कोदो : दिगो कृषिको आधार

कोदो : दिगो कृषिको आधार

कोदो पोषणीय गुणस्तरले भरिपूर्ण अन्न हो, जसमा प्रोटिन, फाइबर, भिटामिन बी समूहका भिटामिनहरू, र महत्वपूर्ण खनिजहरू जस्तै आइरन, क्याल्सियम र म्याग्नेसियम उच्च मात्रामा पाइन्छ । विशेषगरी यसको प्रोटिन मात्रा १२.३ ग्राम प्रति १०० ग्राम हुने हुँदा यो स्वास्थ्यका दृष्टिले निकै लाभदायक छ । कोदोलाई स्वास्थ्य क्षेत्रमा उच्च प्राथमिकता दिनुपर्ने कारण पनि यही पोषणीय मूल्य हो । यसले मधुमेह नियन्त्रणमा सहयोग पुग्ने, हृदय रोगका जोखिम घटाउने, मोटोपना कम गर्ने साथै पाचन प्रणाली सुधार्न मद्दत गर्ने अनुसन्धानहरूले देखाएका छन् ।

नेपालमा १९८८ देखि २०१९ सम्मको अध्ययनअनुसार कोदो उत्पादनमा फलामयुक्त मलको प्रयोग, उपज हुने क्षेत्रफल र ग्रामीण क्षेत्रको जनसंख्याजस्ता मुख्य प्रभावकारी तत्त्वहरूले महत्त्वपूर्ण भूमिका खेलेका छन् । फलामयुक्त मलले उपजमा वृद्धि ल्याउँछ भने अधिक कृषियोग्य जमिन र सक्रिय ग्रामीण जनसंख्या भएको ठाउँमा कोदो उत्पादन निकै फैलिएको र वृद्धि भएको छ । औसत तापक्रममा देखिएको वृद्धि कोदो उत्पादनमा आर्थिक र दीर्घकालीन नकारात्मक प्रभाव नरहेकाले यस बालीलाई जलवायु परिवर्तनप्रति बढ्दो सहिष्णुता भएको देखिन्छ । 

कोदो खेतीले नेपालको पहाडी भूभागमा विशेष रूपमा सकारात्मक भूमिका खेलेको छ, जहाँ माटोको उर्वरता कम हुनु र सिँचाइको पहुँच अपुग हुनु मुख्य चुनौती हुन् । यो बाली कम पानीमा उग्ने, कम उर्वरभूमि चाहिने र कठिन भौगोलिक तथा जलवायु परिस्थितिहरूमा पनि टिकाउ हुने भएकाले दिगो कृषि प्रणालीलाई सुदृढ बनाउने विकल्पको रूपमा चिनिन्छ । त्यस्तै, कोदो खेतीले ग्रामीण कृषकहरूलाई खाद्य आत्मनिर्भरता प्राप्ति मात्र होइन, आर्थिक रूपमा पनि सशक्त बनाउन सहयोग पुर्‍याएको छ । यसले नेपालको कृषि क्षेत्रमा नयाँ सम्भावना र दिगो विकासको मार्ग प्रशस्त गरेको छ ।

पछिल्लो समय बजारमा कोदो र यसबाट बनेका प्रशोधित उत्पादन कोदोको पिठो, बिस्कुट, नास्ता र परम्परागत रक्सीप्रति माग बढ्दै गएको छ । यसले मात्र कृषकलाई नभई युवा उद्यमशीलता र रोजगारीका नयाँ अवसरहरू सिर्जना गरेको छ । कोदो आधारित उद्योगको विकासले ग्रामीण क्षेत्रको आर्थिक सशक्तीकरणमा ठूलो योगदान पुर्‍याउने सम्भावना राख्छ । नेपाल सरकारले कोदो खेतीलाई प्रोत्साहन गर्न नीति समर्थन र अनुदान वितरणमा जोड दिनुपर्छ । साथै, आधुनिक बिउ, प्रविधि र कृषि व्यवहारहरूको पहुँच व्यापक बनाउनु आवश्यक छ, जसले उत्पादन लागत घटाउने र गुणस्तर वृद्धिमा मद्दत गर्छ । कृषकहरूलाई व्यावसायिक कृषिको तालिम दिएर सम्पूर्ण 
उत्पादन शृंखलामा सुधार ल्याउन सकिन्छ ।

कोदो नेपालको सांस्कृतिक परम्परामा गहिरो स्थान राख्छ । थारू, मगर, लिम्बू, नेवारलगायतका विविध जातीय समुदायको जीवनशैली, पर्व र धार्मिक अनुष्ठानहरूमा कोदो विशेष रूपमा प्रयोग हुन्छ । परम्परागत कोदोबाट बनेका खाद्य तथा रक्सी उत्पादनले ती संस्कृतिको पहिचानलाई मजबुत बनाएको छ । कोदोका परिकारहरूले ग्रामीण र सामाजिक सम्बन्धमा पोषण र सांस्कृतिक एकतालाई बचाइराख्न महत्वपूर्ण भूमिका खेलिरहेछन् । यस प्रकार, कोदो खेतीले मात्र आर्थिक, स्वास्थ्य र पर्यावरणीय फाइदाहरू नदिइकन सांस्कृतिक गौरव र पहिचान पनि सुरक्षित गरेको छ । कृषक, नीतिनिर्माता र उद्यमीहरूले मिलेर कोदो उत्पादन र प्रवद्र्धनमा केन्द्रित भए नेपालको दिगो विकासमा मात्र नभई सांस्कृतिक संरक्षणमा पनि थप बल पुग्नेछ ।

सहरीकरणका कारण कृषियोग्य जमिनको कमी, गुणस्तरीय बिउ र आधुनिक कृषि यन्त्रहरूको अभाव, बजारसम्म सहज पहुँच नहुनु तथा उपभोक्ताको कम जागरूकता आदि कोदोका लागि समस्या हुन् ।  गुणस्तरीय बिउको उपलब्धता नहुँदा उत्पादन कम हुने र बाली रोगप्रतिको प्रभावकारिता कम हुने क्रम बढेको छ । आधुनिक कृषि प्रविधिको अभावले उत्पादन क्षमता बढाउन समस्या आउने भएकाले कृषकलाई प्रभावकारी उपकरण र प्रविधि उपलब्ध गराउनु आवश्यक छ । बजारको पहुँचमा कमजोरी र ब्रान्डिङ तथा बजार व्यवस्थापनमा भद्रगोलले किसानको आयमा स्थिरता छैन । 

उपभोक्तामाझ कोदोका स्वास्थ्य र पोषणीय फाइदाबारे जनचेतना कम भएकाले यसको माग स्थिर छैन । अब कृषकलाई लक्षित अनुदान तथा तालिम कार्यक्रम सञ्चालन गर्नुपर्छ । गुणस्तरीय बिउको प्रवद्र्धन गरी नयाँ र दिगो किसिमका बिउ विकास गर्नुपर्छ । बजार सञ्जाल विस्तार गरी ब्रान्डिङ सुधार गरी कोदो उत्पादनलाई बजारमैत्री बनाउन आवश्यक छ । उपभोक्तामा कोदोका पोषणीय फाइदाबारे व्यापक जागरुकता अभिवृद्धि गर्नुपर्छ, जसले माग बढाउँछ । महिला तथा युवामा उद्यमशीलता जगाउन आवश्यक छ, जसले ग्रामीण विकास र आर्थिक सशक्तीकरणमा ठूलो योगदान गर्नेछ ।

निष्कर्ष : कोदो नेपालमा पोषण र दिगो कृषि प्रणालीको प्रमुख आधारशिला हो । यसको महत्त्वमात्र उत्पादन वृद्धिमा सीमित नहुँदै, खाद्य सुरक्षा, स्वस्थ जीवनशैली तथा तापक्रम र जलवायु परिवर्तनका प्रभावबाट बच्ने उपायसमेत हो । कोदोले कम पानी र कम उर्वरभूमिमा पनि उत्पादन दिन सक्छ । जसले ग्रामीण कृषकहरूको आय वृद्धि गर्न सहयोग पुर्‍याउने मात्र होइन, ग्रामीण क्षेत्रमा रोजगारीका नयाँ अवसरहरू सिर्जना हुनेछ । सरकारले कोदो उत्पादन प्रवर्द्धनका लागि सकारात्मक नीति, गुणस्तरीय बिउ प्रविधि, अनुदान र तालिम कार्यक्रमहरू सञ्चालन गर्नुपर्नेछ ।

आधुनिक अनुसन्धान र प्रविधिले कोदोको उत्पादन क्षमता र गुणस्तरमा उल्लेखनीय सुधार ल्याउन सक्ने देखिन्छ । कोदो केवल अन्न हैन, स्वास्थ्य र दिगोपनको प्रतीक हो भन्ने सामाजिक जागरूकता बढाउनु पनि आवश्यक छ । नेपालको ‘कोदो दिवस’ यस परम्परागत अन्नको भूमिका पुनस्र्थापित गर्ने र विकासको नयाँ बाटो खोल्ने महत्वपूर्ण अवसर हो ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.