुद्ध नै लागेपछि ऊर्जा जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङलाई बर्खास्त  नै गरियो । उनको ठाउँमा खमबहादुर गर्बुजालाई  ऊर्जा राज्यमन्त्री  बनाइएको छ । 

हालै घुस लेनदेनको अडियो बाहिर आएपछि  तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राजीनामा दिए । उनको स्थानमा भगवती  न्यौपानेलाई उक्त मन्त्रालयको जिम्मेवारी दिइयो ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.