देशलाई चिनाउने योजना लुम्बिनीमा
बुटवल : लुम्बिनी प्रदेशमा बनिसकेका र बन्दै गरेका केही यस्ता योजना छन्, जो पूर्णरूपमा सञ्चालनमा आउँदा सिंगो देशको आर्थिक अवस्थामा परिवर्तन आउन सक्छ । लुम्बिनीको त अनुहारै फेरिन्छ । तर, ती योजनाले सोचेअनुसार गति लिन भने सकेका छैनन् ।
निर्माण सम्पन्न भएका योजनाहरू पनि भरपर्दो तरिकाले चल्न सकेका छैनन् । लुम्बिनी प्रदेशको आर्थिक केन्द्रको हबका रूपमा चिनिने बुटवल र यस आसपासमा निर्माण सम्पन्न भएका र निर्माणाधीन अवस्थामा रहेका योजनाले सिंगो प्रदेशकै रूप फेरिने बलियो सम्भावना छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, निर्माणाधीन सिद्धबाबा सुरुङमार्ग, बुटवल–गोरुसिंगे ६ लेन सडक, पहाडी जिल्लामा सजिएर बसेका खानीहरूसहित बुटवल सहरकै वारिपारि रहेका दुई केबलकार भविष्य बोकेका योजनाहरू हुन् ।
एउटै सहरमा दुई केबलकार
बुटवल र समग्र लुम्बिनी प्रदेशकै यी दुई केबलकार पर्यटन क्षेत्रको महत्त्वपूर्ण योजना हुन् । यी योजनालाई यस क्षेत्रका नेताहरूले ‘ड्रिम प्रोजेक्ट’ का रूपमा हेरेका छन् । बहुसंख्यक बुटवल आसपास र केही अन्य जिल्लाका नागरिकको लगानीमा सिद्धार्थ केबलकार निर्माण गरिएको हो । आईएमई समूहका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालको लगानीमा लुम्बिनी केबलकार निर्माण गरिएको छ ।
भगवान् गौतमबुद्धको नाममा निर्माण गरिएको रुपन्देहीको सिद्धार्थ केबलकारको देउराली डाँडामा रहेको मनमोहक तल्लो स्टेसन । तस्बिर : केशरराज क्षेत्री
लुम्बिनीले भारतीय पर्यटकहरूलाई लक्षित गरी बसन्तपुर डाँडामा माता कामाख्यादेवीको मन्दिर निर्माण गरेको छ । सिद्धार्थ केबलकारले भगवान् गौतमबुद्धको जन्मस्थल र बुद्धले टेकेका पाइलासहितको मूर्ति निर्माण गरेको छ । गौतमबुद्ध र नुवाकोट मन्दिरलाई एकआपसमा जोड्ने उद्देश्यले सिद्धार्थ केबलकारको कल्पना गरिएको सञ्चालकहरूले बताएका छन् । ५ अर्ब र सिद्धार्थमा करिब २ अर्ब लगानी छ । व्यावसायिक र स्वास्थ्य उपचारलगायतका कामले बुटवल झरेका पर्यटकहरूलाई यहाँका गर्मीले दिक्क पारेको बेला दुई केबलकार शीतलताका छहारी बनेका छन् ।
पश्चिम क्षेत्रको भविष्य बुटवल–गोरुसिंगे सडक
हाल निर्माणाधीन अवस्थामा रहेको बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक लुम्बिनीका पश्चिम क्षेत्रका जिल्लाहरूको भविष्यको ढोका हो । पूर्व—पश्चिम राजमार्गअन्तर्गत पर्ने यो सडकको अहिले बुटवलदेखि गोरुसिंगेसम्मको काम धमाधम भइरहेको छ । तीन वर्षभित्र निर्माण पूरा गर्ने गरी तीव्र गतिमा काम भइरहेको बुटवल गोरुसिंगे चन्द्रौटा सडक आयोजना कार्यालय बुटवलका सूचना अधिकारी एवं लेखा अधिकृत राजेन्द्रप्रसाद आचार्यले जानकारी दिए । ‘बुटवलदेखि गोरुसिंगेसम्मको ५० किलोमिटर काम दुई खण्डमा विभाजन गरेर भइरहेको छ’, आचार्यले भने, ‘गोरुसिंगेदेखि चन्द्रौटासम्मको डिजाइन, रुख गणना र डीपीआरको काम चलिरहेको छ । सम्भवतः यो
आर्थिक वर्षभित्रै ठेक्का लाग्छ ।’
सडकको हालसम्म करिब १२ प्रतिशत वित्तीय प्रगति भएको उनले जानकारी दिए । सहरी क्षेत्रमा ६ लेन र जंगल क्षेत्रमा चार लेनको सडक निर्माण हुनेछ । गोरुसिंगेदेखि चन्द्रौटासम्मको दूरी १९ किलोमिटर हो । धेरै भागमा निर्माणको काम चलिरहेको छ । हाल निर्माण भइरहेको दुवैतर्फको काममा कुल १३ अर्ब ५५ करोड ६६ लाख रुपैयाँमा निर्माण कम्पनीसँग सम्झौता भएको आचार्यले जानकारी दिए । त्यसमध्ये बुटवलदेखि कपिलवस्तुको कोठीनदीसम्म ७ अर्ब ८९ करोड ४३ लाख ५३ हजार र कोठीनदीदेखि गोरुसिंगेसम्म ५ अर्ब ६६ करोड २२ लाख ४३ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको छ । यो रकम मूल्य अभिवृद्धि कर (भ्याट) सहित हो । राजा महेन्द्रको पालामा २०१९ सालमा निर्माण भएको यो सडक ६३ वर्षपछि विस्तार हुन थालेको हो । सडक निर्माणको काम चाइनाको सान्सी कन्स्ट्रक्सन इन्जिनियरिङ गु्रप कर्पोरेसन र चितवनको आशिष निर्माण सेवा जेभीले लिएका छन् ।
तिनाउ नदीमा सिग्नेचर पुल
बुटवल बजार नजिकै रहेको तिनाउ नदीमा सिग्नेचर पुल निर्माण गर्ने प्रक्रिया अघि बढेको छ । रूपन्देहीका संघीय सांसद् तथा उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलको विशेष जोडबलमा तिनाउमा उक्त पुल बन्ने प्रक्रियाले मूर्तरूप लिएको छ । पौडेलको योजनाअनुसार उक्त पुल केबल गाडी वारपार गर्ने मात्र हुने छैन । पुलको वरिपरि गार्डेन, माथि चिया कफी पिउने रेस्टुरेन्ट र तल गाडी गुड्ने गरी बनाउने सपना छ । पुलमाथि बस्न मिल्ने गरी तला बनाउनेसमेत योजना छ । पूर्व—पश्चिम महेन्द्र राजमार्गमै पर्ने भएकाले उक्त पुल निर्माणले पनि छिट्टै मूर्तरूप लिने बुझिएको छ ।
सडक विभागले त्यसको डीपीआर गरिरहेको छ । पुलमा बसेर रात्रिकालीन बजारमा रमाउने गरी लाइटिङको समेत व्यवस्थापन हुनेछ । जितगढी किल्ला, युद्ध संग्रहालय, बुटवलको पुरानो बस्ती, हिन्दुका मन्दिर र मुस्लिमका मस्जिदका बीचमा समेत मैत्रीभाव राख्ने सन्देश दिने गरी पुल निर्माण हुने यसअघि बुटवल उपमहानगरपालिकामा आयोजित छलफलमा सुनाइएको थियो ।
सुरुङमार्गको प्रगति ५७ प्रतिशत
सिद्धार्थ राजमार्गअन्तर्गत सिद्धबाबा मन्दिर नजिकै बुटवल पाल्पा खण्डमा निर्माणाधीन अवस्थामा रहेको सिद्धबाबा सुरुङमार्गको काम तीव्र गतिमा भइरहेको छ । सुरुङमार्गको हालसम्म ५७ दशमलव ५१ प्रतिशत भौतिक र ५१ दशमलव १ प्रतिशत वित्तीय प्रगति भएको आयोजना कार्यालय बुटवलका प्रमुख एवं सिनियर डिभिजनल इन्जिनियर कृष्णराज अधिकारीले जानकारी दिए ।
सिंगो लुम्बिनी प्रदेशकै पहिचानको रूपमा सुरुङमार्गलाई हेरिएको छ । देशभर निर्माणाधीन अवस्थामा रहेका दुई सुरुङमार्गमध्ये यो पनि एक हो । मृत्युमार्गले चिनिएको बुटवल—पाल्पा खण्डको सिद्धबाबा क्षेत्रमा सुरुङमार्ग निर्माण पूरा भएसँगै नागरिकको त्रासको यात्रामा पूर्णविराम लाग्नेछ । यो आयोजनालाई लुम्बिनीमात्रै नभएर सिंगो देशकै गौरवको आयोजनाको रूपमा हेरिएको अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सुरुङमार्गको ब्रेक थु्र कार्यक्रममा भनेका थिए ।
गुल्मी, पाल्पा, प्यूठान, अर्घाखाँची हुँदै गण्डकी प्रदेशको बागलुङ, स्याङ्जा, पर्वत, कास्की (पोखरा) लगायत जिल्लाका नागरिक यही सडक भएर दिनहुँ आउजाउ गर्छन् । सडक सहज भएपछि भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनीदेखि मुस्ताङसम्मका लागि सीधा यातायात सञ्चालन गर्नेसमेत यातायात व्यवसायीहरूले सुनाएका छन् । अप्ठ्यारो सडकका कारण बर्सेनि नागरिक अकालमै ज्यान गुमाउन बाध्य छन् । अबको एक वर्षभित्र सुरुङमार्ग निर्माण पूरा भइसक्ने आयोजना कार्यालयले जनाएको छ ।
तर, विमानस्थलबाट सन्तुष्ट छैन निजी क्षेत्र
भैरहवामा निर्माण गरिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट सिंगो लुम्बिनीको निजी क्षेत्र उत्साहित छैन । निर्माण गरिएको तीन वर्ष बितिसक्दा पनि अन्तर्राष्ट्रिय उडान नियमित हुन नसक्दा लगानीकर्ताहरू निराश छन् । २०७९ जेठ २ गते यो विमानास्थलको उद्घाटन गरिएको थियो । बेग्लै उत्साह र उमंगसहित विमानस्थल उद्घाटन भए पनि यसलाई सञ्चालन गर्ने कुरामा राज्यले ध्यान नदिएको व्यवसायीको गुनासो छ ।
विमानस्थललाई नै लक्षित गरेर खुलेका थुप्रै ठूला होटलहरू सञ्चालन हुन सकेका छैनन् । सञ्चालन भएका होटलहरू पनि गतिलोसँग चल्न सकेका छैनन् । भैरहवाको विमानस्थल देखेर बुटवल र यस आसपासमा गरिएका पर्यटन क्षेत्रको लगानीसमेत धराशायी बनेको छ ।
‘विमानस्थललाई लक्षित गरेर खुलेका नामुद होटलहरू पनि चाबी लगाउने अवस्थामा पुगेका छन्’, होटल तथा रेस्टुरेन्ट व्यवसायी संघ रूपन्देहीका निवर्तमान अध्यक्ष लेखनाथ भण्डारीले भने, ‘अन्तर्राष्ट्रिय विमानस्थलले होटल व्यवसायीलाई झुक्यायो । सिंगो निजी क्षेत्र धराशायी हुने अवस्थामा छ ।’
भैरहवाको विमानस्थल र बुटवलबाट दाङ पुगेको प्रदेशको राजधानी नै होटललगायत निजी क्षेत्र ध्वस्त पार्ने माध्यम बनेको उनले गुनासो पोखे । हाल रूपन्देही क्षेत्रमा सानाठूला गरी करिब सात सय होटल र रेस्टुरेन्टहरू रहेको उनले बताए । भैरहवा र बुटवल सेरोफेरोमा विमानस्थललाई लक्षित गरी सयौं होटल खुलेका छन् । ‘कतिपय होटलहरू लिलामी अवस्थामा छन्, कोही भइसके’, भण्डारीले भने, ‘राज्यले निजी क्षेत्रलाई झुक्यायो । विमानस्थल चलाउने विषयमा सरकारले विशेष चासो दिनुपर्छ ।’
पर्यटकीय गन्तव्यमा लैजाने योजना
लुम्बिनी प्रदेशका भौतिक पूर्वाधारमन्त्री भूमिश्वर ढकालले देशकै पहिचान हुने गरी लुम्बिनी प्रदेशले योजनाहरू सञ्चालन गरिरहेको जानकारी दिए । ‘स्थायी राजधानीमा, स्थायी संरचना बनाउने काम अन्तिम चरणमा छ’, ढकालले भने, ‘सात प्रदेशमध्ये आफ्नै स्थायी संरचना बनाउने लुम्बिनी पहिलो हो । यहाँ प्रदेश सरकारका भवन मात्र बनेका छैनन्, नयाँ सहर बसाउने योजना छ । प्रदेशलाई कस्तो बनाउने २० वर्षे गुरुयोजना छ, त्यसैअनुसार काम भइरहेको छ ।’ उनले भर्जिन ल्यान्डको रूपमा रहेको देउखुरी क्षेत्रलाई देशकै नमुना प्रदेश राजधानी र सहर बसाउने योजना रहेको समेत सुनाए ।
बुटवलमा निर्माणाधीन अवस्थामा रहेको १२ सय शय्याको प्रादेशिक अस्पताल पनि सिंगो लुम्बिनीकै गौरवको योजना रहेको ढकालले सुनाए । प्रदेशको गौरवको योजनाको रूपमा रहेको रामपुर कपुरकोट (हाल रामपुर जिनावाङ) सडक निर्माणको काम तीव्र गतिमा रहेको ढकालले बताए । यो सडकले गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशलाई आपसमा जोड्नेछ ।
‘संस्थापक मुख्यमन्त्री शंकर पोख्रेलको पालादेखि अघि बढेको योजना हो’, ढकालले भने, ‘हाम्रो दुईवर्षे कार्यकालभित्रै सडक निर्माण पूरा गर्ने लक्ष्य छ ।’ करिब तीन सय किलोमिटर सडक यस योजनामा बन्नेछ ।
विशेष गरी भारतको उत्तरप्रदेश र बिहारका पर्यटकहरूलाई लुम्बिनीका हिलस्टेसनमा रहेका पर्यटकीय गन्तव्यमा लैजाने योजनासहित सडक निर्माण भएको हो । पहाड, हिमाल र तराईको अवलोकन यही सडकको यात्रा भएर पर्यटकहरूले गर्नेछन् । स्थापनाकालमा रामपुर—कपुरकोट सडकको रूपमा नामकरण गरिए पनि यो सडकलाई अहिले रामपुर–जिनावाङको रूपमा नामकरण गरिएको मन्त्री ढकालले बताए । चार भागमा विभाजन गरेर निर्माण भइरहेको यस योजनाले पाल्पा, अर्घाखाँची, प्यूठान, रोल्पा र सल्यानलाई जोड्नेछ । प्रदेश सरकारले सूचना प्रविधिसम्बन्धी पढाइ हुने गरी सञ्चालन गरेको विश्वविद्यालय प्रदेशको अर्को गौरवको योजना रहेको ढकालले बताए ।
देशकै पहिचान हुने गरी लुम्बिनी प्रदेशले योजनाहरू सञ्चालन गरिरहेको छ । स्थायी राजधानी देउखुरीमा स्थायी संरचना बनाउने काम अन्तिम चरणमा छ । सात प्रदेशमध्ये आफ्नै स्थायी संरचना बनाउने लुम्बिनी पहिलो हो । यहाँ प्रदेश सरकारका भवनमात्र बनेका छैनन्, नयाँ सहर बसाउने योजना छ । प्रदेशलाई कस्तो बनाउने २० वर्षे गुरुयोजना छ, त्यसैअनुसार काम भइरहेको छ । देउखुरी भर्जिन ल्यान्ड हो । यसलाई देशकै नमुना प्रदेश राजधानी र सहर बसाउने योजना छ । रामपुर कपुरकोट (हाल, रामपुर जिनावाङ) सडक अर्को पहिचान हो । करिब तीन सय किलोमिटर सडक यस योजनामा बन्नेछ ।
भूमिश्वर ढकाल - मन्त्री, भौतिक पूर्वाधार विकास मन्त्रालय, लुम्बिनी प्रदेशलुम्बिनी प्रदेशका १२ वटा जिल्लामध्ये सडक कालोपत्रे गर्ने र पक्की पुल बनाउनेमा हामी पहिलो स्थानमा छांै । आर्थिक वर्ष २०८१/८२ मा ४५ दशमलव १९ किलोमिटर सडक कालोपत्रे गरिएको छ । यो समग्र लुम्बिनी प्रदेशको २५ दशमलव ६७ प्रतिशत हिस्सा हो । लुम्बिनी प्रदेशभरि कुल १ सय ७२ दशमलव २९ किमि सडक कालोपत्रे भएको छ । ११ वटा पक्कीपुल निर्माण गरिएको छ । पुलतर्फ हाम्रो कार्यालयले मात्र २५ प्रतिशत प्रगति हासिल गरेको छ । सिंगो मन्त्रालयको प्रगतिको ठूलो हिस्सा रूपन्देहीले ओगट्दा हामी उत्साहित छौं । बृहत् लुम्बिनी चक्रपथ (पर्सा–पडरिया खण्ड)को तेलहार खोला र तिनाउ खोलास्थित बेलबास–बेथरी–खैराघाट–सडकमा जोडी पुल निर्माण गरेकाले पक्की पुल सम्पन्नको संख्या १३ हो ।
लालु गिरी - सिनियर डिभिजनल इन्जिनियर, सडक पूर्वाधार विकास कार्यालय, रूपन्देहीगौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट सिंगो लुम्बिनीको निजी क्षेत्र उत्साहित हुनुको साटो निराश छ । निर्माण गरिएको तीन वर्ष बितिसक्दा पनि अन्तर्राष्ट्रिय उडान नियमित नहुनु दुःखद् हो । लगानीकर्ताहरू निराश छन् । बेग्लै उत्साह र उमंगसहित विमानस्थल उद्घाटन भए पनि सञ्चालन गर्ने कुरामा राज्यले ध्यान दिएन । विमानस्थल देखेर बुटवल र यस आसपासमा गरिएको पर्यटन क्षेत्रको लगानीसमेत धराशायी बन्यो । अन्तर्राष्ट्रिय विमानस्थलले होटल व्यवसायीलाई झुक्कायो । रूपन्देही क्षेत्रमा मात्रै सानाठूला गरी सात सय होटल र रेस्टुरेन्टहरू छन् । कतिपय होटलहरू लिलामी अवस्थामा छन्, कोही भइसके ।
लेखनाथ भण्डारी - निवर्तमान अध्यक्ष, होटल तथा रेस्टुरेन्ट व्यवसायी संघ रूपन्देही
सडक र पुल बनाउनेमा अग्रणी रूपन्देही
लुम्बिनी प्रदेशका १२ वटा जिल्लामध्ये सडक कालोपत्रे गर्ने र पक्की पुल बनाउने अग्रणी जिल्लाको रूपमा रूपन्देही देखिएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालय लुम्बिनी प्रदेशले आर्थिक वर्ष २०८१/८२ मा गरेको प्रगति विवरण सार्वजनिक तथ्यांकअनुसार सडक पूर्वाधार विकास कार्यालय बुटवल रूपन्देहीले एक आर्थिक वर्षमा मात्रै ४५ दशमलव १९ किलोमिटर सडक कालोपत्रे गरेको छ । यो समग्र लुम्बिनी प्रदेशको २५ दशमलव ६७ प्रतिशत हिस्सा हो । लुम्बिनी प्रदेशभरि कुल १ सय ७२ दशमलव २९ किमि सडक कालोपत्रे गरेको छ ।

निर्माणाधीन बुटवल–गोरुसिंगे ६ लेन सडक ।
त्यस्तै, प्रदेशभरि कुल ४४ वटा पक्की पुल निर्माण भएका छन् । तर, रूपन्देहीले मात्रै ११ वटा पक्की पुल गत आर्थिक वर्षमा सम्पन्न गरेको छ । पुलतर्फ रूपन्देहीले मात्र २५ प्रतिशत प्रगति हासिल गरेको हो । भौतिक पूर्वाधार विकास मन्त्रालयको कुल वित्तीय प्रगति ६७ दशमलव २५ प्रतिशत छ ।
समग्र मन्त्रालयकै प्रगतिको ठूलो हिस्सा रूपन्देहीले ओगटेको छ । रूपन्देहीले बृहत् लुम्बिनी चक्रपथ (पर्सा–पडरिया खण्ड)को तेलहार खोला र तिनाउ खोलास्थित बेलबास–बेथरी–खैराघाट–सडकमा जोडी पुल निर्माण गरेकाले पुल सम्पन्नको संख्या १३ पुगेको छ । यद्यपि, मन्त्रालयको तथ्यांकमा सम्पन्न पुलको संख्या ११ छ । ‘जोडी पुललाई एउटै पुलको रूपमा तथ्यांक राख्दा संख्या ११ भएको हो’, सडक पूर्वाधार विकास कार्यालय रूपन्देहीका सिनियर डिभिजनल इन्जिनियर लालु गिरीले भने, ‘खास तथ्यांक १३ हो । क्रमागत रूपमा काम हुँदै आउँदा आर्थिक वर्ष २०८१/८२ मा पुल निर्माण सकिएका हुन् ।’ उनका अनुसार चालु आर्थिक वर्षमा चारवटा पक्की पुल निर्माण सक्ने योजना छ ।
सडक पूर्वाधार विकास कार्यालय बर्दियाले पाँचवटा पक्कीपुल निर्माण गरेको छ । त्यस्तै, बाँके, पाल्पा र कपिलवस्तुले चार/चारवटा, दाङ र रोल्पाले तीन/तीन वटा, गुल्मी र प्यूठानले दुई/दुईवटा र नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) र पूर्वीरुकुमले एक/एक वटा पक्कीपुल निर्माण गरेका छन् । मन्त्रालयको तथ्यांकअनुसार अर्घाखाँचीले एउटा पनि पुल निर्माण गरेको छैन ।
त्यस्तै, नवलपरासी (पश्चिम) ले गत आर्थिक वर्ष १२ दशमलव १८ किमि, कपिलवस्तुले १९ दशमलव १३, पाल्पाले १ दशमलव ३४, गुल्मीले १४ दशमलव ६६ किमि सडक कालोपत्रे गरेका छन् । त्यस्तै, अर्घाखाँचीले २७ दशमलव ६३ किमि, दाङले १० दशमलव ८३, प्यूठानले ९ दशमलव १८, रोल्पाले ४ दशमलव ८८, बाँकेले १७ दशमलव ४९ र बर्दियाले १३ दशमलव ५० किमि सडक कालोपत्रे गरेका छन् ।
पूर्वी रुकुमले गत आर्थिक वर्ष कत्ति पनि सडक कालोपत्रे गर्न सकेन । भौतिक पूर्वाधार विकास मन्त्रालयको वित्तीय प्रगति न्यून हुनुमा बहुवर्षिय योजना स्वीकृत गर्न ढिलाइ हुनु मुख्य कारण बनेको सम्बन्धित सडक पूर्वाधार विकास कार्यालयका प्रमुखहरूले प्रतिक्रिया दिएका छन् । करिब २० प्रतिशत रकम बहुवर्षीय योजनामा थियो ।
प्रतिक्रिया दिनुहोस !