देशलाई चिनाउने योजना लुम्बिनीमा

देशलाई चिनाउने योजना लुम्बिनीमा

बुटवल : लुम्बिनी प्रदेशमा बनिसकेका र बन्दै गरेका केही यस्ता योजना छन्, जो पूर्णरूपमा सञ्चालनमा आउँदा सिंगो देशको आर्थिक अवस्थामा परिवर्तन आउन सक्छ । लुम्बिनीको त अनुहारै फेरिन्छ । तर, ती योजनाले सोचेअनुसार गति लिन भने सकेका छैनन् ।

निर्माण सम्पन्न भएका योजनाहरू पनि भरपर्दो तरिकाले चल्न सकेका छैनन् । लुम्बिनी प्रदेशको आर्थिक केन्द्रको हबका रूपमा चिनिने बुटवल र यस आसपासमा निर्माण सम्पन्न भएका र निर्माणाधीन अवस्थामा रहेका योजनाले सिंगो प्रदेशकै रूप फेरिने बलियो सम्भावना छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, निर्माणाधीन सिद्धबाबा सुरुङमार्ग, बुटवल–गोरुसिंगे ६ लेन सडक, पहाडी जिल्लामा सजिएर बसेका खानीहरूसहित बुटवल सहरकै वारिपारि रहेका दुई केबलकार भविष्य बोकेका योजनाहरू हुन् । 

एउटै सहरमा दुई केबलकार

लुम्बिनीको आर्थिक हबको रूपमा चिनिने बुटवल सहरको वारिपारि दुईवटा केबलकार सञ्चालनमा छन् । बुटवलको गोलपार्क बमघाटदेखि पाल्पाको तिनाउ गाउँपालिका–३ बसन्तपुरसम्म लुम्बिनी केबलकार र बुटवल–१ फूलबारीदेखि पाल्पाको नुवाकोटसम्म सिद्धार्थ केबलकार निर्माण गरिएको छ ।

बुटवल र समग्र लुम्बिनी प्रदेशकै यी दुई केबलकार पर्यटन क्षेत्रको महत्त्वपूर्ण योजना हुन् । यी योजनालाई यस क्षेत्रका नेताहरूले ‘ड्रिम प्रोजेक्ट’ का रूपमा हेरेका छन् । बहुसंख्यक बुटवल आसपास र केही अन्य जिल्लाका नागरिकको लगानीमा सिद्धार्थ केबलकार निर्माण गरिएको हो । आईएमई समूहका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालको लगानीमा लुम्बिनी केबलकार निर्माण गरिएको छ । nullभगवान् गौतमबुद्धको नाममा निर्माण गरिएको रुपन्देहीको सिद्धार्थ केबलकारको देउराली डाँडामा रहेको मनमोहक तल्लो स्टेसन ।  तस्बिर : केशरराज क्षेत्री

लुम्बिनीले भारतीय पर्यटकहरूलाई लक्षित गरी बसन्तपुर डाँडामा माता कामाख्यादेवीको मन्दिर निर्माण गरेको छ । सिद्धार्थ केबलकारले भगवान् गौतमबुद्धको जन्मस्थल र बुद्धले टेकेका पाइलासहितको मूर्ति निर्माण गरेको छ । गौतमबुद्ध र नुवाकोट मन्दिरलाई एकआपसमा जोड्ने उद्देश्यले सिद्धार्थ केबलकारको कल्पना गरिएको सञ्चालकहरूले बताएका छन् । ५ अर्ब र सिद्धार्थमा करिब २ अर्ब लगानी छ । व्यावसायिक र स्वास्थ्य उपचारलगायतका कामले बुटवल झरेका पर्यटकहरूलाई यहाँका गर्मीले दिक्क पारेको बेला दुई केबलकार शीतलताका छहारी बनेका छन् ।

पश्चिम क्षेत्रको भविष्य बुटवल–गोरुसिंगे सडक
हाल निर्माणाधीन अवस्थामा रहेको बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक लुम्बिनीका पश्चिम क्षेत्रका जिल्लाहरूको भविष्यको ढोका हो । पूर्व—पश्चिम राजमार्गअन्तर्गत पर्ने यो सडकको अहिले बुटवलदेखि गोरुसिंगेसम्मको काम धमाधम भइरहेको छ । तीन वर्षभित्र निर्माण पूरा गर्ने गरी तीव्र गतिमा काम भइरहेको बुटवल गोरुसिंगे चन्द्रौटा सडक आयोजना कार्यालय बुटवलका सूचना अधिकारी एवं लेखा अधिकृत राजेन्द्रप्रसाद आचार्यले जानकारी दिए । ‘बुटवलदेखि गोरुसिंगेसम्मको ५० किलोमिटर काम दुई खण्डमा विभाजन गरेर भइरहेको छ’, आचार्यले भने, ‘गोरुसिंगेदेखि चन्द्रौटासम्मको डिजाइन, रुख गणना र डीपीआरको काम चलिरहेको छ । सम्भवतः यो 
आर्थिक वर्षभित्रै ठेक्का लाग्छ ।’ 

सडकको हालसम्म करिब १२ प्रतिशत वित्तीय प्रगति भएको उनले जानकारी दिए । सहरी क्षेत्रमा ६ लेन र जंगल क्षेत्रमा चार लेनको सडक निर्माण हुनेछ । गोरुसिंगेदेखि चन्द्रौटासम्मको दूरी १९ किलोमिटर हो । धेरै भागमा निर्माणको काम चलिरहेको छ । हाल निर्माण भइरहेको दुवैतर्फको काममा कुल १३ अर्ब ५५ करोड ६६ लाख रुपैयाँमा निर्माण कम्पनीसँग सम्झौता भएको आचार्यले जानकारी दिए । त्यसमध्ये बुटवलदेखि कपिलवस्तुको कोठीनदीसम्म ७ अर्ब ८९ करोड ४३ लाख ५३ हजार र कोठीनदीदेखि गोरुसिंगेसम्म ५ अर्ब ६६ करोड २२ लाख ४३ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको छ । यो रकम मूल्य अभिवृद्धि कर (भ्याट) सहित हो । राजा महेन्द्रको पालामा २०१९ सालमा निर्माण भएको यो सडक ६३ वर्षपछि विस्तार हुन थालेको हो । सडक निर्माणको काम चाइनाको सान्सी कन्स्ट्रक्सन इन्जिनियरिङ गु्रप कर्पोरेसन र चितवनको आशिष निर्माण सेवा जेभीले लिएका छन् । 

तिनाउ नदीमा सिग्नेचर पुल
बुटवल बजार नजिकै रहेको तिनाउ नदीमा सिग्नेचर पुल निर्माण गर्ने प्रक्रिया अघि बढेको छ । रूपन्देहीका संघीय सांसद् तथा उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलको विशेष जोडबलमा तिनाउमा उक्त पुल बन्ने प्रक्रियाले मूर्तरूप लिएको छ । पौडेलको योजनाअनुसार उक्त पुल केबल गाडी वारपार गर्ने मात्र हुने छैन । पुलको वरिपरि गार्डेन, माथि चिया कफी पिउने रेस्टुरेन्ट र तल गाडी गुड्ने गरी बनाउने सपना छ । पुलमाथि बस्न मिल्ने गरी तला बनाउनेसमेत योजना छ । पूर्व—पश्चिम महेन्द्र राजमार्गमै पर्ने भएकाले उक्त पुल निर्माणले पनि छिट्टै मूर्तरूप लिने बुझिएको छ ।

सडक विभागले त्यसको डीपीआर गरिरहेको छ । पुलमा बसेर रात्रिकालीन बजारमा रमाउने गरी लाइटिङको समेत व्यवस्थापन हुनेछ । जितगढी किल्ला, युद्ध संग्रहालय, बुटवलको पुरानो बस्ती, हिन्दुका मन्दिर र मुस्लिमका मस्जिदका बीचमा समेत मैत्रीभाव राख्ने सन्देश दिने गरी पुल निर्माण हुने यसअघि बुटवल उपमहानगरपालिकामा आयोजित छलफलमा सुनाइएको थियो ।

सुरुङमार्गको प्रगति ५७ प्रतिशत
सिद्धार्थ राजमार्गअन्तर्गत सिद्धबाबा मन्दिर नजिकै बुटवल पाल्पा खण्डमा निर्माणाधीन अवस्थामा रहेको सिद्धबाबा सुरुङमार्गको काम तीव्र गतिमा भइरहेको छ । सुरुङमार्गको हालसम्म ५७ दशमलव ५१ प्रतिशत भौतिक र ५१ दशमलव १ प्रतिशत वित्तीय प्रगति भएको आयोजना कार्यालय बुटवलका प्रमुख एवं सिनियर डिभिजनल इन्जिनियर कृष्णराज अधिकारीले जानकारी दिए । 

सिंगो लुम्बिनी प्रदेशकै पहिचानको रूपमा सुरुङमार्गलाई हेरिएको छ । देशभर निर्माणाधीन अवस्थामा रहेका दुई सुरुङमार्गमध्ये यो पनि एक हो । मृत्युमार्गले चिनिएको बुटवल—पाल्पा खण्डको सिद्धबाबा क्षेत्रमा सुरुङमार्ग निर्माण पूरा भएसँगै नागरिकको त्रासको यात्रामा पूर्णविराम लाग्नेछ । यो आयोजनालाई लुम्बिनीमात्रै नभएर सिंगो देशकै गौरवको आयोजनाको रूपमा हेरिएको अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सुरुङमार्गको ब्रेक थु्र कार्यक्रममा भनेका थिए । 

गुल्मी, पाल्पा, प्यूठान, अर्घाखाँची हुँदै गण्डकी प्रदेशको बागलुङ, स्याङ्जा, पर्वत, कास्की (पोखरा) लगायत जिल्लाका नागरिक यही सडक भएर दिनहुँ आउजाउ गर्छन् । सडक सहज भएपछि भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनीदेखि मुस्ताङसम्मका लागि सीधा यातायात सञ्चालन गर्नेसमेत यातायात व्यवसायीहरूले सुनाएका छन् । अप्ठ्यारो सडकका कारण बर्सेनि नागरिक अकालमै ज्यान गुमाउन बाध्य छन् । अबको एक वर्षभित्र सुरुङमार्ग निर्माण पूरा भइसक्ने आयोजना कार्यालयले जनाएको छ ।

तर, विमानस्थलबाट सन्तुष्ट छैन निजी क्षेत्र

भैरहवामा निर्माण गरिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट सिंगो लुम्बिनीको निजी क्षेत्र उत्साहित छैन । निर्माण गरिएको तीन वर्ष बितिसक्दा पनि अन्तर्राष्ट्रिय उडान नियमित हुन नसक्दा लगानीकर्ताहरू निराश छन् । २०७९ जेठ २ गते यो विमानास्थलको उद्घाटन गरिएको थियो । बेग्लै उत्साह र उमंगसहित विमानस्थल उद्घाटन भए पनि यसलाई सञ्चालन गर्ने कुरामा राज्यले ध्यान नदिएको व्यवसायीको गुनासो छ । 

विमानस्थललाई नै लक्षित गरेर खुलेका थुप्रै ठूला होटलहरू सञ्चालन हुन सकेका छैनन् । सञ्चालन भएका होटलहरू पनि गतिलोसँग चल्न सकेका छैनन् । भैरहवाको विमानस्थल देखेर बुटवल र यस आसपासमा गरिएका पर्यटन क्षेत्रको लगानीसमेत धराशायी बनेको छ । 
‘विमानस्थललाई लक्षित गरेर खुलेका नामुद  होटलहरू पनि चाबी लगाउने अवस्थामा पुगेका छन्’, होटल तथा रेस्टुरेन्ट व्यवसायी संघ रूपन्देहीका निवर्तमान अध्यक्ष लेखनाथ भण्डारीले भने, ‘अन्तर्राष्ट्रिय विमानस्थलले होटल व्यवसायीलाई झुक्यायो । सिंगो निजी क्षेत्र धराशायी हुने अवस्थामा छ ।’

भैरहवाको विमानस्थल र बुटवलबाट दाङ पुगेको प्रदेशको राजधानी नै होटललगायत निजी क्षेत्र ध्वस्त पार्ने माध्यम बनेको उनले गुनासो पोखे । हाल रूपन्देही क्षेत्रमा सानाठूला गरी करिब सात सय होटल र रेस्टुरेन्टहरू रहेको उनले बताए । भैरहवा र बुटवल सेरोफेरोमा विमानस्थललाई लक्षित गरी सयौं होटल खुलेका छन् । ‘कतिपय होटलहरू लिलामी अवस्थामा छन्, कोही भइसके’, भण्डारीले भने, ‘राज्यले निजी क्षेत्रलाई झुक्यायो । विमानस्थल चलाउने विषयमा सरकारले विशेष चासो दिनुपर्छ ।’

पर्यटकीय गन्तव्यमा लैजाने योजना

लुम्बिनी प्रदेशका भौतिक पूर्वाधारमन्त्री भूमिश्वर ढकालले देशकै पहिचान हुने गरी लुम्बिनी प्रदेशले योजनाहरू सञ्चालन गरिरहेको जानकारी दिए । ‘स्थायी राजधानीमा, स्थायी संरचना बनाउने काम अन्तिम चरणमा छ’, ढकालले भने, ‘सात प्रदेशमध्ये आफ्नै स्थायी संरचना बनाउने लुम्बिनी पहिलो हो । यहाँ प्रदेश सरकारका भवन मात्र बनेका छैनन्, नयाँ सहर बसाउने योजना छ । प्रदेशलाई कस्तो बनाउने २० वर्षे गुरुयोजना छ, त्यसैअनुसार काम भइरहेको छ ।’ उनले भर्जिन ल्यान्डको रूपमा रहेको देउखुरी क्षेत्रलाई देशकै नमुना प्रदेश राजधानी र सहर बसाउने योजना रहेको समेत सुनाए । 

बुटवलमा निर्माणाधीन अवस्थामा रहेको १२ सय शय्याको प्रादेशिक अस्पताल पनि सिंगो लुम्बिनीकै गौरवको योजना रहेको ढकालले सुनाए । प्रदेशको गौरवको योजनाको रूपमा रहेको रामपुर कपुरकोट (हाल रामपुर जिनावाङ) सडक निर्माणको काम तीव्र गतिमा रहेको ढकालले बताए । यो सडकले गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशलाई आपसमा जोड्नेछ । 

‘संस्थापक मुख्यमन्त्री शंकर पोख्रेलको पालादेखि अघि बढेको योजना हो’, ढकालले भने, ‘हाम्रो दुईवर्षे कार्यकालभित्रै सडक निर्माण पूरा गर्ने लक्ष्य छ ।’ करिब तीन सय किलोमिटर सडक यस योजनामा बन्नेछ । 

विशेष गरी भारतको उत्तरप्रदेश र बिहारका पर्यटकहरूलाई लुम्बिनीका हिलस्टेसनमा रहेका पर्यटकीय गन्तव्यमा लैजाने योजनासहित सडक निर्माण भएको हो । पहाड, हिमाल र तराईको अवलोकन यही सडकको यात्रा भएर पर्यटकहरूले गर्नेछन् । स्थापनाकालमा रामपुर—कपुरकोट सडकको रूपमा नामकरण गरिए पनि यो सडकलाई अहिले रामपुर–जिनावाङको रूपमा नामकरण गरिएको मन्त्री ढकालले बताए । चार भागमा विभाजन गरेर निर्माण भइरहेको यस योजनाले पाल्पा, अर्घाखाँची, प्यूठान, रोल्पा र सल्यानलाई जोड्नेछ । प्रदेश सरकारले सूचना प्रविधिसम्बन्धी पढाइ हुने गरी सञ्चालन गरेको विश्वविद्यालय प्रदेशको अर्को गौरवको योजना रहेको ढकालले बताए । 

देशकै पहिचान हुने गरी लुम्बिनी प्रदेशले योजनाहरू सञ्चालन गरिरहेको छ । स्थायी राजधानी देउखुरीमा स्थायी संरचना बनाउने काम अन्तिम चरणमा छ । सात प्रदेशमध्ये आफ्नै स्थायी संरचना बनाउने लुम्बिनी पहिलो हो । यहाँ प्रदेश सरकारका भवनमात्र बनेका छैनन्, नयाँ सहर बसाउने योजना छ । प्रदेशलाई कस्तो बनाउने २० वर्षे गुरुयोजना छ, त्यसैअनुसार काम भइरहेको छ । देउखुरी भर्जिन ल्यान्ड हो । यसलाई देशकै नमुना प्रदेश राजधानी र सहर बसाउने योजना छ । रामपुर कपुरकोट (हाल, रामपुर जिनावाङ) सडक अर्को पहिचान हो । करिब तीन सय किलोमिटर सडक यस योजनामा बन्नेछ । 
भूमिश्वर ढकाल - मन्त्री, भौतिक पूर्वाधार विकास मन्त्रालय, लुम्बिनी प्रदेश

लुम्बिनी प्रदेशका १२ वटा जिल्लामध्ये सडक कालोपत्रे गर्ने र पक्की पुल बनाउनेमा हामी पहिलो स्थानमा छांै । आर्थिक वर्ष २०८१/८२ मा ४५ दशमलव १९ किलोमिटर सडक कालोपत्रे गरिएको छ । यो समग्र लुम्बिनी प्रदेशको २५ दशमलव ६७ प्रतिशत हिस्सा हो । लुम्बिनी प्रदेशभरि कुल १ सय ७२ दशमलव २९ किमि सडक कालोपत्रे भएको छ । ११ वटा पक्कीपुल निर्माण गरिएको छ । पुलतर्फ हाम्रो कार्यालयले मात्र २५ प्रतिशत प्रगति हासिल गरेको छ । सिंगो मन्त्रालयको प्रगतिको ठूलो हिस्सा रूपन्देहीले ओगट्दा हामी उत्साहित छौं । बृहत् लुम्बिनी चक्रपथ (पर्सा–पडरिया खण्ड)को तेलहार खोला र तिनाउ खोलास्थित बेलबास–बेथरी–खैराघाट–सडकमा जोडी पुल निर्माण गरेकाले पक्की पुल सम्पन्नको संख्या १३ हो । 
लालु गिरी - सिनियर डिभिजनल इन्जिनियर, सडक पूर्वाधार विकास कार्यालय, रूपन्देही

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट सिंगो लुम्बिनीको निजी क्षेत्र उत्साहित हुनुको साटो निराश छ । निर्माण गरिएको तीन वर्ष बितिसक्दा पनि अन्तर्राष्ट्रिय उडान नियमित नहुनु दुःखद् हो । लगानीकर्ताहरू निराश छन् । बेग्लै उत्साह र उमंगसहित विमानस्थल उद्घाटन भए पनि सञ्चालन गर्ने कुरामा राज्यले ध्यान दिएन । विमानस्थल देखेर बुटवल र यस आसपासमा गरिएको पर्यटन क्षेत्रको लगानीसमेत धराशायी बन्यो । अन्तर्राष्ट्रिय विमानस्थलले होटल व्यवसायीलाई झुक्कायो । रूपन्देही क्षेत्रमा मात्रै सानाठूला गरी सात सय होटल र रेस्टुरेन्टहरू छन् । कतिपय होटलहरू लिलामी अवस्थामा छन्, कोही भइसके ।
लेखनाथ भण्डारी - निवर्तमान अध्यक्ष, होटल तथा रेस्टुरेन्ट व्यवसायी संघ रूपन्देही

सडक र पुल बनाउनेमा अग्रणी रूपन्देही

लुम्बिनी प्रदेशका १२ वटा जिल्लामध्ये सडक कालोपत्रे गर्ने र पक्की पुल बनाउने अग्रणी जिल्लाको रूपमा रूपन्देही देखिएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालय लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८१/८२ मा गरेको प्रगति विवरण सार्वजनिक तथ्यांकअनुसार सडक पूर्वाधार विकास कार्यालय बुटवल रूपन्देहीले एक आर्थिक वर्षमा मात्रै ४५ दशमलव १९ किलोमिटर सडक कालोपत्रे गरेको छ । यो समग्र लुम्बिनी प्रदेशको २५ दशमलव ६७ प्रतिशत हिस्सा हो । लुम्बिनी प्रदेशभरि कुल १ सय ७२ दशमलव २९ किमि सडक कालोपत्रे गरेको छ । 

null
निर्माणाधीन बुटवल–गोरुसिंगे ६ लेन सडक ।  

त्यस्तै, प्रदेशभरि कुल ४४ वटा पक्की पुल निर्माण भएका छन् । तर, रूपन्देहीले मात्रै ११ वटा पक्की पुल गत आर्थिक वर्षमा सम्पन्न गरेको छ । पुलतर्फ रूपन्देहीले मात्र २५ प्रतिशत प्रगति हासिल गरेको हो । भौतिक पूर्वाधार विकास मन्त्रालयको कुल वित्तीय प्रगति ६७ दशमलव २५ प्रतिशत छ ।

समग्र मन्त्रालयकै प्रगतिको ठूलो हिस्सा रूपन्देहीले ओगटेको छ । रूपन्देहीले बृहत् लुम्बिनी चक्रपथ (पर्सा–पडरिया खण्ड)को तेलहार खोला र तिनाउ खोलास्थित बेलबास–बेथरी–खैराघाट–सडकमा जोडी पुल निर्माण गरेकाले पुल सम्पन्नको संख्या १३ पुगेको छ । यद्यपि, मन्त्रालयको तथ्यांकमा सम्पन्न पुलको संख्या ११ छ । ‘जोडी पुललाई एउटै पुलको रूपमा तथ्यांक राख्दा संख्या ११ भएको हो’, सडक पूर्वाधार विकास कार्यालय रूपन्देहीका सिनियर डिभिजनल इन्जिनियर लालु गिरीले भने, ‘खास तथ्यांक १३ हो । क्रमागत रूपमा काम हुँदै आउँदा आर्थिक वर्ष २०८१/८२ मा पुल निर्माण सकिएका हुन् ।’ उनका अनुसार चालु आर्थिक वर्षमा चारवटा पक्की पुल निर्माण सक्ने योजना छ । 

सडक पूर्वाधार विकास कार्यालय बर्दियाले पाँचवटा पक्कीपुल निर्माण गरेको छ । त्यस्तै, बाँके, पाल्पा र कपिलवस्तुले चार/चारवटा, दाङ र रोल्पाले तीन/तीन वटा, गुल्मी र प्यूठानले दुई/दुईवटा र नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) र पूर्वीरुकुमले एक/एक वटा पक्कीपुल निर्माण गरेका छन् । मन्त्रालयको तथ्यांकअनुसार अर्घाखाँचीले एउटा पनि पुल निर्माण गरेको छैन । 
त्यस्तै, नवलपरासी (पश्चिम) ले गत आर्थिक वर्ष १२ दशमलव १८ किमि, कपिलवस्तुले १९ दशमलव १३, पाल्पाले १ दशमलव ३४, गुल्मीले १४ दशमलव ६६ किमि सडक कालोपत्रे गरेका छन् । त्यस्तै, अर्घाखाँचीले २७ दशमलव ६३ किमि, दाङले १० दशमलव ८३, प्यूठानले ९ दशमलव १८, रोल्पाले ४ दशमलव ८८, बाँकेले १७ दशमलव ४९ र बर्दियाले १३ दशमलव ५० किमि सडक कालोपत्रे गरेका छन् । 

पूर्वी रुकुमले गत आर्थिक वर्ष कत्ति पनि सडक कालोपत्रे गर्न सकेन । भौतिक पूर्वाधार विकास मन्त्रालयको वित्तीय प्रगति न्यून हुनुमा बहुवर्षिय योजना स्वीकृत गर्न ढिलाइ हुनु मुख्य कारण बनेको सम्बन्धित सडक पूर्वाधार विकास कार्यालयका प्रमुखहरूले प्रतिक्रिया दिएका छन् । करिब २० प्रतिशत रकम बहुवर्षीय योजनामा थियो । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.